काठमाडौं महानगरमा एक शिक्षक, एक ल्यापटप अभियान शुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘एक शिक्षक, एक ल्यापटप’ अभियान थालेको छ । सो अभियान अन्तर्गत महानगरले वडा नं. २५ को कन्या मन्दिर माविका २७ जना शिक्षकलाई ल्यापटप वितरण गरेका हो । महानगरले प्रविधिमैत्री सिकाइका लागि ल्यापटप शिक्षकलाई वितरण गरेका छ । वडाध्यक्ष नीलकाजी शाक्य र नविन मानन्धर तथा महानगरका शिक्षा अधिकृत मोतीराज खनालले संयुक्त रुपमा ल्यापटप वितरण गरेका थिए । महानगरपालिकाले प्रविधिमैत्री सिकाइमा जोड दिंदै यस्तो अभियान थालेको वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले बताए । यो महानगरको प्रविधिमैत्री सिकाइका लागि पहिलो चरणकाे कार्यक्रम हो । शिक्षकलाई प्राविधिक ज्ञानका लागि महानगरपालिकाले तालिमको समेत प्रबन्ध गर्ने र अन्य विद्यालयहरूमा समेत क्रमशः ल्यापटप वितरण गरिने शिक्षा अधिकृत मोतीराज खनालले बताए । महानगरलाई यस्तो अभियान सञ्चालनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको समेत सहयोग रहेको उनले बताए । कन्या मन्दिर स्कुलले भने यसअघि इजी एप्लिकेसनसमेत प्रयोगमा ल्याइसकेको छ । ल्यापटप राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, महानगरको केन्द्रीय बजेटबाट प्राप्त रकम र विद्यालयको आन्तरिक आयबाट प्राप्त रकमबाट खरिद भएका हुन् । ल्यापटप पाए पछि शिक्षिका गीताकुमारी अधिकारीले यसको पूरा उपयोग गर्ने र शिक्षण सिकाई प्रभावकारी बनाउने पनि बताइन् । महानगरले यसअघि वडा ६ को जनकल्याण माद्यामिक विद्यालय बौद्ध महाङ्कालका ३१ जना शिक्षकलाई ल्यापटप वितरण गरीसकेको छ ।
तानसेन नगरपालिकामा छोरी शिक्षा कार्यक्रम, विद्यालय जाने छात्रालाई वार्षिक १० हजार
पाल्पा । छोरीको शिक्षामा पहुँच बढाउन, सुरक्षित भविष्य बनाउन र सशक्तीकरणका लागि तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम ल्याएको छ । नगरपालिकाले ल्याएको यस कार्यक्रमले यहाँका विपन्न परिवारका अभिभावकमा छोरीको उज्ज्वल भविष्यका लागि ठूलो आशा पलाएको छ । छात्राले कक्षा छाड्ने तथा दोहोर्याउने समस्या बढ्दै गएपछि नगरपालिकाले छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति कार्यक्रम ल्याएको हो । यस कार्यक्रमअन्तर्गत विद्यालय जाने छात्राले वार्षिक १० हजार सुविधा पाउने भएका छन् । नगरभित्रका दलित, जनजाति तथा जेहेन्दार छात्राको सिकाइ प्रभावकारी बनाउने र कक्षा ८ देखि १० सम्मको अध्ययन पूरा गराउने योजनाका साथ यो कार्यक्रम ल्याएको नगर शिक्षा शाखाका प्रमुख रेशमलाल न्यौपानले बताए । उच्च शिक्षा हासिल गराउने, छात्राको अध्ययनलाई सीपमूलक, प्राविधिउन्मुख बनाउने, नेतृत्व क्षमता विकास गरी सार्वजनिक रोजगारीका क्षेत्रमा पहुँच बढाउने उद्देश्यले यो कार्यक्रम ल्याएको उनको भनाइ छ । छोरीलाई शिक्षा, सुरक्षा र सशक्तीकरण प्रदान गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रमुख न्यौपानेको भनाइ छ । उनले छोरीको शिक्षामा पहुँच