पढ्नलाई उमेरले छेकेन : दुई छोरी र एक छोरासँगै विद्यालय

दमौली । ‘पढाइजस्तो ठूलो केही रहेनछ, जीवनलाई पढाइ अति आवश्यक रहेछ’, तनहुँको व्यास नगरपालिका–१४ का ४२ वर्षीय विश्वबुढा परियारले भने, ‘जब मान्छे शिक्षित हुन्छ, तब घरको व्यवहारदेखि समाज र देश विकासमा टेवा पुग्छ ।’ व्यास–२ दमौलीस्थित बाल मन्दिर माविमा कक्षा ११ मा अध्ययन गरिरहेका परियारले विद्यालय छाडेको २५ वर्षपछि पुनः अध्ययनलाई निरन्तरता दिएका छन् । व्यास–१४ स्थित केशवटार माविमा कक्षा १ देखि ९ सम्म अध्ययन गरी पढाइ छाडेका बुढाले गत वर्ष सोही विद्यालयबाट एसइई उत्तीर्ण गरेका थिए । एसइईमा एक दशमलव छ जिपिए ल्याएका उनले हाल बाल मन्दिर माविबाट उच्च शिक्षा सुरुआत गरेका छन् । अझ रोचक त के भने परियारका दुई छोरी र एक छोरा पनि यही विद्यालयमा अध्ययनरत छन् । ठूलो छोरा १३ वर्षीय शिवशङ्कर बुढा परियार कक्षा ६ मा अध्ययनरत छन् । छोरी ११ वर्षीया पूर्णिमा परियार कक्षा ४ र अर्की छोरी नौ वर्षीया लक्ष्मी परियार कक्षा एलकेजीमा अध्ययनरत छन् । छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्दा खुसी लाग्ने गरेको परियार बताउँछन् । ‘हामी त सबै एउटै विद्यालयमा पढ्छौँ, छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्न पाउँदा खुसी लाग्छ’, परियारले भने, ‘सुरु–सुरुमा त केही अप्ठ्यारो महसुस हुन्थ्यो, अहिले त सबै विद्यार्थी साथी जस्तै भइसके ।’ परियारको कक्षामा ४२ विद्यार्थी छन् । सबै विद्यार्थी छोराछोरी जस्तै लाग्छन् । ‘उमेरका हिसाबले सबै छोराछोरी जस्तै लाग्छन्, अहिले त सबै मेरा साथी हुन्’, परियारले भने । सुरुमा विद्यालय जाँदा विद्यार्थीहरु खिस्स हाँस्ने गरेको उनले सुनाए । यसरी आयो पढ्ने सोच नेपाल कराते सङ्घ गोजो एकाइका प्रमुख प्रशिक्षक परियार केही वर्ष अगाडि स्वयम्सेवक प्रशिक्षकलाई अन्तर्वार्ता दिन गएका थिए । त्यतिबेला एसएसली उत्तीर्ण नगरेको भने पनि उनी छनोट भएका थिएनन् । त्यही बेला उनलाई एसएलसी उत्तीर्ण नगरेकामा हीनताबोध भयो र पढ्नुपर्छ भन्ने सोच जाग्यो । ‘खेलकुदबाट स्वयम्सेवक प्रशिक्षक खटाउने भनेर अन्तर्वार्ता दिन जाँदा एसएलसी उत्तीर्ण नहुँदा फालिएँ, त्यहाँबाट पढ्न पर्ने रहेछ भन्ने लाग्यो’, परियारले विगत सम्झँदै भने, ‘पढाइ जस्तो ठूलो केही पनि रहेनछ भन्ने अनुभूति भयो ।’ राजनीतिमा पनि आस्था रहेको र पछि गएर पढाइले केही समस्या हुन्छ भन्ने लागेर दुई वर्षअघि केशवटार माविमा कक्षा ९ मा भर्ना भएर अध्ययनलाई निरन्तरता दिएको परियारले बताए । केशवटार माविका तत्कालीन प्रधानाध्यापक दुर्गाबहादुर आलेले पढ्नुपर्छ भनेर प्रोत्साहन गर्ने गरेको परियार सम्झिन्छन् । ‘उनले सधैँ मलाई अध्ययनका लागि प्रोत्साहित गरिरहन्थ्यो, कक्षा ९ मा पुनः भर्ना हुने बेलामा पनि उनले मलाई सहयोग गरे’, परियारले भने, ‘पढ्नलाई उमेरले छेक्दैन, अध्ययन छाडेकाहरुलाई पनि पुनः अध्ययनलाई निरन्तरता दिनुस् भन्न चाहन्छु ।’ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँका वरिष्ठ उपाध्यक्ष, दलित सङ्घ तनहुँको सचिव, सांस्कृतिक सङ्घ तनहुँको सहकोषाध्यक्ष, संयुक्त दलित उत्थान मञ्चको वरिष्ठ उपाध्यक्ष, नेपाल कराते सङ्घ गोजो एकाइको प्रमुख प्रशिक्षक रहेका परियारले विद्यावारिधी गर्ने लक्ष्य रहेको बताए । ‘मेरो लक्ष्य विद्यावारिधी गर्ने लक्ष्य छ, बाँचुन्जेल पढेँ भने विद्यावारिधी गर्छु भन्ने आशा छ’, परियारले भने, ‘पढाइ भनेको जीवनलाई अति आवश्यक छ, इच्छा लाग्यो भने पढाइलाई उमेरले छेक्दैन, यत्तिको उमेरको मान्छे त आएर पढेको छ भनेर विद्यालयका बालबालिकामा पनि पढ्ने प्रोत्साहन जागेको छ ।’ परियारको पढ्ने इच्छाले पढाइलाई उमेरले छेक्दैन भन्ने प्रमाणित भएको बालमन्दिर माविका प्रधानाध्यापक राजेन्द्र खनालले बताए । ‘उनको पढ्ने आँट र साहस देखेर विद्यालयमा विद्यार्थीलाई प्रेरणा मिल्नाका साथै हौसला प्राप्त भएको छ’, खनालले भने, ‘हामीहरुले पनि उनलाई हौसला दिइरहेकाछौँ ।’ रासस

४८ घन्टे ह्याकाथन आयाेजना गर्दै एस् इन्स्टिच्युट अफ म्यानेजमेन्ट

काठमाडौं । एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्तुत गर्ने उद्धेश्यले ४८ घन्टे ह्याकथन ुएस् इग्नाइटु आयोजना गर्ने भएको छ । कार्तिक २४ गते देखि २६ गते सम्म कलेजकै प्राङ्गणमा हुने यस ह्याकथन यस प्रक्रारको अहिले सम्मकै पहिलो कार्यक्रम भएको कलेजले दावी गरेको छ । उपत्यकाभित्र र बाहिर गरी १०० भन्दा बढी सहभागिहरु हुने यस ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वर्ल्डलिन्क, माक्कुसे जस्ता राष्ट्रिय र अन्तरराष्ट्रिय संस्थाहरुको सहयोग रहेको छ। ह्याकाथनबाट प्रतिभाशाली युवाहरूलाई विदेश पलायन हुनबाट रोकी नेपालमै करियर बनाउन सकिन्छ भन्ने विश्वास युवाहरूमा प्रदान गर्न खोजेका कलेजले बताएको छ ।

मोरङका विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह

मोरङ । मोरङ लेटाङ्गका विद्यार्थीहरूले टेलिस्कोपको माध्यमबाट तारा, ग्रह र उपग्रह हेर्ने मौका पाएका छन् । लेटाङ्ग सेकेन्डरी बोर्डिङ्ग स्कुलले विद्यालय परिसरमा विद्यार्थीलाई उक्त अवसर प्रदान गरेको हो । कार्यक्रममा नेपाल एस्ट्रोनोमिकल सोसाइटीका प्रतिनिधि ओसन कट्टेल, उदीप पोखरेल र सोनु शर्माले विद्यार्थीलाई खगोलशास्त्रबारे जानकारी गराएका छन् । विद्यार्थीहरूले दिउँसो आकाशमा टेलिस्कोपको मद्दतबाट सूर्य र राति चन्द्रमा, वृहस्पति ग्रहका साथै शनिग्रह हेरेका थिए । विद्यालयकी संयोजक मेलिसा निरौलाले कार्यक्रममा पाँच सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको जानकारी दिइन् । ‘पाठ्यपुस्तकमा भएका विषय बुझाउन विद्यार्थीलाई रचनात्मक अभ्यासमा सहभागी गराउनु खुसीको विषय हो’, निरौलाले भने । प्याब्सन लेटाङ अध्यक्ष कमल अधिकारीले विद्यालयले गरेको प्रयास सकारात्मक र राम्रो भएको बताए । कार्यक्रममा लेटाङ्ग क्षेत्रका अन्य विद्यालयहरु अमर हर्ट मेमोरियल इङ्गलिस स्कुल, टेन्डर बर्ड बोर्डिङ्ग स्कुल, लेटाङ्ग ग्रीन भ्याली एकेडेमी, जाँते नमूना, पूर्वाञ्चल अल्मामेटर, मोरङ पाथिभरा इङ्गलिस स्कुल, पब्लिक सेन्ट्रल र लिटल फ्लावर्स, ग्यालेक्सी स्कुल तथा मिनरुवा सेकेन्डरी बोर्डिङ्ग स्कुलका विद्यार्थीहरु पनि सहभागी थिए ।