भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक अर्थात् ग्रेडवृद्धि परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
बोर्डले मंगलबार पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिँदै परीक्षामा ८३ हजार ५२३ जनाअर्थात् ६४.६८ प्रतिशत छात्रछात्रा उत्तीर्ण भएका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए ।
यही असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको पूरक परीक्षामा सहभागी हुन एक लाख ४६ हजार ५०७ परीक्षार्थीले आवेदन दिएकामा एक लाख २९ हजार ११४ जना परीक्षार्थी मात्रै सहभागी भएको उनले जानकारी दिए ।
परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, एसएमएस, युएसएसडी तथा आइभीआर सेवामार्फत नतिजा हेर्न सक्ने उनले जानकारी दिए ।
नतिजा हेर्न सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट डाउनलोड गर्ने व्यवस्था पनि गरिएको छ ।
परीक्षार्थीको नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले असार २५ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षणका लागि आवेदन दिन सक्ने उनले जानकारी दिए ।