जुम्लामा अब नर्सिङ विषयमा स्नातकोत्तर तहको पढाई हुने

खलङ्गा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन)को पठन पाठन हुने भएको छ । यसका लागि प्रतिष्ठानले पाठ्यक्रम तयार गरी अनुमतिका लागि चिकित्सा शिक्षा अयोग समक्ष निवेदन दिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरेश थापाका अनुसार प्रतिष्ठानले १२ सिटको लागि अयोग समक्ष माग गरेको छ । उनले भने,’प्रतिष्ठानले विषयविज्ञका राय सुझावका तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यासका आधारमा पाठ्यक्रमको मस्यौदा तयार गरी अयोग समक्ष निवेदन दिने तयारी गरेको छ । पाठ्यक्रमको स्वीकृति पाएसंगै पठन पाठन सुरुआत हुन्छ ।’ गतवर्षदेखि प्रतिष्ठानमा स्नातकोत्तर तहका जनरल प्राक्टिस तथा इमरजेन्सी, पेरियाक्ट्रिक र एनेस्थेसिया तथा क्रिटिकल केयरमा पठन पाठन सुरु भएको थियो । प्रतिष्ठानमा यसै शैक्षिक सत्रदेखि चिकित्सा विषय अन्तर्गत स्नातक तहका एमबिबिएस,विएन र फार्मेसी विषयमा २० सिटमा पठन पाठनको सुरुआत पहिलोपटक हुँदैछ । योसँगै जुम्लामा डाक्टर उत्पादन गर्ने ढोका खुलेको छ । यसअघि स्नातक तहमा विएन , विपिएच र मिडवाइफ्रिमा पठन पाठन हुँदै आएको छ । यसैवीच प्रतिष्ठानले एमएन तहको पाठ्यक्रमको मस्यौदालाई अन्तिम रुप दिन हालै भर्जुअल छलफल समेत आयोजना गर्याे । कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा थापाले प्रतिष्ठानलाई चिकित्सा शिक्षा र सेवाको उत्कृष्ट केन्द्र बनाउन लागिएको बताए । उनले भने, ‘प्रतिष्ठानले चिकित्सा विधाका प्रमुख विषयमा पठन पाठन गर्ने तयारीमा जुटेको छ । प्रतिष्ठानलाई सेवा र शिक्षाको उत्कृष्ट गन्तव्य बनाउँछौँ । अब कर्णालीले चिकित्सक उत्पादन गरी अन्यत्र पठाउँछ ।’ प्रतिष्ठानका नर्सिङ डीन सहायक प्राडा सरस्वती गौतमले नर्सिङ विषयका सबै तहमा प्रतिष्ठानमा पठन पाठन हुन लागेको जानकारी दिँदै यसले समग्र कर्णालीको शिक्षा र स्वास्थ्यमा कोशेढुङ्गाका काम गर्ने बताइन् । सहायक प्राडा शर्मिला जोशीले प्रतिष्ठान र विज्ञले तयार पारेको मस्यौदा प्रस्तुत गरेका थिइन् । उनले दुई वर्षको उक्त पाठ्यक्रम बढीभन्दा बढी व्यावहारिक हुने बताइन् । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले पाठ्यक्रमको मस्यौदामा सुझाव दिँदै कुनैसमय डाक्टर नपाउने जुम्लाले अहिले आफले चिकित्सा विषयका विभिन्न विधामा पाठ्यक्रम तयार गर्नु कर्णालीका लागि गौरबको विषय भएको बताए । पाठ्यक्रमको मस्यौदामाथि विभिन्न विज्ञले सुझाव दिएका थिए । स्वास्थ्य तथा जनसङ्ख्याका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक सकुन्तला गौतम, प्रतिष्ठानका जनस्वास्थ्य डीन प्राडा मुनीराज क्षेत्रीलगायत विज्ञले मस्यौदामा सुझाव दिएका थिए । रासस

