स्थानीय तहलाई आर्थिक रुपमा सबल बनाऔं : मेयर बस्नेतको विचार

स्थानीय सरकार जनताको घर आँगनको सरकार हो । स्थानीय सरकारप्रति जनताको आशा भरोसा धेरै हुन्छ । तर, स्रोत, साधन र बजेटका हिसाबले स्थानीय तह निकै कमजोर छन् । यद्यपि, थोरै बजेटको भरपुर सदुपयोग गरी स्थानीय तहले सामाजिक, आर्थिक तथा पूर्वाधार निर्माणमा फड्को मारेका छन् । सरकारको बजेट कार्यान्वयन गर्ने तल्लो निकाय स्थानीय सरकार हो । तर, बजेट समयमा नपाउँदा स्थानीय तह समस्यामा परेका छन् । राजनीतिक अस्थीरताका कारण पनि स्थानीय तह मारमा परिरहेका छन् । ग्रामीण भेगको तल्लो तहसम्म बसेका सिमान्तकृत तथा अल्पसंख्यक समुदायसँग जोडिएर पालिकाले उनीहरूले पनि पाउनु पर्ने सेवा सुविधा पुर्याउनु पर्छ भनेर लागिपरेका छन् । निम्न वर्गका नागरिकले पनि गुणस्तर शिक्षा, सहज रुपमा स्वास्थ्य सेवा पाउनु पर्ने विषयमा जोड दिँदै आज स्थानीय तहले एकपछि अर्को काममा सफलताका साथ गरिरहेका छन् । तीन तहको सरकारमध्ये सबैभन्दा बढी कामको दायित्व पनि स्थानीय सरकारलाई छ । स्थानीय तहलाई अधिकारको हिसाबले सम्पन्न बनाइएको छ । तर, अब स्थानीय तहलाई आर्थिक र सामाजिक रूपले पनि सक्षम बनाउन आवश्यक छ । स्थानीय तहले योजनाबद्ध रुपमा योजना बनाई अगाडि बढ्नु पर्ने आवश्यकता छ । हामीले पनि स्थानीय आवश्यकताको पहिचान गर्दै विकासको गतिलाई अगाडि बढाइरहेका छौं । अब स्थानीय तहमा विज्ञहरूको पनि व्यवस्थापन गर्न जरुरी छ । संघ र प्रदेश सरकारले सर्त राखेर बजेट पठाउँछन् । हामीले नागरीकबाट छनोट गरी कार्यपालिका र नगरसभाले पास गरी पठाएको योजनाहरू त्यो बजेटले भ्याउँदैन । संघीय र प्रदेश सरकारले यहाँको आवश्यकता नै पहिचान नगरी बजेट छुट्याइ रहेका छन् । पालिका भित्रका आवश्यकता जनप्रतिनिधि र स्थानीयहरुलाई थाहा छ । तर, माथिल्ला निकायमा बस्नेलाई यहाँको आवश्यकता थाहा नभएरै बजेट र आयोजना पठाउँछन् । त्यसैले योजना र आवश्यकताको अध्ययन गर्दै संघ र प्रदेश सरकारले पनि लगानी गर्नुपर्छ । योजना बेगरका आयोजना माननीयहरूले ८/१० लाख रुपैयाँका आयोजना हालिदिने परिपाटीले गर्दा संघीयतालाई कार्यान्वयन गाह्रो भएको देखिन्छ । संघ र प्रदेशले अन्तिम अवस्थामा पैसा बाँकी रह्यो भने पठाई दिन्छन् । प्रदेश र संघीय सरकारले स्थानीय तहलाई असारको १५ गते पनि पैसा पठाइदिने परिपाटी अझैं छ । त्यो पैसा स्थानीय तहले १५ दिनमा कहाँ खर्च गर्ने ? पैसा खर्च गर्ने पनि विधि पद्धति हुन्छ । अनावश्यक ठाउँमा लगानी गर्यो भने उल्टै अख्तियारले समात्छ । त्यसैले समयमै पैसा दिने परिपाटिको विकास भयो स्थानीय तहले राम्रो काम गर्नमा पछि पर्दैनन् । सम्बन्धित निकायहरूसँग यस विषयमा छलफल गरिरहेका हुन्छौं । तर, सुनुवाइ हुँदैन । प्रत्यके पालिकाले गुरु योजना बनाउन पनि आवश्यक छ । नेता र ठूला व्यापारी सबै काठमाडौं बस्ने, सुविधा सम्पन्न अस्पताल, ठूला विद्यालय सबै उतै हुने, शिक्षा मन्त्रीको आफ्नै विद्यालय, स्वास्थ्य मन्त्रीको आफ्नै अस्पताल हुने अनि तल्लो निकायलाई हेर्न नचाहेपछि कसरी हुन्छ विकास ? हचुवाको भरमा भाषण गरेर संघीयता कार्यान्वयन हुँदैन । संघीयता कार्यान्वयन गर्न