नेपाल संवतको गरिमामय इतिहास र वर्तमान अवस्था
नेपाल संवत् अन्तर्राष्ट्रिय जगत्मै आफ्नो देशको पहिचान बोकेको एकमात्र संवत् हो । नेपाल संवत् नामैले देशको पहिचान दिन समर्थ छ । विश्वमा अरु कुनै पनि त्यस्तो सवत् प्रचलनमा भएको देखिँदैन, जसले देशको नामबाटै आफ्नो संवत्लाई चिनाएको होस् । त्यसैले, नेपाल संवतले सिङ्गो नेपालको राष्ट्रिय स्वाधीनता, एकता र राष्ट्रियतालाई आफूभित्र समेटेको छ भन्दा अत्युक्ति हुँदैन । नेपालमा धेरै संवत् प्रचलनमा आएका भेटिन्छन् । इस्वी (गे्रगोरियन), शक, मानदेव, विक्रम, हेब्रु, हिजरी, चिनियाँ, कलिगतलगायत अरु थुपै सम्वत् हामीकहाँ चलनचल्तीमा देखिन्छन् । नेपालभित्र प्रचलनमा रहेका जति पनि संवत्हरू हामी देख्छौं, नेपाल संवत्ले ती संवत्हरूभन्दा भिन्न इतिहास र भावना बोकेको पाउँछौं । नेपाल संवत् जति जनस्तरमा व्याप्त छ, चर्चित छ र राष्ट्रिय संस्कतिसँग अभिन्न रूपमा गाँसिएको छ, अरु संवत् त्यस्तो देखिँदैन । नेपाल संवत् नेपालको चाडपर्व लगायत जन्मदेखि मृत्युसम्मका सम्पूणे संस्कारहरूको मुख्य आधार हो । यस संवत्मा तिथिमितिदेखि यावत् कुराहरू व्यवस्थित छन् । कतिपय यस्ता संवत्को चर्चा पनि हुने गर्छ, जसको वर्ष गणना भए पनि तिथिमिति देखिँदैन । बुद्ध संवत्, यले संवत् यसका उदाहरण हुन् । यसमा तिथिमिति देखिँदैन । नेपाल संवत् नै एक मात्र यस्तो संवत् हो जुन जनस्तरमा आजपर्यन्त सर्वस्वीकार्य भई प्रचलनमा रहिआएको छ । इतिहास केलाएर हेर्दा विसं १८२५ (नेपाल संवत् ८८८) मा गोरखाका राजा पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तार गरी तत्कालीन नेपालमण्डल, जसभित्र कान्तिपुर, ललितपुर, भक्तपुर र द्वाल्खा चारवटा स्वायत्त राज्य थिए, त्यसमध्ये कान्तिपुर विजयपश्चात् क्रमशः अरु राज्यहरू पनि आफ्नो नियन्त्रणमा लिए । लिच्छविकालमा नेपाल उपत्यका र वरिपरिको भूभागलाई नेपालमण्डलको नामले पुकारिन्थ्यो । नेपालमण्डल शब्दको प्रयोग नेपालमा तत्कालीन दक्षिण एसियामा प्रचलित महाजनपद राज्यहरूजस्तै सङ्घीय नेपाल भन्ने अर्थमा प्रयोग भएको देखिन्छ । त्यतिबेला नेपालमण्डल पाँचवटा राज्यहरूको सङ्घराज्य थियो । तत्कालीन कान्तिपुर, ललितपुर, भक्तपुर, बनेपा र द्वाल्खा विभिन्न कालखण्डमा अस्तित्वमा आए र यसको सङ्घीय स्वरूप नेपालमण्डल थियो । बनेपा राज्य भक्तपुरमा गाँभिएपछि त्यो चारवटा राज्यको सङ्घ थियो । नेपाल संवत् नेपालमण्डलभरि प्रयोगमा थियो । गोर्खा राज्य विस्तारको माध्यमबाट आजको आधुनिक नेपालको स्थापना गरेपछि नेपाल संवत्लाई हटाएर शक संवत् प्रयोगमा ल्याउने काम भयो । नेपालमा शक संवत् दुईपटक प्रयोगमा आए । पहिलोपटक लिच्छवि कालमा शक संवत् प्रयोग भयो, पछि फेरि शक संवत् हटेर मानदेव संवत् र त्यसपछि नेपाल संवत् प्रयोगमा ल्याइएको देखिन्छ । दोस्रोपटक वर्तमान आधुनिक नेपाल निर्माणपश्चात् पृथ्वीनारायण शाहले पुनः शक संवत् प्रयोगमा ल्यायो । वर्तमान भारतको स्थापनापूर्व त्यहाँ झन्डै ५६५ वटा रजौटा राज्यहरू थिए । त्यसमध्येका विभिन्न राज्यहरू वज्जी, लिच्छवि, गुजरात, मेवाड, चितौड आदिमा शक संवत् चल्दथ्यो । यसरी पुनः शक संवत् प्रयोगमा आउनाका कारण केलाउँदा पृथ्वीनारायण शाहले आफ्नो पुख्र्यौली राज्यमा प्रचलित संवत् भित्र्याएको देखिन्छ । त्यतिबेला नेपालको आफ्नै नेपाल संवत् अस्तित्वमा आइसकेको थियो । नेपाल सवत् फेरि शक संवत्कै परिमार्जित र विकसित रूप पनि हो । किनकि नेपालको तिथिमिति र चाडपर्वलाई निरन्तरता दिने मात्र हैन त्यसलाई क्रमबद्ध रूपमा मनाउने पद्धति यसमै निहीत छ । जस्तै नेवाः समुदायले मनाउने मोहनी अरु समुदायले मनाउने दशैं वा दशहराभन्दा अलि भिन्न छ । नेवारहरूले कुछि भ्वय्, स्याक्वःत्याक्वः, चालँ (अर्थात् अष्टमी, नवमी र दशमी) मनाउँछ, जुन आदि कालदेखि नै क्रमवद्धरूपमा मनाउने चलन थियो र छ । स्वन्ति दीपावली (त्रिहार) भनेर लगातार तीन दिन तीन वटा तिथिमा लगातार मनाउने चलन चलिरहेको छ । नेपाल संवत् अनुसार नेवाः समुदायले लक्ष्मी पूजा वर्षको अन्तिम दिनका रूपमा मनाउँछन् । त्यस दिन विशेष गरी वर्षभरिकै हिसावकिताबको फरफारक गर्ने काम हुन्छ । लक्ष्मी पूजा गरेर धनको देवता मानेर धनधान्यले पूर्ण होस् भनेर आराधना गर्ने गरिन्छ । भोलिपल्ट नेवाः समुदायले म्ह पूजा (आत्म पूजा) गर्छन् । यसमा मन्द बनाएर आफ्नो शरीरलाई पूजा गर्ने गरिन्छ । मन्दःमा धान (वा), लावा (ताय्), आखे, गेडा मास (ग्वमाय्) कालो भट्मास (हाकुमुस्या) लगायतका खाद्यवस्तुलाई समेत राखी पूजा गरेर सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने गरिन्छ । त्यसरी नै बिमिरा, ओखर, बदाम आदिलाई पनि पूजा गर्ने चलन छ । नेपाल संवत्को प्रारम्भपछि दोस्रो दिन किजापूजा (भाइटीका) मनाइन्छ । त्यस दिन वसुधैव कुटुम्बकमको मान्यताअनुसार भातृत्वभाव प्रदर्शन गर्दै दिदीबहिनी दाजुभाइ एक आपसमा मायाँ र खुसी साट्छन् । यस्तो परम्परा नेपाल संवत् प्रारम्भ हुनुभन्दा अगाडि नै भए पनि यसलाई पछि नेपाल संवत् प्रारम्भ गर्दा म्ह पूजाकै दिनबाट नयाँ वर्ष सुरुआत गरिंदा सुनमाथि सुगन्ध भनेजस्तै भयो । पृथ्वीनारायण शाहबाट आधुनिक नेपाल निर्माण भएपछि जुन कारणले हटाइ सकेको शक सम्वत् नेपालमा पुनः चलाएपछि राणाहरूले सत्ता हातमा लिएपछि त्यसैको हुबहु नक्कल गरेर शक संवत् हटाए र वि.सं. १९६२ (नेपाल संवत् १०२६) मा तिनीहरूले पनि आफ्नै पुर्खासँग जोडेर विक्रम संवत् भित्र्याए । नेपालमा राणा शासन सुरु भएपछि जनताका राजनीतिक र आर्थिक अधिकार मात्रै होइन, सांस्कृतिक अधिकारहरू पनि थप हनन भए । नेपालको इतिहासका जानकार सबैलाइ थाहा छ, जंगबहादुर राणा नभई कुँवर थरका थिए । राजकूलका भारदार रहेका उनले कोत पर्व गरी सत्ता हातमा लिएपछि आफ्ना पुर्खाहरू तत्कालीन उज्जैन राज्यको राणाखलक भएको बताउँदै त्यहाँका राजखलकसँग नाता जोडेर कुँवरबाट राणा बने । चन्द्र शमशेरको पालामा आएर तत्कालीन उज्जैन राज्यमा प्रचलित विक्रम संवत्लाई नेपालमा प्रचलनमा