प्लस टुपछि नेपाल कि विदेश ?

विद्यार्थी पैसा पछाडि दगुर्न थाले

काठमाडौं । कक्षा १२ को परीक्षा सकिएसँगै हजारौं नेपाली परिवारमा एउटा साझा बहस सुरु हुन्छ, छोराछोरीलाई नेपालमै पढाउने कि उच्च शिक्षाका लागि विदेश पठाउने । यो प्रश्न आजको समयमा अभिभावकलाई सबैभन्दा बढी दोधारमा पार्ने विषय बनेको छ ।

केही वर्षअघिसम्म विदेश अध्ययन मुख्यतः शहरी क्षेत्रका विद्यार्थीको सपना मानिन्थ्यो । तर, अहिले परिस्थिति बदलिएको छ । शहरदेखि गाउँसम्म, सम्पन्न परिवारदेखि मध्यमवर्गीय घरपरिवारसम्म, धेरै विद्यार्थीको पहिलो रोजाइ नै विदेश बन्न थालेको छ । 

अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया वा युरोपका विभिन्न मुलुकमा अध्ययन गर्न जाने चाहना अहिलेको पुस्तामा केवल शैक्षिक लक्ष्य मात्र होइन, भविष्य निर्माणको माध्यमका रूपमा पनि स्थापित हुँदै गएको छ ।

कक्षा १२ को नतिजा सार्वजनिक हुने समय नजिकिँदै जाँदा विद्यार्थीभन्दा बढी अभिभावक चिन्तित देखिन्छन् । छोराछोरीको रुचि, परिवारको आर्थिक अवस्था, करिअर, स्वदेशमा उपलब्ध अवसर र विदेशका सम्भावना यी सबै कुरा एकैसाथ हेर्दाे निर्णय झन् जटिल बन्छ । 

एकातिर अन्तर्राष्ट्रिय डिग्री, विश्वव्यापी अवसर र अध्ययनसँगै आम्दानी गर्ने आकर्षण छ भने अर्कोतिर बढ्दो खर्च, पारिवारिक दूरी, मानसिक दबाब र अनिश्चित भविष्यका प्रश्नहरू पनि उत्तिकै गम्भीर छन् ।

असार १० गते कक्षा १२ को नतिजा सार्वजनिक हुने तयारी भइरहँदा देशभरका हजारौं विद्यार्थी र अभिभावक यही मोडमा उभिएका छन् । नतिजापछि कुन विषय पढ्ने भन्ने निर्णयभन्दा पनि ‘नेपालमै बस्ने कि विदेश जाने’ भन्ने प्रश्न धेरैका लागि पहिलो प्राथमिकता बनेको छ । 

पछिल्ला वर्षहरूमा विदेश अध्ययन स्वीकृति (नो अब्जेक्सन लेटर) लिने विद्यार्थीको संख्या निरन्तर उच्च रहनुले पनि प्लसटुपछि अधिकांश विद्यार्थीको ध्यान स्वदेशभन्दा बढी विदेशतर्फ केन्द्रित भएको संकेत गर्छ ।

धनकुटाका सुमन श्रेष्ठको दैनिकीमा उत्सुकता र योजनाहरू एकसाथ मिसिएका छन् । काठमाडौंको चावहिलस्थित टेक्सास इन्टरनेशनल कलेजबाट कक्षा १२ को परीक्षा दिएका उनी यतिबेला नतिजाको मात्र होइन, आफ्नो भविष्यको गन्तव्य तय हुने दिनको पनि प्रतीक्षामा छन् । उनको सपना छ, ‘उच्च शिक्षाका लागि जर्मनी जाने ।’

कम्प्युटर साइन्स विषय अध्ययन गरेका सुमनको चाहना विदेश पुगेर पनि त्यही विषयमा आफ्नो अध्ययनलाई निरन्तरता दिनेछ । उनका धेरै साथी र आफन्तहरू अहिले जर्मनीमा अध्ययनरत छन् । उनीहरूको अनुभव, अवसरका कथा र भविष्यका सम्भावनाले सुमनलाई पनि त्यही बाटो रोज्न प्रेरित गरेको छ ।