गाह्रो छ । बिहानदेखि बेलुकासम्म स्थानीय तहलाई जनताले घेरेका हुन्छन् । यो भएन त्यो भएन भन्ने जनताको गुनासो पोख्ने ठाउँमा पनि स्थानीय तह नै हो । स्थानीय तहलाई हरेक विषयमा सक्षम बनाउनु पर्छ । देशको विकास स्थानीय तहबाटै सम्भव छ । पछिल्लो समय युवा देशबाट विदेसिने क्रम जारी छ । स्थानीय सरकार गाउँमै युवाको लागि पर्याप्त अवसरहरूको सिर्जनामा लागेका छन् । तथापि अहिले गाउँमा युवा बस्न मान्दैनन् । यसबाट सरकार लगायतका सरकारी निकायहरू चुकिरहेका छन् । स्थानीय तहसँग युवालाई विदेशिनबाट रोक्न सक्ने आधार छैन । सीपमूलक तालिम, युवा उद्यमी रोजगारीका विषय अगाडि रहेका छौं । हामीले त्रियुगा नगरपालिकाभित्र करको दायरालाई कसरी फराकिलो बनाउने र आन्तरिक स्रोत कसरी वृद्धि गर्ने भनेर पनि लागिरहेका छौं । स्थानीय पाठ्यक्रम तयार गरी पठन पाठन सञ्चालन गरेका छौं । गरिबीको रेखामुनि रहेका मान्छेहरूको लागि सुरक्षित आवास निर्माण गरी ५० वटा घर निर्माण गरेर हस्तान्तरण गर्दैछौं । हामी चाँडै ८०/९० वटा घर निर्माण गर्ने अभियानमा छौं । कृषिलाई व्यवसायिकरण गरी कृषिमा आधारित रोजगार सिर्जनामा लागिरहेका छौं । आर्थिक, सामाजिक पूर्वाधारमा पालिकालाई कसरी सम्वृद्ध बनाउन सकिन्छ भनेर लागेका छौं । विज्ञ साथीहरूको परामर्शसहित त्रियुगा रिङ रोडको अवधारण अघि बढाएका छौं । (त्रियुगा नगरपालिकाका मेयर बस्नेतसँग कुराकानीमा आधारित )

विधागत पत्रकारिता विकासको जग

समाजका घटना र जानकारीको तथ्यपूर्ण प्रस्तुतिका आधारमा समाजको ऐनाका रुपमा पत्रकारिताले काम गर्छ । यसका लागि लुकेका वा लुकाउन खोजिएका सार्वजनिक महत्वका सूचनाहरू प्रस्तुत गर्छ । त्यस्ता सूचना तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय हुनु पूर्वशर्त हो र त्यस्ता सूचना मात्र सम्प्रेषण गर्नु पत्रकारिताको धर्म हो । समाजमा त्यस्ता सूचनाको शक्तिलाई स्वीकार र सहन नगर्ने संस्कृति पनि नभएको होइन । त्यही संस्कृतिको परिणामका रूपमा कतिपय अवस्थामा पत्रकार तथा सञ्चारमाध्यममाथि भौतिक तथा मानसिक आक्रमण हुने गरेको पाइन्छ । एक महिनाभित्रै करिव एक दर्जनसम्म आक्रमणका घटना त्यस्तै अपसंस्कृतिका परिचायक हुन् । पत्रकारिताले मानव जीवन र जगतका विषयवस्तुलाई समाचार वा विचारका रुपमा समेट्छ, समेट्नुपर्छ । मानवीय चासोभन्दा बाहिर मिडिया छैन, जाँदैन । तर, मानिसको चासोको सीमा असीमित छ । चराचर जगतमा मात्र पनि हैनस समग्र पृथ्वी, ब्रम्हाण्ड र अनन्तसम्मै मानवीय चासो छ । जिज्ञासु मानिसको चासोका दायरा कसैले तोक्न पनि सक्दैन, सीमित परिधिभित्र कसैले रोक्न पनि सक्दैन । मानवीय उत्सुकताको जगमा टिकेको ज्ञानको खोजीसँगै पत्रकारिताको परिधि फैलँदो छ । त्यही जिज्ञासालाई समेट्ने नाममा तथ्यमा नपुगी वा तथ्यलाई तोडमोड गरी वा अर्ध–तथ्य प्रस्तुत गरी सनसनीपूर्ण सामग्री बनाउने र पस्किने काम पनि हुने गरेका छन् । सम्बेदनशील हुनुपर्ने माध्यम नै सनसनीपूर्ण भइदिएपछि परिणाम सधैँ सुखद हुन पनि सक्दैन । त्यस्ता कारणले पनि असहिष्णु मनहरूलाई थप उकासिदिन्छ । अनि, मिडियाकर्मी वा मिडियामाथि भौतिक आक्रमणसमेत भइदिन्छ । जबकि, नितान्त