ल्याउने घोषणा गरे । यदि राणाहरूमा राष्ट्रियताको भावना भएको भए नेपाल संवतलाई नै पूर्ण प्रयोगमा ल्याउन सक्थे । नेपालमा विक्रम संवत् चलाउनुपर्ने पक्षमा तर्क दिँदा अघि सार्ने एउटा मुख्य तर्क त्यतिबेलासम्म नेपालमा प्रचलनमा रहेका संवतहरू तिथिमा आधारित भएकाले प्रत्येक ४ वर्षमा १२ महिनाको सट्टा १३ महिना हुने हुँदा अतिरिक्त एक महिनाको तलब भत्ता बढी खुवाउन पर्ने बाध्यता हो भन्ने गरेको छ । तर विक्रम संवत् भित्राएको बखत त्यस संवत्मा पनि त्यहि समस्या थिए । त्यसैले त्यसमा कुनै सत्यता देखिंदैन । किनभने तत्कालिन समयमा उज्जैनमा प्रचलित विक्रम संवत् पनि तिथि सम्वत्लु (नार क्यालेन्डर) अर्थात चन्द्रमासमै आधारित थिए । नेपालमा भित्रयाइएका बेला श्री ३ चन्द्र शम्शेरले संवत् मात्रै भित्र्याएको नभई केही ब्राह्मण र ज्योतिष पनि भित्र्याए र त्यसमा गते थप्न निर्देशन दिए । अहिले पनि भारतको राजस्थान राज्यका केही भागहरूमा चन्द्रमासमै आधारित विक्रम संवत् प्रचलनमा छ । अहिले पनि कृष्ण पक्ष, शुक्लपक्ष भन्ने गरिन्छ त्यहाँ । नेपालमा गते थप्ने कामको निर्णय चन्द्र शमसेरको पालामा भए पनि गते थपेर सरकारी कामकाजमा प्रयोगमा ल्याउने काम भने भीम शमसेरको पालामा भएको कुरा प्रो। माणिक लाल श्रेष्ठले उल्लेख गर्नुभएको छ । यसरी विक्रम संवत् चलाउनुको पछाडि कुनै राष्ट्रिय भावना देखिँदैन । साँच्चै नै राष्ट्रिय भावना वा एकतालाई महत्व दिन चाहेको भए नेपाल संवत्मै पनि गते थप्न सकिन्थ्यो । नेपालमा नेपाल संवत् प्रयोगमा ल्याउनु पर्छ भनिरहँदा सबैको मनमा उब्जने प्रश्न भनेको कसरी प्रयोगमा ल्याउने भन्ने हो । त्यसका बारेमा अहिले विभिन्न चर्चा परिचर्चा हुने गरेको छ । पहिलो कुरा नेपालमा यो स्तरीय छैन, वैज्ञानिक छैन भनेर प्रश्नहरू उठाउने गरिएको छ । नेपाल संवत्को ऐतिहासिकता, वैज्ञानिकता र व्यावहारिकताका बारेमा संवत्माथि उठ्ने उठाइने यी सवाललाई हामीले हल गर्न जरुरी छ । हामीले बुझ्नुपर्ने कुरा के हो भने नेपाल संवत् प्रयोगको इतिहास गरिमामय छ । यो वैज्ञानिक पनि छ । तर स्तरीय छ कि छैन भन्ने सवालमा वहस हुन सक्दछ । सौर्यमासमा आधारित इस्वी सम्वत् पनि कतिपय देशमा पछि सुधारिएकै हो । रुसमा अक्टोवर क्रान्ति जुलियस सिजरले विकास गरेको संवत् अनुसार अक्टोबर २५ मा भएको थियो । पछि पोप ग्रेगोरीले परिमार्जित गरेका सौर्यमासमा आधारित पात्रोमा मिलाउँदा अक्टोबर क्रान्ति नोभेम्बर ७ मा पर्न गयो । सौर्यमासको क्यालेण्डरको सैद्धान्तिक अवधारणा भनेको मेष राशिदेखि १२ राशिको सूर्यको भोगावधि हो, जसको अवधि ३६५.२५ दिन हुन्छ । अर्को भाषामा भन्दा पृथ्वीलाई सूर्यको परिक्रमा पूरा गर्न लाग्ने समय ३६५ दिन र ६ घण्टा हो । त्यसैले सौर्यमासको क्यालण्डर भनेको वर्षमा ३६५.