टिकटकको प्रयोगले पारिवारिक एकता र सामाजिक सद्भावमा असर

केही समयअघि सुनसरीको धरानमा गोरु काटेर सामूहिक भोज गरेको भिडियो टिकटकमा पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिने घटना भई निषेधाज्ञा लगाउनुपर्ने अवस्था आयो । केही हिन्दू धर्म गुरुले गाई काट्ने व्यक्तिहरुको हत्या गरेमा आफूले जिम्मा लिने विवादास्पद अभिव्यक्ति दिएको भिडियो भाइरल नै भयो । त्यस्ता व्यक्तिलाई प्रहरीले पक्राउ गरेर कागज गराई छाडेको थियो । टिकटकमा भिडियो बनाउने क्रममा दुर्घटनामा परी धेरैले ज्यान गुमाएका समाचारहरु पनि आएका छन् । २०७९ साल माघ महिनामा पोखरा महानगरपालिका–१४, मनकामना टोल बस्ने आठ वर्षीया बालिकाको घरको छतमा बसेर टिकटक बनाउने क्रममा अचानक लड्न गई मृत्यु भयो । त्यस्तै २०७९ साल पुस महिनामा टिकटकमा भिडियो बनाउने क्रममा बबई नदीको झोलङ्गेपुलबाट खसेर गम्भीर घाइते भएका दाङ तुलसीपुर उपमहानगरपालिका– १९, बिजौरी निवासी एक २४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भयो । गत वैशाखमा धरानबाट ओखलढुङ्गा जाँदै गरेका धरान–५ का १८ वर्षीय एक युवकको उदयपुर कटारी नगरपालिका–११, हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर मृत्यु भयो । गत जेठमा उदयपुरमा सलको पासो लगाई टिकटक भिडियो बनाउने क्रममा एक ११ वर्षीया बालिकाको झुण्डिएर मृत्यु भएको भयो । केही दिनअघि मात्रै तनहुँमा टिकटक भिडियो बनाउने क्रममा चिप्लिएर एक १९ वर्षीया युवती सेती नदीमा खसेकी थिइन् । नेपालगञ्जमा मुस्लिम समुदायको भावनामा ठेस पुग्ने सामग्रीसहितका भिडियो पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिन गई निषेधाज्ञासम्मको घटना हुन पुगेको थियो । गत वर्ष भाइरल हुने नाममा एक परीक्षार्थीले परीक्षा हलमा आफैँले चिट चोरिरहेको भिडियो टिकटकबाट सार्वजनिक गरेका थिए । नेपालमा सामाजिक सञ्जाल टिकटकको गलत प्रयोगका कारण भएका केही प्रतिनिधिमूलक घटना हुन् यी । यी घटनाबाट के बुझ्न सकिन्छ भने क्षणिक रमाइलोका नाममा टिकटकको प्रयोग यति विकृत बन्दै गइरहेको थियो कि हरेक घरपरिवार, समाज र देशकै लागि यो ठूलो चुनौतीका रुपमा सिर्जना भइरहेको थियो । सम्भवतः यही अवस्थालाई दृष्टिगत गरी गत कात्तिक २७ गते बसेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले ‘सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्षसहित नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय ग¥यो । यो निर्णयपछि जनस्तरदेखि अदालतसम्म नेपालमा सामाजिक सञ्जाल प्रयोगको सवालमा बहस चलिरहेको छ । जनस्तरमा ठूलो पङ्क्तिले यो निर्णयको समर्थन गरेको छ भने केही र खासगरी ‘डिजिटल राइट्स’को क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुले यसबाट प्रविधि प्रयोगमा सङ्कुचन आउने भन्दै चिन्ता पनि व्यक्त गरिरहेका छन् । टिककटमाथिको प्रतिबन्ध एउटा घटना हो, यो घटनापछि सिर्जना भएको बहसलाई तार्किक निष्कर्षमा पु¥याउन सक्ने हो भने निश्चय नै नेपाललाई फाइदै हुनेछ । तर यो बहसको केन्द्रमा भने हामीले नेपाली समाज कस्तो बनाउने रु भन्ने विषयलाई नै अघि बढाउनुपर्छ । सामाजिक सञ्जालको प्रयोगबाट नकारात्मक परिणाम मात्रै आएका छैनन्, पहुँचविहीन समुदायको सशक्तीकरणदेखि धेरै क्षेत्रमा यसको राम्रो प्रभाव छ । राम्रो प्रभावलाई अझै बढाउँदै यसबाट सिर्जना हुन थालेका डरलाग्दा असरलाई न्यूनीकरण गर्नका लागि कुनै न कुनै विन्दुमा आएर सार्थक बहस छेडिन जरुरी थियो । टिकटकको प्रतिबन्धपछि यो बहसले प्राथमिकता पाएको छ, जसलाई तार्किक निष्कर्षमा पु¥याउन जरुरी छ । सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउँदा प्रस्टरुपमा ‘सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको’ तथ्यलाई उल्लेख गरेको छ भने नेपालमा टिकटकको प्रयोगमा ‘तत्काल रोक लगाउने’ भनेको छ । यसबाट सामाजिक सद्भावविरुद्धका कुनै पनि गतिविधिसँग सम्झौता गर्न सकिँदैन भन्ने सरकारको प्रस्ट मान्यता रहेको देखिन्छ । त्यसका लागि के गर्ने त रु त्यसका लागि अहिले चलिरहेका सामाजिक सञ्जालको नियमन गर्ने नै हो । नियमन भनेको नियमभित्र ल्याउने हो र कुनै प्लेटफर्मलाई त्यसरी नियमभित्र ल्याएर सञ्चालन गर्न सकिएन भने आंशिक वा पूर्णरुपमा बन्द लगाउन पनि सकिन्छ, यो संसारभरि