गलत सूचना नै सम्प्रेषण भए पनि त्यसको कानूनी उपचार खोज्ने विधि र प्रक्रिया छ । मानवीय अनन्त चासो र जिज्ञासालाई शान्त पार्न एउटा पत्रकारले कतिसम्म सक्ने भन्ने कुराको कुनै ठोस जवाफ छैन । जीवन, जगत र त्यसभन्दा पनि टाढाका सबै विषयलाई एउटै पत्रकारले बुझ्न र बुझाउन सक्दा पनि सक्दैन । तसर्थ विभिन्न विधामा केन्द्रित भएर अध्ययन गर्ने र त्यसमा दक्षता हासिल गरेर समाचार संकलन गर्ने पत्रकारिताको अभ्यासको विकास भएको हो । जिज्ञासुका चाहनाहरूलाई सकेसम्म समेट्नका लागि नै मिडियाले पत्रकारहरूलाई विभिन्न विधाको कार्यक्षेत्र तोकेर समाचार संकलन, प्रशोधन र सम्प्रेषण गर्ने गरेका हुन् । यही अभ्यास नै विधागत पत्रकारिता हो । त्यस्ता विधामा काम गर्नका लागि थुप्रै पत्रकार कस्सिएर लागेका पनि छन् । भलै तीमध्ये कतिपयको कार्यशैली, कार्यदक्षता, आचरण र अभ्यासका मामिलामा अनेक प्रश्न उठेका छन् । ती प्रश्नको उत्तर पनि अन्ततः तिनै पत्रकारहरूसँग नै छ । पत्रकारिताको थालनीको युगमा समग्र विषयमा एउटै पत्रकारले कलम चलाउँथे । समयको विकाससँगै विधागत पत्रकारिताको अवधारणा पनि विकसित हुँदै आयो । पत्रकारिताको लामो इतिहास भएका मुलुकमा विधागत रिपोर्टिङको चलन पनि विकसित नै छ । बिबिसी, सिएनएनजस्ता मिडियामा वातावरण रिपोर्टिङ गर्ने वातावरणविद्, स्वास्थ्य/जनस्वास्थ्यको लागि चिकित्सक, जलवायु परिवर्तनको रिपोर्टिङ गर्ने विशेषज्ञ आदि देखिएका छन् । खेलाडीहरू खेल पत्रकार भएको उदाहरण त नेपालमै पनि छ । विधागत रिपोर्टिङ वास्तविक अर्थमा आधुनिक पत्रकारिताको शुरुवात हो । सिङ्गो पत्रकारिताकै दक्षता अभिवृद्धि गर्ने उद्देश्यले १९ औं शताब्दीको अन्त्यतिर संयुक्त राज्य अमेरिकामा बीट रिपोर्टिङ् थालनी भएको पाइन्छ । मेलानी म्यागिन र पिटर मौररले ‘अक्सफोर्ड रिसर्च इन्साइक्लोपेडिया अफ कम्युनिकेशन’मा उल्लेख गरेअनुसार विधागत पत्रकारिता र समाचार संकलन पत्रकारिताको व्यावसायिकता र तर्कसंगतताका साथै मिडियालाई सामूहिक उत्पादनमा रूपान्तरण गर्ने विषयसँग सम्बन्धित छ । अहिलको चलनचल्तीको भाषामा मूलप्रवाह भनिने मिसमास पत्रकारिताको हालिमुहाली देखिए पनि नेपालमा चाहिँ पत्रकारिताको थालनी नै विधागत पत्रकारिताबाट भएको हो । करीब तीन दशकअघि २०५१ सालमा छापा पत्रकारिता सिकाउनकै लागि ‘पत्रकारिता हाते किताब’ को आवश्यकता महसूस गरेको नेपाली पत्रकारिता आज विधागत अभ्यासमा अघि बढिरहेको छ । जबकि पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको करीब १३० वर्षपछि रोपिएको पत्रकारिताको बीउ नै विधागत थियो, त्यो साहित्यिक विधा थियो । अहिलेभन्दा ठीक २५५ वर्षअघि पृथ्वीनारायण शाहले कान्तिपुर राज्यमाथि विजय हासिल गरेको १८२५ असोज १३ गतेदेखि १९५५ साल साउनमा ‘सुधासागर’ प्रकाशित हुँदासम्मको अवधि गणनाका आधारमा १३० वर्ष भनिएको हो । १९४३ सालमा वनारसबाट नेपाली भाषाको पहिलो पत्रिका ‘गोरखा भारत जीवन’ निकालेको सात वर्षपछि मोतिराम भट्ट नै नेपाल फर्किएर पं। कृष्णदेव पाण्डेसँग मिली प्रेस स्थापना गरेका थिए । काठमाडौं, ठहिटीको त्यही पाशुपत प्रेसमा ‘सुधासागर’ साहित्यिक मासिक छापेर १९५५ साउनबाट