एसईईको नतिजा सार्वजनिक, ९ हजार ६३३ जनाले ल्याए ४ जीपीए
फाइल फाेटाे काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार दिउँसो बसेको बेठकले यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । यस वर्षकाे परीक्षामा पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएकोमा नौ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीएसम्म ल्याएका छन् । परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार यस वर्षकाेे परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको थिए । एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ । एसईईको रिजल्ट तीन माध्यमबाट हेर्न सकिने नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ । यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ । ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो । एसईईको रिजल्ट तीन माध्यमबाट हेर्न सकिने
बिएससीएजी पास भएका सयौं विद्यार्थी इजरायल जाँदै, तालिमसँगै दशौं लाख कमाई हुने
काठमाडौं । बिएससीएजी उत्तीर्ण भएका सयौं विद्यार्थी तालिमको लागि इजरायल जान पाउने भएका छन् । इजरायलमा गरिने खेती प्रविधिको अध्ययन एवं सिकाइका लागि कृषि र पशु विज्ञान अध्ययन संस्थानले एक सय विद्यार्थीहरुलाई इजरायल पठाउन लागेको हो । इजरायल कृषिका लागि विश्वकै नमूनामध्येको मुलुकको रुपमा मानिन्छ । संस्थानका सहायक डिन किशोर दाहालका अनुसार इजरायलमा कृषि क्षेत्रमा उत्कृष्ट प्रविधिको प्रयोग गरेर कृषि फार्महरु निर्माण गरिएको छ । इजरायलमा कृषि सम्बन्धी सिकाइको लागि भारत, इन्डोनेसिया, थाइल्यान्ड, कम्बोडिया लगायतका मुलुकबाट पनि विद्यार्थीहरु जाने गर्दछन् । सोही क्रममा नेपालबाट पनि भर्खरै बिएस्सीएजी पास भएका १ सय जना विद्यार्थीहरुलाई इजरायल पठाउन खोजिएको सहायक डिन दाहालले बताए । ‘यो एक प्रकारले विद्यार्थीहरुलाई काम सहितको तालिम हो,’ उनले भने, ‘यसलाई कामबाट सिक्ने तालिम भनेर भनिन्छ ।’ सो तालिममा एक दिन सैद्धान्तिक प्रकारको तालिम हुने र बाँकी ५ दिन सो अनुसार फिल्डमा गएर सो अनुसार काम गर्नुपर्ने उनले बताए । सो काम गरेवापत उनीहरुले कामको ज्याला समेत प्राप्त गर्ने उनको भनाइ छ । ‘त्यही भएर यसलाई सिक्ने र कमाउने तालिम पनि भनिन्छ,’ उनले भने । अहिले संस्थानले भर्खरै बिएससीएजी पास गरेका सय जना विद्यार्थीलाई छनोट गरेर पठाउने तयारी गरेको छ । त्यसको लागि विद्यार्थी छनोट गर्ने कार्यक्रम भइरहेको दाहालले विकासन्युजलाई बताए । विद्यार्थी छनोट गर्ने प्रकृयामा इजरायलका राजदुत नै सहभागी भएका थिए । यसरी छनोट भएका विद्यार्थीहरु आगामी सेप्टेम्बरको पहिलो साता इजरायल जान पाउनेछन् । तालिमसँगै कमाइको लागि इजरायल विद्यार्थी पठाउनको लागि संस्थानले आवेदन आह्वान गरेको र सो आवेदनमा १ सय ४८ जना विद्यार्थीले निवेदन दिएका थिए । आवेदन दिएका विद्यार्थीमध्ये संस्थानले उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीहरुलाई क्रमश अन्तवार्तामा सहभागी हुने अवसर दियो । अन्तवार्ता नेपालका लागि इजरायली राजदुतको सहभागीतामा नै भएको दाहालको भनाइ छ । यसरी भएको अन्तवार्तामा ९० जना विद्यार्थी मात्रै छनोट भएकाले बाँकी विद्यार्थी दोस्रोपटकको छनोट विधीबाट छनोट गरिएको उनले बताए । गतवर्ष अध्ययन संस्थानबाट ३ सय ५० जना विद्यार्थीले बिएस्सीएजी पास गरेका थिए । तालिमको लागि छनोट भएर इजरायल जाने विद्यार्थीहरुले त्यहाँ गएर ११ महिनासम्म ‘अन द जब ट्रेनिङ’ गर्नेछन् । राजदुतको संलग्नतामा भएको अन्तवार्ता तथा छनोट कार्यक्रम भएकाले लैजाने विधि सरल हुने