अहिले चलिरहेका अभ्यास हो । सरकारले अन्य सामाजिक सञ्जाल प्लेटफर्मले कम्युनिटी गाइडलाइनविरुद्धका सामग्री हटाउने गरे पनि टिकटकले रियलटाइमका सामग्री हटाउन नसकेको बरु लाइभ भिडियोहरु रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा समेत शेयर गर्ने बढेकाले टिकटकको नियमन सम्भव नभई प्रयोगमा नै रोक लगाउनु परेको प्रष्टीकरण दिएको छ । त्यसो त टिकटकले अन्य सामाजिक सञ्जाल प्लेटमर्फमले आपसी समझदारीमा जारी गरेको सान्टाक्लारा सिद्धान्त अनुमोदन नगरेको पनि सरकारको भनाइ छ । सान्टाक्लारा सिद्धान्तअनुसार सामाजिक सञ्जाल प्लेटफर्म स्वयंले प्रयोगकर्ताको मानवअधिकार र कानुनसम्मत प्रक्रिया सुनिश्चित गर्ने, प्रयोगकर्ताले बुझ्न सक्ने नीति नियमहरु बनाउने, सबै राजनैतिक सामाजिक वा सांस्कृतिक परिस्थितिमा समानरुपले लागू हुन सक्ने, राज्यका नीतिनियम वा कानुनका कारण विषयवस्तु परिमार्जन हुन सक्ने र सत्यतथ्य जाँचेर गलत वा भ्रामक विषयवस्तु हटाउनेमा ध्यान दिनुपर्छ । हरेक देशका आ–आफ्नै अनुकूलताका कानुन हुन्छन् । हरेक देशले आफ्नो समाजको चरित्रअनुसार कानुन बनाएका हुन्छन् । नेपालको कानुन निर्माणको आधार पनि नेपाली समाजको स्वरुप र चरित्र नै हो । नेपाल समाज पूर्वीय दर्शनमा आधारित छ । यसले व्यक्तिको स्वतन्त्रतालाई स्वीकार त गर्छ तर पारिवारिक एकता र सामाजिक सद्भावभन्दा बाहिर गएर व्यक्तिको स्वतन्त्रता (अझ स्वच्छन्दता)लाई स्वीकार गर्दैन । पश्चिमा मुलुकहरुमा ‘मभित्र हामी’ खोजिन्छ भने पूर्वीय सभ्यतामा ‘हामीभित्र म’ खोजिन्छ । भन्नुको अर्थ पश्चिमाहरुले हर व्यक्तिको व्यक्तिगत स्वतन्त्रताबाट समाज स्वतन्त्र बन्दै जान्छ भन्ने दर्शनलाई महत्व दिन्छन् भने हामी पूर्वीय सभ्यतामा परिवार, समुदाय र समाजको सामूहिक अभ्यासबाट हरेक व्यक्तिको स्वतन्त्रता र समानताको अभ्यास गर्न सकिन्छ भन्ने मान्यतामा विश्वास गर्छौं । यो कोणबाट हेर्ने हो भने पछिल्लो समयमा नेपाली समाजभित्र असामाजिक क्रियाकलाप जसरी बढ्न खोजिरहेका छन्, यसको अभ्यास गर्ने माध्यम सामाजिक सञ्जाल बनिरहेका छन् । यसरी नै अघि बढ्ने हो भने परिवार परिवारजस्ता नहुने हुन् कि भन्ने चिन्ता बढ्दैछ । हाम्रा संविधान, ऐन, कानुनहरु धेरै पछि मात्रै बनेका हुन् । संवैधानिक इतिहास हेर्ने हो भने विसं २००४ बाट मात्रै सुरु भएको देखिन्छ भने कानुनी अभ्यास विसं १९१० देखि भएको देखिन्छ । त्योभन्दा अगाडि समाज कसरी चलेको थियो त रु जवाफ प्रस्ट छ– सामाजिक मूल्यमान्यताका आधारमा समाज चलेको थियो । अहिले पनि लेखिएका केही थान संविधान र कानुनलाई छाड्ने हो भने समाजको अधिकांश प्रक्रिया सामाजिक मूल्यमान्यताकै आधारमा चलेको छ । जन्मदेखि मरिसकेपछि गरिने रीतिरिवाज र चालचलन हाम्रा अलिखित कानुन हुन् । त्यसैले हाम्रो संविधान र कानुनमा लेखिएको छैन वा पश्चिमा जगतमा अभ्यास छैन भनेर मात्रै पनि हाम्रा खासखास सामाजिक मूल्य मान्यतामाथिको अतिक्रमणलाई सहनुपर्छ भन्ने हुँदैन । यहाँ टिकटक वा अन्य अमूक प्लेटफर्मको मात्रै सवाल होइन, हामीले नेपालमा सामाजिक सञ्जाल प्रयोगको अवस्था हे¥यौं भने किरियापुत्रीहरु नाचेको दृश्य देख्न सकिन्छ । कसैको घर जलिरहेको हुन्छ वा कोही सवारी दुर्घटनामा परेर चित्कार गरिरहेको हुन्छ तर हामीले ती घटनामा उद्धार गर्न छाडेर भिडियो बनाइरहेका हुन्छौँ र क्षणभरमै भाइरल बनाइदिन्छौँ । आफू फरक देखिने नाममा अङ्ग प्रदर्शनदेखि जस्ता पनि क्रियाकलाप गर्ने जुन अवस्था सामाजिक सञ्जालमा देखिन थालेको छ, यो पक्कै पनि नेपाली समाजका लागि घातक र खतरनाक सङ्केत हो । यसको बेलैमा नियन्त्रण गर्नेतिर राज्यले मात्र होइन, हरेक व्यक्ति र समाजले सोच्नैपर्छ । सामाजिक सञ्जालका कारण बालबालिका तथा युवायुवतीलाई गलत दिशातिर डो¥याउँदै विषाक्त मनोविज्ञानको सिर्जना भइरहेको छ । सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्ने लतमा बालबालिका र युवायुवती परिवार, खेलकुद, सिकाइपढाइ जस्ता जीवनका महत्वपूर्ण पक्षमा बेवास्ता गर्ने क्रम बढिरहेको छ । अरू बेला कुरै छाडौँ, चाडपर्वमा मात्रै हेर्ने हो भने पनि जसरी ठूलो उत्साहका लागि पारिवारिक मिलनको उद्देश्यले एक ठाउँमा जम्मा भइन्छ तर सबै सामाजिक सञ्जालमा व्यस्त हुँदा पारिवारिक सम्मिलन कुन चराको नामजस्तो हुन थालेको छ । अरुभन्दा राम्रो र फरक देखिन खर्चिलो संस्कारको विकास भएको छ । एउटा अध्ययनले के देखाएको छ भने टिकटक प्रयोगकर्तामध्ये करिब ४५ प्रतिशत १२ देखि २४ वर्ष उमेर समूहका मानिस गलत प्रभावमा सजिलै पर्न सक्ने तथा भ्रामक छविमा रमाउने र महत्वाकांक्षी हुनेलगायत भाइरल हुने आकाङ्क्षाले गलत दिशातिर मोडिने अवस्था बनिरहेको छ । आपराधिक मानसिकताका व्यक्तिले टिकटक प्रयोगकर्ताको मनोविज्ञानको गलत फाइदा उठाई आपराधिक गतिविधिमा संलग्ने गराउने गरेको देखिन्छ । सामाजिक सञ्जाल प्रयोगको लत बसेर महत्वपूर्ण समय यसको प्रयोगमा बिताउँदा उत्पादकत्व वृद्धिमा समेत असर पुग्ने गरेको पाइएको छ भने आत्महत्या, गाली बेइज्जत, दुर्घटना, पारिवारिक बिखण्डनजस्ता समाजलाई नकारात्मक असर पुग्ने घटना बढिरहेका छन् । टिकटकमा अश्लील भिडियो सार्वजनिक तथा लाइभमा अनैतिक क्रियाकलापका लागि मोलमोलाइ, अश्लील गतिविधि, जुवातास खेलाउने, गैरकानुनी विज्ञापन प्रसारण लगायतका गतिविधि बढिरहेको अवस्था छ भने टिकटक लाइभ स्ट्रिमिङ गरी उपहार प्राप्त गर्न अनैतिक, अमर्यादित र असामाजिक गतिविधि बढ्दै गएको छ । यौन दुव्र्यवहारलगायत साइबर बुलिङका घटना पनि बढ्दै गएका छन् । यसले परिवार सदस्यका बीचमा भौतिक भेटघाट र सरसल्लाह नहुने, पारिवारिक तथा भावानात्मक एकतामा कमी हुँदै गएको हरेक घरपरिवारका सदस्यले महसुस गर्ने अवस्था बनेको छ । समग्रमा हाम्रो संस्कार, संस्कृति, प्रथा, प्रचलन, मूल्य, मान्यता तथा सामाजिक सद्भावविरुद्ध नकारात्मक प्रभावलाई बढावा हाम्रो पूर्वीय सभ्यतामाथि नै चुनौती थप्दै लैजाने कुरा सही हुन सक्दैन । फेरि प्रश्न उठ्न सक्छ– यो सबै काम टिकटकले मात्रै गरेको हो त रु सकारात्मकभन्दा नकारात्मक असर बढी देखिएको निष्कर्षमा पुगेर सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको स्पष्ट गरिसकेको छ, यसको अर्थ अन्य सामाजिक सञ्जालको प्रयोग सुरक्षित छ भन्ने होइन । त्यसो त टिकटकको प्रतिबन्धले एउटा सन्देश पक्कै गएको छ कि कुनै पनि सामाजिक सञ्जालको प्रयोगले पारिवारिक एकता र सामाजिक सद्भाव बिगारेको खण्डमा त्यो नेपालमा स्वीकार्य हुने छैन । त्यसैले अहिलेसम्मको अभ्यासबाट पाठ सिक्दै नेपालमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउन सरकारले कानुन निर्माणको प्रक्रियालाई पनि तीव्ररुपमा अघि बढाएको छ । यस क्रममा सामाजिक प्रयोगको व्यवस्थित गर्ने निर्देशिका २०८० जारी भई कार्यान्वयनको तयारीमा रहेको छ भने यससम्बन्धी ऐन मस्यौदाको प्रक्रिया अन्तिम चरणमा छ । निर्देशिकाले नियमनभन्दा स्वनियमन र सचतेनामा जोड दिएको छ । हरेक प्रयोगकर्ता र प्लेटफर्महरुले स्वनियमन गरेको खण्डमा राज्यले नियमन गर्नु पनि पर्दैन र कानुनको आवश्यकता नै पर्दैन । त्यसो त प्रविधिको विकास र आम मानिसको चाहना बदलिंदै जाँदा त्यसलाई व्यवस्थित गर्ने कानुन त चाहिन्छ नै, त्योभन्दा पनि बढी सामाजिक मर्यादालाई केन्द्रमा राखेर गरिने सामाजिक व्यवहार नै हाम्रा समाज व्यवस्थापनका महत्वपूर्ण आधार हुन् । सरकारबाट गरिएका निर्णय, बनेका वा बन्ने कानुनहरुको उद्देश्य नेपाली मौलिकतासहितको पारिवारिक एकता र सामाजिक सद्भावसहितको समाज हो, त्यसका लागि हामी सबै प्रतिबद्ध बनौं । अहिले चलिरहेको सामाजिक सञ्जाल नियमनको बहसमा पनि सुन्दर, सभ्य र नेपालीपनसहितको समाजलाई केन्द्रमा राखौँ । (लेखक सञ्चार तथा सूचना प्रविधिमन्त्रीका सञ्चारविज्ञ हुन्)

व्यवसायी निराश भएर पलायन हुने योजना बनाइरहेका छन्

अहिले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा छ । बैंक तथा वित्तिय संस्थाहरूसँग करिब ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम छ । रेमिट्यान्स आप्रवाह पनि हालसम्मकै बढी छ । विदेशी विनिमय सञ्चिति सम्भवतः हालसम्मकै उच्च छ । असोजमा करिब १ लाख २० हजार पर्यटक भित्रिए । चालु आर्थिक वर्षमा सोधानान्तर अवस्था निरन्तर सकारात्मक छ । यो सिक्काको एउटा पाटो हो । अर्कोतर्फ, सरकारी खाता घाटामा चलिरहेको छ । चालु खर्च र वित्तीय व्यवस्थापनका लागि छुट्याएको बजेट निरन्तर बढिरहेको छ । बैंक तथा वित्तीय संस्थाको आय घटेर राजस्व थप असर पर्ने देखिएको छ । विकास खर्च अत्यासलाग्दो गरी न्यून छ । यसको अर्थ हो सरकार दबाबमा छ । मूल्य वृद्धिदर २० महिनायता ७ प्रतिशतभन्दा माथि छ । निजी क्षेत्रद्वारा सञ्चालित सिमेन्ट छडजस्ता उद्योगहरू ३० प्रतिशतभन्दा कम क्षमतामा चलिरहेका छन् । केही महिनाअघि नेपाल राष्ट्र बैंकले नै गरेको अध्ययनले पनि उद्योगहरू ४३ प्रतिशत क्षमतामा चलिरहेको देखाएको थियो । यो क्षमता अझ घट्दो छ । साना तथा मझौला व्यवसायीका सटरहरू बन्द भएका छन् । कृषि उत्पादनले थप बजार गुमाउँदै छन् । विदेशिनेहरूमा साना व्यवसाय वा कृषि गरिरहेका युवा बढी छन् । यसले के देखाउँछ भने सरकार, निजी क्षेत्र र सर्वसाधारण तीनवटै क्षेत्र समस्यामा छन् । मागमा संकुचन भैरहेको छ । उद्यमी/व्यवसायीमा चरम निराशा छ । व्यवसायीले लगानीको नभइ पलायनको योजना बनाइरहेका छन् । सबल बाह्य क्षेत्रले यी तीन वर्गलाई छुन सकेको छैन् । यस्तो किन भयो त ? यसबारे धेरै चर्चा त भयो । तर, समाधानको प्रष्ट तस्बिर आएन । म छोटकरीमा यति मात्रै भन्छु, पहिले हामी कोभिडपछिको तीव्र आर्थिक विस्तारबाट धेरै आत्तियाैं र निजी क्षेत्रलाई संकुचित बनाई माग घटायौं । असहज आर्थिक अवस्थामा सरकारले खर्च बढाउनुपर्नेमा खर्च कटौतीको नीति लियो । यसले समस्यालाई थप बढाउने काम गर्याैं । दोस्रो कुरा, समस्या छ भन्ने थाहा हुँदाहुँदै पनि सुधारको उपाय अवलम्बन गरेनाैं । बजेट र मौद्रिक नीतिका लागि सबै निजी क्षेत्रले संयुक्तरूपमा सुझाव दियौं । तर, सुनुवाइ हुन सकेन । त्यो मेरो, परिसंघ वा चेम्बर अध्यक्षको व्यक्तिगत माग थिएन । हामीले सबैलाई प्रतिनिधित्व गर्छाै र निजी क्षेत्रको साझा सुझाव दिएका हौं । हाम्रा विषय सम्बोधन गरी सरकारी निकायहरूबीच सामान्य समन्वयमात्रै भइदिएको भए अहिलेजस्तो समस्या हुने थिएन । त्यही भएर हामीले असोज २५ गते वृहत् आर्थिक बहस आयोजना गर्यौं । समस्या समाधानका लागि उच्चस्तरीय संयन्त्रको प्रस्ताव गरेका थियौं । यो संयन्त्र निर्माणको प्रस्ताव राज्यका आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न निकायहरूलाई थप सहयोग, समन्वय र सहजीकरण गर्नका लागि गरिएको हो । सबै निकायले आफूले राम्रो काम गरिरहेको भनिरहनुभएको छ । तर, नतिजा सुखद आउन सकेको छैन । सबैको कामको राम्रो  नतिजा निकाल्न सहकार्य आवश्यक छ । त्यसैले निजी क्षेत्रसहित सबै एकैठाउँमा बसेर समस्याको समाधान खोजौँ । यसै सिलसिलामा महासंघले आयोजना गरेको आर्थिक बहस कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूबाट तत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्चस्तरीय कानुनी हैसियत भएको संयन्त्र गठन गर्न प्रतिबद्धतासमेत जनाइसक्नुभएको थियो । उक्त प्रतिबद्धतालाई महासंघसहित अर्थतन्त्रका धेरै सरोकारवालाहरूले सकारात्मकरूपमा लिँदै कार्यान्वयनको प्रतिक्षा गरिरहेको अवस्था छ । त्यसैले आजकै बैठकबाट उच्चस्तरीय संयन्त्र घोषणा गर्न म सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष आग्रह गर्दछु । महासंघले वर्तमान अवस्था र गर्नुपर्ने सुधारका विषयमा देशैभरिका व्यवसायी तथा सदस्य संघसंस्थासँग सुझाव पनि मागेकाे थियाे । प्रस्तुत सुझावहरूमा तिनलाई पनि समेटिएको छ । अर्थतन्त्र सुधारका लागि तत्काल गर्नुपर्ने काम सरकारको तर्फबाट गर्नुपर्ने -अहिले व्यवसायीहरूको आत्मविश्वास घट्दै गएको छ । व्यवसायीहरूको आत्मविश्वास बढाउन राज्यले पुँजी खर्च बढाएर लगानीमैत्री वातावरण बनाउँदै आर्थिक गतिविधि बढाउन आवश्यक छ । – सरकारी पुँजीगत खर्चको वृद्धिदर गत आर्थिक वर्षको पहिलो ३ महिनामा १८.६ प्रतिशतले बढेकोमा यस आर्थिक वर्ष ०.९ प्रतिशतले मात्र बढेको तथ्याङ्क छ । आर्थिक गतिविधि सुस्त हुनुमा यो पनि एक प्रमुख कारण हो । त्यसैले सरकारको पुँजीगत खर्च बढाउन जरुरी छ । वर्षा र मुख्य चाडपर्व पनि सकिए । अब खर्च बढाउन कामलाई गति दिने समय आएको छ । -अब कामलाई तीव्र गर्नुपर्ने समयमा विभिन्न ढंगले अराजक गतिविधि बढ्न थालेको देखिन्छ । अराजक गतिविधिलाई कुनै पनि हालतमा नियन्त्रण गर्न जरुरी छ । यसलाई समयमै नियन्त्रण गरिएन भने मुलुकभित्र मात्र होइन बाहिरबाट आउने पर्यटक र विदेशी लगानीलाई पनि गलत सन्देश जान्छ । -शान्ति सुरक्षा, लगानी सुरक्षा र लगानीकर्तालाई उत्प्रेरणा हुने वातावरण बनाउन जरुरी छ । -सरकारले अहिले आन्तरिक ऋण उठाएको छ । यो पनि खर्च भएको छैन । सरकारले आन्तरिकका साथै बाह्य ऋण लिएर विकासका