‘मैले परिवारसँग पनि यसबारे कुरा गरिसकेको छु । उहाँहरूले सहमति जनाइसक्नुभएको छ । अहिले म भाषा र अन्य तयारीमा केन्द्रित छु,’ विकासन्युजसँग कुरा गर्दै उनी भन्छन्, ‘अवसर पाएसम्म उच्च शिक्षाका लागि विदेश जाने सोच बनाएको छु ।’

सुमनजस्ता हजारौं विद्यार्थी अहिले कक्षा १२ को नतिजासँगै आफ्नो भविष्यको नयाँ अध्याय सुरु गर्ने तयारीमा छन् । कसैले अस्ट्रेलियाको सपना देखिरहेका छन्, कसैले क्यानडा, जापान वा युरोपका देशहरूको । उनीहरूका लागि नतिजा केवल अंकको हिसाब होइन, विदेश जाने यात्राको पहिलो खुड्किलो पनि हो ।

तर विद्यार्थीका सपना र अभिभावकका चाहना सधैं एउटै हुँदैनन्। सिन्धुपाल्चोककी कमला कार्की यतिबेला यस्तै द्विविधाको बीचमा छिन् । उनका छोराले उच्च शिक्षाका लागि बेलायत (युके) जाने तयारी गरिरहेका छन् । तर ,कमलाको मन भने छोरालाई सकेसम्म नेपालमै पढाउने पक्षमा छ ।

‘छोराले कि अस्ट्रेलिया, कि युके जाने कुरा गरिरहेको छ,’ उनी भन्छिन्, ‘हामीले भने अझै अन्तिम निर्णय गर्न सकेका छैनौं। अब नतिजा सार्वजनिक भएपछि थप सोच्नुपर्ला ।’

एक्लो सन्तान भएकाले उनलाई छोरालाई आफूभन्दा टाढा पठाउन मन छैन । तर, बदलिँदो समय, साथीभाइको प्रभाव र विदेश अध्ययनप्रतिको आकर्षणले छोराको योजना लगभग तय भइसकेको छ ।

‘मन त नेपालमै पढोस् भन्ने छ,तर उसको आफ्नै सपना र योजना छन्। अहिलेका धेरै केटाकेटीको सोच नै विदेशतिर छ,’ उनले भनिन् ।

सुमन र कमलाको परिवारका यी दुई कथा फरक देखिए पनि अहिले नेपालका हजारौं घरपरिवारको साझा यथार्थ यही हो । एकातिर विश्वस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय अवसर र उज्ज्वल भविष्यको आशाले विद्यार्थीलाई विदेशतर्फ तानिरहेको छ भने अर्कोतिर छोराछोरी टाढिने पीडा, आर्थिक भार र भावनात्मक सम्बन्धले अभिभावकलाई निर्णय गर्न कठिन बनाइरहेको छ ।

उच्च शिक्षाका लागि स्वदेश कि विदेश रोज्ने ?

विदेश अध्ययनलाई नै सफल भविष्यको एकमात्र ढोका मान्ने धारणा नेपाली समाजमा बलियो बन्दै गए पनि विज्ञहरू भने यसको विपरीत तर्क गर्छन् । 

उनीहरू उच्च शिक्षा हासिल गर्न विदेश नै पुग्नुपर्छ भन्ने मान्यता अहिलेको वास्तविकतासँग मेल नखाने बताउँछन् । पछिल्ला वर्षहरूमा नेपालमै अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्थाको संख्या बढेको छ भने कृत्रिम बौद्धिकता (एआई), सूचना प्रविधि (आईटी), डाटा साइन्स, साइबर सेक्युरिटी, बिजनेस तथा व्यवस्थापनलगायत विश्व बजारमा माग भएका विषयहरू पनि नेपाली कलेजहरूले नै पढाउन थालेका छन् । 

अहिले नेपालमा विभिन्न ५६ भन्दा बढी देशका विश्वविद्यालयबाट मान्यता प्राप्त कार्यक्रम सञ्चालन भइरहेका छन् । 

