धेरैले सोध्छन्-इभी कस्तो छ ? म भन्छु-दामी छ

१८ महिना भयो मैले नेक्सन इभी ड्राइभ गर्न थालेको । बारम्बार धेरैले सोध्ने गरेका हुन्छन्, ‘इभी कस्तो छ ?’ सोध्नेलाई आफ्नो अनुभव सुनाउँदै आएको हुँ । नसोध्नेको लागि पनि आफ्नो अनुभव बाँड्न यो लेख लेख्दैछु । यहि दशैंमा सपरिवार धादिङको गजुरी जाँदा र फर्कर्दाको अनुभव पहिला सेयर गर्छु । त्यसपछि काठमाडौंको नियमित गुडाउदाको अनुभव सेयर गर्छु र अन्तिममा इभी किन्ने निणर्य लिँदाको अनुभव पनि लेख्दैछु । असोज ८ गते ११ बजेर ११ मिनेटमा घर (रामकोट)बाट गाडी निकालेको रहेछु । त्यतिबेला १४ हजार ६२० किलोमिटर गाडी गुडेको छ । ब्याट्री १०० प्रतिशत चार्ज छ । जम्मा ३१६ किलोमिटर गुड्न सक्छ भनेर गाडीले संकेत दिएको छ । कम्पनीले ३१२ किलोमिटर रेन्जको दाबी गर्दै आएको छ । रेगल सफ्टवेयर अपडेट भएर आएपछि रेगल लेबल ३ मा राख्दा ३१२ भन्दा केही बढी रेञ्ज देखाउँछ, अधिकतम ३२० सम्म देखिन्छ मेरो गाडीमा । यात्रा गर्नेहरुलाई थाहा छ कि नागढुंगा-नौविसे सडक खण्ड खत्तम छ । एकातिर धुलोले बाटो देखिदैन, अर्कोतिर खाल्टाखुल्डी अत्याधिक छ । यस्तो बाटोमा यात्रा गर्दा झ्याल खोल्न सकिदैन । एसी चलाउनै पर्यो । गाडीको गति सुस्त हुने नै भयो । रामकोटबाट गजुरी पुग्दा ६८ किलोमिटर यात्रा गरेछौं । १५ प्रतिशत व्याट्री खपत भएको देखियो । १५ प्रतिशत ब्याट्री खपत हुँदा ६८ किलोमिटर दुर पार हुनुको कारण अधिकांश क्षेत्रमा ओरालो बाटो भएकाले हो । ओरालो बाटोमा इभीको ब्याट्री चार्ज हुन्छ । रामकोटबाट थानकोट पुग्दा नै ८ प्रतिशत व्याट्री खपत भएको थियो । स्क्रीनमा देख्न सकिन्छ ८५ प्रतिशत व्याट्री बाँकी छ र अब २५४ किलोमिटर यात्रा गर्न सकिन्छ । यहाँनेर सचेत हुनुपर्ने विषय के छ भने यो रेञ्ज देखिएको पहिला गुडेको बाटोको अवस्थाको आधारमा हो । मलाई थाहा छ, काठमाडौं फर्कदा उकालो बाटो छ तर, यो गाडीले अबको बाटो उकालो छ वा ओरालो छ वा समथल छ, थाहा पाउँदैन । गाडीले पहिले गुडेको बाटोको आधारमा भविष्यप्रति संकेत गर्दछ । उकालोमा ब्याट्री खपत छिटो हुन्छ भन्ने विषयमा इभी चलाउनेले हेक्का राख्नैपर्छ । थानकोटको उकालो पार गरीसक्दा ब्याट्री ४१ प्रतिशतमा झर्यो । ५३ किलोमिटर यात्रा गर्दा ४७ प्रतिशत ब्याट्री खपत भएछ । गाडीले अब ९२ किलोमिटर मात्र यात्रा गर्न सक्ने जनाउ दिएको छ । थानकोटबाट गजुरी पुग्दा ७ प्रतिशत ब्याट्री घटेको थियो । फर्कदा सोही दुरीमा ४७ प्रतिशत ब्याट्री घट्यो । जाँदा पनि हामी ४ जना थियौं आउँदा पनि ४ जना । फर्कदा करिव ५० किलोग्राम कोसेली थपिएको थियो । जाँदा भन्दा फर्कदा केही बढी जाम थियो । घाम र जामले गाडी तातेपछि एसी चलाउनुको विकल्प भएन । धार्केबाट उकालो लाग्दासम्म ६५ प्रतिशत ब्याट्री भएकोले हामी ढुक्कसँग यात्रा गरिरहेका थियौँ । जुँगेखोलामा सिप्रदीको फाष्ट चार्जर छ । जुँगे खोलाबाट उभाेेलाग्दा ५० प्रतिशत भन्दा कम ब्याट्री छ भने चार्ज गरेर मात्र उभाे लाग्ने मेरो बानी छ । मेरो लागि नुवाकोटको विदुर र धादिङको गजुरी पटक-पटक गईरहने गन्तव्य हुन् । थानकोटबाट कलंकीसम्मको ९ किलोमिटर यात्रा गर्दा ब्याट्री ४१ प्रतिशतमा नै सीमित रह्यो । त्यस क्षेत्रमा मोटामोटी ओरालो बाटो भएकोले थप ब्याट्री खपत भएन । सितापाइला हुँदै रामकोट पुग्दा ब्याट्री ३७ प्रतिशतमा झर्यो । अब ८७ किलोमिटर यात्रा गर्न सकिने संकेत डिस्प्लेमा देखिएको छ । थप एक दिन गाडी चलाउन पुग्ने ब्याट्री संचित भएकोले ९ गते कार चार्जमा राखिन । १० गते अफिस पुग्दा १० किलोमिटर गुडाएछु । ब्याट्री ३५ प्रतिशतमा झरेको छ । डिस्प्लेमा अझै १०० किलोमिटर गुड्न सक्ने संकेत देख्न सकिन्छ । घर फर्कदा ११ किलोमिटर गुडेछ । ब्याट्री २८ प्रतिशतमा झरेको छ । १७० किमी यात्रा, हप्तामा एक पटक चार्ज ब्याट्री ३० प्रतिशतको आसपासमा गएपछि चार्जमा जोड्नुपर्छ । ब्याट्री २५ प्रतिशतमा झरेपछि