२५ दिनको व्यवस्थापन हो । सौर्यमास पात्रो नै भए पनि विक्रम संवत्मा पनि धेरै खोटहरू छन् । कुन सालमा असारमा ३२ दिन हुन्छ भन्ने कुरा निक्र्योल नहुने मात्र होइन, यसमा अधिक वर्ष कहिले पर्छ भन्ने पनि थाहा हुँदैन । यसको गणना नमिल्दा असोजमा मनाउनुपर्ने चाडपर्वहरू समेत कार्तिकमा पर्न थालि सक्यो । असारे गीत जेठमा गाउनुपर्ने भइसक्यो । त्यसैले विक्रम संवत् सुधारका अभियन्ताहरूले अव चाड पर्वहरू १ महिना अगाडी सार्नुपर्ने बताउन थालेका छन् । उहाँहरूको तर्कअनुसार विक्रम संवत् २४ दिन ढीला भइसकेका छ । यसरी हेर्दा सौर्यमासको क्यालेण्डरमा पनि सुधार आवश्यक छ । अर्को कुरा चन्द्रमासको तिथि संवतमा सौर्यमासको गते थप्दा आउने समस्याहरू पनि ज्युँका त्युँ छन् । विक्रम संवत्मा चन्द्रमासको तिथिसँगै सौर्यामासको गते थपेर प्रयोग गर्दा यस संवत्मा कुनै वर्ष चैत दसैँ नै नहुने, कुनै वर्ष २ पटक चैत दसैँ पर्ने समस्या पनि छ । त्यहि भएर होला सायद भारतले सरकारी कामकाजमा इश्वी संवत् प्रयोग गर्ने गरेको छ । चीनले पनि आफ्नो राष्ट्रिय संवतमा सौर्यमासको तरिख वा गते नथपी इश्वी संवत् नै प्रयोग गर्ने गरेको छ । प्रत्येक ४ वर्षमा १२ महिनाको सट्टा १३ महिना हुने अधिक मासको समस्या त कुनै पनि चन्द्रमासको क्यालेण्डरमा हुन्छ नै । यसको कुनै हल निकाल्न सकिँदैन । किनकि चन्द्रमासको क्यालण्डरको सैद्धान्तिक अवधारण सौर्यमासको भन्दा फरक छ । चन्द्रमा पृथ्वीको एक मात्र उपग्रह हो । यसले सूर्यको विपरीत पृथ्वीको फन्को मार्दछ । यसले हरेक २७.३ दिनमा पृथ्वीको परिक्रमा पुरा गर्छपैथ्वीको गिुरुत्वाकर्षण शक्तिले चन्द्रमालाइ प्रभाव पारिरहेको हुन्छ । प्रत्येक २९.५ दिनमा चन्द्रमा पुनः यथास्थितिमा फर्किन्छ । चन्द्रमासको संवत् चन्द्रमाको यहि घुम्ने चालमा आधारित हुन्छ । यसरी हेर्दा १ वर्षमा २९.५ गुणा १२ बराबर ३५४ दिन हुन्छ । त्यसैले प्रत्येक ४ वर्षमा अधिक मास हुन्छ । यो कुरा विज्ञानसंगत कुरा नै हो । यहि कारणले प्रायजसो देशहरूमा सरकारी कामकाजमा चन्द्रमासको संवतभन्दा सौर्यमासको संवत् प्रयोग हुन थालेको हो । चीनमा आफ्नो चिनियाँ क्यालेण्डर भएपनि उनीहरूले आफ्नो चाडपर्वमा मात्र प्रयोग गर्ने गरेका छन् र सरकारी कामकाजमा इस्वी संवत् नै प्रयोग गर्छन् । भारतमा शक संवत्, विक्रम संवत्लगायत थुप्रै संवतहरू छन् । भारतले शक संवत्लाइृ आफ्नो राष्ट्रिय संवत्को मान्यता दिएको छ तर सरकारी कामकाजमा इस्वी संवत् नै प्रयोग गर्ने गरेको छ । नेपालमा सौर्यमास थपेर विक्रम संवत् चलाए, तर यो वैज्ञानिक र स्तरीय देखिंदैन । आजभोली नेपाल संवत्मा पनि सौर्यमास क्यालेन्डर निकाल्न थालिएको छ । त्यसमा ग्रेगोरियन क्यालेन्डर जस्तै प्रत्येक ४ वर्षमा छैठौं महिना अर्थात चउला (महिना) मा १ दिन थपी अधिक वर्ष मिलाइएको छ । त्यसअनुसार नेपाल संवत्को पहिलो पाँच महिना अर्थात् कछला, थिंला गर्दै चिल्ला सम्मको पाँच महिना ३० दिन हुने, छैंठौं महिना अर्थात् चउलामा प्रत्येक वर्ष २९ दिन र ४ ले भाग जाने प्रत्येक वर्ष ३० दिन हुने र सातौं महिना बछला, तछला गर्दै कौलासम्म ३१ दिन हुने प्रबन्ध गरेको छ । यसरी पहिलो ५ महिनाको १५० दिन, छैठौँ महिनाको २९ दिन र पछिल्लो ६ महिनाको १८६ दिन गरेर ३६५ दिन हुन्छ । अब ४ वर्षमा एकचोटि चौला महिनाको २९ लाई ३० गरिन्छ, त्यसो गर्दा ३६६ दिन हुन्छ । यस हिसाबले प्रत्येक चार वर्षमा त्यसलाई व्यवस्थित गरेर जान्छ । यो गर्नुपर्नाको कारण सूर्यलाई पृथ्वीले परिक्रमा गर्दा लाग्ने ३६५.