शिक्षाका छ विधेयक ल्याउने तयारी
काठमाडौंं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय योग्यता प्रारुपसम्बन्धी विधेयकको मस्यौदा पनि तयार गरिएको छ । सङ्घीय शिक्षा ऐनमा निःशुल्क र अनिवार्य शिक्षा ऐन तथा शिक्षा सेवा आयोग ऐन र राष्ट्रिय परीक्षा बोर्ड ऐनका केही विषय समायोजनका लागि तयारी गरिएकोे छ । सङ्घीय शिक्षा ऐनमा शिक्षक सेवा आयोगको मापदण्ड, सिद्धान्त र राष्ट्रिय शिक्षाको दर्शन, शिक्षा व्यवस्थापनबारे तीन तहका सरकारको स्पष्ट भूमिका, शिक्षकको तहगत प्रणालीका बारेमा पनि सम्बोधन हुने जनाइएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले ती विधेयक रायपरामर्शका क्रममा रहेको र सकेसम्म चाँडै सङ्घीय संसद्मा प्रस्तुत हुने अपेक्षा रहेको बताउनुभयो । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सङ्घीय शिक्षा विधेयक छिटो सदनमा ल्याउन यसअघि निर्देशन दिइसकेको थियो ।
खोज तथा अनुसन्धानलाई सहज बनाउँदै ब्रिटिस कलेज, स्थापना गर्यो ‘इन्टरनेट अफ थिंग्स’
काठमाडौं । ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एक मात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले ‘इन्टरनेट अफ थिंग्स’ ल्याब स्थापना गरेको छ । शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि कलेजका विद्यार्थीहरूको अनुसन्धान र विकासलाई सहज बनाउने उदेश्यको साथ नयाँ ‘इन्टरनेट अफ थिंग्स (आईओटी)’ ल्याब स्थापना गरिएको हो । आवश्यक स्रोत साधनहरुले पूर्ण ल्याबबाट विद्यार्थीहरूलाई छोटो अवधिका कोर्षहरुको प्रदान पनि हुनेछ । ल्याबले विद्यार्थीहरुलाई क्षेत्रीय स्तरका प्रतिस्पर्धा तथा सम्मेलनहरूमा आफ्ना खोज तथा अनुसन्धानहरु प्रस्तुत गर्न सक्ने गरि सहभागीता जनाउने मौका समेत प्रदान गर्नेछ । यसले उनीहरूलाई विश्वमा देखिएका समस्याहरुको समाधान गर्न मद्दत पुग्ने विश्वास कलेजले लिएको छ । कार्यक्रमको औपचारिक उद्घाटन कलेजका सीईओ तथा संस्थापक राजन कँडेलले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै कँडेलले आईओटी उदीयमान विषय भएको बताउँदै विद्यार्थीहरुलाई थप अवसर प्राप्त गर्न सहयोगी हुने विश्वास व्यक्त गरे । ‘इन्टरनेट अफ थिंग्स महत्वको हिसावले उदीयमान विषय हो, त्यसैले पाठ्यक्रमलाई सहयोग पुर्याउने यस विषयले हामी हाम्रा विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक रूपमा उभ्याउने र यस क्षेत्रका विद्यमान अवसर प्रदान गर्ने लक्ष्य राखेका छौं,’ उनले भने । त्यस्तै, कार्यक्रममा बोल्दै कलेजका एसोसिएट डीन अरुण जोशीले भने, ‘यो नयाँ सुविधाले हाम्रा बीएससी (हन्स) कम्प्युटिङ र बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फोरेन्सिक्सका विद्यार्थीहरूले नयाँ र रोमाञ्चक विकासहरूमा पहुँच पुर्याउन सक्षम हुनेछन् । साथै, डिजिटालाइजेसनको क्षेत्रमा यसले सम्भावित रूपमा हामीले आईओटीको अवधारणा र अनुप्रयोगहरू सिकाउने र सिक्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छौं ।’ उद्घाटन कार्यक्रममा पाँच जना विद्यार्थीहरुसँगै विषयसँग सम्बन्धित शिक्षकहरुले स्मार्ट सोलार, फेस डिटेक्शन र स्मार्ट होम अटोमेसनलगायत आईओटीसँग सम्बन्धित विभिन्न विषयमा प्रस्तुति दिएका थिए । यसका साथै आईओटीसँग सम्बन्धित पाठ्यक्रमहरू जुलाई १५ बाट आधिकारिक रूपमा सुरु हुने कलेजले जानकारी दिएको छ ।
काठमाडौंमा ४० भन्दा बढी विश्वविद्यालयहरूको सहभागिता रहेको ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु
काठमाडौं । अफेयर्स नेपाल प्रालिको आयोजनामा काठमाडौंस्थित होटल ¥याडिसनमा बृहत् शैक्षिक मेला सुरु भएको छ । बिहिवारदेखि सुरु भएकोे दुईदिने ‘स्टडी इन इन्डिया एक्स्पो’ नामको सो शैक्षिक मेलामा भारतका ४० भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहने आयोजकले जनाएका छन् । आयोजकका अनुसार एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने दुविधा मेटाउन दुई सयभन्दा बढी कोर्सहरूका बारेमा जानकारी प्रदान गरिनेछ । नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै सो एक्स्पो सञ्चालन गरिएको आयोजकले जनाएको छ । शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरू, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरूका बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइनेछ । दुई दिनसम्म संचालन हुने मेलामा तीन हजार विद्यार्थीहरूले अवलोकन गरि भारतको नाम चलेका विश्व विद्यालयहरुको बारेमा जानकारी लिने अपेक्षा रहेको अफेयर्स नेपाल प्रालिका प्रवन्ध निर्देशक कुमार थपलियाले जानकारी दिए । नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै उक्त एक्स्पो सञ्चालन गरिएको हो । शैक्षिक मेलामा विद्यार्थीहरूको रोजाइको विषय र भारतको नाम चलेका विश्वविद्यालयहरुको बारेमा जानकारी लिने अवसर एक्स्पोले गर्ने निर्देशक थपलिया बताए । भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरूसँग प्रत्यक्ष कुराकानी गरी ४० वटाभन्दा बढी प्रमुख विश्वविद्यालयहरूको जानकारी हासिल गर्न सक्ने गरी शैक्षिक मेलाको आयोजना गरिएको हो ।