सातवटै प्रदेशमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गरिने
काठमाडौं । नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मतपत्र छपाइ र कागज अभावका कारण यस शैक्षिकसत्रका लागि निःशुल्क पाठ्यपुस्तक छपाइ तथा वितरण पर्याप्त हुन नसकेको सन्दर्भमा पाठ्यपुस्तक पुग्न नसकी पढाइमा सहजताका लागि सामग्री उपलब्ध गराउने गरी सरकारले वैकल्पिक व्यवस्था पनि गर्दै आएको छ । शैक्षिक सत्र २०७९ मा विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको सरकारी स्वामित्वको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट छपाइ तथा वितरण हुने व्यवस्था भए तापनि कक्षा १–३ को पाठ्यपुस्तक निजी प्रकाशनबाट र कक्षा ११–१२ को साझा प्रकाशनमार्फतसमेत छपाइ तथा वितरण हुने व्यवस्था मिलाइएको छ । केन्द्रबाट कक्षा ४–१० सम्मका विद्यार्थीका लागि जम्मा एक करोड ९६ लाख थान पाठ्यपुस्तक छपाइ गरी वितरण गर्नुपर्नेमा हालसम्म एक करोड ७० लाख थान छपाइ तथा वितरण भइसकेको छ भने बाँकी छपाइ सम्पन्न हुने क्रममा रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गतको छलफलका क्रममा सांसद्हरुले राखेका जिज्ञाशामाथि जवाफ दिँदै कोभिड–१९ का कारणबाट शैक्षिक सत्र २०७८ मा विद्यालय लामो समय बन्द रहेका र विद्यार्थीको पढाइमा पुगेको क्षति कम गरी उक्त सत्रमा हुनुपर्ने पढाइलाई पूरा गर्न शैक्षिक सत्र २०७९ असार पहिलो साताबाट हुने भनिएको र सोही अनुसार छपाइका पूर्व तयारी भएको अवस्थामा सरकारबाट जेठ १ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय हुँदा एक महिना अघि शैक्षिक सत्र सुरु भएको तथा रुस र युक्रेन युद्धका कारण कागज आपूर्तिमासमेत प्रभाव पर्दा छपाइमा केही ढिलाइ हुन गए तापनि मन्त्रालयको नियमित अनुगमन तथा निर्देशनका कारण पुस्तक छपाइ नियमित रुपमा हुन सकेको अवगत गराए । अपेक्षाअनुसार भएन शिक्षा बजेट शिक्षामन्त्री पौडेलले शिक्षा क्षेत्रमा अपेक्षाअनुसार बजेट विनियोजन नभए पनि अन्य मन्त्रालयको तुलनामा सबैभन्दा बढी रकम शिक्षा मन्त्रालयका लागि विनियोजन भएको बताए । मन्त्री पौडेलले बजेट बढाउन आफूले सक्दो कोसिस गरेको र सांसदहरुले पनि त्यसमा चासो दिएकामा धन्यवाद दिए । उनले बजेट तर्जुमाका क्रममा मन्त्रालयलाई चालु आर्थिक वर्षकै निरन्तरताका आधारमा बजेट सीमा प्राप्त भएकामा आफूहरुले आपत्ति जनाएर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा गम्भीररुपमा छलफल गरेको अवगत गराउँदै सरकारको नीति तथा कार्यक्रममा कक्षा ८ सम्मका विद्यार्थीका लागि दिवा खाजा दिइने भनिएकामा बजेट वक्तव्यमा कक्षा ६ सम्मका मात्रै भनिएकाले त्यसलाई कक्षा ८ सम्ममै खाजा उपलब्ध गराउन अझै पहल गरिने विश्वास व्यक्त गरे । आर्थिक वर्ष २०७९/८० का लागि सरकारको कूल बजेट १७ खर्ब ९३ अर्ब ८३ करोडमध्ये शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट कार्यान्वयन हुने नेपाल सरकार, प्रदेश र स्थानीय तहका लागि जम्मा एक खर्ब ९६ अर्ब ३८ करोड छुट्याइएको छ । यो वर्ष कूल विनियोजनको १० दशमलव ९५ प्रतिशत शिक्षामा छुट्टा्यइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको बजेटमध्ये एक खर्ब २१ अर्ब १ करोड (६१दशमलव ६२ प्रतिशत) अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत स्थानीय तहमा शैक्षिक व्यवस्थापनका लागि सोझै विनियजित भई जान्छ । प्रदेश तहमा प्रमुखरुपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सञ्चालन र विद्यालय शिक्षक तालिम कार्यक्रमका लागि जम्मा पाँच अर्ब ३२ करोड (२ दशमलव ७१ प्रतिशत) सोझै विनियोजित भई जान्छ । मन्त्रालय तहमा जम्मा ७० अर्ब पाँच करोड बजेट (३५ दशमलव ६७ प्रतिशत) विनियोजन भएको छ । मन्त्रालयमा विनियोजन भएको बजेटमध्ये राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, माध्यमिक तहका विद्यार्थीका लागि सीपमूलक तालिम तथा कक्षा ६ का विद्यार्थीका लागि दिवाखाजा कार्यक्रम आदिका लागि झण्डै रु ११ अर्ब स्थानीय तहमा हस्तान्तरण हुने व्यवस्था रहेको छ । मन्त्री पौडेलले भने, ‘सरकारले शिक्षामा विनियोजन गरेको बजेट पर्याप्त नभए पनि चालु आर्थिक वर्षकोभन्दा केही वृद्धि भएको छ । शिक्षाको बजेट र सुधारका बारेमा सांसदहरुले राख्नुभएका चासो प्रति म सहमत छु । शिक्षामा सबै एकै पक्ष छौँ । कोही पक्ष विपक्ष छैनौँ ।’ सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि प्रतिबद्ध उनले सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि नेपाल सरकार प्रतिबद्ध रहेको र नीति तथा बजेट र कार्यक्रममा विद्यालय शिक्षा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र सीप विकास र उच्च शिक्षा सुधारमा जोड दिइएको बताउँदै विद्यालय शिक्षा सुदृढीकरणका लागि विद्यालय शिक्षा क्षेत्र योजना, उच्च शिक्षामा सुधारका लागि उच्च शिक्षामा उत्कृष्टता प्रवर्धन कार्यक्रम तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सुधारका लागि सीप विकास कार्यक्रम कार्यान्वयनमा जोड दिइएको जानकारी दिए । उनले आगामी तीन वर्षमा सबै सामुदायिक विद्यालयको न्यूनतम भौतिक पूर्वाधार विकास गर्न कार्यक्रम तय गरिएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा विद्यालय पुनः निर्माण कार्य सम्पन्न गरिनेछ । बाँकी ४५ जिल्ला लक्षित गरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालय भौतिक निर्माण कार्य सञ्चालन गरिनेछ । उच्च शिक्षा प्रदायक त्रिचन्द्र कलेजलगायतका आंगिक क्याम्पसको भौतिक निर्माणकार्य सुरु गरिने जानकारी दिए । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला विस्तार तथा सुदृढीकरण, सूचना प्रविधि प्रयोगाशाला स्थापना तथा शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, विद्यालयमा विषयगत शिक्षकको सुनिश्चितताका लागि गणित, विज्ञान तथा अंग्रेजी विषय शिक्षकको व्यवस्था गर्न कार्यक्रम प्रस्ताव गरिएको जानकारी दिँदै उनले शिक्षकको पेशागत सीप र क्षमता विकासका लागि भर्चुअल विधिसमेत