यद्यपि, साथीभाइ र आफन्तको देखासिखीमा विदेश जाने निर्णय गर्नु विद्यार्थी र अभिभावक दुवैका लागि जोखिमपूर्ण हुन सक्ने विज्ञहरूको भनाइ छ । उनीहरूका अनुसार विदेश जाने निर्णय अरूको प्रभावमा होइन, विद्यार्थीको रुचि, पारिवारिक आर्थिक अवस्था र दीर्घकालीन करियर लक्ष्यलाई आधार बनाएर गर्नुपर्छ ।

लिबर्टी कलेजका प्रिन्सिपल देवराज पनेरु भने प्लसटु सकेलगत्तै विदेश जाने प्रवृत्तिप्रति उचित नहुने बताउँछन् । उनको बुझाइमा स्नातक तहसम्मको अध्ययन नेपालमै गरेर त्यसपछि उच्च अध्ययनका लागि विदेश जानु तुलनात्मक रूपमा बढी उपयुक्त विकल्प हुन सक्छ ।

‘यदि अभिभावकको आर्थिक अवस्था राम्रो छ र उहाँहरूले अमेरिका, अस्ट्रेलिया, बेलायतजस्ता देशमा अध्ययनरत छोराछोरीको मासिक वा वार्षिक खर्च नेपालबाटै व्यवस्थापन गर्न सक्नुहुन्छ भने विदेश अध्ययन राम्रो विकल्प हुन सक्छ,’ उनी भन्छन्, ‘तर ‘काम पनि गर, पढाइ पनि गर’ भन्ने सोचका साथ मात्र बच्चाहरूलाई विदेश पठाउनु राम्रो होइन ।’

विदेशका विभिन्न देशमा लामो समय अध्ययन र काम गरेर स्वदेश फर्किएका पनेरुले नेपाली विद्यार्थीले परदेशमा भोगिरहेका कठिनाइहरू नजिकबाट देखेका छन् । उनका अनुसार विदेश जाने अधिकांश युवाको प्राथमिकता पढाइभन्दा पनि काम गर्ने अवसर बन्न थालेको छ, जसले उनीहरूलाई थप दबाब र समस्यातर्फ धकेलिरहेको छ ।

‘हाम्रा धेरैजसो भाइबहिनीहरू पढाइभन्दा काम गर्न पाउने आशामा अध्ययन भिसा रोजिरहेका छन्,’ उनी भन्छन्, ‘कलेजको शुल्क आफैं तिर्ने, बसाइ खर्च धान्ने र त्यससँगै पढाइलाई पनि सन्तुलनमा राख्ने सपना बोकेर जाने धेरै विद्यार्थी अन्ततः मानसिक तनावको सिकार भएको मैले आफ्नै आँखाले देखेको छु ।’

उनी विदेशमा पढाइसँगै पूर्ण रूपमा आर्थिक भार आफैंले बोक्ने अपेक्षा राख्नु धेरै विद्यार्थीका लागि चुनौतीपूर्ण सावित भइरहेको बताउँछन् । ‘उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको मुख्य उद्देश्य पढाइ हुनुपर्छ, केवल काम गरेर खर्च धान्ने सोचका साथ विदेश जानु दीर्घकालीन रूपमा राम्रो निर्णय नहुन सक्छ,’ उनी भन्छन् ।

गुणस्तरीय शिक्षाको खोजीमा विदेश 

उच्च शिक्षाको नाममा विदेशिने नेपाली विद्यार्थीको संख्या वर्षेनी बढ्दो छ । तर, उनीहरू साँच्चै गुणस्तरीय शिक्षाको खोजीमा विदेश गइरहेका छन् कि अध्ययन भिसालाई काम र आम्दानीको माध्यम बनाइरहेका छन् पछिल्ला वर्षहरूमा यो प्रश्न झन् पेचिलो बन्दै गएको छ ।