२५ को जुन पद्धति छ, त्यो अधिक ०.२५ लाई मिलाउन चौथो वर्ष एकदिन बढाइएको हो । यसरी नेपाल संवत्लाई सौर्य मासमा आधारित बनाएर लाने प्रयत्न भएको छ । नेपाल संवतको सौर्यमास प्रणाली पछिल्लो विज्ञान र प्रविधिको प्रयोग गरी विकास गरेकाले विक्रम संवत्भन्दा वैज्ञानिक र स्तरीय देखिन्छ । यसलाई कतिपय व्यवसायीहरूले आफ्नो आन्तरिक कामकाजमा प्रयोग गर्न पनि सुरु गरेका छन् । नेपाल संवत्को वैज्ञानिकताको जुन सवाल छ, त्यसमा नेपाल संवत्मा वैज्ञानिकता छैन भनेर कसैले पनि भन्न सकिने आधार छैन । विज्ञानले कारण र परिणामको माग गर्छ । चन्द्रमास पद्धतिअनुसार यसका तिथि तय हुन्छ । नेपाल संवत्को पात्रो निर्धारण गर्ने विज्ञहरूद्वारा जुन दिन सूर्यग्रहण हुन्छ भनेका हुन्छन्, त्यो दिन सूर्यग्रहण भएकै छ, जुन दिन चन्द्रग्रहण हुन्छ भनेका हुन्छन्, त्यो दिन चन्द्रग्रहण भएकै छ । त्यस्तै पूर्णिमाको दिनमा झलमल्ल जुन लागेकै हुन्छ र औंशीको दिन रात अन्धकार भएकै छ । नेपाल संवत्मा तिथिमितिहरू प्रयोग गर्दा हाम्रो देशको संस्कृति, रितिथिति र परम्पराअनुसार चाडपर्वहरूमा तिथि टुट (तुथ) नहुने गरी क्रमशः मनाउने, घडी पला नहेरी दिनभरी एउटै तिथि प्रयोग गर्ने जस्ता सौर्यमासका विशेषताहरूलाई चन्द्रमासकै तिथिमा समायोजन गरी नेपाल संवतको तिथि प्रयोग गर्ने प्रचलन छ । यस्तो प्रवन्ध विक्रम संवतमा छैन । त्यसैले आजभोली स्वन्ति (त्रिहार वा तिहार. लगातार तीन दिन) हुनुपर्ने कहिले एउटै तथि दुई दिन पारी निन्ति (दुईहार) कहिले घडी पला हेरी तिथि टुट भन्दै चार दिन पारी प्यन्ति (चारहार) हुन थाल्यो । यसपटक त सुरु र अन्त्य हिसाव गरी स्वन्ति (तिहार) ५ दिन हुन गयो । नेपाल संवत् प्रयोग गर्दा यस्तो समस्या नहोस भन्नाका लागि नै शक संवतको तिथिमितिहरूमा आवश्यक स्तरीयकरणसहित यसलाई प्रयोग गरिएको हो भन्ने यसका विज्ञहरूको दावा रहेको स्पष्ट छ । नेपाल संवत् प्रारम्भ हुनुको पछाडि राष्ट्रियताको भावना, लोकतान्त्रिक आन्दोलनसँग जोडिएका इतिहास र सामाजिक परिवर्तनका सन्दर्भहरू पनि छन् । नेपालमा अरु संवत्हरूको प्रयोगमा यस्तो देखिँदैन । हामीले पञ्चायतकालमा शुभकामना आदानप्रदानको कार्यक्रम राख्दा दमन गरी धरपकड र राज्य आतंक सृजना गरेपछि हामी पञ्चायत व्यवस्थाविरुद्ध जानैपर्ने स्थिति बन्यो । हामीले लोकतान्त्रिक आन्दोलनसँग जोडेर यसलाई अगाडि बढायौँ । राष्ट्रियताका भावना त यो संवत्सँग जोडिएकै छ । यसको नामले त्यसलाई प्रतिविम्बित गर्छ र अन्तर्राष्ट्रिय समुदायमाझ पनि चिनिएकै छ । संयुक्त राष्ट्र संघमा नेपालले सदस्यता प्राप्त भएको बखत भामरतको भन्ला फरक नेपालको