प्रयोग गरी शिक्षक तालिम कार्यक्रम सञ्चालन, शिक्षक दरबन्दी मिलान कार्य सम्पन्न, प्रदेश शिक्षा तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना तथा सञ्चालन र डिजिटल सिकाइ सामग्रीको उत्पादन, आवश्यकताका आधारमा पाठ्यपुस्तकमा सामयिक परिमार्जन तथा अद्यावधिकरण, नमूना तथा उत्कृष्ट विद्यालय विकास तथा सञ्चालन, उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई प्रोत्साहनलगायतका कार्यक्रम सञ्चालन गरिने बताए । ‘विद्यालयको भौतिक पूर्वाधार विकास नभइ गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्न कठिन हुन्छ । शैक्षिक तथ्याङ्कका आधारमा अझै पनि २८ हजार भवन निर्माण गर्न आवश्यक रहेको छ । विद्यालय पुनःनिर्माण कार्यक्रमबाट सात हजार ५८३ विद्यालयको निर्माणकार्य सम्पन्न भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट तीन हजार ९८२ विद्यालय भवन निर्माण भएका छन् । आगामी तीन वर्षभित्र अन्य विद्यालय निर्माण, सवलीकरण तथा पुनःनिर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ’, मन्त्री पौडेलले भने । उनले शिक्षा मुलुक विकासको पूर्वाधारको पनि पूर्वाधार भएकाले सबै नागरिकलाई गुणस्तरीय, सीपमूलक तथा व्यावहारिक शिक्षाको प्रत्याभूति नगरी देशका लागि आवश्यक जनशक्ति आपूर्ति हुन नसक्ने बताए । उनले भने, ‘विद्यालय शिक्षालाई गुणस्तरयुक्त बनाउने, प्राविधिक शिक्षाको पहुँच विस्तार तथा सुदृढीकरण र उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने कार्यमा मन्त्रालय प्राथमिकताका साथ लागिरहेको छ । शैक्षिक सुधारका लागि उपलब्ध बजेटको उच्चतम् उपयोग गर्ने प्रयास गरिएको छ । शिक्षा सुधारका लागि बजेट वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’ सरकारले बालविकास शिक्षक, प्रत्येक सामुदायिक विद्यालयमा एक एकजना विद्यालय सहयोगी कर्मचारी र प्रत्येक माध्यमिक विद्यालयमा थप एक सहायक कर्मचारी गरी ३६ हजार कर्मचारी व्यवस्था गर्न एकमुष्ठ अनुदान उपलब्ध गराउँदै आएको छ । चालू आव २०७८/७९ मा सङ्घीय सरकारबाट रु ८ हजार र स्थानीय तहबाट रु सात हजार गरी न्यूनतम मासिक १५ हजार उपलब्ध हुने व्यवस्था गरिएको छ । बालविकास शिक्षकको हकमा सङ्घीय सरकारबाट रु दुई हजार थप गरी १० हजार उपलब्ध गराउन बजेट व्यवस्था गरिएको छ । हाल विद्यालयमा कार्यरत पूर्व प्राथमिक शिक्षक, कर्मचारीको विवरण अध्यावधिक गरी कर्मचारी व्यवस्थापनको सेवा शर्त निर्धारणका लागि कार्य अघि बढाइएको छ । सेवा शर्त निर्धारण भए पश्चात सोही अनुरुप कर्मचारीको तलब निर्धारण हुनेगरी अर्थ मन्त्रालयसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइनेछ । शैक्षिक गुणस्तर सुधारलगायत शैक्षिक विकासका लागि प्रस्तावित कार्यक्रम सार्वजनिक विद्यालय सुदृढीकरणका लागि लक्षित रहेका छन् । विद्यालय भौतिक पूर्वाधार विकास, शिक्षक तालिम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, विभिन्न प्रकारका प्रयोगशालाको स्थापना, शिक्षण