पहेँलो संकेत देखिन्छ । १५ प्रतिशतमा झरेपछि रातो देखिन्छ रे । तर १८ महिना गाडी चलाउँदा ब्याट्री १६ प्रतिशत भन्दा तल झर्न दिएको छैन । गाडी किनेदेखि अहिलेसम्म एक पटक परिक्षणको लागि र २ पटक आवश्यकताले फास्र्ट चार्जरमा लैजानु परेको छ । नत्र घरमा चार्ज गरेर नै हुन्छ । फास्र्ट चार्रजमा करिब एक घण्टामा ९५ प्रतिशत चार्ज हुन्छ भने घरमा १०० प्रतिशत चार्ज गर्न करिव ८ घण्टा लाग्छ । बेलुका कनेन्ट गर्दा विहान फुल चार्ज भईराखेको हुन्छ । मेरो घर रामकोटमा र अफिस बागबजारमा छ । घरअफिस ओहोरदोहोर गर्दा २० किलोमिटर दुरी पार गर्नुपर्छ । दैनिक औसतमा २९ किलोमिटर यात्रा गरिदो रहेछ । एक पटक फूल चार्ज गरेपछि एक सातालाई पुग्छ । कम्पनीले फुलचार्जमा ३१२ किलोमिटर गुड्छ भन्ने दाबी गरेको छ । तर कम्पनीले के पनि सुझाव दिन्छ भने ब्याट्री २५ प्रतिशत भएपछि चार्जमा जोड्नुपर्छ । भनेको व्याट्रीको ७५ प्रतिशत मात्र उपयोग गर्नु । यस अर्थमा कम्पनीको दाबी अनुसार नै नेक्सन इभी २३४ किलोमिटर गुड्छ भन्ने हो । यो रेञ्ज पनि एसी (कुलर-हिटर) नचलाउँदाको अवस्थामा पाइने हो । त्यो पनि सामान्य अवस्थाको सडकमा विना जाममा चलाउँदाको अवस्थामा पाइने हो । एसी एलर्जी हुनेहरुले कार चलाउँदा झ्याल खोलेको पाइन्छ । सामान्यतया कार चलाउने तर एसी नचलाउने मान्छे हुँदैन । एसी चलाउने वित्तिकै इभीको रेञ्ज पनि घट्छ । जामले गर्दा पनि तोकिएको रेञ्ज पाउन कठिन हुन्छ । मेरो अनुभवमा काठमाडौंमा ड्राइभ गर्दा, एसी चलाउँदा, जाम पार गर्दा फुल चार्जमा दिने रेञ्ज १७० किलोमिटर हो । दैनिक घर अफिस बुढानिलकण्ठ-त्रिपुरेश्वर ओहोर दोहोर गर्ने शंकर श्रेष्ठले १९० किलोमिटर रेञ्ज दिएको अनुभव पनि सुनाएका छन् मसँग । पशुपति मुरारकाले १६५ मात्र हो नेक्सनको बास्तविक रेञ्ज भनेर मलाई सुनाएका छन् । उनी प्रतिस्पर्धी एमजी मोटरको लागि नेपालमा आधिकारिक बिक्रेता पनि हुन् । अटो पत्रकार सागर गजुरेलले भारत र चीनमा बनेका इभी गाडीले दाबी गरेको भन्दा ३५ प्रतिशत कम रेञ्ज दिने टिप्पणी हालै फेसबुकमा गरेका थिए । इभीमा मात्र यो समस्या होइन, पेट्रोल र डिजेलबाट चल्ने गाडीमा पनि कम्पनीले दाबी गरेको भन्दा करिव ३५ प्रतिशत कम माइलेज पाइन्छ काठमाडौंमा । पहिला म बोल्ट चढ्थे । कम्पनीले माइलेज १७.५७ देखि २२.९५ किलोमिटर प्रतिलिटर दाबी गरेको छ । तर बास्तवमा ११ देखि १२ किलोमिटरभन्दा बढी माइलेज दिदैनथ्यो । हुण्डाइको क्रेटाको माइलेज १६.८ देखि २१.४ किलोमिटर प्रति लिटर दावी गर्छ । तर मेरो मित्र रेशम बगालेको अनुभवमा प्रतिलिटर ९/१० किलोमिटर मात्र क्रेटाको बास्तविक माइलेज हो काठमाडौंमा । कति फाइदा ? फाइदाको कुरा गर्नु भन्दा अघि एउटा वास्तविक तथ्यमा जानुपर्छ । हिसाब गर्दै जाँदा खाको र लाएको पनि घाटा मान्ने मानिस पनि हुन्छन् समाजमा । काँठका बुढापाकाले भन्छन्-जग्गा किन्ने राजा बन्छ, गाडी किन्ने गधा बन्छ दीर्घकालमा । मान्छे अनुसार फरक विचार हुन्छ । मैले इभी किन्नुपूर्व पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको थियो । मासिक १५ हजार रुपैयाँ भन्दा बढी पेट्रोलमा खर्च हुन्थ्यो । इभीमा चार्जमा मासिक एक हजार भन्दा कम विल उठ्छ । पेट्रोलबाट चल्ने नेक्सन फुल अप्सन गाडीको मूल्य ५२ लाख ९९ हजार छ, इभी फुल अप्सनमा ४२ लाख ९९ हजार रुपैयाँ । पेट्रोल गाडी भन्दा इभी गाडी शुरुमै १० लाख कम पर्ने र मासिक खर्च पनि कम हुने भएकोले इभी सस्तो पर्ने देखिन्छ । ब्याट्रीको आयु र मूल्यबारे धेरै अड्कलबाजी हुने गरेको छ । रामेश्वर खनालले कियाको इभी लिएको ८ वर्ष भयो । ब्याट्रीको वारेन्टी ६ वर्ष थियो रे । अहिलेसम्म कुनै समस्या आएको छैन । सामान्यतया मोवाइलमा व्याट्रीको वारेन्टी एक वर्षकाे हुन्छ । धेरैले २ वर्षभन्दा बढी नै चलाएका हुन्छन् । मैले आईफोन चलाउन थालेको ४ वर्ष वित्यो तर, अहिलेसम्म ब्याट्रीमा समस्या देखिएको छैन । इभी किन्ने निर्णय  २०७८ जेठ १५ गते संसदमा बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी (इभी)मा न्यूनतम कर लाग्ने घोषणा गरे । समाचार बनाउँदै गर्दा मैले सोचेँ -‘अर्को वर्षको बजेट आउनुपूर्व मैले इभी किन्नुपर्छ ।’ मैले नयाँ कार किनेको ३ वर्ष मात्र भएको थियो । उक्त कारमा कुनै समस्या थिएन । तैपनि त्यसलाई बेचेर नयाँ कार किन्ने सोच बनाएँ । कारण एउटै थियो-सरकार यो कर नीतिमा टिक्न सक्दैन । अर्को वर्ष करका दर वृद्धि हुन्छ । यो नै उपयुक्त अवसर हो । मैले २०७८ कात्तिकमा नेक्सन इभी बुक गरे । २०७९ बैशाख ५ गते सिप्रदीले गाडी दियो । २०७९ जेठ १५ मा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्दै गर्दा इभीमा करका दर बढाए । मैले ठिक समयमा गाडी किनेछु । ३९ लाख ९९ हजारमा किनेको नेक्सन इभी लक्सको मूल्य अहिले ४२ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अरु ब्राण्डका गाडीमा त झनै धेरै मूल्य वृद्धि भएको छ । इभी नकिन्न सुझाव सिप्रदीको शोरुममा कार्यरत अर्जुन उप्रेति पारिवारिक सम्बन्ध जोडिएका मित्र हुन् । उनले मलाई इभी नकिन्न नै सुझाव दिएका थिए । उनले दुईटा कारण सुझाए-पहिलो, पेट्रोल वा डिजेल गाडी पहिले नै भएका परिवारमा दोस्रो कारको रुपमा इभी किन्नेहरु बढी छन् । एउटा मात्र कार हुने परिवारले इभी किनेको कम मात्रामा पाइन्छ । दोस्रो-इभी नयाँ गाडी हो । भविष्यमा आउने समस्याबारे कसैले केही भन्न सक्दैन । डिजेल पेट्रोल गाडीको इतिहास ४०० वर्षभन्दा लामो छ । ढुक्कले चढ्न पाइन्छ । अर्जुन जस्तै इभीको भविष्यप्रति शंका व्यक्त गर्दै यस्तो गाडी नकिन्न सुझाव दिनेहरु धेरै थिए । तर, म पूर्व अर्थसचिव रामेश्वर खनालको अनुभव र सुझावबाट बढी प्रभावित भएको थिए । उनीसँग ७ वर्ष इभी चढेको अनुभव थियो । उनको पनि परिवारमा एउटा मात्र कार हो । काठमाडौं र काँठ क्षेत्रमा चलाउनको लागि इभी उत्कृष्ट गाडी भएको अनुभव सुनाएका थिए । पहिला पेट्रोल कार हुँदा साढे ३ वर्षको बीचमा म पोखरा, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, कर्णालीका विभिन्न जिल्लामा पुगेँ । ती क्षेत्रमा यात्रा गर्दा मैले कि प्लेन चढेँ, कि बस । कर लिएर निस्केको लामो दुरीको यात्रा भनेको नुवाकोटको विदुर र धादिङको गजुरी मात्र रहेछ । आफ्नै अनुभव र रामेश्वर खनालको अनुभवका आधारमा म इभी नै लिने सोचमा पुगेको थिए । नेक्सन इभी भर्खरै नेपाल भित्रिएको थियो । बुक गरेको ६ महिनासम्म गाडी दिन नसक्ने अवस्थामा कम्पनी थियो । माग धेरै भएकोले मूल्य बढ्न सक्छ भन्ने आँकलन पनि थियो । गाडी लिन्न भन्दा बैना फिर्ता पनि सुविधा भएकोले २५ हजार तिरेर नेक्सन इभी बुक गरिहालेँ । पछि बजारमा अरु गाडीहरु बारेमा पनि बुझेँ । हुण्डाइको आयोनिक फाइव मलाई असाध्यै मन पर्यो । त्यतिबेला उक्त कारको मूल्य करिव ८४ लाख रुपैयाँ थियो । उक्त कार किन्न मेरो आर्थिक क्षमताले भ्याएन । सिप्रदीले गाडी लिन आउन कल गरेपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठसँग डिस्काउन्टको माग गरेँ। नो डिस्काउन्टमा उनी अडिक रहे । पुरानो सम्बन्धमा रहेका र पहिलो बोल्ट किन्दा राम्रो छुट पनि दिएका सावजंग सिजापति कार डिपार्टमेन्ट हेड थिए । अन्तिम घडीमा उनीसँग भेट्न पुगेँ । उनले बढो मित्रवत व्यवहार देखाए । ‘रामकृष्णजी तपाईको घर नुवाकोट होइन ?’ उनले थाहा पाएरै पनि सोधँ । ‘हो’-मैले भने । ‘तपाई नेक्सन इभी नकिन्नुहोस् । नुवाकोट पुगेर काठमाडौं फर्कदै गर्दा नागढुंगाको उकालोमा ब्याट्री चार्ज स्वाटै घट्छ । तपाईलाई चाँडै एङ्जाईटी हुन सक्छ’ उनले थप सुझाए-‘गाडी शो रुमबाट ननिकाल्दासम्म गाडी कम्पनीकै हो । समस्या केही हुन्न । शो रुमबाट वाहिर निकाल्ने वित्तीकै गाडी अब सेकेण्डह्याण्ड भयो । ५/७ लाख रुपैयाँ मूल्य घटी हाल्छ ।’ मैले मेरो वास्तविकता पनि सुनाउँ । ‘मेरो गाउँको घरमा कार जाँदैन । बोल्ट हुँदा पनि मैले गाउँमा कार लगिन । दोस्रो, गाउँ जाने बाटो पीच भयो भने घर जान आउन ५० किलोमिटर पनि पर्दैन । तेस्रो म गाउँको घरमा वर्षमा १/२ पटक मात्र पुग्छु ।’ ‘त्यसो भए ठिक छ, काठमाडौंको लागि यो गाडी पर्फेक्ट छ । तपाईको निणर्य सहि छ’ उनले भने । छुट चाँही एक रुपैयाँ पनि गरेनन् । चलाउन दामी गियर विनाको इभी चलाउन सजिलो छ । नयाँ मोडलको इभीहरुमा ह्याण्ड ब्रेक पनि बटमबेसमा आएका छन् । गाडी भित्र आवाज शुन्य हुन्छ । वाहिर पनि गाडीको चाल बिरालोको जस्तो शान्त हुन्छ । फूल चार्जपछि गाडी चलाउँदा गाडीको स्पीड नर्मल भन्दा बढी हुँदोरहेछ । ब्याट्री ९७ प्रतिशतमा झरेपछि नर्मल हुन्छ । २५ प्रतिशतभन्दा तल झरेपछि गाडी स्र्पोट मोडमा जाँदैन । ७ जना मान्छे राखेर शान्ति धाम जाने उकालोमा गाडी लगेको, मजाले पार गर्यो । पेट्रोल/डिजेल गाडीमा जस्तो उकालो आएपछि एसी बन्द गर्नुपर्दैन । मेरो अनुभवमा इभी गाडी दामी छन् । अनलाइन खवरका सम्पादक शिव गाउँले पनि नेक्सन इभी चढ्दा रहेछन् । पेट्रोल गाडी भन्दा इभी धेरै राम्रो भएको अनुभव उनले सुनाएका थिए । पेट्रोल वा इभी जुन मन लाग्यो त्यहि गाडी चढ्ने छनौटको अवसर पाएका पशुपति मुरारकाको छोराले सधैं एमजी (इभी) नै रोज्ने गरेका छन् । उद्यमी मोतिलाल दुगड टेस्ला चढ्छन् । अरु गाडीमा आफ्नो मन जान छोडेको उनले सुनाए । फियट बेचेर विवाइडी चढ्न थालेको भाई ईश्वर थपलिया पनि इभी गाडी प्रति निकै रोमाञ्चित देखेको छु मैले ।

दसैँ, सडक सुरक्षा र चालकको दायित्व

आजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरु आइरहेका छन् । सडक दुर्घटनामा ज्यान गएको, घाइते तथा अङ्गभङ्ग भएका खबरहरु आइरहेका छन् । दसैंको समय यात्रुहरुको चाप उच्च भएसँगै सवारीसाधनको सङ्ख्या र आवागमन पनि वृद्धि हुनु स्वभाविक हो । सिमित सडक पूर्वाधार, बढ्दो यात्रुको चाप र सवारीसाधनको अविश्राम आवतजावतले सडक दुर्घटना निम्तिने गरेको तथ्यले देखाएकोछ । सार्वजनिक यातायात क्षेत्रका लागि दसैं एउटा अवसर हो । अरु समय यात्रुको चाप हुँदैन, नियमित सवारीसाधन गुडाउन पाइदैन । दसैंका समय निरन्तर यात्रु ओसारपसार भइरहने हुँदा सवारीसाधनको नियमित चेकजाँच गर्न भ्याइरहेको हुँदैन । अविश्राम काम गरिरहँदा चालक थाकेका हुन्छन् । थकान, तनाव, हतारो, यान्त्रिक गडबडी, सीमित सडक पूर्वाधार र सवारीसाधनको अधिक चापले सडक दुर्घटना हुने गरेको छ । सडक दुर्घटना न्यूनीकरण देशको चासोको विषय हो, सबैको सरोकारको विषय हो । तर, सूर्योदयदेखि राति अबेलासम्म सडकमा जीवन खोजिरहने चालकका लागि अरुको भन्दा बढी जरुरतको विषय हो सडक सुरक्षा । तसर्थ चालकहरुले निम्न विषयहरुलाई पालना गर्नसक्यो भने सडक दुर्घटनामा क्रमशः न्यूनीकरण हुनेछ । आफू सुरक्षित हुनुस् : शारीरीक, मानसिक रुपमा म ठीक छु, म स्वस्थ छु, यो सवारीसाधनलाई म गन्तव्यसम्म सुरक्षित पुर्याउन सक्छु भन्ने महसुस गर्नुस् । तीव्र गति, जीवनको क्षति भन्ने कुरा सम्झी रहनुस् : तीव्र गतिकै कारण सडक दुर्घटना बढिरहेको तथ्यले देखाएको छ । केही समय ढिला भएपनि धैर्य गर्नुस्, तीव्र गतिमा सवारी नचलाउनुस् । ढिला गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न भन्ने उखानलाई सम्झिनुस्, दुर्घटनामा ज्यान गएका अङ्गभङ्ग भएका, दुर्घटनाकै कारण जेल परेका मजदूरका दर्दनाक व्यथा सम्झनुस् । सवारीसाधन चलाइरहँदा मोबाइलमा कुरा गर्र्दै नगर्नुस् : पलभरको सानो गल्तीले सडक दुर्घटना हुने गरेको छ, जनधनको क्षति हुने गरेको छ । सवारीसाधन चलाइरहेको समय मोबाइलमा कुरा गर्दै नगरौं । महत्वपूर्ण फोन आएको अवस्थामा सवारीसाधन रोकेर कुरा गर्ने वा गन्तव्यमा पुगेर कलब्याक गरेर कुरा गर्ने बानी बसालौं । क्षमता भन्दा बढी यात्रु नचढाउनुस् : सवारीसाधनमा क्षमताभन्दा बढी यात्रुलाई कोचाकोच नचढाउनुस् । छोटो दूरीमा बाहेक लामो दूरीमा उभ्याएर