बढाई उज्ज्वल भविष्य बनाउन, क्षमता अभिवृद्धि गर्न र उनीहरूको सुरक्षित भविष्यका लागि यो कार्यक्रम कोशेढुङ्गा साबित हुने बताए । छोरीलाई पढाएर मात्रै सुरक्षित बनाउन सकिने उल्लेख गर्दै उनले यस कार्यक्रममार्फत राज्य आम नागरिकसम्म पुगेको बताए । यस कार्यक्रमलाई अझै प्रभावकारी बनाउने योजनामा नगरपालिका रहेको प्रमुख न्यौपानेको भनाइ छ । प्रत्येक वडाबाट दलित दुई जना, जनजाति एक जना र अन्य दुई जना गरी पाँच जनाले छोरी शिक्षा कार्यक्रममा सहभागी हुन पाउने छन् । नगरपालिकाभित्र १४ वडाबाट कूल ७० छात्राले यो कार्यक्रमको सुविधा पाउने छन् । यो कार्यक्रम ल्याइसकेपछि नगरपालिकामा गरिब, पिछडिएका र दलित समुदायका घरपरिवार सबैभन्दा बढी खुसी भएका छन् । यस कार्यक्रमले छोरीमाथि हुने विभेद्मा पनि कमी ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । दलित अधिकारकर्मी तथा जनप्रिय माविका शिक्षक तीर्थप्रसाद गौतमले यस कार्यक्रमले विपन्न परिवारका छोरीलाई पढाउनका लागि ठूलो सहयोग पुग्ने बताउँदै यो कार्यक्रमले आर्थिक अभावका कारण विपन्न तथा जेहेन्दार छात्रालाई विद्यालय शिक्षा बीचमा नै रोक्नुपर्ने बाध्यता अब हटेको छ भने । गरिबीका कारण सामाजिक तथा स्वास्थ्यकै कारण पनि बालबालिका विद्यालय शिक्षाबाट बञ्चित हुनुपरेको अवस्था छ । तानसेन नगरपालिकाभित्रकै ग्रामीण क्षेत्रमा किशोरी अध्ययन छाडेर बालविवाह गर्दा विद्यालय शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था छ । यता रिब्दीकोट गाउँपालिकाले दलित छात्राका लागि प्राविधिक शिक्षामा आकर्षण बढाउन ल्याएको छात्रवृत्ति कार्यक्रम प्रभावकारी हुन सकेको छैन् । फलस्वरुप यहाँका दलित बालबालिका विद्यालय अध्ययनबाट बाहिरै रहेका छन् । छोरा र छोरीमा विभेद नहोस्, छोरीले पनि छोरा समान पढ्न लेख्न पाउन् भन्ने उद्देश्यले सो गाउँपालिकाले आफ्नै स्रोतमा छोरी छात्रवृत्ति कार्यक्रम ल्याएको बताइएको छ । छोरीलाई पढाइमा सहयोग पु¥याउन छात्रवृत्ति कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । रासस
हेटौँडा क्याम्पसद्वारा श्रीचन्द्र शर्माका स्मृतिमा १० लाखको छात्रवृत्ति कोष स्थापना
हेटाैँडा । हेटौँडा क्याम्पसले श्रीचन्द्र शर्माका स्मृतिमा १० लाख राशिको ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष’ स्थापना गरेको छ । क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरका अनुसार शर्माले क्याम्पसको संस्थापक सदस्यदेखि अध्यक्षसमेत रही २८ वर्षसम्म अतुलनीय योगदान पुर्याएका थिए । क्याम्पस सञ्चालक समितिको हालै सम्पन्न बैठकले सो निर्णय गरेको उनले बताए । कोषको ब्याजको रकमबाट विभिन्न तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । कोषको कार्यविधि निर्माणका लागि अर्पण पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । समितिले कार्यविधि तयार गरेपछि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सुरुआत गरिने क्याम्पस प्रमुख मानन्धरले जानकारी दिए । रासस