अर्थराजनीतिक अध्ययनमा रुची राख्नेहरुले तिहार बिदामा कस्तो पुस्तक पढ्ने ?
काठमाडौं । नेपालीहरुको महान चाड ‘दिपावली’को अवसरमा १ हप्ताको लागि सार्वजनिक विदा भएको छ । पर्व मनाउनका लागि सरकारले प्रदान गरेको विदाको प्रभाव व्यवसाय तथा उद्यमको क्षेत्रमा पनि झण्डै समान हिसाबले पर्न जान्छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा काम गरिरहेकाहरुले यो १ हप्ताको समयलाई आ–आफनो तरिकाले सदुपयोग गर्ने गर्दछन् । उद्यम तथा व्यवसायमा रुची हुने र भोलीको दिनमा व्यवसायिक तथा उद्यमी जीवन बिताउन चाहने व्यक्तिहरुको लागि विदाको समयमा पर्वसँगै पुस्तक अध्ययन पनि उचित हुनसक्छ । विश्वव्यापी रुपमा ख्याती कमाएका अर्थराजनीतिक, व्यवसायिक तथा उद्यमसँग सम्बन्धित विभिन्न पक्षपाटोको ज्ञान लिनको लागि निम्न पुस्तकहरु तिहारको विदामा पढ्न सान्दर्भिक हुन्छ । ‘दि इन्टेलिजेन्ट इन्भेस्टर’ ब्रिटिसमा जन्मिएका अर्थशास्त्री तथा प्राध्यापक एवं अमेरिकी लगानीकर्ता बेन्जामिन ग्राहमद्वारा लेखिएको पुस्तक हो ‘दि इन्टेलिजेन्ट इन्भेस्टर’ । १९४९ मा प्रकाशित भएको सो व्यवसायिक लगानीको क्षेत्रमा प्रख्यात पुस्तक हो । ग्राहमले लेखेको सो पुस्तकलाई वारेन बफेटले समेत आफ्नो व्यवसायिक पथ पदर्शकको रुपमा ग्रहण गर्ने गर्दछन् । सो पुस्तकले व्यक्तिगत रुपमा व्यवसायको विकास गर्न र पुँजी वृद्धि गर्न खोजिरहेका व्यक्तिहरुलाई वास्तविक वित्तीय सल्लाह गर्ने मानिन्छ । ‘स्टिभ जब्स’ वाल्टर आइज्यकसनले लेखेको ‘स्टभ जब्स’ अमेरिकी व्यसायी एवं एप्पलका सह–संस्थापक स्टिभ जब्सको जीवनीमा आधारित पुस्तक हो । बेन्जामिन फ्रान्कलिन र अल्बर्ट आइन्स्टाइनको सबैभन्दा धेरै बिक्री हुने जीवनीहरु लेख्ने सिएनएन र टाइमका पूर्व कार्यकारी वाल्टर इसाक्सनले सो पुस्तक लेखेका हुन् । लेखकले स्टिभ जब्सको परिवार, नातागोता, साथीभाई लगायत सयौं मानिसहरुसँग छलफल गरेर सो पुस्तक तयार गरेका हुन् । पुस्तकमा प्रविधिको क्षेत्रमा क्रान्ति ल्याएका जब्सको विषयमा लेखिएको छ । ‘धनी बुवा गरिब बुवा’ ‘धनी बुवा गरिब बुवा’ (रिच ड्याड पुअर ड्याड) रोबर्ट कियोसाकी र स्यारोन लेक्टरद्वारा लिखित विश्वमा नै चर्चित अंग्रजी पुस्तक हो । वित्तीय स्वतन्त्राको विषयमा वकालत गर्ने सो पुस्तकमा कसरी लगानी गर्ने र व्यापारलाई कसरी प्रवद्र्धन गर्ने विषयहरु समेटिएका छन् । ‘क्रियटिभिटी इंक’ अंग्रेजी भाषामा लेखिएको सो पुस्तक एडविन कंटमुल र एमी वालेसले लेखेका हुन् । व्यवसाय तथा उद्यम क्षेत्रमा सिर्जनशिल व्यवस्थापनको विषयमा सो पुस्तका विभिन्न कोणबाट विषय प्रस्तुत गरिएको छ । पिक्चर एनिमेसनको सह–संस्थापक तथा अध्यक्षको रुपमा आफ्नो अनुभवलाई संगालेर एडविन कंटमुलले पुस्तकमा केही गहिरा प्रकृया र विश्वासको बारेमा उल्लेख गरेका छन्, जसले पिक्चर्सलाई सफल बनाएको थियो । उनको टिमको दर्शनलाई अन्य कुनै पनि व्यवसायमा रचनात्मक रुपमा प्रयोग गर्न सकिन्छ । ‘दि पावर अफ ह्याविट’ यो पुस्तक अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका रिपोर्टर चाल्र्स डुइगले लेखेका हुन् । यो पुस्तकले बानी व्यवसाय, समुदाय र हाम्रो व्यक्तिगत