मौलिकता झल्काउने माध्यमको रूपमा यहाँको मौलिक संस्कृति, लिपि, संवत् आदि प्रस्तुत गर्नुपर्ने परिस्थिति सृजना भएको थियो । त्यसको एउटा साधन संवत् पनि थियो । नेपालमा लोकतन्त्र बहाली भई २०१५ सालको पहिलो आम निर्वाचपश्चात २०१६ सालमा विश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्री भए । त्यसपश्चातको लोकतान्त्रिक वातावरणमा संयुक्त राष्ट्र संघका साथै विभिन्न कूटनीतिक नियोगहरूमा नेपाली प्रतिनिधिहरूको पहलमा नेपाल संवतको पहिलो दिन ‘नेपाल डे’ भनेर मनाउन सुरु भएको थियो । वास्तवमा नेपाल संवतले नेपालको पहिचान स्थापित गर्न मद्दत गरेको पनि थियो । तर नेपालमा जब नेपाल भाषा मंकाः खलःको स्थापना गरी २०३६ सालबाट नेपाल संवत्को शुभकामना आदानप्रदानको भिंतुना जुलुश कार्यक्रम अगाडि बढाइएपछि त्यसमा केही पूर्वाग्रह साँधियो र विविध बहाना बनाएर २०३८ साल (नेपाल संवत् ११०२) तिर आएर संयुक्त राष्ट्र संघ लगायतका कुटनीतिक नियोगहरूमा ‘नेपाल डे’ मनाउने परम्परा तत्कालीन पञ्चायती सरकारले गर्याे । नेपाल संवत्मा राष्ट्रियताको भावना साथै सामाजिक परिवर्तनको भावना पनि प्रचुर मात्रामा छ । जस्तो कि ऋणमोचन जस्तो लोक कल्याण, सामाजिक न्याय र परोपकारी भावना । आफूले कमाएको सम्पत्तिलाई प्रयोग गरेर सम्पूर्ण जनतालाई ऋण मुक्त बनाएर शंखधर साख्वाःले नेपाल संवत् सुरु गर्याे । साख्वाः भन्ने शब्द संस्कृतको साखवालबाट आएको देखिन्छ । इतिहासकार भूवनलाल प्रधानका अनुसार साखवाल भनेको ऋण लिने दिने एउटा आर्थिक कारोवार गर्ने समुदाय हो । यसलाई अंग्रेजी भाषामा क्रेडिटर भन्न सकिन्छ । आधुनिक बैंकिंग प्रणाली सुरु नभएको बेला लेनदेन गर्ने सबै कामहरू यिनीहरूबाटै हुने गथ्र्यो । एकजना परोपकारी भावना भएका र व्यापार विनियममा लाग्ने व्यक्तित्वले आफूले कमाएको धनसम्पत्तिबाट ऋणमोचन गरी सम्पूर्ण जनताको ऋणमोचन गरी आर्थिक दासताबाट मुक्त गरेर यो नयाँ संवत् शुरु गरेको हो । त्यसैले नेपालमण्डालका तत्कालीन मूल राजा राघवदेवले आफ्ना जनताको भलो हुने देखी इस्वी संवत् ८७९ अक्टोवर २० का दिनदेखि सम्पूर्ण तिथिहरू शक संवत् र मानदेव संवत्कै प्रयोग हुने गरी त्यसलाई यथावत नै राखेर कछलाथ्व पारुदेखि यो संवत् सुरु गरिएको देखिन्छ । यी तथ्यहरूले यो संवत्को गरिमामय इतिहास पुष्ट्याइँ गर्छ । नेपाल संवतको गरिमामय इतिहासलाई फेरी पनि पुनरस्थापित गर्नु पर्छ र शंखध साख्वाःको लोककल्याणकारी भावनालाई अन्तराष्ट्रिय क्षेत्रमा पनि प्रचार प्रसार गर्नु पर्दछ । नेपालमा पनि सबै तहको सरकार र जनस्तरमा यसको प्रयोग गर्नु पर्दछ । यस सन्दर्भमा २०४६ सालको परिवर्तन र २०६२/६३ सालको जनक्रान्तिपश्चात गरिएका निर्णयहरू उल्लेखनीय छन् । तर ती निर्णयहरूको पछाडी नेपाल संवत् आन्दोलन को महत्त्वपूर्ण भूमिका रहेको छ भन्ने कुरा भुल्नु हुँदैन । खासगरी २०५६ (नेपाल संवत् ११२०) सालमा तत्कालिन कृष्णप्रसाद भट्टराईको सरकारबाट शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नु, २०६५ साल (ने.