नेपाली पत्रकारिताको शुभारम्भ भएको थियो । रोचक पक्ष त के भने १९०८ मा जङ्गबहादुर राणाले हाते प्रेस ९गिद्धे प्रेस० भित्र्याएको ४७ वर्षपछि नेपालबाट पत्रिका प्रकाशन शुरु भयो । तर, मोतीरामले स्थापना गरेको प्रेसमै १९५८ साल जेठ ३ गते पहिलो समाचारपत्रको रुपमा ‘गोर्खापत्र’ साप्ताहिक छापियो । यो हिसाबले अहिले सरकारी माध्यम भए पनि गोरखापत्र जनस्तरको टेकोपुँडोमा निस्केको देखिन्छ । गोरखापत्रको जन्म नेपाली साहित्यिक पत्रकारिताका प्रणेताहरूले तयार पारेको प्राविधिक पूर्वाधारमा भएको गौरव पनि विधागत पत्रकारिताले हासिल गरेको छ । पत्रकारिताकै वीजारोपण गर्ने व्यक्तिको हैसियतले मोतिराम भट्ट ‘नेपाली पत्रकारिताका आदिपुरुष वा संस्थापक’ नै हुन् । भलै उनलाई त्यसरूपमा खुला हृदयले सम्झिने र सम्मान गर्ने परम्पराको विकास हुनसकेको छैन । उनलाई ‘युवाकवि’मा मात्र सीमित गरिएको छ । नेपाली पत्रकारिता जगतको यो कञ्जुस्याइँको कारण अहिलेसम्म सायद कसैले खोजेको पनि छैन । विधागत पत्रकारिताको दृष्टिले हेर्दा राजनीतिक दृष्टिकोणसहितको निजी क्षेत्रको पहिलो समाचारपत्रको इतिहास कायम गर्दै राणा शासनको अन्त्य हुनुभन्दा तीन दिनअघि हृदयचन्द्रसिंह प्रधानको सम्पादकत्वमा निस्केको ‘जागरण’ साप्ताहिक राजनीति–पत्रकारिताको कोसेढुङ्गो हो । वास्तविक पत्रकारिताको विकास नै २००७ सालको राजनैतिक परिवर्तनपछि शुरु भएको मानिए पनि र व्यावसायिक पत्रिकाको प्रारम्भ प्रजातान्त्रिक व्यवस्थाको थालनीसँगै भएको ठानिए पनि त्यसपछि पनि अन्यभन्दा साहित्यिक पत्रकारिता नै बढी फष्टाएको पाइन्छ । यसबाट विधागत पत्रकारितामा साहित्यकारहरूको सक्रियता झल्किन्छ । विसं २००८ देखि २०१३ भित्र व्यापकरूपमा प्रकाशित हुन थालेका विभिन्न खाले पत्रपत्रिकाले त्यतिखेर समग्र पत्रकारिताको लोकप्रियता बढ्दै गएको सङ्केत गर्छन् । तर, त्यस अवधिमा समेत पत्रकारितामा साहित्यिक व्यक्तित्वहरूको रचना र उनीहरूको बाहुल्य रहेको तथ्याङ्क पाइन्छ । यसले पनि नेपाली पत्रकारिताको इतिहासमा साहित्यिक पत्रकारिताको वर्चस्वलाई पुष्टि गर्छ । त्यो भनेको पनि विधागत पत्रकारिताको वर्चस्वकै कुरा हो । विधागत पत्रकारितामा फोटो पत्रकारिताको अस्तित्व र इतिहास पनि खास देखिन्छ । गोरखापत्रले १९८४ साल वैशाख १३ गते छापेको फोटो–ब्लकबाट नेपाली छापामाध्यममा फोटो देखिन थालेको हो । यसैगरी सम्वाददाता राख्ने इतिहास २००० सालमा राजधानी काठमाडौंमा नगर सम्वाददाता राख्ने चलनबाट शुरु भएको र व्यंग्यचित्र अर्थात कार्टूनको थालनी २०१२ सालपछि भएको ग्रीष्मबहादुर देवकोटाले ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’मा उल्लेख गरेका छन् । यसैगरी नेपाली पत्रकारितामा महिलाको प्रवेश हस्तक्षेपकारी देखिन्छ । २००८ सालमा कुमारी कामाक्षी र साधना प्रधानद्वारा सम्पादित ‘महिला’ मासिक नेपाली पत्रकारितामा महिला प्रवेशको गौरवपूर्ण इतिहास कायम गर्दै उदाएको थियो । यो महिला बीटलाई नै पत्रकारिताको अभ्यास मान्नेहरूका लागि समेत गौरवको इतिहास हो । प्रजातन्त्रको आठ वर्षे अभ्यासपछिको २०१५ सालको निर्वाचित सरकारले दुई वर्षे उमेर पार गर्दा