सिकाइमा सूचना प्रविधिको उपयोग, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकको क्षमता विकासका कार्यक्रम समेटी विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा ल्याइएको छ । साथै उच्च शिक्षामा सुधारका लागि उच्च शिक्षामा उत्कृष्टता प्रवर्दन कार्यक्रम सञ्चालनमा ल्याइएको छ । उच्च शिक्षामा गुणस्तर कायम गर्न त्रिविविलाई उत्कृष्टता केन्द्रको रुपमा विकास गर्न कार्यक्रम प्रस्ताव गरिएको छ साथै विश्वविद्यालय तथा क्याम्पसको भौतिक तथा शैक्षिक पूर्वाधारका कार्यक्रम प्रस्ताव गरिएको छ । बजेटमा विद्यालय शिक्षामा छात्रा, दलित, अपाङ्गता भएका विद्यार्थी तथा लक्षित समूहका लागि आवासीय तथा गैर आवासीय छात्रवृत्तिको व्यवस्था, विद्यालय दिवाखाजा कार्यक्रम, निःशुल्क पाठ्यपुस्तकको व्यवस्था, छात्राका लागि सेनेटरी प्याड आदिको व्यवस्था गरिएको छ । उच्च शिक्षामा पिछडिएको समुदायका विद्यार्थीका लागि छात्रवृत्ति, चिकित्सा तथा प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिलगायतका कार्यक्रम प्रस्ताव गरिएका छन् । विशेष आवश्यकता भएका विद्यार्थीका लागि आवासीय विद्यालय सञ्चालन, आवासीय विद्यालय स्थापना तथा सञ्चालन, ब्रेल पाठ्यपुस्तकलगायत सिकाइ र सहयोगी सामग्रीको व्यवस्थाका लागि कार्यक्रम सञ्चालन गरिने भनिएको छ । सबै स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच सुनिश्चतता, सिक्दै कमाउँदै कार्यक्रम विस्तार, व्यावसायिक तालिमको अवसर वृद्धि गरी शिक्षालाई रोजगारमूलक र व्यावसायिक बनाउन जोड दिइएको छ । सञ्चालनमा रहेका विश्वविद्यालयको पूर्वाधार विकास तथा शैक्षिक कार्यक्रम सञ्चालन गरी उच्च शिक्षा सुधार गर्ने लक्ष्य रहेको छ । आंगिक क्याम्पसको भौतिक सुधार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसको भौतिक पूर्वाधार विकास, शिक्षण सिकाइमा शैक्षिक प्रविधिको प्रयोग र शिक्षण सिकाइलाई अनुसन्धानमुखी बनाउन त्रिभुवन विश्वविद्यालयलाइ उत्कृष्टताको केन्द्र बनाउन कार्यक्रम तय गरिएका छन् । चिकित्सा शिक्षा अध्ययनको अवसर विस्तारका लागि नयाँ मेडिकल कलेज विकासका लागि कार्यक्रम सञ्चालनमा ल्याएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्र (सेडा, सेरिड, सिनास, रिकास्ट)लगायत अन्य विश्वविद्यालयका अनुसन्धान केन्द्रहमार्फत हुने अन्वेषण तथा अनुसन्धान कार्य गर्ने तय गरिएको छ । मन्त्री पौडेलले शैक्षिक मुद्दाहरुको समाधानका लागि वार्ता र संवादबाट समाधान गर्न सकिने भएकाले अबदेखि विश्वविद्यालयमा कुनै पनि तालाबन्दी र हड्ताल नगर्न पनि आह्वान गरे । सङ्घीय शिक्षा ऐन र शिक्षक दरबन्दी व्यवस्थापन मन्त्री पौडेलले सङ्घीय शिक्षा ऐन (विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, राष्ट्रिय योग्यता प्रारुप र एकीकृत स्वास्थ्य शिक्षासम्बन्धी)को मस्यौदा तयार भइसकेको र सहमतिका लागि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक छलफल भइरहेको जानकारी दिए