यात्रा नगराउनुस् । अधिक भिडभाड गराएर यात्रा नगराउनुस् । दवाब र तनाबमा काम नगर्नुस् : काम नगरी हुँदैन भन्ने दवाबमा काम नगर्नुस् र तनाब छ भने पनि काम नगर्नुस् । दवाब र तनाबमा सवारीसाधन चलाउँदा पनि सडक दुर्घटनाहरु हुने गरेको अध्ययन देखाएको छ । चालक आफू मात्रै खुशी होइन, आफूले चलाएको सवारीसाधनमा यात्रा गर्ने अन्य यात्रुलाई पनि हँसाएर रोमाञ्चित बनाएर सवारी चलाउनु पर्दछ । बढी भाडा नलिनुस् : यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिँदै नलिनुस् । यात्रुहरुबाट बढी भाडा असुल गरेको पाइएमा कानुनले दण्डित गर्ने व्यवस्था गरेको छ । त्यस्तो अपराध नगर्नुस् । समयलाई महत्व दिनुस् : सवारीसाधन छुट्ने समयलाई ध्यान दिनुस् । एउटै रफ्तारमा सवारीसाधन चलाउनुस् । कतै तीव्र कुदाउने, कतै लामो समय रोकेर राख्ने नगर्नुस् । दुर्घटनाग्रस्त क्षेत्रहरुमा संयम भएर हिड्नुस् । ट्राफिक नियम र सडक अनुशासनको पालना गर्नुस् : हाम्रो राजमार्ग मृत्यु मार्ग जस्तै भएका छन्, सडक दुर्घटनामा ज्यान जानेको संख्या कहाली लाग्दोछ । अधैर्य र जवरजस्त सडक प्रयोगकर्ता चालक (निजी तथा सार्वजनिक सवारीसाधनका चालक) का कारण सडक दुर्घटना वृद्धि भइरहेको छ । कमसेकम आफुलाई जिम्मेवार चालकका रुपमा परिचय बनाउनुस् । ट्राफिक सङ्केतको पालना गर्नुस्, ट्राफिक नियमको अनुशरण गर्नुस् । ट्राफिक नियम र सडक अनुशासनमा इमान्दार बन्नुस् । खानपानलाई व्यवस्थित गर्नुस् : मादकपदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) बाट टाढा रहनुस् । हाम्रो कानुनले ड्रिङ्क्स् एण्ड ड्राइभलाई गैरकानुनी मान्दै दण्ड सजायको व्यवस्था गरेको छ । यसको खासकारण सडक दुर्घटना नै हो । तसर्थ, यो अक्षम्य अपराध नगर्नुस्, सक्नुहुन्छ मापसे मुक्त हुनुस्, सक्नु हुन्न काम गरिरहेको समय यसबाट टाढा रहनुस् । काम र जीवनलाई सन्तुलित गर्नुस् : आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन श्रमिकहरुको जीवनसँग जोडिएका सन्दर्भ हुन् । आरामबिनाको निरन्तर कामले स्वास्थ्यमा असर पार्छ । यसका कारण दुर्घटना निम्तिन्छ । तपाइँ र तपाइँको हातमा रहेका यात्रुहरुको जीवनमा असर पार्छ । तसर्थ काम र जीवनलाई सन्तुलन मिलाउनुस् । कामपछि परिवारसँग समय बिताउनुस्, सभ्य बोल्नुस् । महिला, बालबालिका र बृद्धबृद्धालाई सम्मान गर्नुस् : तपाइँले चलाइरहेको सवारीसाधनमा महिला, बृद्धबृद्धा, बालबालिका, अशक्त र फरक क्षमताका यात्रुहरु हुन सक्छन् । उनीहरुको क्षमता र समस्याहरु तपाइँ हामीभन्दा फरक हुनसक्छ । सकेसम्म उनीहरुलाई सहयोग गर्नुस् सकिएन भने पनि कमसेकम सम्मान गर्नुस् । उनीहरु हाम्रो छोरी, छोरा, आमा, बुबा, श्रीमती वा परिवार जस्तै हुन सक्छन् भन्ने सम्झिनुस् । गुणस्तरहीन खानेकुरा बिक्री गर्ने होटलमा यात्रु नलानुस् : यात्राका क्रममा बाटोमा यात्रुलाई चिया, खाजा र खाना खुवाउने लाइन होटलहरु जसले स्वस्थ र गुणस्तरीय खानपान गराउँछन्, त्यस्ता होटलमा मात्रै सवारीसाधन रोक्नुस् । जनस्वास्थ्यमा खेलवाड गर्ने र जनतालाई ठगी गर्ने लाइन होटलहरुमा सवारीसाधन रोक्दै नरोक्नुस् । यात्रुमैत्री हुनुस् : सार्वजनिक यातायातको यात्रा पीडादायी हुन्छ भन्ने अनुभूत गर्नुस् । सबैको स्वास्थ्य एकनासको हुँदैन कतिपय यात्रुहरु मधुमेह, रक्तचापका रोगीहरु हुन्छन्, बृद्धबृद्धाहरु, महिला, बालबालिका र अशक्तहरु हुन्छन् । उनीहरुलाई समय समयमा शौचालय आवश्यक पर्नसक्छ भन्ने विषय हेक्का राख्नुस् । लाइसेन्स र कागजपत्र साथमा राख्नुस् : तपाइँको साथमा सवारीसाधनको ब्लु बुक, जाँचपास, रुटपरमिट, चालक अनुमति पत्र (लाइसेन्स) बिमाको कागजलगायत साथमा राख्नुस् । बाटोमा चेकजाँच गर्ने अधिकारीले कागजातहरु माग गरेमा देखाउनुस् । कुनै किसिमको समस्या भए वादविवाद नगर्नुस् । कागजपत्र जफत गरिए सम्बन्धित प्रालि वा सङ्घ, सङ्गठनलाई जानकारी गराउनुस् । सवारीसाधनको