नगर्दै राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि राजनीतिक स्वतन्त्रतासँगै प्रेस स्वतन्त्रता पनि खोसियो । फलतः पञ्चायती व्यवस्थाभरि पत्रकारिताको विकास अवरुद्ध भयो । अवरोधकै बीच पनि आर्थिक, साहित्यिक, खेलकूद, ग्रामीण, विज्ञान, प्रशासन आदि पत्रकारिताका केही अभ्यास भएको देखिन्छ । नेपाल अधिराज्यको संविधान, २०४७ ले प्रेस स्वतन्त्रता बहाल गरेपछि दैनिक पत्रिका प्रकाशनको लहर चल्यो । त्यसपछि नै विभिन्न विधामा समाचार लेख्ने प्रचलनको प्रयोग पनि व्यापक हुँदै गयो । तर, व्यावसायिक पत्रकारिताको शुरुवातीताका रिपोर्टिङको विधा व्यवस्थित नभइसकेको र राजनीतिक समाचारले बढी प्राथमिकता पाउने गरेको त्यस पुस्ताका पत्रकारहरूलाई हेक्का छ । त्यसताका एउटै बीटमा पत्रकारले लामो समय काम गर्न नपाउने र बेला–बेलामा कार्यक्षेत्र हेरफेर भइरहने हुनाले विशिष्टीकरणको अवसर कमजोर हुनपुग्थ्यो । विशिष्टीकरणको महत्वलाई नै ध्यानमा राखेर प्रेस काउन्सिलमा २०६३ सालमा ‘विधागत पत्रकारिता विकास उपसमिति’ गठन गरिएको पाइन्छ । त्यो उपसमितिले साहित्यिक तथा अन्य विधागत पत्रकारिताको विकास र सम्बद्र्धनका लागि नीति निर्माण गरी समस्या समाधानका लागि पहल गर्ने भनिएको थियो । यद्यपि त्यसपछिका काउन्सिलका गतिविधिहरूले के समस्या थिए र के हल गर्न के पहल ग¥यो भन्ने खासै देखिँदैन । आमसञ्चार विकासको प्रारम्भिक चरणमा छापामाध्यममा सीमित ‘प्रेस’ लाई जसले, जसरी, जुनसुकै मनसुवाले अनेकार्थी, पर्यायवाची शब्द प्रयोग गरे पनि अब छायामा पार्न सहज छैन । अर्थ विस्तारसहितको ‘प्रेस’ शब्द समग्र पत्रकारिता क्षेत्रलाई जनाउने संकेत शब्दको रुपमा स्थापित भइसकेको छ । रेडियो, टेलिभिजन हुँदै अनलाइन प्रविधिसम्म विस्तार हुँदा पत्रकारिता अब रोजगारीको एक माध्यमका रूपमा मात्र सीमित छैन । नयाँ–नयाँ घटनाको संकलन, चयन र सम्प्रेषणको समग्र प्रक्रियाका रुपमा रहेको यो पेशा समसामयिक ज्ञान आदानप्रदान गर्ने व्यवसाय भएको छ । यसको सम्बन्ध समाजका हरेक जीवनसँग गाँसिएको कुरा पत्रकारहरूले नै आत्मसात गरिरहेका छन् । पत्रकारहरूको यस्तो ठहर र रहरले नै पत्रकारितालाई सामाजिक क्रियाकलापका रूपमा समाजबारे समाचार र विचारको प्रसार गर्ने व्यवसायका रुपमा स्थापित गराएको छ । त्यसै क्रममा आमसञ्चारका साधनका लागि आवश्यक कच्चा पदार्थ संकलन, प्रशोधन, उत्पादन, भण्डारण र वितरणका काम यस पेशाअन्तर्गत हुँदै आएको सादृश्य छ । सिसाका टुक्रा जोडेर छापामा दल्नुपर्ने प्रविधिको ठाउँमा कृत्रिम बौद्धिकता ९आर्टिफिसियल इन्टेलिजेन्स– एआई० आइसकेको मात्र हैन, अब त समाचार कक्षमै हाबी भइसकेको छ । यो युगमा मानिसले रुचिअनुरुपका जानकारी पाउने अवस्था झनझन बलियो बन्दैछ । यो सुविधाले परम्परागत पत्रकारिता वा पत्रकारिताका साधनमै मात्र दुनियाँ निर्भर रहनुपर्ने अवस्थाको अन्त्य भएको छ । मिडियामा भूमण्डलीकरणको परिणामस्वरुप नै नेपाली उपभोक्ताले पनि आमसञ्चारका विश्वव्यापी उत्पादनसम्म पहुँच पाएका छन् । यस्तो समयमा एउटै मिडियाबाट सन्तोषजनक रूपमा सबै विषय समेट्न सम्भव छैन । साथसाथै कुनै विधा विशेषमा केन्द्रित रहेर पत्रकारिता