कक्षा ११ र १२ पढ्नकाे लागि फेरी खुल्याे सानिमा बैंकको छात्रवृत्ति
काठमाडाैं । सानिमा बैंकले कक्षा ११ र १२ अध्यनकाे लागि फेरी छात्रवृति खुला गरेकाे छ । बैंकले खुला गरेकाे उक्त छात्रवृतिमा भदाै २१ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि गरिब तथा विपन्न वर्गका २–२ जना विद्यार्थीलाई उनीहरुकै रोजाईको कलेज र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । बैंकले २०१२ देखि गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृति दिँदै आएकाे हाे । छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी सानिमा बैंकको वेबसाइटमा उपलब्ध छ । यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका साथै अतिरिक्त मासिक २ हजार नगदसहित दुई वर्षका लागि छात्रवृत्ति प्रदान गरिन्छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
इञ्जिनीयरिङ कलेजलाई पढाइ शुल्क नलिन शिक्षा मन्त्रालयको पत्राचार
काठमाडौं । सरकारले प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको निर्णयबमोजिम इञ्जिनीयरिङ कलेजलाई कोभिड–१९ सङ्क्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिन विभिन्न विश्वविद्यालयलाई आज पत्राचार गरेको छ । सो समितिले मङ्गलबार ‘इञ्जिनीयरिङ कलेजको विवादित शुल्कका विषयमा कोभिड–१९ सङ्क्रमण कायमै रहेका अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिने व्यवस्था गर्न’ सरकारलाई निर्देशन दिएको थियो । शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बुधबार सो निर्णय गरेरसम्बन्धित विश्वविद्यालयलाई बोधार्थ दिइसकेका छन् । पत्रमा सोबारे निर्णय कार्यान्वयन गरी सोको प्रगति विवरण मन्त्रालयलाई उपलब्ध गराइदिन भनिएको छ । सो पत्र त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यलाय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयलाई पठाइएको छ । शुल्क विवाद हुँदा उक्त सङ्कायका परीक्षा अन्योलमाा परेका थिए ।
सिटिइभिटीको छात्रवृत्ति आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने
काठमाडाैं । खल्ती डिजिटल वालेटले सिटिइभिटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा, र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै शुल्क भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । नेपाल सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट एसइइ/एसएलसी/टिएसएलसी अध्ययन गरेको विद्यार्थीहरुले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट सिधै तिर्न सक्नेछन् । निजी विद्यालयबाट एसइइ/एसएलसी/टिएसएलसी अध्ययन गर्नेको हकमा भने उक्त छात्रवृत्ति लागु हुनेछैन । त्यस्तो आवेदकले छात्रवृत्तिको आवेदन फारम भरेमा उक्त फारम स्वतः रद्द हुने साथै शुल्क फिर्ता नहुने प्रावधान रहेको छ । छात्रवृत्तिको आवेदन फाराम भर्ने आवेदकले डिप्लोमा तथा प्रि–डिप्लोमा तहका कार्यक्रमहरु मध्ये आवेदकले कुनै एक तहको एक वटा कार्यक्रममा मात्र भर्न पाउनेछन् । भदाै ७ देखि २३ गतेसम्म आवेदकहरुले छात्रवृत्तिको लागि आवेदन दिन सक्नेछन् । कार्यालयमा धाईरहनुपर्ने वा लाइनमा घण्टौ बस्न पर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्युनीकरण गर्ने उक्त सेवा संचालनमा ल्याएको मर्चांन्ट एक्युजिसन का वरिष्ठ अधिकारी हरुन राईले बताए ।