भने शिक्षक दरबन्दी मिलान प्रतिवेदनका अनुसार प्रत्येक सामुदायिक विद्यालयमा न्यूनतम शिक्षक सुनिश्चित गर्नका लागि ५३ हजार शिक्षक दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको बताए । उक्त प्रतिवेदन अनसार १२ हजार ८३५ शिक्षकको स्थान्तरण गरी मिलान गर्नुपर्ने हुन्छ । सो सङ्ख्यामध्ये नौ हजार ४९६ शिक्षक सम्बन्धित स्थानीय तहभित्र नै मिलान हुने एवं तीन हजार ३३९ शिक्षकको जिल्लान्तर सरुवाबाट मिलान हुनेपर्ने अवस्था छ । स्थानीय तहभित्रनै मिलान हुनुपर्ने सङ्ख्यामध्ये आठ हजार ५०० शिक्षकको मिलान सम्पन्न भइसकेको छ र बाँकी ९९६ जना शिक्षकको मिलान चालु शैक्षिक सत्रमा नै मिलान गरिसक्ने लक्ष्य रहेको छ । जिल्लान्तर सरुवाबाट मिलान हुनुपर्ने सङ्ख्यामध्ये एक हजार ४८६ जनाको जिल्लान्तर सरुवाबाट मिलान सम्पन्न भइसकेको छ भने बाँकी सङ्ख्या यसै शैक्षिक सत्रभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । न्यून रहेको शिक्षक दरबन्दी आपूर्तिका लागि यसै वर्ष माध्यमिक तहमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका चार हजार ७५० जना र आधारभूत तह कक्षा ६–८ मा २६०० जना गरी सात हजार ३५० जना शिक्षक व्यवस्थाका लागि बजेट व्यवस्था गरिएको छ । उक्त सङ्ख्याका अतिरिक्त प्राविधिक विषयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नका रुपमा परिचालन गर्न बजेट व्यवस्था गरिएको छ । रासस
इन्जिनियरिङ पढ्न चाहनेहरुको साथी यु-थिंकक्रेजी
काठमाडौं । रुची र सोख उस्तै । काम र मेहनत उस्तै । ओमशिब रौनियार र रोहन रौनियार केही वर्षदेखि निकै मेहनत गरिरहेका छन् । कहिलेकाहीँ काम गर्दा रात बितेको थाहा नै हुँदैन्, भाई रोहन भन्छन् । स्वास्थ्यको पनि त ख्याल गरेर काम गर्नुपर्यो नि भन्ने सन्दर्भमा रोहनले आफूहरु रातभरी मेहनत गर्ने कुरामा अभ्यस्त भइसकेको बताउँछन् । सर्लाहीको ब्रम्हपुरीमा जन्मिएका रौनियार दाजुभाईमध्ये दाजु अहिले सिए पढ्दैछन् भने भाईले भर्खरै साइन्स विषयमा प्लस टु सकेका छन् । रौनियार दाजुभाईका अनुसार दुबैले प्लस टु सम्मको अध्ययनमा ए प्लस श्रेणी हासिल गरेका छन् । प्लस टु पश्चात अब आफ्नो अध्ययनको रुची आर्टिफिसियल इन्टेलिजेन्स भएको भाई रोहनको भनाई छ । आफ्नो अध्ययन निरन्तरताको बाबजुद रौनियार दाजुभाइको भविष्यसँग जोडिएका सुन्दर सपना धेरै छन् । तर, अहिले उनिहरुले दुईवटा कुरामा बढी केन्द्रित भएर काम गरिरहेका छन् । आफ्नो बुवाले पैसाको कारणले एसएलसीपछिको शिक्षा पढ्न नपाएको र शिक्षक पेसाको क्रममा बाजुरासम्म पुग्नुपरेको कुराले आफुहरुलाई मर्मकासाथ छोएको उनिहरुको भनाई छ । रौनियारका बुवाले बाजुराको शिक्षक जागिर झण्डै २० वर्ष अगाडिदेखि काठमाडौं आएर घडीको व्यवसाय गर्न शुरु गरेका थिए । सोही क्रममा उनले आफ्ना दुबै छोरालाई पनि काठमाडौं ल्याएर पढाउन शुरु गरेको दाजु ओमशिवको भनाई छ । ‘बुवाले पहिला मलाई ल्याउनुभयो अनि भाइलाई ल्याउनुभयो । हामी दुबैले एसइई सम्मको शिक्षा ललितपुरको सरकारी