गर्ने सञ्चारमाध्यमलाई पनि अरुभन्दा छिटो र पृथक स्वाद पस्कनुपर्ने बाध्यता बढ्दै गएको अनुभव पत्रकारहरूले गरिरहेका छन् । यो नेपालको मात्र नभएर दुनियाँकै पत्रकारिताको अनुभवको एक अंश हो । यसरी साहित्यको जगमा विधागत अभ्यास र त्यसको जगमा मिसमास पत्रकारिता गर्दै आजको युगमा आइपुगेको नेपाली पत्रकारिताको अबको दशा र दिशा सुधार्न भने पत्रकारहरूले मात्र गर्ने चिन्ता पर्याप्त छैन । बरु यसमा पूँजी लगानीकर्ता, विभिन्न प्रकारका श्रम लगानीकर्ता, सरकार, आमसञ्चार विज्ञलगायतका सबै सरोकारवालाहरूले सक्रिय चासो देखाउनु जरुरी छ । रासस (लेखक पत्रकार हुनुहुन्छ) 

जथाभावी एन्टिबायोटिक जनस्वास्थ्य माथि खेलबाड

काठमाडौं। नेपालमा एन्टिबायोटिकको व्यापक दुरुपयोग भइरहेको छ । यहाँ जुनसुकै एन्टिबायोटिक जहाँ पनि जसले पनि, बिनाचिकित्सकको प्रिस्क्रिप्सन सजिलै किन्न सकिन्छ । बेच्ने वा किन्ने बेला कुनै रोकावट छैन । मनपरी ढङ्गले खाने गरिएको छ । एन्टिबायोटिक बनाउने, पूर्जामा लेख्ने, बेच्ने, किन्ने र खाने सबै क्षेत्रमा मनपरी छ । त्यसैले त विस्तारै हाम्रो शरीरमा रहेका रोगका जीवाणु बलियो हुँदै गएका छन् । यसको परिणामस्वरूप हामीलाई कुनै रोग लागेपछि एन्टिबायोटिक खाए पनि त्यसले काम गर्न छोड्दै गएको छ । एन्टिबायोटिक औषधिभन्दा जीवाणु बलियो हुँदै जानु भनेको चिकित्सा विज्ञान क्षेत्रकै लागि मात्र नभएर मानव जगत्कै लागि ठूलो चुनौती हो । एन्टिबायोटिक औषधि सेवन गर्नु भनेको पक्कै पनि बदाम र भटमास खाएजस्तै पक्कै पनि होइन । तर विडम्बना देशका दूरदराजका मानिसहरूले मात्र नभएर सहरी क्षेत्रमा बसोवास गर्ने र पढे लेखेका व्यक्तिहरूले पनि कुन बेला, कति मात्र, कुन रोगको उपचारमा एन्टिबायोटिक सेवन गर्ने भन्ने राम्रो ज्ञान पाइँदैन । खानै पर्ने बिरामीले एन्टिबायोटिक खाँदा खासै ठूलो समस्या नहोला तर नखानु पर्नेले खादा समस्या देखिएको छ । सबै रोगको उपचारमा एन्टिबायोटिकले काम गर्दैन । तर समाजमा एउटा यस्तो भ्रम छ कि हरेक रोगको अचुक उपाय भनेको एन्टिबायोटिक हो । कोभिडको महामारीको बेला एन्टिबायोटिकले काम गरेन । सामान्य सिटामोलबाहेक अरू औषधिले काम नगरेको हामी सबैले अनुभवसमेत गरेको प्रमाणित तथ्य हो । तर पनि सङ्क्रमित भएकामध्ये आधा जति नेपालीले कुनै न कुनै प्रकारको एन्टिबायोटिक सेवन गरेको पाइएको पाटन अस्पताल जनरल प्रेक्टिस तथा इमरजेन्सी विभागमा कार्यरत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक डा. आशिष श्रेष्ठ बताउँछन् । नेपालमा एन्टिबायोटिकको प्रयोगसम्बन्धी नीति नै नभएको भने होइन । छ तर लागू गरिएको छैन । डा. श्रेष्ठका अनुसार नियमअनुसार चिकित्सकको प्रिस्क्रिप्सन बिना कडा खालका एन्टिबायोटिक किनबेच गर्न पाइँदैन । तर व्यवहारमा लागू भएको पाइँदैन । नेपाली समाजमा एन्टिबायोटिक औषधिप्रति जनताको विश्वास ठूलो छ । एन्टिबायोटिक जुनसुकै रोग पनि निको पार्छ भन्ने बलियो मनोविज्ञान छ समाजमा । त्यसैले सितिमिति अरू औषधिमा विश्वास गदैनन् बिरामी पनि । आयुर्वेदिक औषधिको प्रयोग कम हुनुमा यो पनि एक प्रमुख कारण हो । उपभोक्ता मलाई यो नामको एन्टिबायोटिक दिनुहोस् भन्दै फार्मेसी पुग्ने गरेका हुन्छन् । एन्टिबायोटिक बाहेकले मलाई ठीक हुँदैन भन्ने उनीहरूको विश्वास छ । जनचेतनाको अभावका कारण नेपालमा एन्टिबायोटिकको उपभोग बढेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा.अर्जुन कार्की बताउँछन् । रोग चाँडो निको बनाउने होडबाजीका कारण पनि एन्टिबायोटिकको प्रयोग बढेकोमा विज्ञहरूको एक मत छ । रोग चाँडो निको पार्न बढी डोजको एन्टिबायोटिक दिने र लिने प्रवृति छ । जुन स्वास्थ्यका हिसाबले हितकार होइन । यही होडबाजीले एक रुपैयाँको सिटामोल खाएर निको हुने रोगको लागि दसौं गुणा बढी मूल्य पर्ने एन्टिबायोटिक उपभोग गराइन्छ । यसरी अनावश्यक एन्टिबायोटिकको प्रयोगमा विभिन्न औषधि कम्पनीहरू र व्यापारीहरूको स्वार्थ पनि रहेको पाइन्छ । चिकित्सकहरूका अनुसार रोग निको पार्न सधैं एउटै औषधिको प्रयोग भन्दा फरकफरक किसिमको औषधि प्रयोग गर्न राम्रो मानिन्छ । बिरामीलाई एउटा औषधिले निको नभए अर्को औषधि प्रयास गर्नु राम्रो चिकित्सकीय अभ्यास हो । तर एकैचोटी हाइडोजको एन्टिबायोटिक दिँदा समस्या निम्त्याउँछ । जथाभावी एन्टिबोयोटिकको प्रयोग गर्दा मिर्गौला फेल हुने लगायतका शरीरका अन्य अङ्ग समेत फेल हुने अवस्था आउँछ । चिकित्सकहरुका अनुसार एन्टिबायोटिक नै रोगको पूर्ण निदान होइन । एन्टिबायोटिक खाएपछि त्यसले शरीरमा संक्रमित ब्याक्टेरियालाई नष्ट गर्छ । यस हिसाबले कुन किसिमको ब्याक्टेरिया हो, त्यही आधारमा एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । यसको मात्रा, अवधि, समय सबैकुरा ख्याल गर्नुपर्छ । यद्यपि जुनसुकै अवस्थामा एन्टिबायोटिक सेवन गर्छौं । यस किसिमको प्रयोगले शरीरमा भएका ब्याक्टेरियाले आफ्नो रक्षात्मक क्षमता बढाउँछ । कोषिका परिवर्तन गर्छ । यसलाई ‘ड्रग रेजिस्टेन्स’ भनिन्छ । यस्तो हुनु भनेको ठूलो जटिलता हो । जब शरीरमा ब्याक्टेरियाले आफ्नो कोषिका बदल्छ, तब औषधिको प्रभाव कम हुन्छ । रोग फेरि बल्झन्छ र त्यसले थप चर्को रुप लिन्छ । एन्टिबायोटिकको विषयमा उपभोक्ता मात्र होइन स्वास्थ्यकर्मी र फार्मेसी सञ्चालकहरूमा समेत चेतना अभाव छ । कसरी हुन्छ एन्टिबायोटिक भिडाइ हाल्ने मनोविज्ञान उनीहरूमा पनि छ । एन्टिबायोटिक अत्यधिक प्रयोगले अहिले र पहिलेको तुलनामा एन्टिबायोटिकले काम नै गर्न छोड्दै छ । उदाहरणका लागि टाइफाइडमा प्रयोग हुने एन्टिबायोटिकले अहिले काम गर्न छोडेको छ । यो हाम्रो मात्र होइन, विश्वकै ठूलो समस्या हो । विकसित देशहरूमा जथाभावी एन्टिबायोटिकको किनबेच हुँदैन । डाक्टरको प्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन । त्यहाँ नियम पालना कडाइका साथ हुन्छ । अनुगमन कडा हुन्छ । तर हाम्रो देशमा न त कडा नियम हुन्छ न त अनुगमन बलियो । त्यसैले यहाँ जनस्वास्थ्यमा माथि धनस्वास्थ्यको लडाइँ चलिरहेको छ । पैसा कमाउने निहुँमा जनताको स्वास्थ्य प्रयोगशाला भइरहेको छ । एन्टिबायोटिकको गुणस्तर माथि पनि विचार गर्नुपर्छ । एन्टिबायोटिक उत्पादन गर्ने कम्पनीबाट त्यसको गुणस्तर निगरानी हुनु पर्छ । एउटै एन्टिबायोटिक धेरै कम्पनीले बनाउने गर्छन् । हाम्रो देशमा पनि औषधि व्यवस्था विभागले