दाहालको भनाइ छ । उनका अनुसार अहिले विद्यार्थीहरुको पासपोर्ट, मेडिकल र पुलिस रिपोर्ट बनाउने काम भइरहेको छ । सो काम सकिएपछि भिसा आवेदनको लागि राजदुतावासमा पठाइने र भिसा निःशुल्क हुने उनले बताए । कृषि तालिमको लागि इजरायल जाने विद्यार्थीहरुको भिसा निःशुल्क लाग्ने भएतापनि मेडिकल रिपोर्ट बनाउने काम र हवाइजहाज भाडा भने उनीहरुले नै व्यहोर्नुपर्नेछ । ‘मेडिकल आँफै गर्नपर्यो, पुलिस रिपोर्ट आँफै गर्नपर्यो, अनि हामीले प्रोसेसिङ लागत भनेर १ हजार रुपैयाँ लिएर डकुमेन्टेसको काम गरिदिएका छौं,’ दाहालले भने । उनका अनुसार इजरायलमा ५० जना मानिसहरु मिलेर एउटा फार्म सञ्चालन गर्ने गर्छन्, ती फार्महरुको क्षमताअनुसार सञ्चालकले प्रशिक्षार्थी कामदार राख्छन् । नेपालबाट गएका विद्यार्थीहरु तिनै फार्महाउसमा बाँडिएर बस्ने, तालिम लिने र काम गर्ने गर्दछन् । त्यहाँ एउटा मात्रै नभएर धेरै प्रकारका तरकारी तथा फलफुलका फार्म हुने उनको भनाई छ । विद्यार्थीहरुले फार्ममा बसेर सिक्दै काम गर्दा उनीहरुको खाने बस्ने सुविधा पनि फार्ममा नै हुन्छ । यो विषयमा सम्झौतामा नै व्यवस्था गरिएको दाहालको भनाइ छ । उनका अनुसार विद्यार्थीहरुले सिक्दै काम गर्दा निश्चित रकम तलब बापत प्राप्त गर्छन् । खाना खाने र बस्ने व्यवस्था फार्म हाउसले नै गर्ने र त्यो बापत निश्चित रकम पनि लाग्ने गर्दछ । विद्यार्थीहरुले फार्म हाउसमा फरक-फरक ढंगले काम गर्ने अवसर प्राप्त गर्ने र सो अनुसार नै धेरै काम गर्न पाउनेले धेरै कमाई गर्ने र थोरै काम गर्न पाउनेले थोरै कमाई गर्ने दाहालको भनाई छ । समग्रमा काम गर्ने अवधिभर सम्पूर्ण खर्च कटाएर झण्डै १० लाख रुपैयाँ बचत गर्न सकिने कुरा पुरानो अनुभवले देखाएको उनी बताउँछन् । इजरायलमा सिक्दै कमाउँदै गरेर फर्केपछि विद्यार्थीहरुले आँफैले फार्म हाउस चलाउन वा सो सम्बन्धी काम गर्न व्यवहारिक रुपमा दक्ष हुन्छन् । ‘यो नन एकेडेमिक डिग्री हो, एक प्रकारको तालिम हो, यसले उनीहरुको वृद्धि विकास गरेको हुन्छ, उनीहरुले सिकेको सिपको आधारमा यहाँ फर्किसकेपछि आँफै केही गर्न सक्छन्,’ दाहालले भने । त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत वार्षिक रुपमा ३ सय ५० भन्दा धेरै विद्यार्थीले बिएससीएजी पास गर्ने र ती विद्यार्थीहरुलाई व्यवहारिक रुपमा थप ज्ञान हासिल गर्न र सोही क्रममा पैसा आर्जन गर्नको लागि इजरायलले उपलब्ध गराएको तालिम एउटा अवसर भएको सहायक डिन दाहालको भनाइ छ ।
एसइईको रिजल्ट आजै सार्वजनिक हुने, कसरी हेर्ने ?
फाइल फाेटाे काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । ‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका साथ विद्यार्थीको विवरण रुजु (पुनः जाँच) गर्ने काम भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन गएको हो’, उनले भने । स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको रायमाझीको भनाइ छ । शिक्षाका कर्मचारीदेखि उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक- शिक्षिका निर्वाचनमा खटिएकाले परीक्षणमा केही ढिला भएकाले नतिजा सार्वजनिक गर्न समय लागेको उनले बताए । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको नियन्त्रक रायमाझीले जानकारी दिए । यसरी हेर्न सकिन्छ एसइईको नतिजा एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ । एसईईको रिजल्ट तीन माध्यमबाट हेर्न सकिने नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ । यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ । ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो । रासस