जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ । उक्त परीक्षामा त्यस विद्यालयबाट सहभागी २९ विद्यार्थीमध्ये छ जनाले ४ जिपिए र बाँकीले ३.८ जिपिएभन्दा माथिको नतिजा ल्याएका विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टले जानकारी दिए । विद्यालयबाट सो परीक्षामा ११ जना छात्र र १८ जना छात्रा सहभागी भएका थिए । विद्यार्थीहरूको मेहनत, शिक्षकको मार्गदर्शन र अभिभावकको सहकार्यले गर्दा विदेशमा रहेर पनि विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको उनको भनाइ छ । मुलुक बाहिरको एक मात्र नेपाली पाठ्यक्रमअनुसार अध्ययन हुने उक्त विद्यालयबाट पाँचौँ समूहले एसइई परीक्षा दिएको थियो । उक्त विद्यालयमा नेपाल, भारत, बङ्गलादेश, जापान र जाम्बियाका ५०० बढी विद्यार्थी अध्ययनरत छन् । पाँच वर्षमा सो विद्यालयबाट ११३ जनाले एसइई उर्तीण गरिसकेको पनि प्रधानाध्यापक भट्टले बताए । जापानमा रहेका नेपाली समुदायको पहलमा सो विद्यालय सञ्चालनमा आएको हो । सन् २०१३ सालमा स्थापना भएको उक्त विद्यालयलाई जापानको शिक्षा मन्त्रालयले अन्तरराष्ट्रिय विद्यालय सरहको मान्यता दिएको छ । त्यस विद्यालयले विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा ११ र १२ मा पनि अध्ययन गराइरहेको छ । एभरेष्ट स्कूलले टोकियो कै आराकावा सहरमा नर्सरीदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने गरी नयाँ विद्यालयसमेत खोलेको प्रधानाध्यापनक भट्टले जानकारी दिए । रासस
तनहुँको कन्यादेवी मावि : गत वर्ष निल, यसपालि ७३ प्रतिशत विद्यार्थी उत्तीर्ण
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालय गत वर्षको एसइईमा निल भएको थियो । गत वर्ष विद्यालयका १९ विद्यार्थी एसइईमा सहभागी थिए । त्यतिबेला सबै विद्यार्थी अनुत्तीर्ण भएका थिए । ग्रेडवृद्धिबाट चार विद्यार्थी उत्तीर्ण भएका थिए । तर यस वर्ष उक्त विद्यालयको नतिजामा सुधार आएको छ। यस वर्ष विद्यालयबाट ७३.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पन्ध्र जना विद्यार्थी सहभागी भएकामा ११ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए । पालिकाको लगानीका कारण यस वर्षको नतिजामा सुधार आएको विद्यालयका प्रधानाध्यापक गुरुङले जानकारी दिए । पालिकाले एसइई दिने विद्यार्थीलाई मध्यनजर गरी होस्टेलको व्यवस्था गरेको थियो । होस्टेलमा विद्यार्थीका लागि खाने, बस्ने सबै खर्च पालिकाले व्यवस्थापन गरिदिएको थियो । यस्तै विषयगत शिक्षकले होस्टेलमै बसेर विद्यार्थीलाई अध्ययन गराउँथे । बिहान ५–८ र साँझ ५–८ अतिरिक्त अध्यययनको व्यवस्था मिलाइएको थियो । उनले भने, 'सुरुदेखि एसइई नतिजा सुधारका लागि पालिकाले लगानी गरेको थियो। त्यसकै परिणाम अहिले देखिएको छ ।' गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाभित्रका विद्यालयको नतिजा सुधारका लागि आफूहरू सुरुदेखि नै लागेको बताए । उनले भने, 'गत वर्षको नतिजाले हामीलाई निराश बनाएको थियो। अहिले नतिजा सुधारका लागि विद्यालयमै आवाससहितको कक्षा सञ्चालन गरेका थियौँ ।' सम्पूर्ण वडाभित्रका विद्यालयको नतिजाको विवरण सङ्कलनको क्रममै रहेको बताउँदै चुमानले सबै विद्यालयको नतिजा सुधार आएको उल्लेख गरे । रासस
चिट चोर्ने, टिकटक बनाउने १२६ जनाको परीक्षा रद्द
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागीमध्ये १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । एसईईमा चिट चोर्ने, टिकटक बनाउने लगायत अन्य गैरकानुनी काम गर्ने १२६ जनाको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शुक्रबार सार्वजनिक गरिएको नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ जना, २.४ देखि २.८ जीपीए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीए ल्याउने ८ जना रहेका छन् । यस वर्षको एसईईमा ६१।८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।