जीवनमा सफलताको मुख्य कारण भएको तर्क गरेको छ । विभिन्न व्यवसायी, राजनीतिक व्यक्ति, खेलाडीहरुको सफलताको उदाहरण प्रस्तुत गर्दै सो पुस्तकले सफलता हासिल गर्न बानीको महत्वपूर्ण भूमिका हुने दर्शाएको छ । ‘पुँजी (दास क्यापिटल)’ १९औं शताब्दिका विश्वका चर्चित राजनीतिक तथा दार्शनिक व्यक्ति कार्ल माक्र्सद्वारा लिखित पुस्तक हो पुँजी । यो पुस्तकमा पुँजी र पुँजीवादको विश्लेषण गरिएको छ । माक्र्सले सन् १८६७ मा लेखेको यो पुस्तकले संसारमा रहेको अर्थराजनीतिक विचारधारालाई नै हल्लाइदिएर विश्वभरी नै शोषित वर्ग, किसान तथा मजदुरहरुको आन्दोलनको लागि प्रेरणा प्रदान गरेको थियो । ‘द ग्रेट अपहिल’ अर्थशास्त्री स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक हो ‘द ग्रेट अपहिल’ । क्याम्ब्रिज प्रेसद्वारा प्रकाशित सो पुस्तक सन् २०२२ सेप्टेम्बरमा प्रकाशित भएको हो । लेखकले सो पुस्तकमा २१ औं शताब्दिमा एसियमा महादेशबाट १ अरब मानिसहरु गरिवीको रेखाबाट बाहिरीरहेको अवस्थामा कोभिड–१९ महामारीले सो प्रकृयालाई अवरुद्ध बनाएको विषयमा उल्लेख गरिएको छ । पुस्तकले महामारीपछि एसिया प्रशान्त क्षेत्रको क्षमता जाँच गर्नको लागि पुनः इन्जिनियरिङको आवश्यकतालाई औंल्याएको छ । सो पुस्तकले आर्थिक सक्षमता विकास गर्नको लागि नीति निर्माताहरुलाई कैंयौन विकल्पहरु प्रदान गरेको छ । यो पुस्तक युएनडिपीको वेवसाइट र स्वर्णिमवाग्ले डट कम डट एनपीमा गएर निःशुल्क रुपमा डाउनलोड गरी अध्ययन गर्न सकिन्छ । अर्थराजनीतिक र व्यवसायिक एवं उद्यमी चेतना तथा विचारहरुसँग सम्बन्धित पुस्तकहरुको अध्ययन गर्न चाहने पाठकहरुका लागि धेरै लेखकहरुले जीवनउपयोगी तथा जीवन्त पुस्तक लेखेका छन् । अहिलेको समयमा पुस्तकहरु मोवाइल, कम्पयुटर र हार्डकपी विभिन्न माध्यमबाट अध्ययन गर्न सकिन्छ । जसको लागि धेरै कम्पनीहरुले पुस्तक बिक्री गर्ने प्लेटफर्म निर्माण गरेका छन् ।
विद्यार्थीलाई सेलरोटी र टपरी बुन्न सिकाइँदै
तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित शतिश आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सदीक्षा सोतीलाई टपरीबारे जानकारी भए पनि टपरी कसरी बनाइन्छ भन्ने बारेमा ज्ञान छैन । टपरीमा खाजा खाएको देखेकी उनलाई टपरी गाँस्ने तरिका सिक्न मन लाग्यो । उनको इच्छा विद्यालयले पूरा गरिदियो । ‘सालको पातलाई कसरी गाँसेर टपरी बुन्ने भन्नेबारे सिक्ने मौका पाएँ, सिकाइलाई निरन्तर अगाडि बढाएँ भने राम्रो टपरी बनाउन सक्छु,’ उनले भनिन् । विद्यालयले पढाइका साथै प्रयोगात्मक शिक्षा दिएकामा सोतीले खुसी व्यक्त गरे । ‘पढाइका अलवा अतिरिक्त ज्ञानका कुरा सिक्न पाउँदा खुसी लागेको छ, सुरुआत भएकाले केही समस्या भए पनि निरन्तर गरेपछि राम्रो टपरी बुन्छु’, उनले भनिन् । कक्षा १० मा अध्ययनरत सलिना भण्डारीलाई चाडपर्व, पूजाआजाका बेला टपरी देखे पनि कसरी बनाइन्छ भन्ने कौतुहलता थियो । ‘सालको पातलाई बाँसको सिन्काले गाँसेर टपरी बनाइन्छ भन्ने जान्ने मौका पाएँ, अब घरमा पनि टपरी गाँस्न सिक्छु,’ उनले भनिन् । विद्यालयमा अध्ययनरत विद्यार्थीले टपरी गाँस्न सिक्नाका साथै सेलरोटी बनाउने तरिका पनि सिक्ने अवसर पाएका छन् । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित छात्राहरुलाई टपरी र सेलरोटी बनाउने सीप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दीर्घ दरैले जानकारी दिए । ‘नेपाली परम्परा अनुसारको कला सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित छात्राहरुलाई सालको पातबाट दुना, टपरी र सेलरोटी बनाउने तरिका सिकाउने प्रयास गरेका हौँ’, उनले भने, ‘यसले नेपाली कला र संस्कृति जीवन्त राख्न सहयोग पुग्ने विश्वास लिएका छौँ ।’ नेपाली संस्कृतिअनुसार तिहारमा सेलरोटी पकाउने, सेलरोटीलाई टपरीमा राखेर खाने चलन छ । विद्यार्थीलाई संस्कृतिका बारेमा जानकारी दिँदै प्रयोगात्मक शिक्षा प्रदान गर्न यो कार्यक्रम गरिएको दरैले बताए । ‘टपरी बुन्ने र सेलरोटी बनाउने प्रयोगात्मक ज्ञान सिक्न विद्यार्थीहरु इच्छुक देखिए’, उनले भने । प्रयोगात्मक शिक्षा चिरस्थायी हुने भएकाले विद्यालयले प्रयोगात्मक शिक्षालाई जोड दिँदै आएको दरै बताउँछन् । ‘घोकन्ते शिक्षा केही समयका लागि मात्रै हुने र प्रयोगात्मक शिक्षा दीर्घकालीनसम्म हुने भएकाले विद्यार्थीलाई यसमा जोड दिँदै आएका छौँ’, उनले भने, ‘यसलाई निरन्तर रुपमा सञ्चालन गर्छौं ।’ विद्यालयमा अध्यापनरत बुद्धिमाया दरै, शान्ता पौडेल, भगवती पौडेल, अञ्जना दरै, इन्दिरा तिमिल्सिना लगायतले विद्यार्थीलाई टपरी बुन्ने र सेलरोटी बनाउने तरिकाबारे सहजीकरण गरेका थिए । पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवा पुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि छैन । रासस
सामुदायिक विद्यालयमा डिजिटल शिक्षणका लागि काठमाडौं महानगरले गर्यो सम्झौता
काठमाडौं । सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौं महानगर र डिजिटल एन्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ । शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुङ्गानाबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार, आगामी २ वर्षका वियोन्डले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलाप गर्न प्राप्त हुने सुविधा, सञ्चालन र व्यवस्थापनका लागि तालिमलगायत सहयोग सेवा निःशुल्क उपलब्ध गराउनेछ । वियोन्ड गुगलको नेपाल र दक्षिण एसियाली साझेदार संस्था हो । सामुदायिक विद्यालयमा शिक्षण र सिकाइका लागि शिक्षकको डिजिटल क्षमता विकास गर्ने, विद्यार्थीलाई पढाउने, शिक्षण सिकाइ व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनेलगायत काम हुनेछन् । सो अवसरमा महानगरकी उपप्रमुख डङ्गोलले डिजिटल प्रविधि प्रयोगको प्रत्यक्ष लाभ विद्यार्थीको शैक्षिक तथा मानसिक विकासमा हुनुपर्ने बताए । कार्यक्रममा सहभागी वक्ताले काठमाडौँ महानगरमा भएका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ५० हजार विद्यार्थीको पहुँचमा एकै पटक डिजिटल साक्षरताको पहुँच पु¥याउनुपर्ने आवश्यकतामा जोड दिए । वियोन्डका प्रमुख कार्यकारी निर्देशक ढुङ्गानाले सिकाइलाई आवश्यक पर्ने सामग्रीमा दबाब सिर्जना नगरी जटिल र सिर्जनशील सोच्न सक्ने बनाउन कार्यक्रम सञ्चालन गरिने बताए । रासस