औषधिको गुणस्तर परीक्षण गर्छ । एन्टिबायोटिकको गुणस्तरका विषयमा पनि विभागले हेक्का राख्नुपर्छ । एन्टिबायोटिकको जथाभावी प्रयोग एक पक्षको प्रयासले मात्र सम्भव हुँदैन । त्यसमा सबै पक्षको सहयोग, सहकार्य आवश्यक पर्छ । एन्टिबायोटिक बनाउने कम्पनी, एन्टिबायोटिक लेख्ने डाक्टर, बेच्ने फार्मेसी, किन्ने उपभोक्ता र नियम कानुन बनाएर लागू गराउने सबैको उत्तिकै जिम्मेवारी हुन्छ । एन्टिबायोटिकको अनावश्यक प्रयोग रोक्नका लागि जसले पनि किन्न पाउने नियम बन्द गर्नै पर्छ । राज्यले चाहेको खण्डमा एन्टिबायोटिकको प्रयोगमा भइरहेको बेतिथि रोक्न सक्छ । जस्तै उदाहरणको लागि नार्कोनन ड्रग्सबिना लाइसेन्स बेच्न पाइँदैन । बिनाप्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन । किन्ने मान्छेको ठेगाना लेखेर प्रिस्क्रिप्सन लेख्ने डाक्टरको नेपाल मेडिकल काउन्सिलको नम्बरसमेत रेकर्ड राखेर बिक्री गरिन्छ । यसको जथाभावी प्रयोग रोकिएको छ । यसैगरी सरकारले एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न बनाइरहेको नीति नियम कडाइका साथ पालना गरे रोक्न सक्छ । तर यसमा राज्यको इच्छा शक्ति चाहिन्छ । डाक्टरले लेख्ने प्रिस्क्रिप्सनको पनि अडिट गर्ने व्यवस्था गर्नुपर्छ । कुन रोगको उपचार के औषधि सिफारिस ग¥यो ? जथाभावी एन्टिबायोटिक त लेखेन ? भन्ने बिषयमा प्रिस्क्रिप्सन अडिट गर्ने प्रचलन चलाउनु पर्छ । जथाभावी लेख्ने लाई कारवाही गर्नुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको उपचारात्मक महाशाखाले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रयोग गरिने औषधि प्रिस्क्रिप्सनको अडिट गर्ने काम अगाडि बढाएको छ । अरू रोगको उपचारमा पनि प्रिस्क्रिप्सन अडिट हुने व्यवस्था गर्नुपर्छ । यसले जथाभावी एन्टिबायोटिक सिफारिस गर्ने चलन माथि पनि अङ्कुश लाग्न सक्छ । हरेक चिकित्सक आफ्नो पेसाप्रति, समाजप्रति र जनस्वास्थ्य माथि सबै जिम्मेवार हुनुपर्छ । एन्टिबायोटिक सिफारिस गर्ने चिकित्सक, बेच्ने फार्मेसी र किन्ने उपभोक्ता तिनै पक्षलाई जिम्मेवार नबनाएसम्म एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न सकिँदैन । यसमा सबैको ध्यान जानु आवश्यक छ । केही दिन पहिले औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिवायोटिकको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालाई अनुरोध गरेको थियो । विभागले एन्टिबोयोटिकको प्रयोगलाई न्यूनिकरण गर्न र नियन्त्रण गर्न प्रतिवन्ध लगाएको जनाएको थियो । एन्टिबायोटिकको जथाभावी प्रयोगलाई रोक्ने अभिप्रायले नेपाल चिकित्सक सङ्घले विभिन्न नीतिगत तहमा पैरवी गर्ने गरेको थियो । विश्व स्वास्थ्य सङ्गठनले सन् २०५० सम्म यही तरिकाले एन्टीबायोटिकको गलत प्रयोग भएको अवस्थामा भविष्यमा एन्टीबायोटिकले सही तरीकाले काम गर्न सक्दैन भन्ने अनुमान गरेको छ । एन्टीबयोटिकको सही सदुपयोग गर्नु पर्छ भनेर विश्व स्वास्थ्य सङ्गठनलगायत स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले बारम्बार यस विषयलाई उठाइरहेका छन् । (लेखक स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आउनुभएका पत्रकार हुन्)