कामलाई तीव्ररूपमा अघि बढाउनुपर्छ । क्रेडिट रेटिङ्ग गरी विदेशी लगानी बढाउनुपर्छ । -यो समयमा लगानी बढाउने र आर्थिक गतिविधि बढाउन सकेमात्र व्यवसायीको मनोबल उच्च बनाउन सकिन्छ । -अहिले विद्युत उत्पादन पर्याप्त रहेको छ । पर्याप्त रहेको बिजुलीको खपत बढाउनु जरुरी छ । अहिलेका लागि उद्योगलाई सहुलियत दिँदा दोहोरो फाइदा हुनेछ । साथै, उत्पादित बिजुली बिजुली प्रसारण लाइनका कारण प्राधिकरणले खरिद गर्न सकिरहेको छैन । -भूतप्रभावी कानुन र अस्थिर नीतिगत व्यवस्थाले आन्तरिक तथा बाह्य लगानीलाई दुरुत्साहन गर्छ । त्यसैले यसतर्फ राज्यले लचिलो व्यवस्था मिलाउनुपर्छ । -पर्यटन प्रवर्द्धन कार्यक्रमबाट छोटो समयमा अधिकतम फाइदा लिन सकिने हुन्छ । यसलाई प्राथमिकतामा राख्नुपर्याे । निर्माण सम्पन्न भएका विमानस्थलहरूलाई सञ्चालनमा ल्याउने र निर्माणाधिन राजमार्गहरूलाई छिटो सम्पन्न गर्दै सडक यातायातलाई सहज बनाउनुपर्छ । -केही खास प्राविधिक विषयहरू जस्तै : नर्सिङ्ग कलेज खोल्न रोक्दा विद्यार्थी भारतीय सिमा क्षेत्रमा गएर पढ्न बाध्य छन्। यसरी विद्यार्थी बाहिर जाँदा एकातर्फ मुलुकभित्र लगानी, रोजगारी बढ्न सकेको छैन भने विदेशी मुद्रा बाहिरिएको छ । यसमा निर्णायक कदम चाल्ने समय आइसकेको छ । -व्यवसायीले पुँजीगत खर्चको सिलसिलामा गर्ने खर्चहरूमा ठूलो अंशमा सरकारलाई मूअ कर (भ्याट) दाखिला गरी आएका छन् । तर, आय /आर्जन गर्न उल्लेख्य समय लाग्ने भएकोले आउट ट्याक्सको दायित्व नहुने र उल्लेख्यरूपमा श्रोतमा तिरिएको मूअ कर क्रेडिट रहिरहेको अवस्था छ । जसले गर्दा निजी क्षेत्रलाई पुँजीगत लगानीको श्रोत व्यवस्थापन गर्न थप कठिन बनाएको छ । यस्तो समस्या खास गरेर होटल, पूर्वाधार विकास आयोजनालगायत दीर्घकालीन लगानीमा हुने व्यवसायमा बढी देखिएको छ । सरकारमा अग्रिमरूपमा जम्मा भएको मूल्य अभिवृद्धि कर रकम तत्काल व्यवसायीलाई फिर्ता गर्ने व्यवस्था भएको खण्डमा उक्त रकमले पुँजीगत लगानीमा सहजता हुन जाने निश्चित छ । -मुल्य अभिवृद्धि कर ऐनको दफा २४ मा यसरी लगातार ४ महिनासम्म दाखिल गर्नुपर्ने कर रकममा मिलान गरेर बाँकी रहेको रकम दर्ता भएको व्यक्तिले फिर्ता पाउन सक्ने व्यवस्था भएतापनि व्यवहारिकरूपमा त्यसाे हुन सकेको छैन । तसर्थ, सरकारले नीतिगतरूपमा यस्तो अधिक दाखिला भएको कर रकम सहजरूपले फिर्ता गर्ने वातावरण तयारी गर्नुपर्ने देखिन्छ । यसले पुँजीगत खर्चमा बढाउन सहयोग गर्छ जसले गर्दा राष्ट्रको आर्थिक गतिविधिलाई थप टेवा पुग्न जान्छ । नेपाल राष्ट्र बैंक -अर्थतन्त्र चलायमान बनाउन शहरदेखि गाउँगाउँसम्म पुँजी प्रवाहलाई चलायमान बनाउनुपर्नेछ । त्यसका लागि गाउँगाउँसम्म पुँजी प्रवाहमा देखिएका अवरोध हटाउनपर्छ । -जिल्ला जिल्लामा रहेका साना तथा मझौला व्यवसायलाई प्रवाह हुने कर्जालाई सहज बनाउनुपर्यो । जस्तै: घर कर्जालाई सरल र सुलभ बनाउन सकेमा यसले सिमेन्ट, छडदेखि फर्निचरसम्मका उद्योगलाई चलायमान बनाउन सघाउँछ भने व्यापकमात्रमा रोजगारी पनि सिर्जना हुनसक्छ । -बैंकहरूको फिक्स डिपोजिटको ब्याजदर कम गर्न अबको केही दिनमा हुन लागेको मौद्रिक नीतिको समिक्षामा नेपाल राष्ट बैंकले केही उपहकरणहरू ल्याउन सक्छ । फिक्स डिपोजिटको ब्याज बढी हुँदा बैंकमा पैसा राखेर ब्याज खाने प्रचलन बढेको छ । पैसा बजारमा चलायनमान हुने, उत्पादनमूलक या अरु केहीमा लगानी नहुने भयो । -कृषि, पर्यटन पूर्वाधार र आइसीटीलगायतका सेवा तथा उत्पादनमुलक क्षेत्रमा पुर्नकर्जा र करमा सहुलियतसहितको प्याकेज आवश्यक छ । -नेपाली अर्थतन्त्रको लाइफ लाइन रेमिट्यान्स हो । तर, त्यही रेमिट्यान्स ग्रामिण क्षेत्रसम्म पुग्न सकेको छैन । आन्तरिक रेमिट्यान्स सेवा बन्द हुँदा गाउँगाउँसम्म पैसा नपुग्दा ग्रामिण अर्थतन्त्र शिथिल जस्तै भएको छ । यसले ग्रामिण क्षेत्रका साना तथा मझौला व्यवसायलाई समस्यामा पारेको छ । गाउँसम्म सहजै रकम पुग्ने संयन्त्र रोकिनु हुँदैन । -नेपाली समाज ऋण नतिर्ने समाज होइन। तर, पछिल्लो समय ऋण नतिर्ने सम्मको आवाज उठिरहेको छ । यो उचित होइन । त्यसैले यसको समाधानका लागि बैंकहरूलाई ऋणीको अवस्था हेरी केही समयका लागि पुर्नसंरचना र पुर्नतालिकीकरणलगायतको अधिकार दिनु आवश्यक छ । -साना तथा मझौला कर्जालाई बैंकले आफैं अध्ययन गरेर ऋण दिन सक्ने व्यवस्था