एसईई उत्तीर्ण एक हजार विद्यार्थीलाई नि:शुल्क पढाउँदै इसेवा

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसईई परिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न पाउनेछन् । यसका लागि विद्यार्थीहरुले इसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ । त्यसपछि इसेवा एप मार्फत आफुले अध्ययन गर्न चाहेको कलेज छानेर आफुले पढ्न चाहेको विषय रोज्नु पर्नेछ । यसका लागि विद्यार्थीले १० रुपैयाँ तिरेर आवेदन दिन सकिनेछ भने यसमा उनीहरुले १० प्रतिशत क्यासब्याक पाउनेछन् । यस योजनामा सहभागी हुन विद्यार्थीले आफ्नो वास्तविक मार्कसिट र चारित्रिक प्रमाणपत्र समावेश गर्नुपर्नेछ । कुन कलेजमा पढ्ने भन्ने कुरा ब्लग डट इसेवा डटकम डट एनपीमा हेर्न सकिनेछ । साथै, विद्यार्थीले इसेवाको कल सेन्टरमा सम्पर्क गरेर पनि थप जानकारी लिन सक्नेछन् । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

पोखरामा फेशन डिजाइनिङ र सौन्दर्यशास्त्र अध्ययन हुँदै

पाेखरा । पोखरा युनाइटेड एकेडेमीले पहिलोपल्ट ‘फेशन डिजाइनिङ्ग एवं सौन्दर्यशास्त्र’को कक्षा सञ्चालन गर्ने भएको छ । एकेडेमीले आजको आवश्यता शिक्षासँग सीप र आत्मनिर्भरताका लागि एक विद्यार्थी एक प्राविधिक शिक्षा भन्ने नारालाई आत्मसात गर्दै व्यवसायीक शिक्षातर्फ उक्त विषयको अध्ययन गराउन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । एकेडेमीका निर्देशक कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको पाठ्यक्रम २०७६ ले व्यवसायिक विषयलाई प्राथमिकता दिएअनुसार आफूहरुले पनि प्राथमिकतामा राखेर अध्ययन गराउनका लागि ‘सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ’लाई ऐच्छिक विषयका रुपमा समावेश गरेको जानकारी दिए । उनले एकेडेमीले यसअघि विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्टको अध्ययन गराउँदै आएको र पछिल्लो समय फेशन डिजाइनिङ र सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेलाई लक्षित गरेर कक्षा सञ्चालन गर्न लागेको बताए । उनका अनुसार ४० देखि ५० हजार शुल्कमा विद्यार्थीले फेशन र सौन्दर्यशास्त्रको कोर्ष पुरा गर्न सक्नेछन् । दक्ष जनशक्ति उत्पादनका लागि अनुभवी शिक्षकबाट अध्यापन गराइने उनको भनाइ छ । कार्यक्रममा सौन्दर्यविद् एव सौन्दर्यशास्त्र पाठ्यक्रमका लेखक कमला श्रेष्ठले व्यवसायिक शिक्षाअन्तर्गत रोजगारको प्रशस्त सम्भावना बोकेको सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ अहिलेको समयको माग भएको बताए । उनले २०७१ सालदेखि ऐच्छिक विषयका रुपमा समावेश गर्न पहल थालेको स्मरण गर्दै अहिले सफल भएको बताए । कार्यक्रममा ३५ वर्षदेखि सौन्दर्य क्षेत्रको कार्यरत गण्डकी प्रदेशका प्रदेशसभा सदस्यसमेत रहनुभएका मिना गुरुङले ढिलै भए पनि सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेका लागि अवसरका ढोका खुलेको बताइन् । उनले सौन्दर्यकलाको विषयलाई अध्ययनको विषय बनाउनु पर्छ भनेर निकै पहिलेदेखि आवाज उठाउँदै आएको जनाउँदै अहिले यो पाठ्यक्रममा समावेश भएर आउँदाको क्षण निकै आनन्द लागेको बताइन् । फेशन डिजाइनर विशाल गुरुङले आजको आवश्यता व्यवासायिक शिक्षा भएको र दक्ष जनशक्तिबाट मात्र देश विकास सम्भव हुने धारणा राखे । ऐकेडेमिका प्राचार्य वैनबहादुर गोदारले आधुनिक समयको माग र आवश्यकतालाई महसुस गरी विद्यार्थी स्वयं स्वरोजगार बन्न सक्ने विषयलाई प्राथमिकता दिँदै यस शैक्षिक सत्रबाट नयाँ सिपमुलक विषयलाई थप गरेको जानकारी दिए । एकेडेमीका व्यवस्थापन संयोजक राजकुमार कार्कीले प्राज्ञिक र दक्ष जनशक्ति उत्पादन गरी वैधानिक प्रमाणपत्र प्रदान गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको बताए । उनले यस विषय अध्ययनले हालको बढ्दो बेरोजगारी समस्यालाई कम गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । एकेडेमीको शैक्षिक विभाग प्रमुख डिल्लीराम तिवारीले कार्यक्रमको सहजीकरण गर्दै नेपाल सरकारबाट एसईई उत्तिर्ण भएका जुनसुकै विद्यार्थीले पनि उक्त कोर्ष अध्ययन गर्नसक्ने बताए ।

अमेरिकाको सरकारी पाठ्यक्रममा सामाजिक अभियान्ता डा. परियार बारे पढाइ

काठमाडौं । अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियान्ता डा. विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ । सो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा परियारबारेको पाठ समावेश गरिएको अमेरिका निवासी पत्रकार प्रदीप परियारले जानकारी दिए । विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको ‘च्याप्टर’मा डा. परियारका बारेमा तयार पारिएको वृत्तचित्र ‘अनटचेवल’ समेत समावेश गरिएको उनको भनाइ छ । उनले भने, ‘अमेरिकाको मासाचुसेट्स राज्यको डिपार्टमेन्ट अफ एजुकेशनबाट स्वीकृत पाठ्यक्रममा विश्वको इतिहास र भूगोल विषयमा नेपाली डा. विष्णुमाया परियारका बारेमा पाठ समावेश गरिएको छ, भिडियो र ‘स्लाइड शो’को माध्यमबाट पढाइने उक्त पाठमा डा. परियारका बारेमा र जातीय विभेदबारे जानकारी दिने आठवटा स्लाइडसमेत समावेश गरिएको छ ।’ सो पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयमा उपलब्ध रहेको र आगामी वर्षदेखि राज्यका धेरै विद्यालयमा लागू हुने डा. परियारले जानकारी दिइन् । पाठमा नेपालमा जातीय विभेद र असमानताबारे समेटिएको छ । रासस