अवस्था चेक गर्नुस् : सुरक्षित यात्राका लागि सवारीसाधन ठीक हुनु पर्छ । हामीले चलाउने सवारीसाधन ग्यारेजबाट निकाल्नु अघि र ग्यारेजमा राख्ने समयमा सवारीसाधनको अवस्थाको चेकजाँच गर्नुस् । मोबिल, पानी, इन्धन, ब्रेक, टायर, टाइरड, इन्जिन, अतिरिक्त टायरलगायत अत्यावश्यक र महत्वपूर्ण पार्टपुर्जाहरु राम्ररी चेकजाँच गर्नुस् । आफूले चलाउने सवारीसाधनको अवस्थालाई सधैँ ठीक अवस्थामा राख्नुस् । नेपालमा सडक दुर्घटनाको डरलाग्दो रुप : सडक दुर्घटनामा प्रत्येक वर्ष नेपालमा दुई हजार आठ सय ८० जनाको ज्यान गइरहेको छ । सडक दुर्घटनामा परेर प्रत्येक वर्ष १४ हजार ४ सयको हाराहारीमा घाइते भइरहेका छन् । दसैँ तथा चाडपर्वका समय सडक दुर्घटनामा वृद्धि हुने गरेको छ । सडक दुर्घटनाका मुख्य कारणहरु निम्न प्रकार छन् । भौतिक कारण: पर्याप्त सडक पूर्वाधार नहुनु, मापदण्डविपरीत प्रविधिविहीन सडक र अत्यधिक सवारीसाधनको चाप सडक दुर्घटनाको कारण बनेको छ । मानवीय कारण: मानवीयअन्तर्गत चालक, पैदलयात्री तथा सडक उपभोक्ताहरु पर्दछन् । सडक प्रयोग गर्दा उनीहरुसँग हुनु पर्ने चेतना, ज्ञान, सीप र अनुभवहरुका कारण सडक दुर्घटना निम्तिने गर्दछ । यान्त्रिक कारण: सुरक्षित यात्राका लागि सवारीसाधन उपयुक्त हुनु पर्दछ । अवस्था राम्रो हुनु पर्दछ । यान्त्रिक रुपमा सवारीसाधन ठिक हुनु आवश्यक छ । पर्यावरणीय कारण : कुनै वस्तु, विषय, व्यक्ति आदिको स्थिति वा वातावरण पनि दुर्घटनाको कारण हो । साथै हावा, पानी, आँधिहुरी, बाढी, पहिरो हुस्सु, कुहिरो आदिका कारण सडक दुर्घटना हुने गरेको छ । अन्त्यमा, सडक दुर्घटना न्यूनीकरण मजदूरहरुको एकल प्रयासबाट मात्रै सम्भव छैन । यसो भनेर हामी गैरजिम्मेवार हुन मिल्दैन । सडक दुर्घटनाको सामाजिक, आर्थिक र मानवीय असरलाई हामी श्रमिकहरुको तर्फबाट एउटा प्रयत्न भयो भने सबैलाई फाइदा हुनेमा दुई मत छैन । (लेखक नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका केन्द्रीय अध्यक्ष हुनुहुन्छ)

चाडपर्व, अपराध र सावधानी

यतिबेला बडा दशैंको रमझममा छौँ । दशैं हिन्दू धर्मावलम्बीको महान पर्व पनि हो । दशैं लगत्तै तिहार र छठ पर्व पनि आउँदैछन् । दशैं र तिहारजस्ता चाड विशेष रुपमा र लामो अवधिसम्म पनि मनाइने गरिन्छ । यस्ता चाडपर्वका बेला धेरै जसो विदामा रहने गर्दछन् । विदेश गएका र रोजगार, व्यापार, अध्ययन आदिको क्रममा बाहिरिएकाहरू पनि यतिबेला आफ्नो गाउँघर फर्किएका छन् । अधिकांश व्यक्तिहरु आफ्नो मूल परिवार, पुख्र्यौली थातथलोमै गएर चाडपर्व मनाउने गर्दछन् । वर्ष दिनमा आउने महत्वपूर्ण चाडपर्वमा धेरैजसो शहरमा बस्नेहरु गाउँ जाने गर्दछन् । चाड पर्वका बेला धेरै मान्छे आफन्त भेटघाट, रमाइलोमा मस्त र व्यस्त पनि हुन्छन् । मान्छेको मनस्थिति पनि पर्वमय अर्थात उल्लासमय हुन्छ । सानादेखि ठूला, गरिबदेखि धनीसम्म सबै खुसी र आनन्दमा जुटछन् । आफ्नो व्यवसायिक, पेशागत काम र जिम्मेवारी बोेझबाट धेरैले खुकुलो भएको महसुस गरिरहेका पनि हुन्छन् । यही चाडपर्वको सहज समयलाई अपराधीहरु भने उपयुक्त समयका रुपमा भरपुर प्रयोग गर्न उद्यत हुन्छन् । कोही नभएकोमा यही मौकामा अपराधीले चोरी, लुटपाट जस्ता अपराध गर्ने गर्दछन् । चाडपर्वमा हुन सक्ने सम्भावित अपराध, प्रहरीको भूमिका र नागरिक कर्तव्यबारे यहाँ केलाउने प्रयास गरिएको छ । चाडपर्वमा बढ्दो अपराध चाडपर्वका बेला अनेकन खालका अपराधहरु हुन्छन् । विशेषतः दसैँ, तिहारजस्ता चाडपर्वको मौका छोपी अपराधीहरुले विभिन्न अपराधका गतिविधिहरु बढाउने गर्दछन् । यस अवधिमा चोरी, लुटपाट, चन्दा असुली, तस्करी, कालोबजारी र सवारी दुर्घटनालगायतका घटना र अपराध बढी हुने गर्दछन् । प्रहरीका अनुसार, अघिपछिको समयभन्दा चाडपर्वको समयमा आपराधिक घटनाहरु अत्यधिक भएको पाइन्छ । अन्य समयभन्दा बढी चाडपर्वका बेला किनमेल बढी हुने भएकाले आर्थिक