विद्यालय प्रगति शिक्षक सदनबाट गर्यौं,’ उनले भने । रौनियार दाजुभाइको डिजिटल शिक्षा अवधारणामा उनकै शिक्षक विमर्श पन्तको पनि साथ रहेको छ । भविष्यमा जोडिएका रोजगार र सामाजिक सहयोगजस्ता कार्यक्रमहरुलाई पाइपलाइनमा राखेर अहिले रौनियार दाजुभाईले शिक्षा क्षेत्रमा क्रान्ति ल्याउनको लागि आफुहरु लागिपरेको बताउँछन् । इन्जिनियर पढ्ने विद्यार्थीहरुको साथी यु-थिंकक्रेजी (U-THINKCRAZY) अहिलेको समयमा सायदैले मात्रै सोच्छन् की मानिसहरुले सर्वसुलभ ढंगले, सस्तोमा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्न सकुन् । तर यसको अपवाद भएका छन्, रौनियार दाजुभाइ । इन्जिनियर पढ्न चाहने सबै नेपाली विद्यार्थीहरुलाई आफ्नै घरमा बसेर बृजकोर्स पढ्न सहयोग गर्ने कार्यक्रम उनीहरुले सञ्चालन गरिरहेका छन् । पढ्न सहयोग गर्ने मात्रै होइन्, हजारौं विद्यार्थीहरुको सपनालाई साकार पार्न सहयोग पनि गरिसकेका छन् उनीहरुले । रौनियार दाजुभाईमध्ये भाई रोहनको नेतृत्वमा U-THINKCRAZY नामको युट्युब च्यानल सञ्चालन गरिएको छ । गतसाल सोही च्यानल मा २ हजार १२ जना विद्यार्थी जोडिएर इन्जिनियरिङको ब्रिजकोर्स अध्ययन गरे । अध्ययन गरेकामध्ये २ हजार जना विद्यार्थीहरुले स्वदेश तथा विदेशका इन्जिनियरिङ पढाई हुने कलेजको प्रवेश परिक्षामा नाम निकाल्न सफल भएका थिए । रोहनका अनुसार ३ सय विद्यार्थीले छात्रवृत्तिमा नाम पनि निकाल्न सफल भएका छन् । गतसाल युट्यूब च्यानलमा जोडिएर पढ्ने विद्यार्थीहरुलाई कुनै शुल्क कायम गरिएको थिएन् । आफ्नो अध्ययन पुरा गरिसकेपछि विद्यार्थीहरुले स्वइच्छाले आफुहरुलाई सहयोग गरेको रौनियार दाजुभाई बताउँछन् । U-THINKCRAZY युट्यूब च्यानलमा गतसाल प्रसारण भएका भिडियोमा धेरै विद्यार्थीहरुले कमेन्ट गरेका छन् । विद्यार्थीहरु आफुहरुको अनलाईन भिडियो कक्षाबाट खुसी भएर प्रतिक्रिया दिएको भन्दै रोहनले भिडियोका कमेन्टहरु देखाए । विद्यार्थीहरुले भिडियोमा नै ‘आफुहरुलाई सहयोग पुगेको कारणले आर्थिक सहयोग गर्न चाहेको’ कमेन्ट गरेका छन् । अहिले कक्षा १२ पढ्ने विद्यार्थीहरुको परीक्षा सकिन लागेको छ । कक्षा १२ सम्मको पढाईलाई स्कुलस्तरको मानिन्छ । त्यसपछि मात्रै विद्यार्थीहरुले आफ्नो रुची र व्यवहारिक आवश्यकता अनुरुपको विधालाई छनौट गर्दछन् । ‘धेरै विद्यार्थीहरुको इन्जिनियरिङ पढ्ने चाहना हुन्छ । तर सबै सँग धेरै पैसा हुँदैन् । होस्टल बसेर अनि ४०/५० हजार खर्च गरेर बृजकोर्स पढ्ने क्षमता पनि सबैको हुँदैन,’ रोहन भन्छन् । यो वर्षमा इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीहरुलाई लक्षित गरेर U-THINKCRAZY ले नयाँ स्किम ल्याएको छ । जुन स्किम सर्वशुलभ, गुणस्तरीय र सबैभन्दा सस्तो हुने रोहन भन्छन् । ‘हामीले वास्तवमा निःशुल्क नै अध्यापन गर्ने कार्यक्रम सञ्चालन गर्न खोजेको हो, तर यसको प्राविधिक र शिक्षक व्यवस्थापनको लागि केही रकम खर्च गर्न पर्ने भएकाले न्यूनतम रकमको प्रस्ताव गरेका छौं,’ रोहनले भने । अहिले भौतिक कक्षा र युट्यूब दुबै कक्षाको व्यवस्था गरेको रोहन बताउँछन् । ‘हामीले भौतिक कक्षा र युट्यूब च्यानल लाइभको अलावा अन्य समयमा पनि विद्यार्थीका जिज्ञासाहरुलाई विभिन्न सामाजिक सञ्जालका मेसेजहरुमार्फत् सम्बोधन गरिरहेका छौं,’ रोहन भन्छन, ‘हामीले विद्यार्थीहरुको समय र पैसा दुबैलाई ध्यान दिएर उनिहरुको सफलतालाई मुख्य केन्द्रमा राखेर कक्षा सञ्चालन गर्छौैं ।’ आफुहरुसँग जोडिएर पढ्दा विद्यार्थीहरुले होस्टलमा लाग्ने खर्च, यातायात खर्च र समय खर्च गर्न नपर्ने उनको भनाई छ । ‘हामीले पैसा नभएका सबै विद्यार्थीहरुलाई आफुहरुसँग जोडिएर पढ्न भन्छौं, हामीले उहाँहरुलाई सफलताको प्रयास मात्रै होइन्, सफल नै गराएर छाड्छौं,’ रोहनले भने । गतवर्षको बृजकोर्स अध्यापनपछि विद्यार्थीहरुले गरेको स्वेच्छिक सहयोग र आफ्नो खेत बेचेर रौनियार दाजुभाईले सुकेसरी शिक्षा प्राइभेट लिमिटेड दर्ता गरेर सञ्चालन गरेका छन् । विद्यार्थीहरुलाई अनलाइनबाट सजिलोसँग पढाउन सजिलो होस भन्ने हेतुले उनीहरुले झण्डै ८ लाख बराबरको डिजिटल बोर्ड र नयाँ प्रविधिको क्यामेरा जडान गरेर अफिस सेटअप गरेका छन् । प्रायःजसो इन्स्टिच्युट ४०/५० हजारको हाराहारीमा शुल्क लिएर पढाउने इन्जिनियरिङ ब्रिजकोर्सको शुल्कमा आफुहरुले क्रान्ति नै ल्याएको रोहनको भनाई छ । अहिले आफुहरुले कार्यालय खर्च व्यवस्थापनको लागि मात्रै प्रति विद्यार्थी अनलाईनतर्फ ४५ सय रुपैयाँ र अफलाईनतर्फ १० हजार रुपैयाँ शुल्क लिने उनी बताउँछन् । उनका अनुसार सोही शुल्कमा नै अध्ययन ट्याक्टिस, बुक, नोट, दैनिक तथा मासिक टेस्ट र निरन्तर ७ दिन नै मेसेन्जरबाट निरन्तर प्रतिक्रियाको व्यवस्था गरिएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई (टि शिक्षा) T-SIKSHA कार्यक्रम रौनियार दाजुभाईको शिक्षा सम्बन्धी नयाँ अवधारणा हो T-SIKSHA कार्यक्रम । यो अवधारणा मुलतः अहिलेको सूचना प्रविधिसँग जोडिएको छ । रौनियार दाजुभाईले यो अवधारणा पहिलो चरणमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई टार्गेट गरेर कार्यान्वयन गर्न लागिएको बताउँछन् । T-SIKSHA मा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले पढ्ने सबै पुस्तकलाई एनिमेसन भिडियोमा कन्भर्ट गरेर विद्यार्थीहरुलाई एपको रुपमा उपलब्ध गराइन्छ । अहिले यो एप निर्माणको नेतृत्व रौनियार दाजुभाईका शिक्षक बिमर्श पन्तले गरिरहेका छन् । ‘पाठ्यपुस्तकलाई विद्यार्थीको रुचीका आधारमा एनिमेशनमा कन्भर्ट गरिरहेका छौं । जसले गर्दा विद्यार्थीले आफ्नो पाठ्यपुस्तकलाई सजिलैसँग बुझ्न र सम्झन सक्छन्,’ पन्त बताउँछन् । एप्लिकेसन निर्माणसँगै सो एप्लिकेसन नेपालभरिका विद्यालयहरुलाई हस्तान्तरण गर्ने कार्यक्रम पनि उनिहरुले बनाएका छन् । सुगम ठाउँका विद्यार्थीहरुकालागि अनलाइन एप्लिकेसन र दुर्गमका विद्यार्थीहरुकालागि अफलाइन एप्लिकेसन बनाएको T-SIKSHA का प्रमुख पन्त सुनाउँछन् । सो एप्लिकेसन गरिब विद्यार्थीहरुलाई निःशुल्क र अन्य विद्यार्थीहरुलाई २ सय पचास रुपैयाँमा प्रदान गर्ने कार्यक्रम तय गरिएको पन्तको भनाई छ । अहिले धेरै विद्यालयहरुले आफुहरुसँग एमओयू गर्ने क्रम रहेको र सो प्रोजेक्टले नेपालको शिक्षामा ठुलो रुपान्तरण ल्याउने रौनियार दाजुभाई बताउँछन् । T-SIKSHA प्रोजेक्टमार्फत् विद्यार्थीहरुले किताबभन्दा सस्तोमा एनिमेसन भिडियो प्राप्त गर्ने र सो विधिबाट अध्ययन गर्दा विद्यार्थीको अध्ययन क्षमता पनि वृद्धि हुने उनीहरुको दाबी छ ।
नेपालमै पहिलोपटक विद्यालयमा सौन्दर्यकलाको पढाइ हुँदै
काठमाडौं । नेपालमौपहिलो पटक विद्यालय स्तरमा सौन्दर्यकलाको पठनपाठन सुरु हुने भएको छ । डिल्लीबजारस्थित पद्मकन्या विद्याआश्रम माध्यमिक विद्यालयले कक्षा ९ देखि ११ सम्मको पाठ्यक्रममा सौन्दर्यकला विषयको पठनपाठन सुरु गर्ने भएको हो । पाठ्यक्रम विकास केन्द्र, सौन्दर्य कला व्यवसायी संघ र पदमकन्या विद्यालयले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक रिता तिवारीले विद्यालय शिक्षा समाप्त भएपश्चात छात्राहरु आत्मनिर्भर बन्न सकुन् भन्ने उद्देश्यले सम्बन्धित निकायबाट अनुमति लिई सो विषयको पठनपाठन सुरु गरिएको बताइन् । उनले सौन्दर्यकला सुरु गर्ने पहिलो विद्यालयको रुपमा स्थापित हुन पाउँदा निकै आभारी भएको बताउँदै यसमा विशेष सहयोग पुर्याउने सौन्दर्य कला संघलाई धन्यवाद ज्ञापन गरेकी छन् । कार्यक्रममा सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले आफूले सौन्दर्यकलालाई पाठयक्रममा समावेश गराउन निकै संघर्ष गरेको र अन्त्यत सफल भएको निकै खुशी भएकाे बताइन् । ‘विद्यालय तथा विभिन्न निकायसँग पटक पटकको छलफल पछि अन्त्यत सौन्दर्यकला पाठ्यपुस्तकमा समावेश गरिएको छ, यो खुसीको विषय मात्र नभएर विशेष गरी छात्राहरुको लागि आफ्नो शिप प्रदर्शन गर्ने र आत्मनिर्भर हुने बाटो समेत हो,’ उनले भनिन् । यस क्षेत्रमा दशकौं बिताएकी श्रेष्ठले सौन्दर्य कलामा प्रवेश गरेको सुरुवाती दिनहरुमा आफू समाज र आफन्तबाटै अपहेलित हुनुपरकाले आगामी दिनमा कुनै महिला र छात्रालाई आत्मनिर्भरताको बाटो रोज्दा समस्या नआओस् भन्ने हेतुले आफू यसलाई स्थापित गरेरै छोड्ने अठोटमा अघि बढेको बताइन् । अनुहारको सजावट मात्रै सौन्दर्य नभएको बताउँदै उनले भनिन, ‘सौन्दर्य अनुहार सजावटको विषय मात्र नभएर यो ज्ञान हो, शास्त्र हो । सौन्दर्य अनुहार सजावट देखि लिएर स्वस्थ शरीर र व्यायमसँग पनि जोडिएको विषय हो ।’ नेपालमा सौन्दर्यकला स्थापित गर्ने प्रयास जारी रहेको र आगामी दिनहरुमा थप कार्यक्रम र अन्तक्रिया गर्दै यसलाई व्यवस्थित रुपमा अघि बढाउनेमा आफू लागी परिरहने उनले बताइन् । छलफलमा उपस्थित पाठ्यक्रम विकास केन्द्रका शाखा अधिकृत खिलानाथ धमलाले संघ र विद्यालयको यो प्रयास निकै फलदायी रहेको बताएका छन् । उनले यस विषय सम्बन्धि बनाइने थप योजना र कार्यक्रममा पाठठ्यक्रम विकास केन्द्रको पूर्ण सहयोग रहने बताए । उक्त छलफल कार्यक्रममा अभिभावकलगाएत विद्यार्थीको सहभागीता पनि रहेको थियो ।