बैतडीमा कोरोना सङ्क्रमित नभएका पालिकाका विद्यालय खुले

काठमाडाैं । भारतसँग सीमा जोडिएको बैतडी जिल्लाका विद्यालय खुल्न थालेका छन् । कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेका स्थानीय तहहरुले विद्यालय सञ्चालन गरिरहेका हुन् । जिल्लाको मेलौली नगपालिकामा गत साउन १० गतेदेखि विद्यालय खुलेका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते बुधबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने जनाएको छ । यी दुवै स्थानीय तहमा हाल कोरोनाका सक्रिय सङ्क्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकामा नकारात्मक प्रभाव परेकाले विद्यालय पुनः सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताए । कोभिडको सङ्क्रमण कम हुँदै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याउने निर्णय भएको हो । शिवनाथमा हाल कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ । ‘शिक्षणका वैकल्पिक माध्यम पनि प्रभावकारी नभएकाले विद्यालय पुनः सञ्चालनको निर्णय भएको हो’, उनले भने, ‘भौतिकरूपमै कक्षाकोठामै पठनपाठन हुन्छ, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइन्छन् । जोखिम हुनसक्ने भएकाले प्रत्येक विद्यालयमा मास्क र स्यानिटाइजरको व्यवस्थाका लागि रकम पठाइसकेका छौँ ।’ शिवनाथ गाउँपालिकामा ३५ वटा सामुदायिक विद्यालय छन् । शिवनाथ विद्यालय पुनः सञ्चालन गर्ने जिल्लाको दोस्रो स्थानीय तह बन्ने भएको छ । यसअघि जिल्लाको मेलौली नगरपालिकाले पनि साउन १० गतेदेखि विद्यालय सञ्चालनमा ल्याइसकेको छ । मेलौलीमा कोरोना जोखिम भएका क्षेत्रमा सामुदायिक कक्षा र टोल कक्षा सञ्चालन भइरहेका र जोखिम नभएका ठाउँमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ । मेलौलीमा ४६ वटा सामुदायिक विद्यालय छन् । जिल्लाको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर मावि खोड्पेले टोल शिक्षण सिकाइ सञ्चालनमा ल्याएको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि विद्यालयको सेवा क्षेत्रमा रहेका टोलमा कक्षा सञ्चालन गरिएको जनाइएको छ । बैतडीका अन्य स्थानीय तहले पनि विद्यालय पुनः सञ्चालनको तयारी गरिरहेको शिक्षा विकास तथा समन्वय समिति बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए । उनले भने, ‘केन्द्र सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय पुनः सञ्चालन गर्नसक्ने अधिकार दिएको छ, सोहीअनुसार तयारी गरिरहेका हुन् ।’ जिल्लामा अहिले २८ सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २० रहेका छन् । यस्तै पाटन नगरपालिकामा दुई, पुर्चौंडी नगरपालिकामा दुई, सिगास गाउँपालिकामा दुई, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा एक/एक जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण बैतडीमा हालसम्म १८ जनाको मृत्यु भइसकेको छ । रासस

इसेवाले एसईई पास भएका ५ सय बढि विद्यार्थीलाई छात्रवृति दिने

काठमाडाैं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एसईई उतिर्ण भएका विद्यार्थीहरूलाई मध्यनजर गर्दै ‘शिक्षत युवा,संवृद्ध भविष्य’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ५ सय भन्दा बढि विद्यार्थीहरूले उच्च शिक्षाका लागि छात्रवृति प्राप्त गर्नेछन् । यो योजना आगामी भाद्र १५ गतेसम्म सञ्चालन हुनेछ । छात्रवृति विद्यार्थीले छानेका कलेज अनुसार भर्ना शुल्क तथा माशिक शुल्कमा प्राप्त गर्न सकिने इसेवाले जनाएकाे छ । विद्यार्थीहरूले जेभियर ईन्टरनेशनल, प्रिमियर कलेज, विद्या शंकर, ट्रिटन कलेज र टेक्सास ईन्टरनेशनल कलेज, बिराटनगरका बाल कल्याण विद्या मन्दिर र लर्ड बुद्ध सेकेण्डरी स्कुलमा छात्रवृति प्राप्त गर्नेछन् । इसेवा मार्फत आवेदन दिनेले मात्र छात्रवृतिको अवसर प्राप्त गर्नेछ कम्पनीले जनाएकाे छ । छात्रवृतिका लागि विद्यार्थीहरूले इसेवा मोबाईल एप तथा वेभ मार्फत इसेवा स्कोलरसिप अप्सनमा गइ आवेदन दिन सक्नेछन् । छात्रवृतिका लागि विद्यार्थीहरूले ३० भुक्तानी गर्नुपर्नेछ । यो रकम यो योजना सकिएपछि विद्यार्थीको इसेवा आइडी रहेको नम्बरमा टपअप हुनेछ । छात्रवृतिमा समावेश भएका विद्यार्थीले छात्रवृति दाबी गर्नका लागि आफ्नो एसइई पास भएको कागजात पेश गर्नुपर्नेछ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ । हाल इसेवाका देशभर करिब एक लाख ३० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।