कारोबार पनि सोही अनुसार भइरहेको हुन्छ । बैंक, वित्तीय संस्था, सुनचाँदी पसलमा बढी भिडभाड बढने भएकाले ती क्षेत्रमा चोरी, लुटपाट हुने सम्भावना अधिक हुन्छ । पूजापाठ बढी हुने भएकाले मठमन्दिर, धार्मिक स्थलमा पनि दर्शनार्थीको भिडसँगै चोरीका घट्ना पनि बढने सम्भावना रहन्छ । ओहोरदोहोर बढी हुने भएकाले यातायात सेवा सहज नहुन सक्छ । सवारी साधान भरीभराउ हुने भएकाले यात्रु ठगिन सक्ने, लुटिन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । राजमार्गमा लुटपाटका घटना पनि बढ्न सक्छन् । क्षमता भन्दा बढी यात्रु राख्ने सम्भावना भएकाले सवारी दुर्घटना पनि बढने हुन्छ । आजभोली सामाजिक सञ्जालको पनि अनावश्यक प्रयोग भइरहेको हुन्छ । आफू कुन दिन कहाँ जाँदै छु भन्ने कुरा सामाजिक सञ्जालमा असावधानीवश व्यक्त गर्दा चोर्ने मौका कुरेर बसेका व्यक्तिलाई थाहा हुन्छ र उनीहरू मौका छोपेर सोही समयमा घरमा चोरी गर्न सक्छन् । सामाजिक सञ्जाललाई पनि सही रूपमा सदुपयोग गर्न जानियो भने भने पनि केही हदसम्म हाम्रो धनजनको सुरक्षा हुन सक्छ । प्रहरीको थप जिम्मेवारी शान्ति, सुरक्षाको सुनिश्चितता गर्नु राज्यको दायित्व हो । आमजनताको जिउधनको सुरक्षा गर्नु र शान्ति सुरक्षाको वातावरण बनाउनु प्रहरीको प्रमुख काम हो । चाडपर्वका बेला सुरक्षा संवेदनशीलता बढ्ने हुँदा प्रहरी प्रशासन अरु बेलाभन्दा थप चनाखो र अग्रसर हुनुपर्छ । सम्भावित अपराधलाई मध्यनजर गरेर प्रहरी, प्रशासन बेलैमा सचेत र जिम्मेवार बन्न जरुरी छ । प्रहरी प्रशासनले चाडपर्व लक्षित छुट्टै र विशेष रणनीति योजना पनि बनाउने गर्दछ । हालै भएको दङ्गा (घटना)ले नेपालगञ्ज तङ्ग्रिदैछ । बाँकेमा प्रशासन र प्रहरी प्रमुख नयाँ आउनु भएको छ । उहाँहरुको पछिल्लो सक्रियताले बिगतको जस्तो घटना पुनरावृति नहोस् भन्नेतर्फ सचेतता अपनाएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले चाडपर्व केन्द्रित सुरक्षा रणनिति सार्वजनिक गरेको छ । सम्भावित हिंसाको त्रासमा रहेको नगरको संवेदनशीलतालाई मध्यनजर गर्दै ड्रोन कयामरामार्फत सुरक्षा सतर्कता अपनाइएको हो । प्रहरीको भौतिक उपस्तिथिती हुन नसक्ने स्थानको समेत सुरक्षा अवस्था निगरानी गर्न प्रहरीले ड्रोन क्यामरा परिचालन गरेको हो। नेपाल प्रहरीका एक हजार १३ र सशस्त्र तर्फ ४ सय पन्ध्र प्रहरी परिचालन गरिएको बाँके प्रहरीले जनाएको छ । यस्तै सोअवधीमा हुन सक्ने सम्भावित चोरी, डकैती, अपराध लगायतका घटना तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि पनि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जनाएको छ । कतिपय अवस्थामा प्रहरीले आफू र आफनो योजनालाई बढ्ता चर्चामा ल्याउने काम पनि गर्दछ अर्थात प्रभावकारिताभन्दा पहिले नै सस्तो लोकप्रियता खोजिरहेको हुन्छ । अपराध नियन्त्रण योजना प्रचार गर्नु अपराधीहरुलाई दबावमा राख्ने हेतुले ठीक पनि हुन सक्ला । तर नाङ्लो ठटाएर हात्ती तर्साउने रणनीति प्रहरीले अपनाउन खोज्दा अपराधीहरु थप सचेत भएर अर्कै रणनीति पनि अवलम्बन गर्न सक्छन् । बढ्ता हल्ला गर्ने तर कार्यान्वयन नगर्ने हो भने जनताको विश्वास पनि गुम्ने हुन्छ । विगतको समीक्षा समीक्षासहित प्रहरीले नयाँ रणनीति लागू गर्नु पर्छ । आपराधिक घटना हुनै नदिन प्रहरी सचेत र तयार रहनु पर्दछ । अपराध हुन सक्ने सम्भावित स्थानको पहिचान गरी गस्ती, सुराकी बढाउने, सम्भावित संलग्नहरुको अनुमान गरि विशेष निगरानी गर्ने पनि गर्नु पर्दछ । आपराधिक गतिविधि हुन नदिन पुर्व तयारी के कस्तो गर्ने, रोकथामका विधि के कस्तो, कसरी अपनाउने आदि प्रहरीले बेलैमा अवलम्बन गर्नु पर्दछ । चाडपर्वको मौसममा यात्रुहरुको आहोर दोहोर बढी हुने भएकाले यात्रुहरु लुटिन सक्ने, ठगिन सक्ने र दुर्घटनामा पर्न सक्ने सम्भावना प्रवल हुन्छ । भिडभाडमा पकेटमारहरु सक्रिय हुन्छन् । लुटपाट बढोत्तरी हुन्छ । यस्तै यातायातका