प्रविधिमैत्री विदेशी शैक्षिक कार्यक्रममा अब्बल आइएसएमटी कलेज
काठमाडौं । भुमण्डलिकृत विश्वको विकाससँगै नेपाली शिक्षा क्षेत्रमा पनि यसको प्रभाव विस्तार हुँदै गएको छ । नेपाली विश्वविद्यालयहरुको साथै विद्यार्थीले विश्वका धेरै मुलुकमा भएका विश्वविद्यालयहरुको शैक्षिक कार्यक्रम छनोट गरेर पढ्न पाइने अवस्थाको सिर्जना भएको छ । शिक्षा मन्त्रालयले मान्यता दिएको सांघाई युनिभर्सिटी र्याङकिङले युकेको युनिभर्सिटी अफ सन्डरल्यान्डलाई विषयगत रुपमा हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट अन्तर्गत २ सय १ देखि ३ सयको र्याङकिङमा राखेको छ । सोही विश्वविद्यालयसँग सम्बन्धन लिएर आइएसएमटी कलेजले स्नातक तहमा विभिन्न विषयहरुमा पठनपाठन गर्दै आएको छ । काठमाडौंको तिनकुनेमा रहेको आइएसएमटी कलेजमा स्नातक तहको मात्र पठनपाठन सञ्चालन हुुँदै आएको विजनेस डेभलपमेन्ट अफिसर बासुदेव वस्ती बताउँछन् । जस अन्तर्गत बिएस्सी आइटी, बिबिए र बिएचएमका शैक्षिक कार्यक्रमहरु रहेका छन् । कलेजमा मात्रै १५ सय विद्यार्थीले पढ्ने गरेको अफिसर वस्तीको भनाइ छ । साथै आइएसएमटीको ब्राण्डमा पोखरा, चितवन र बिराटनगर सञ्चालन गरेका कलेजहरुमा पनि एक हजार भन्दा धेरै विद्यार्थीले अध्ययन गरिरहेको अफिसर वस्तीको भनाइ छ । आइएसएमटीमा आंशिक र पूर्णकालिन गरेर सयौंको संख्याका शिक्षकहरुले अध्यापन गर्ने गर्दछन् । कलेजमा अध्यापन गर्ने अधिकांश शिक्षकहरु विदेशी विश्वविद्यालयमा डिग्री अध्ययन गरेका र सम्बन्धित विषयमा कुनै न कुनै व्यवसाय तथा उद्यमसँग जोडिएका रहेका छन् । जसले गर्दा विद्यार्थीलाई प्रत्यक्ष रुपमा व्यवहारिक ज्ञानको प्रदान गर्न सजिलो हुने गरेको वस्ती बताउँछन् । उनका अनुसार शिक्षक तथा व्यवस्थापनमा कार्यरत समुहमा रहेका अधिकांश व्यक्तिहरु वैदेशिक शिक्षण कार्यक्रममा अनुभवी तथा क्षमतावान भएको कारणले सन्डरल्यान्ड विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्न सजिलो भएको छ । आइएसएमटीमा पढ्ने विद्यार्थीहरुले आफ्नो अनुकुल समय मिलाएर बिहान वा दिउँसोको समय छानेर पढ्न सक्छन् । विद्यार्थीहरुलाई पढ्दा मानसिक रुपमा तनाव नहुने प्रकारको भौतिक तथा कक्षा कोठाको वातावरण बनाइएको अफिसर वस्तीको भनाइ छ । उनका अनुसार जुनसुकै विषय लिएर पढ्ने विद्यार्थीका लागि पनि कलेजले ल्यापटप अनिवार्य गरेको छ । पठनपाठनको लागि कक्षाकोठामा अधिक मात्रामा मल्टिमिडिया तथा डिजिटल प्रविधिको प्रयोग गरिन्छ । कलेजले सञ्चालन गरेका सबै विषयहरु सेमेस्टर प्रणालीमा रहेका छन् पढ्ने क्रममा विद्यार्थीले आँफै छोड्ने अवस्था बाहेक शतप्रतिशत विद्यार्थी नै पास हुने गरेका छन् । सबै विषयहरुको कक्षा ८० प्रतिशत भन्दा धेरै प्रयोगात्मक शैलीमा पढाइन्छ । विद्यार्थी विश्वविद्यालयको नियमअनुसार भर्ना भइसकेपछि निरन्तरताको कुनै परिक्षामा कुनै कारणले छुट्न पुग्यो भने सो विद्यार्थीलाई विश्वविद्यालयले तुरुन्तै परिक्षा दिने अवसर दिने गर्छ । सन्डरल्यान्डले विद्यार्थीको परिक्षा लिने विधि पनि नेपाली विश्वविद्यालयहरुको ढाँचासँग मिल्दैन । अफिसर वस्ती भन्छन्, ‘परिक्षापश्चात विद्यार्थीको कपी पहिला कलेजकै शिक्षकले जाँच गरेर नम्बर दिन्छन्, त्यसपछि विषय विशेषज्ञले जाँच गर्छन र अन्तिममा विश्वविद्यालय बोर्डले भेरिफाइ गरेर अंक दिने व्यवस्था रहेको छ । यदि विद्यार्थीको पेपरमा कुनै कुराको कमि भएमा त्यसलाई पूर्ण गर्नको लागि विश्वविद्यालयले सुझाव र अवसर दिने गर्दछ । जसकारणले गर्दा शतप्रतिशत विद्यार्थीले नै आफ्नो तहमा राम्रो अंक ल्याएर उत्तिर्ण गर्ने अवसर प्राप्त गर्छन् ।’ उनका अनुसार विश्वविद्यालयले नियमित अनुसन्धानको माध्यमबाट पाठ्क्रमको विकास गर्ने र परिक्षामा जाँच गर्ने विधिमा पनि अनुसन्धानको विषयलाई मुख्य बनाउने गरेको छ । नेपाली विश्वविद्यालयका कोर्षहरु नपढाएर युके सन्डरल्यान्ड विश्वविद्यालय कोर्ष पढाउनुसँग विद्यार्थी लक्षित धेरै फाइदा रहेको अफिसर वस्तीको तर्क छ । उनी भन्छन्, ‘नेपाली विश्वविद्यालयहरुले दशकौंदेखि आफ्नो पाठ्यक्रम समयानुकुल अपडेट गर्दैनन्, तर, सन्डरल्यान्ड वा अन्य कतिपय प्रतिष्ठित विदेशी विश्वविद्यालयले समयानुकुल नियमित रुपमा पाठ्क्रमको अपडेट गर्ने गर्छन् ।’ सन्डरल्यान्डले बजारको माग र सम्भावनाको आधारमा नियमित रुपमा पाठ्यक्रमको विकास गर्ने गरेको अफिसर वस्तीको भनाइ छ । जसकारणले गर्दा विद्यार्थीले आफुले रोजेको विषयमा सम्बन्धित तह उत्तिर्ण गरिसकेपछि बेरोजगार हुनु पर्दैन । नेपाली विश्वविद्यालयहरुमा अनुसन्धान र व्यवहारिकतालाई प्राथमिकतामा राखेर पाठ्यक्रम बनाउने र पठनपाठन विधि सञ्चालन गर्ने काम नभएको अफिसर वस्ती बताउँछन् । नेपालमा ८० भन्दा धेरै कलेजहरुले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरेका छन् । जसमा आइएसएमटीको भिन्न विशेषता सहितको पहिचान भएको कलेजको दाबी छ । गुणस्तरीय शिक्षा, विद्यार्थीमैत्री शुल्क र क्रेडिट ट्रान्सफर सुविधा कलेजको मुख्य विशेषता रहेको अफिसर वस्तीको भनाइ छ । ‘आइएसएमटीको विशेषता भनेको मागमा आधारित र उद्यम सम्बन्धित पाठ्यक्रम हो, हामीले यही कोर्ष सञ्चालन गरिरहेका छौं । अर्को कुरा नेपालका सबै कलेजहरुमा भन्दा ब्रिटिस एजुकेसन प्रदान गर्ने कुरामा आइएसएमटी सबैभन्दा एफोर्डएबल छ भन्ने हाम्रो दाबी छ,’ अफिसर वस्तीले भने । उनका अनुसार कलेजबाट जुनसुकै विषयमा अध्ययन गर्ने विद्यार्थीले ९ देखि १० लाख रुपैयाँको खर्चमा स्नातक तहको ब्रिटिस डिग्री प्राप्त गर्न सक्छन् । विदेशी विश्वविद्यालयको सम्बन्धनबाट सञ्चालित कलेजमा अध्ययन गर्दा विद्यार्थीले क्रेडिट ट्रान्सफरको सुविधा प्राप्त गर्दछन् । जुन सुविधाको प्रयोग गरी विद्यार्थीहरु विश्वका अन्य विश्वविद्यालय र कलेजहरुमा पनि अध्ययनको लागि जानसक्ने अफिसर वस्तीको भनाइ छ । उनका अनुसार अहिलेसम्म आइएसएमटीबाट ३ सय ५० जना भन्दा धेरै विद्यार्थीहरु युरोप र अस्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजमा अध्ययनको लागि क्रेडिट ट्रान्सफर गरेर अध्ययन गर्न गएका छन् । ‘मल्टिपल युनिभर्सिटी क्रेडिट ट्रान्सफर कलेजको विशेष विशेषता हो,’ उनले भने । कलेजले नियमित पठनपाठनको अलावा सामाजिक क्षेत्रमा पनि धेरै कार्यक्रम सञ्चालन गर्दै आएको छ । वृक्षारोपण, विपन्नहरुलाई खाद्यान्न सहयोग, सहरको सरसफाइ, आदि जस्ता धेरै कार्यक्रमहरु कलेजले नियमित रुपमा सञ्चाल गर्ने गरेको अफिसर वस्ती बताउँछन् । ‘पठनपाठन सँगै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई हामीले प्राथमिकतामा धेरै कार्यक्रम सञ्चालन गर्दै आएका छौं, जसले समाजका विभिन्न क्षेत्रलाई ठुलो सहयोग पुर्याउँदै आएको छ,’ उनले भने । कलेजमा आइटी विषय लिएर अध्ययन गरेका अधिकांश विद्यार्थीहरुले अध्ययनकै क्रममा विभिन्न व्यवसायमा जोडिने अथवा आफ्नो व्यवसायको शुरुवात गर्ने गर्छन् । त्यस्तै कलेजले सञ्चालन गरेका अन्य विषयहरु पनि प्रयोगात्मक एवं व्यवहारिक भएकाले अध्ययनपश्चात् कुनैपनि विद्यार्थी बेरोजगार हुने अवस्था नआउने अफिसर वस्तीको भनाइ छ । कलेजमा पढेका केही विद्यार्थीहरु थप अध्ययनका लागि विदेश समेत जाने गरेको उनी बताउँछन् । अहिलेसम्म स्नातक तहमा मात्रै पठनपाठन सञ्चालन गरेको कलेजले आगामी दिनमा एमबिए तहको विस्तार गर्ने योजना बनाएको छ । ‘अहिले सञ्चालन गरिरहेको कार्यक्रमलाई थप प्रभावकारी र एमबिए तहको विस्तार गर्ने योजनामा छौं,’ अफिसर वस्तीले भने ।
हेरल्ड कलेजका ४८१ विद्यार्थी दीक्षित
काठमाडौं । हेरल्ड कलेज काठमाडौंको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कलेजकाे दीक्षान्त समारोह सम्पन्न भएको हो । समारोहबाट ४८१ विद्यार्थी दीक्षित भएकाे छन् । जसमा सन् २०१९/ २० मा स्नातक तह उत्तीर्ण बिएस्सी हन्स कम्प्युटर साइन्सका १६०, बिएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका २६ र सन् २०२०/२१ मा स्नातक तह उत्तीर्ण बिएस्सी हन्स कम्प्युटर साइन्सका २४९ र बिएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका ४६ गरी कुल ४८१ जना विद्यार्थीहरू दीक्षित भएका छन् । आइएनजी ग्रुपअन्तर्गत पर्ने