गर्नु उपयुक्त हुन्छ । चालु पूँजी कर्जासम्बन्धि व्यवस्था पनि बैंक तथा वित्तिय संस्थाले नै निर्णय गर्ने गरी छाडनु उपयुक्त हुन्छ । -हालै नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकाको संसोधनमार्फत्  साझेदारलाई पनि वाच लिस्टमा राख्ने र कालोसूचीबाट बाहिर निस्किन ६ महिना लाग्ने प्रावधान ल्याएको छ । यसले व्यवसायी हतोत्साही छन् । -समग्रमा कोभिड तथा रसिया युक्रेन युद्धपछि विश्वका अधिकांश मुलुकमा देखिएको आर्थिक शिथिलतालाई कम गर्न मुलुकहरूले आफ्नो तर्फबाट नयाँ नयाँ उपायहरू लिएका छन् । – यसै सन्दर्भमा हिजोमात्र ब्रिटिस प्रधानमन्त्री ऋषि सुनकले बेलायती अर्थतन्त्र सुधारका लागि ५ वटा बुँदा लेखेका छन् । ➡Reducing debt ➡Cutting tax and rewarding work ➡Building domestic, sustainable energy ➡Backing British business ➡Delivering a world-class education (ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि गरेकाे छलफलमा व्यक्त गरेको विचार ।)

मानव सेवा नै सर्वोत्कृष्ट धर्म

मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने मानवीय गुणको विकास र पूर्णतालाई नै मानव धर्म भनिन्छ । धर्म भनेको सम्पूर्ण प्राणीको कल्याण गर्नु हो । मानव सेवाबाट नै धर्म प्राप्तिको ढोका खुल्दछ । सेवा यति नै गर्नुपर्छ भन्ने छैन, इमान्दारी र खुसीपूर्वक गरिने पुण्य जति पनि कार्य छन्, ती सबै धर्म हुन् । सेवा भनेको जति सकिन्छ, त्यति गर्ने हो, मात्र पवित्र आशय राख्नुपर्छ । सामाजिक सेवा आफ्नो धर्म हो । सामाजिक सेवा गर्नु भनेको एउटा मानवीय धर्म हो, जसमा विशेष गरेर आफू बुद्धको अनुयायी भएपछि जीवन सार्थक बनाउने आफ्नो प्रयास हो । धेरै गरेँ वा थोरै गरेँ भन्ने हिसाबकिताबमा लाग्ने होइन, आफूले जति सकिन्छ, त्यति गर्ने हो । बुद्ध धर्ममा लागेको र बुद्धका अनुयायी भएर एउटा सत्कर्मको बाटोमा लागेर आफूले पाएको सङ्गीतको माध्यमबाट जसरी आफूलाई र अरूलाई खुसी दिन सकेको छु त्यसैमा आफू रमाइरहेको छु र यसबाट नै जीवनको सार्थकता पुष्टि हुन्छ भन्ने लाग्दछ । जीवन सार्थक बनाउने बाटो तब भेटाइन्छ, जब आध्यात्मिक चिन्तन मनन् गर्न सकिन्छ । आध्यात्मिक हुनु भनेको एकदम धार्मिक हुनु, मठमन्दिरमै गएर जप गर्नुपर्छ भन्ने होइन, आफ्नो धर्म संस्कृतिको सार बुझेर आफ्नो जीवनलाई अगाडि बढाउनु हो । समाजमा एक÷दुईजना खराब भए भन्दैमा सबैलाई खराब ठान्नु हुँदैन । नुहाउने बेलामा एक जग पानीसम्म बढी खेर गयो भने पनि मलाई नरमाइलो लाग्छ । म कमाएको थोपा थोपा जोगाउँछु । भिक्षु भएकीले पनि होला मलाई धेरैले परिश्रमिकभन्दा पनि दक्षिणा बढी टक्र्याउने गर्छन् । म सकेसम्म यस्तो पैसाहरु आफ्नो हातमै नपारी सेवाका लागि पठाइदिन्छु । केही समयअघि मुकेश अम्बानीले आयोजना गरेको कार्यक्रममा पाँच मिनेटको गीत गाएबापत प्राप्त भएको रु १६ लाख रकम पनि सिक्किममा बन्दै गरेको एक गुम्बालाई चन्दा दिएर फर्किएँ । सङ्गीत मेरा लागि साधना हो र आर्थिक उपार्जन गर्ने साधन पनि हो । हामीसँग भएको जति पनि भौतिक सम्पत्ति छ, त्यो अरूलाई नै दिने हो किनकि हिजो त्यो मसँग थिएन र भोलि पनि मसँग रहँदैन । सुखी र खुसी फरक कुरा हो । खुसी क्षणिक चीज हो, सुखी वास्तविकताको बुझाइ हो । शरीरको आयु बढ्दै जाँदा यसको शक्ति पनि कम हुँदै जान्छ । सायद यसैले होला आजकल मलाई कसैसँग पनि नराम्रो बोल्न त के सोच्न पनि नपरोस् भन्ने लाग्छ । भौतिक सुख समृद्धिका लागि आफ्नो लागिमात्र केही गरौँ भन्ने भावनाभन्दा माथि उठेर अरूको कल्याणमा समर्पित हुन पक्कै पनि धेरैलाई सजिलो नहुन सक्दछ । जीवनमा मानव भएर जन्मेपछि सार्थकता पाउने एउटै मात्र बाटो सेवा नै हो । जीवनमा धेरैभन्दा धेरै पैसा कमाउनुपर्छ, यसले सबै कुरा पुग्छ भन्ने कुरा गलत साबित भएको छ । मानवजस्तो सभ्य जीवको नियन्त्रणमा सारा धर्ती सञ्चालित छ । धर्तीका सन्तान हुन् मानव जाति । मानवजस्तो अत्यन्त विकसित, महत्वपूर्ण र मूल्यवान् धर्तीको उपज, सृष्टि, त्यसले यही धर्तीमा भौँतारिएर बाँच्नुपर्ने, सहाराविहीन हुनुपर्ने, गाँस–बास–कपासको प्रबन्ध, हेरविचार हेरचाह, बन्धुत्व, मित्रता केही पनि नपाएर बस्नुपर्ने जस्ता कुरा मानव समाजका लागि पटक्कै शोभनीय कुरा होइनन् । जीवनमा हामीले खोजेको माया र प्रेम हो । प्रेमको अभावमा