प्लसटुपछि विदेश जाने नेपाली विद्यार्थीको मुख्य रोजाइमा जापान, दक्षिण कोरिया, अस्ट्रेलियालगायतका मुलुक पर्छन् । यीमध्ये विशेषगरी जापान र दक्षिण कोरियामा अध्ययनका लागि जाने अधिकांश विद्यार्थीको प्राथमिकता पढाइभन्दा काम बन्ने गरेको छ । 

केही वर्षअघिसम्म अस्ट्रेलिया, क्यानडा जस्ता देशमा पनि विद्यार्थीहरू पढाइसँगै काम गरेर खर्च धान्ने सपना बोकेर पुग्थे। तर पछिल्लो समय ती देशहरूले विदेशी विद्यार्थीका लागि नियमहरू कडा बनाउँदै लगेपछि त्यहाँको अवस्था पनि बदलिँदै गएको छ ।

व्यवस्थापन संकायबाट प्लसटु सकेर तीन वर्षअघि जापान पुगेका झापाको बिर्तामोडका सन्देश पौडेल अहिले पनि नेपालबाट जाँदा लागेको १६ लाख रुपैयाँ ऋण तिर्ने संघर्षमै छन् ।

जापान पुगेपछि उनको दैनिकी पढाइभन्दा बढी काममा सीमित हुन थाल्यो ।  कलेजमा दिनको तीन–चार घण्टा बिताउने उनी बाँकी अधिकांश समय विभिन्न काममा व्यस्त रहन्छन् । यतिसम्म कि कहिलेकाहीँ परिवारसँग फोनमा कुरा गर्ने फुर्सदसमेत उनलाई मिल्दैन । 

‘न खाना पकाउने समय हुन्छ, न आराम गरेर खाने । घरमा फोन गर्न पनि समय मिलाउन गाह्रो हुन्छ,’ उनी भन्छन्,‘१८ घण्टाभन्दा बढी गरेको कामबाट आएको पैसाले कलेजको शुल्क, कोठाभाडा र खानाखर्च धान्न मात्रै पुग्छ। हामीले नेपालमा बसेर सोचे जस्तो सहज यहाँ रहेनछ ।’

सन्देशजस्तै जापान पुगेका धेरै नेपाली विद्यार्थीको दैनिकी यस्तै छ । अध्ययनका लागि पुगेका कतिपय विद्यार्थी पढाइभन्दा कामलाई प्राथमिकतामा राख्न बाध्य छन् भने कतिपय बीचमै पढाइ छोडेर पूर्णकालीन कामलाई रोजेका उदाहरण पनि प्रशस्तै छन् ।

अष्ट्रेलियामा रहेका कैलालीको चुवाका विपल खड्काले पनि यही संघर्ष नजिकबाट भोगेका छन् । अध्ययनका लागि अष्ट्रेलिया पुगेका उनले सुरुआती तीन वर्षलाई आफ्नो जीवनकै सबैभन्दा कठिन समयका रूपमा सम्झिन्छन् । 

‘तीन वर्ष निकै संघर्ष गर्नुपर्यो,’ उनी भन्छन्, ‘न खान समय हुन्थ्यो, न राम्ररी सुत्न। कहिलेकाहीँ भोक लाग्दा गाडी चलाउँदै खाना खानुपर्ने अवस्था आउँथ्यो। शारीरिक थकानसँगै मानसिक दबाब पनि निकै हुन्थ्यो ।’

सामाजिक सञ्जालमा देखिने आकर्षक तस्बिर, विकसित देशको जीवनशैली र डलरको मोहले धेरै विद्यार्थीलाई विदेशतर्फ आकर्षित गरिरहेको छ । तर, त्यही आकर्षणभित्र अनिद्रा, मानसिक तनाव, आर्थिक दबाब, एक्लोपन र निरन्तर संघर्षका कथा पनि उत्तिकै गहिराइमा लुकेका छन् । 

विदेश पुगेका सबै विद्यार्थीको अनुभव समान नहुन सक्छ । धेरैले गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय अनुभव र उज्ज्वल करियर पनि बनाइरहेका छन् । तर, काम र आम्दानीको आकर्षणले अध्ययन भिसालाई माध्यम बनाउने प्रवृत्ति बढ्दै गएको छ । 