हेरल्ड कलेज बेलायतको प्रतिष्ठित विश्वविद्यालय युनिभर्सिटी अफ वुल्भरह्याम्पटन, युकेबाट सम्बन्धन प्राप्त कलेज हो । दीक्षान्त समारोहमा युनिभर्सिटी अफ वुल्भरह्याम्पटन विश्वविद्यालयका प्रोभाइस चान्सलर टिम स्टिलले दीक्षित विद्यार्थीलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए । समारोहलाई सम्बोधन गर्दै प्रोभाइस चान्सलर टिमले दिक्षित विद्यार्थीहरूलाई बधाई दिँदै नेपालको कलेजसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । कोभिड महामारीका कारण सरकारले तय गरेका विभिन्न स्वास्थ्य प्रोटोकलहरू पालना गर्नुपर्ने भएकाले उक्त समारोह दुई वर्षपछि भएको हो । नेपालमा सन् २०१७ देखि सञ्चालन हुँदै आएको उक्त कलेजमा अहिले स्नातक तहमा ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी, ब्याचलर इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र स्नातकोत्तर तहमा इन्टरनेसनल मास्टर्स अफ बिजनेस म्यानेजमेन्ट विषय पढाइ हुँदै आएको छ । कलेजले विद्यार्थीको एटिच्युड, एकेडेमिक्स र एटेन्डेन्स अर्थात् ट्रिपल ए का आधारमा कलेजमा भर्ना भएका १० प्रतिशत विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाल आइएनजी ग्रुपअन्तर्गत काठमाडौंमा इस्लिङ्टन कलेज, हेरल्ड कलेज काठमाडौं, पोखरामा इन्फरम्याटिक्स कलेज पोखरा, विराटनगरमा विराटनगर इन्टरनेसनल कलेज र इटहरीमा इटहरी इन्टरनेसनल कलेज सञ्चालनमा रहेका छन् ।
हेटौँडा उपमहानगरमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम
बागमती । हेटौँडा उपमहानगरपालिकामा यही शैक्षिक सत्रबाट उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ । ती कक्षामा ‘हाम्रो हेटौँडा’ नामक स्थानीय पाठ्यक्रम लागू हुने हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिए । हाम्रो हेटौँडा नामको उक्त पुस्तकको छपाइ भइरहेको बताइएको छ । सो पुस्तकमा स्थानीयस्तरको शैक्षिक ज्ञान र सीप, प्रविधि, पेशा, संस्कृति, प्राकृतिक पक्ष, संरक्षण तथा प्रवद्र्धनको विषय समेटिएको छ । उक्त विषयको संरक्षणको जिम्मेवारी स्थानीय सरकारमा रहने भएकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको उहाँको भनाइ थियो । उपमहानगरमा ७६ सामुदायिक र ५० निजी गरी १२६ विद्यालयका शिक्षकलाई नयाँ पाठ्यक्रमबारे जानकारी गराइएको उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख गङ्गाधर रिमालले जानकारी दिए । एक सय ६० पूर्णाङ्क रहेको सो पाठ्यक्रममा कक्षा १ देखि ३ सम्म हप्तामा पाँच घण्टा अध्ययन गर्नुपर्ने व्यवस्था रहेको प्रमुख रिमालले भने । त्यसमा ६० प्रतिशत सैद्धान्तिक तथा ४० प्रतिशत अङ्क प्रयोगात्मक रहने बताइएको छ । रासस