संसारमा जति पनि दुर्घटना भएका छन्, चाहे त्यो रोग वा घटनाहरु हुन् । मनुष्यले मात्र होइन, कसैले पनि पीडा चाहेको हुँदैन । यस धर्तीमा रहेका सबै प्राणीले सुख शान्ति नै चाहेका हुन्छन् । मैले चाहेको मात्र सुख हो भन्ने सोच्नु हुँदैन । अरूलाई दुःख दिएर आफूले सुख खोज्नु सबैभन्दा ठूलो अधर्म हो । आज यही गलत सोचले गर्दा विश्वमा अनेक द्वन्द्व भइरहेका छन्, अपराधका घटना बढिरहेका छन् । आफ्नोमात्र ख्याल राख्यो, अरूको खुसीमा ख्याल राखेन भने यस्तै घटना हुने गर्दछ । आजको कलियुगमा यस्तै पखाण्डीपनको व्यापक प्रभाव छ । आफ्नो मानमर्यादा तब हुन्छ, जब अरूको दुःख बुझ्न सकिन्छ र अरूको कल्याण हुने काम गरिन्छ । गोली रोपेर फूल फुल्दैन, सेवाको बीउ रोपे शान्ति र सुख फल्छ । कसैलाई होच्याएर आफूमाथि पुग्न सकिँदैन । फूलको आँखामा फूलै संसार गीत नसुन्ने र नगुनगुनाउने सायदै होलान् । मैले गाएको सो गीतको लाइभ कन्सर्टको आनन्द भने नेपालीले भन्दा विदेशीले बढी लिने गरेका छन् । मेरो गीत नचाउने र उफार्नेभन्दा पनि आँखा बन्द गरेर अनुभूति गर्ने खालको हुने गर्छ । मेरा गीत सुन्नेहरु भन्छन्, गीतमा शास्त्रको सार भेटिन्छ । एकछिन् आँखा चिम्लेर गीत सुने आनन्दको अनुभूति मिल्छ । सङ्गीतमार्फत संसारलाई सकारात्मकता र आध्यात्मिकतातर्फ डो¥याउने कोसिस गरिरहेको छु । भूकम्पबाट आश्रयविहीनलाई संरक्षकत्व मानव अधिकारको सम्मान, संरक्षण, प्रवद्र्धन र परिपूर्ति गर्ने पहिलो दायित्व राज्यको हो । देशको आर्थिक, सामाजिक रूपमा पछाडि परेको हालै जाजरकोटमा गएको भूकम्पबाट झण्डै डेढ सयजनाले  ज्यान गुमाएका छन्भने बाँचेकाहरुमध्ये पनि परिवारका सदस्य र बस्ने घरलगायत अन्य भौतिक सम्पत्ति गुमाउनुपर्दा आश्रयविहीन बन्नु परेको छ । भूकम्पका कारण भएको क्षतिले गर्दा उनीहरुको बसोबासको अधिकार, खाद्यान्नको अधिकार, सम्पत्तिको अधिकार, सीमान्तकृत वर्ग, समुदाय, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारमा गम्भीर आघात पुगेको छ । यस प्राकृतिक विपद्मा परी अभिभावक गुमाएका बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी यस्तो अवस्थामा थप जोखिममा पर्दछन् । राहत प्राप्त गर्ने कुरामा पनि यी वर्गका मानिसको पहुँच कम हुन्छ । यस्तो बेला उनीहरुलाई राहत र पुनःस्थापनाको आवश्यकता पर्दछ । त्यसैले भूकम्पमा परी अनाथ तथा अभिभावकविहीन भएका सम्पूर्ण बालबालिका साथै आश्रयविहीन बन्न पुगेका एकल आमा बुबाहरुको संरक्षण आनी छोइङ डोल्मा फाउन्डेसन र मानव सेवा आश्रमले गर्ने घोषणा गरेको छ । यसको उद्देश्य विपद्को अवस्थामा कसैले पनि आफू असहाय भएको अनुभूति गर्न नपरोस् भन्ने नै हो । यतिबेला भूकम्पप्रभावितहरुलाई सरकारी, गैरसरकारी र निजी तवरबाट पनि राहत, उद्धार र पुनःस्थापनामा सहयोगहरु जुटिरहेको छ । राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट सहयोगी मनहरुले सक्दो सहयोग गर्न इच्छा व्यक्त गर्नुभएको छ । यसलाई सस्तो प्रचारका रुपमा नभई विशुद्ध मानवीय सेवाको रुपमा गर्न सकिएमा पीडित व्यक्तिले साँच्चिको सहयोग पाएको अनुभव गर्न सक्नेछन् । आफू पनि बाँचौँ र अरूलाई पनि बाँच्न देऊ भन्ने उपदेशलाई चरितार्थ गर्दै सबै उदार दानदाताले होस्टेमा हैँसे गर्दै जाँदा ती असहाय व्यक्तिहरुको संरक्षणमा सहयोग पुग्नेछ । मानवलाई सेवा गर्नु नै सबैभन्दा ठूलो सेवा र धर्म हो । सामाजिक सेवा गर्नु भनेको एउटा मानवीय धर्म हो, जीवन सार्थक बनाउने उपयुक्त अवसर पनि हो । मेची–महाकाली अभियान सञ्चालन ‘यस वर्षको दसैँ, तिहार, छठजस्ता नेपालीहरुका ठूला चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले गत असोज २७ देखि यही मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गरेको थियो । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरुको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै दसैँ, तिहार, छठजस्ता पर्वहरु मनाउने गरी सो अभियान सञ्चालन गरिएको थियो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बागमती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी सञ्चालन गरिएको अभियानका क्रममा तीन सयभन्दा बढीको उद्धार भएको छ । यसपटक यस अभियानलाई अझ प्रभावकारी बनाउन म आफैँ पनि सहभागी भएको थिएँ । अभियानमा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन पनि आनी छोइङ डोल्मा फाउन्डेसनले नै व्यहोरेको थियो । मानव सेवाभन्दा अर्को महान् धर्म केही नभएकाले आफू पनि यस अभियानमा जोडिएको थिएँ । दीनदुःखी र असहायको सेवा गर्दा मनमा शान्ति मिल्छ, पुण्य सङ्ग्रह बढ्छ । मानव सेवा आश्रमले गरिरहेको सत्कर्मको पुण्य मलाई पनि मिलोस् भनेर अभियानलाई साथ दिएकी हुँ । अभियानका क्रममा फेला पारिएका असहाय, सहाराविहीन अवस्थामा रहेका बाआमा, बाबुनानीहरुको अवस्था देख्दा मलाई निकै भावुक बनाएको छ । हाम्रो परिवारकै सदस्यहरुलाई कसरी सडकमा पठाइरहेका छौँ भन्ने देख्दा समाज कतातिर जाँदैछ, मानवता कसरी नासिँदैछ भन्ने अनुभव भएको छ । मानव सेवाभन्दा अर्को महान् धर्म केही नभएकाले आफू पनि यस अभियानमा जोडिएको छु । मानिसका गलत सोच, व्यवहारलाई सुधार गर्नु पनि समाज सेवा नै हो । सकारात्मक सन्देश दिन र राम्रो कामको देखासिकी गराउन यस्ता अभियानहरु सार्थक रहनेछन् । हामीले सामाजिक सुधार पर्याप्त गरेर, आर्थिक अवस्थामा उल्लेख्य प्रगति गरेर, समाजको मनोवृत्ति र मनोविज्ञानमा परिवर्तन गरेर, मानवीय भावनाको वृद्धि गरेर, एउटा सभ्य र अनुशासित समाजको निर्माण गर्न सकिएमा मानिस सहाराविहीन बन्नुपर्ने अवस्था रहँदैन । यसका लागि ठूलो लगानी पनि आवश्यक पर्दैन । हामीले आफ्ना जन्मदिनमा अथवा आफ्ना विवाहका वार्षिकोत्सवमा अथवा छोराछोरीका सफलताका घडीहरूमा खुसी मनाउँदा मानव सेवा आश्रमजस्ता मानवीय संस्थाहरूलाई सहयोग पु¥याउने र यस्ता संस्थामार्फत मानव सेवामा आफ्नो पनि सहभागिता जनाउन सक्दछन् । मानिस चाहे शारीरिक अपाङ्गता, चाहे अशक्तता, बाध्यता अथवा गरिखान नसक्ने बाल्यकाल, मानसिक अस्वस्थता, प्राकृतिक विपत्ति अथवा अरू जेसुकै कारण भए पनि कोही पनि मानिस मानवोचित जीवनबाट वञ्चित हुनु हुँदैन । त्यो हुनु भनेको समाजकै अविकसित स्थितिको परिचायक हो । त्यस स्थितिबाट समाजलाई माथि उठाउनैपर्छ । धार्मिक सद्भावको खाँचो मानिसमा नभई नहुने अर्को महत्वपूर्ण कुरा हो, परोपकारको भावना । परोपकार नै ठूलो धर्म हो । गरिब, असहाय, दीनदुःखीको सेवा हामी सबैले गर्नुपर्छ । उनीहरूको सेवा गर्नु नै भगवान्को सेवा गर्नु हो भन्ने गरिन्छ, मानव सेवा नै माधव सेवा हो । संसारमा भएका सबै धर्मले यही भन्छ । विश्वमा जति पनि धर्महरु छन्, ती सबै मानिसले अनुशरण गरेका अभ्यासहरु हुन् । सबैको उद्देश्य एउटै छ । धर्मको नाममा झगडा गर्नुको कुनै अर्थ छैन । यसै सन्दर्भमा मेरो एउटा गीत पनि छ : धर्म न हिन्दू हो न बौद्ध हो शिख न जैन धर्म चित्तको शुद्धता धर्म शान्ति सुख चयन । मानव मानवबीचमा रत्ति नराखी भेद गर्छ सबैको जो भलो त्यो नै धर्म सफेद । सम्प्रदाय न त धर्म हो धर्म न छेकबार धर्म सिकाओस् एकता धर्म सिकाओस् प्यार । सर्वप्रथम बालकले यो धर्तीमा जन्म लिँदा मानव भएर जन्मेको हुन्छ र मानव हुनुको नाताले ऊसँग स्वतः मानव धर्म जोडिएर आएको हुन्छ, जुन व्यापक, सनातन र सत्य हुन्छ । तर, यो संसारमा जन्म लिइसकेपछि ऊ आफ्नो वरिपरिको वातावरण, जातीय रीतिरिवाज, संस्कृति आदि कुराले प्रभावित हुन्छ कि उसले मानवताको त्यो महान् लक्ष्य र मानवताको आधारलाई बिर्सेर आफूलाई सङ्कीर्ण सीमाभित्र राख्दछ । फलतः मेरो ईश्वर यो, मेरो धर्म यो, अर्काको धर्म त्यो भनी भागबन्डा गर्न थाल्दछ र आफूलाई जातीय सङ्कीणर्ता, सम्प्रदायवाद अनि क्षेत्रवादसँग गाँसेर आफ्नो व्यापक परिचयलाई सङ्कुचित बनाउन थाल्दछ । यसरी हामी आफैँले आफैँलाई धर्म, सम्प्रदायको घेराभित्र सीमित गरेका छौँ, जसका कारण कोही भन्दछौँ– म हिन्दू हुँ, म मुसलमान हुँ, म इसाई हुँ, म शिख हुँ, म बौद्घिष्ट हुँ । तर हिन्दू, मुस्लिम, शिख, इसाई अथवा बौद्घिष्ट हुनुभन्दा पहिले हामी मानव हौँ र मानव हुनुको नाताले मानवको वास्तविक धर्म मानवीय धर्म हो, अर्थात् मानव धर्म हो । जब समाजले मानव धर्मलाई साँचो अर्थमा अपनाउँछ, त्यहाँ जातीय झगडा समाप्त हुन्छ । त्यहाँ धार्मिक झगडा समाप्त हुन्छ । त्यहाँ क्षेत्रीय झगडा समाप्त हुन्छ । यही मानव धर्मको मर्म हो र यसलाई आत्मसात् गर्न सकेमा समाजमा सद्भावना फैलिने छ, विश्व बन्धुत्वको भावना सबल हुनेछ । आज विश्वलाई यही अवस्था चाहिएको छ । रासस (आनी छोइङ डोल्मा फाउन्डेशनकी अध्यक्ष आनी छोइङसँग गरेकाे कुराकानीमा आधारित)