साधानमा पनि क्षमता भन्दाबढी यात्रु राख्ने गरिन्छ । यसका कारण लुटपाटसँगै सवारी दुर्घटना बढ्ने सम्भावना हुन्छ । यसतर्फ प्रहरी, ट्राफिक प्रहरीले विशेष कडाई र निगरानी बढाइनु पर्छ । वैंक, वित्तीय संस्था, सुनचाँदी पसलमा भिडभाड बढ्ने भएकाले ती क्षेत्रलाई प्राथमिकताका साथ सुरक्षा दिनुपर्ने हुन्छ । मठमन्दिरलगायतका धार्मिक स्थलमा पनि सुरक्षा सतर्कता अपनाइनुपर्ने हुन्छ । हतियार देखाएर लुटपाट गर्ने, पेय तथा नशालु पदार्थ खुवाएर बेहोेस बनाएर लुटने भएकाले यसबाट जोगिन र आपराधिक गतिविधिको पहिचानका लागि चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने हुन्छ । पछिल्लो समयमा शान्ति सुरक्षाका लागि आम नागरिकसँग प्रहरीले विभिन्न माध्यमबाट हातेमालो गरिरहेको छ । तथापि त्यसको प्रभावकारिता के कस्तो रह्यो ? त्यो भने त्यति सार्वजनिक गरिएको पाइँदैन । यस्तै चाडपर्वको अवधीमा पूजापाठ, मूर्ति स्थापना, मन्दिर रङ्गरोगन आदिका नाममा जवरजस्ती पैसा उठाउने, चन्दा असुल्ने प्रवृति पनि बढ्दो छ । यसलाई नियन्त्रण र निरुत्साहित गरिनुपर्छ । साथै प्रहरीले राजमार्ग सुरक्षा गस्ती बढाउने, मादकपदार्थ सेवन परीक्षण अभियान तीव्र पार्ने, ट्राफिक नियमको पालन गर्न लगाउने लगायतका विशेष अभियान पनि सञ्चालन गर्नु पर्छ । आम जनतालाई के कसरी सुरक्षित राख्न सकिन्छ ? के कस्ता अपराधका प्रवृति देखा परेका छन् रु त्यसका बारे पनि प्रहरीले आम जनतालाई जानकारी गराउने र सचेत पार्नु पर्दछ । नागरिकको कर्तव्य कुनै स्वतन्त्र राज्य भित्रको भौगोलिक क्षेत्रभित्र बसोबास गर्ने र सम्बन्धित मुलुकको सार्वभौमिक अधिकार प्राप्त व्यक्ति नै त्यो राज्यको नागरिक हुन्छ । नागरिक पनि बिना बर्दीको प्रहरी हो । यो भनाई पक्कै पनि त्यसै भनिएको हैन । नागरिक स्वयं सचेत र जागरुक भइदिने हो भने अपराधका आधा घटना त्यसै कम हुने प्रहरीको अनुभव छ । कुनै आपराधिक गतिविधिको सूचना सर्वप्रथम प्रत्यक्षदर्शीका रुपमा होस् या स्थानीयका रुपमा उसले नै पाउने हो, तसर्थ त्यस्ता अवाञ्छित र शङ्कास्पद गतिविधिको बेलैमा प्रहरीलाई खवर गर्न सके धेरै घटनाबाट जोगिन र जोगाउन सकिन्छ । तर हाम्रो समाजमा आफूलाई नपर्दासम्म कोही अघि सर्दैनन् । अपराधका घटनालाई पनि सामान्य ठानीदिन्छन् र आँखा चिम्लीदिने गर्छन् । यसले गर्दा अपराधमा संलग्नहरुको मनोवल बढ्ने र घटना पुनरावृति हुने सम्भावना हुन्छ । कतिपय अवस्थामा हाम्रै, आफ्नै कारणले पनि अपराधलाई बढवा मिलिरहेको हुन्छ । आफनो जीउधनको सुरक्षामा लाफरवाही गरिरहेका हुन्छौं, त्यसको फाइदा ती अपराधीले लिइरहेका हुन्छन् । घर बाहिर, कहीं टाढा जानु छ भने बहुमूल्य वस्तु सुरक्षित राखिनु पर्छ । झ्याल ढोका बन्द गरिनु पर्छ । छिमेकीलाई रेखदेखका लागि सुचित पनि गर्नु पर्छ । आपराधिक क्रियाकलापको शङ्का लागेमा तुरुन्त प्रहरीलाई खबर गर्ने प्रवृति बसाल्नु पर्छ । आफनो चोरी भएको हैन, भनेर चुप लाग्ने गर्नाले चोरलाई थप हौसला मिल्ने हुन्छ । घटना पुनरावृति हुन्छ । चाडपर्वको समयमा सर्वसाधारण स्वयं जिउधनको सरक्षार्थ सचेत हुन जरुरी छ । यात्रामा निस्किदा महङ्गा गरगहना नलगाउने, ठूलो धनराशि नबोक्ने, आर्थिक कारोवार बैंकमार्फत गर्ने बानी बसाल्नु पर्दछ । चाडपर्वको समय त्यसै पनि संवेदनशील अवस्था हो । यस्तो बेला धार्मिक, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न पनि नागरिकको अहम् भूमिका हुनुपर्दछ । संविधानले नै नागरिकको कर्तव्य बारे प्रष्ट्याएको पनि छ । आफनो राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानूनको पालना गर्नु, राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु र सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु नागरिकको प्रमुख कर्तव्य पनि हो । तसर्थ आउनुस्–आजैबाट आफनो कर्तव्यपालना गरौं । (लेखक नेपालगञ्जका सक्रिय पत्रकार हुन् ।)