मेटलाइफ र खल्तीद्वारा ‘सुरक्षा ३६०’ डिजिटल बीमा योजना सार्वजनिक

काठमाडौं । मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बीमा योजना सार्वजनिक गरेका छन् । खल्ती एपमार्फत उपलब्ध हुने यो योजनाले जीवन र स्वास्थ्य बीमा सेवालाई सरल, छिटो र सहज बनाउने लक्ष्य राखेको छ । मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको ‘सुरक्षा ३६०’ योजना केही आधारभूत विवरण भरेर मिनेटमै खरिद गर्न सकिनेछ । कागजी प्रक्रिया घटाउँदै र चरणहरूलाई सहज बनाउँदै, दैनिक रूपमा प्रयोग हुने डिजिटल प्लेटफर्ममार्फत बीमा सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ । यस योजनामा जीवन बीमा, दुर्घटनाबाट हुने मृत्यु तथा स्थायी अशक्तता सुरक्षण, गम्भीर रोग बीमा तथा दुर्घटनाबाट हुने उपचार खर्चसमेत समेटिएको छ । एउटै योजनाभित्र विभिन्न सुरक्षण समावेश गरिएकाले ग्राहकले फरक–फरक बीमा व्यवस्थापन गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् । ‘सुरक्षा ३६०’ सिल्वर, गोल्ड र प्ल्यातिनम गरी तीन प्रकारका प्याकेजमा उपलब्ध छ । ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार योजना छनोट गर्न सक्नेछन् । यस योजनामा २३ लाखदेखि ४६ लाख रुपैयाँसम्मको बीमा सुरक्षण उपलब्ध छ भने वार्षिक बीमाशुल्क ३ हजार ८१० रुपैयाँबाट सुरु हुने बताइएको छ । १८ देखि ५० वर्ष उमेर समूहका लागि लक्षित यो योजना किफायती र पहुँचयोग्य हुने विश्वास गरिएको छ । मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतले ‘सुरक्षा ३६०’ ले जीवनका विभिन्न चरणमा आवश्यक वित्तीय सुरक्षण प्रदान गर्ने विश्वास व्यक्त गर्दै डिजिटल प्लेटफर्ममार्फत बीमा सेवालाई अझ सहज बनाउने उद्देश्य रहेको बताए ।

सिटिजन लाइफको नाफा साढे ३६ करोड रुपैयाँ, जीवन बीमा कोष २४.५५ अर्ब पुग्यो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ३६ करोड ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ७६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ०.६६ प्रतिशत बढेको छ ।  चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब ९४ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क र ६ अर्ब २१ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ८१ करोड ६२ लाख रुपैयाँ खुद र ५ अर्ब ८ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।  चालु आवको ९ महिनामा कम्पनीले ५ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको ९ महिनामा कम्पनीले ४ अर्ब ८५ करोड ३७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले ७ अर्ब ५८ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरी ७ अर्ब २० करोड ९० लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको चैतसम्ममा ६ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ कुल आम्दानी गरी ५ अर्ब ९६ करोड १७ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २६ करोड ६३ लाख रुपैयाँ, सञ्चित नाफा ४७ करोड ९ लाख रुपैयाँ, अन्य इक्विटी ३७ करोड १२ लाख रुपैयाँ र जीवन बीमा कोष २४ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी ९.६० रुपैयाँ, प्रतिसेयर आम्दानी १३१.१७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४८.५४ गुणा छ । 

साना किसानको बाली तथा पशुधन बीमा डिजिटल प्रणालीमा जोडिने

काठमाडौं । साना किसानलाई लक्षित गर्दै बाली तथा पशुधन बीमाको दायरा विस्तार गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत बाली तथा पशुधन बीमासम्बन्धी सेवा डिजिटल प्रणालीमा आवद्ध गर्ने घोषणा गरेको हो । नीति तथा कार्यक्रममा बाली तथा पशुधन बीमाको बीमालेख जारी गर्ने, प्रिमियम अनुदान उपलब्ध गराउने, भुक्तानी गर्ने तथा दाबी प्रक्रियालाई डिजिटल प्रणालीमार्फत सञ्चालन गरिने उल्लेख छ ।