विदेश कि स्वदेश भन्ने बहसभन्दा पनि विद्यार्थीले आफू को हुँ, मलाई के मन पर्छ र भविष्यमा के बन्न चाहन्छु ? भन्ने प्रश्नको उत्तर खोज्नु बढी महत्त्वपूर्ण भएको शिक्षाविद्हरू बताउँछन् । उनीहरूका अनुसार उच्च शिक्षा हासिल गर्ने स्थानभन्दा पनि विद्यार्थीको रुचि, क्षमता र सिकाइप्रतिको प्रतिबद्धताले भविष्य निर्धारण गर्छ ।

विद्यार्थी धनको पछाडि दगुर्न थाले

उत्प्रेरक तथा प्रशिक्षक डा. रवीन कटुवाल भने अहिलेको पुस्तामा बढ्दै गएको ‘छिटो पैसा कमाउने’ मानसिकताप्रति चिन्तित देखिन्छन् । उनका अनुसार धेरै युवा शिक्षालाई दीर्घकालीन लगानीका रूपमा भन्दा तत्काल आम्दानी गर्ने माध्यमका रूपमा हेर्न थालेका छन् । विदेश पुगेका धेरै विद्यार्थी पनि गुणस्तरीय शिक्षाभन्दा काम र कमाइतर्फ बढी केन्द्रित भइरहेको उनको बुझाइ छ ।

‘पढेर पैसा कमाउनु र पढाइलाई नै छाडेर पैसा कमाउन दौडिनुमा ठूलो अन्तर छ,’ उनी भन्छन्, ‘आजभन्दा ४० वर्षअघि समाजमा शिक्षित जनशक्तिको अभाव थियो । अहिलेको पुस्ता यसरी नै शिक्षाभन्दा धनको पछाडि मात्र दौडिरहने हो भने अबको २० वर्षपछि फेरि समाजले योग्य र शिक्षित जनशक्तिको अभाव झेल्नुपर्ने अवस्था आउन सक्छ ।’

उनका अनुसार आर्थिक सफलता महत्त्वपूर्ण भए पनि ज्ञान र शिक्षाविनाको समृद्धि दीर्घकालीन हुन सक्दैन। ‘पैसा जीवनको आवश्यकता हो, तर शिक्षा जीवनको आधार हो,’ उनी भन्छन्, ‘ज्ञानले व्यक्तिलाई अवसर दिन्छ, जबकि पैसा मात्र पछ्याउँदा धेरैले आफ्नो वास्तविक सम्भावना नै गुमाउन सक्छन् ।’

शिक्षाविद् तथा जीवन व्यवस्थापन विज्ञ एलपी भानु शर्मा स्वदेश वा विदेश जहाँ अध्ययन गरे पनि विद्यार्थीले सबैभन्दा पहिले आफ्नो आन्तरिक क्षमता र रुचिलाई चिन्न आवश्यक रहेको बताउँछन्। उनका अनुसार साथीभाइ, आफन्त वा समाजको देखासिखीमा निर्णय गर्नु भन्दा आफूलाई उपयुक्त विषय र क्षेत्र पहिचान गरेर अगाडि बढ्नु नै सफलताको आधार हो । 

‘विदेश गयो भने मात्र सफल भइन्छ र नेपालमै बस्यो भने अवसर हुँदैन भन्ने होइन,’ उनी भन्छन्, ‘विद्यार्थीले अरूको लहलहैमा होइन, आफ्नो रुचि र क्षमता अनुसार ज्ञान हासिल गर्ने बाटो रोज्नुपर्छ । अन्ततः व्यक्तिलाई सफल बनाउने ठाउँ होइन, उसले हासिल गरेको ज्ञान, सीप र दृष्टिकोण हो ।’

उच्च शिक्षा स्वदेशमा गर्ने कि विदेशमा भन्ने प्रश्नभन्दा पनि, विद्यार्थीले कुन उद्देश्यका साथ पढ्दैछ र भविष्यका लागि कस्तो जीवन निर्माण गर्न खोज्दैछ भन्ने प्रश्न बढी महत्वपूर्ण छ । 
 

Share News