सं. ११२८ मा निर्णय गरी ११२९ को न्हूदँको दिन घोषणा० मा तत्कालिन प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डद्वारा राष्ट्रिय मान्यताको घोषणा गर्नु र २०४४ साल (ने.सं. ११४४) मा सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय भई कार्यान्वयनमा लानु महत्त्वपूर्ण निर्णय हो । त्यसरी नै बागमती प्रदेश सरकार र काठमाडौँ, ललितपुर लगायतका केही स्थानीय सरकारहरूले पनि नेपाल संवतलाई प्रयोगमा ल्याइसकेको छ । त्यसैले प्रत्येक नेपालीहरू, जो न्याय, स्वतन्त्रता, समानता र परिवर्तनका हिमायती छन्, सबैले यसमा गर्व गर्नु पर्छ । यसको मुख्य कारणहरूमाः पहिलो, नेपाल संवत् मौलिक संवत् हो । दोस्रो, यो कुनै देवी देवता, धर्मगुरु वा राजा महाराजाको नाममा स्थापित संवत् होइन । तेस्रो, यो संवत्सँग जनतालाई आर्थिक दासताबाट मुक्त गराएको गौरवमय जनश्रुति गाँसिएको छ । चौथो, यो संवत् स्थापना भएको बेलाका राजा राघवदेव स्वयं पनि यस संवत्का संस्थापक शंखधर साख्वाःको देशप्रेम, परोपकारी भावना र ऋणमोचनजस्तो पवित्र कार्यबाट प्रभावित भएर यो संवत् प्रचलनमा ल्याउन स्वीकृति प्रदान गरिनु आदि । अन्तमा नेपाल संवत्का प्रवर्तक हाम्रा राष्ट्रिय विभूति शंखधर साख्वाःप्रति हार्दिक सम्मान प्रकट गर्दछु । नेपाल संवत्को नयाँ वर्ष ११४५ भव्य रूपले मनाऔं, राष्ट्रिय एकता प्रकट गरौं । देशभित्र र विदेशमा फैलिएर रहेका सबै नेपालीहरूलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । (लेखक नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति २०४५ को अध्यक्ष हुनुहुन्छ)
धन तथा सुन्दरताकी देवी लक्ष्मी, समग्र सुखका लागि अष्ट-साधना
ॐ ह्रीम क्लिम श्री लक्ष्मीभ्यो नमः लक्ष्मी वैदिक सनातन हिन्दू संस्कारमा धन तथा सुन्दरताकी देवी हुन् । लक्ष्मी शब्द सर्वप्रथम ऋग्वेदको पुरुषसुक्तमा उल्लेख गरिएको थियो । शास्त्रअनुसार सर्वोत्तम अवस्थामा भगवान विष्णु र उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन् भनिएको छ । अर्को भाषामा स्त्रीलाई चौसठ्ठी कला मानिएको छ र ती चौसठ्ठी कलायुक्त महिलालाई लक्ष्मी भनिन्छ । सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ । भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी हो । लक्ष्मी पूजामा धनधान्यकी देवी माता लक्ष्मीको पूजा अर्जना गरिन्छ । लक्ष्मी पूजाको दिन घरमा भएका सम्पूर्ण श्रीसम्पत्ति, गरगहना, द्रब्यलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरी पुजा गर्ने चलन छ । वैदिक सनातन हिन्दू संस्कारमा यसलाई अत्यन्त महत्वका रुपमा लिइन्छ । लक्ष्मी भन्ने बित्तिकै हामी धनमात्र हो भन्ने बुझ्छौँ । यद्यपि लक्ष्मीका विभिन्न आठ रुपहरु छन् । तिहारको अवसरमा लक्ष्मीको बिषेश महत्व रहने भएकाले आज लक्ष्मीको आठ रुप अर्थात् अष्टलक्ष्मीको बारेमा चर्चा गर्नेछौँ । लक्ष्मीको आठ रुपलाई अष्टलक्ष्मी भनिन्छ । लक्ष्मी पूजाको दिन घरमा भएका सम्पूर्ण श्रीसम्पत्ति, गरगहना, द्रव्य आदिलाई मात्र पूजा गर्छौं । धनलक्ष्मीको कृपाद्वारा पैसा जीवनमा प्राप्त हुन्छ तर पर्याप्त खुसी नहुन सक्छ । धनकै कारण मनमा शान्ति नहुन सक्दछ । व्यक्तिसँग पर्याप्त धन हुन्छ तर बिरामी हुने कारणले आफ्नो मनले चाहेको खाना खान सक्दैन, घुमफिर गर्न सक्दैन । शारीरिक रुपमा अस्वस्थ रहन सक्छ भने त्यस्तो धन के काम रु व्यक्तिसँग धन छ तर धनको उचित सदुपयोग छैन, काम गर्ने उत्साह छैन लक्ष्य उद्देश्य प्राप्त गर्न सक्दैन, धनको सदुपयोग गर्ने साधन छैन, सन्तान छैन, शिक्षादीक्षा राम्रो छैन, सामाजिक मान प्रतिष्ठा छैन, पारिवारिक शान्ति छैन । यी सम्पूर्ण विषय अष्टलक्ष्मीसँग जोडिएका छन् । अर्कोतर्फ मानिसले जीवनमा जति पैसा कमाउँछ थप कमाउने लालसा आउँछ । लालसाको कारण मानिस धेरै धन थुपार्ने चक्करमा आफ्नो खुसी गुमाउन पुग्छ । धन कमाए पनि पारिवारिक कलह रहन्छ । व्यक्तिको जीवनमा धन आउँछ तर जीवन धनले मात्र पूर्ण हुँदैन किनकी हामीले लक्ष्मीका अन्य सात रुपको उपेक्षा गरेका हुन्छौंँ । जसले जीवनमा समग्र खुसीयाली रहँदैन । वास्तुशास्त्रमा लक्ष्मीका आठ रुपको विभिन्न आठ दिशा तथा विदिशा बताइएको छ । हामीले वास्तुअनुसार घरको आठै दिशाहरुलाई वास्तु अनुकुल बनाए मात्र लक्ष्मीको आठै रुपको समान कृपा प्राप्त हुन्छ । जसले व्यक्तिको जीवनमा खुशीयाली छाउनुका साथै स्वस्थ र सम्पन्नता प्राप्त हुन्छ । वास्तुशास्त्रअनुसार अष्टलक्ष्मीले आठ दिशामा बास गर्ने गर्दछन् । यी अष्टलक्ष्मीको बारेमा विस्तृतरुपमा निम्नानुसार चर्चा महत्वपूर्ण छ । १. आदि लक्ष्मी/आद्यलक्ष्मी/महालक्ष्मी : आध्यात्मिक ज्ञानलाई नै आदि लक्ष्मी भनिन्छ । धनवान्, सम्पन्न, अध्यात्म, सात्विक भोजन, दुर्गाको पहिलो शक्ति, ब्रह्माण्डीय ऊर्जाशक्ति, धनको उत्पति र ऊर्जाको अनन्त स्रोतको प्रतिक वा आदिम् रुप पनि भन्न सकिन्छ । म को हुँ रु मेरो जीवनको उद्देश्य के हो रु आफूलाई चिन्ने आफ्नो अन्तर्मनसँग जोड्ने, आत्मसँग साक्षात्कार गर्ने काम आदि लक्ष्मीको हो । आदि लक्ष्मीको कृपाले व्यक्ति माया र सद्भाव राख्ने, परोपकारी तथा सहयोगी बन्छ । वास्तुमा आदिलक्ष्मीको दिशा इशान् कोण हो । यस दिशाबाट मानसिक सुख र आनन्द छ छैन हेर्ने गरिन्छ । यो दिशा गुरु वृहस्पतिको रहेकोले गुरुको कृपा छ छैन जाँच गर्न सकिन्छ । घरको यो दिशा वास्तु अनुकूल रहेमा यी गुण सहज प्राप्त हुन्छ अन्यथा वुद्घि, विवेक, विचारहरु, इच्छा, चाहना, उत्प्रेरणा, स्पष्टता, रचनात्मक सोचाइ आदिमा कमी आउँछ । २. धन-लक्ष्मी : धन-लक्ष्मी भौतिक धन र आर्थिक प्रचुरताकी देवी हुन् । समृद्घि र आर्थिक स्थिरता कायम गर्ने काम धन-लक्ष्मीको हो । पैसा, सुन, चाँदी, भौतिक सम्पदा आदिलाई नै धन-लक्ष्मी भनिन्छ । धन-लक्ष्मीको कृपाले व्यक्तिबाट प्राप्त अथवा सही तरिकाले कमाएको धनले मात्र हामीलाई खुसियाली प्रदान गर्दछ । यसले मनमा शान्ति प्राप्त हुन्छ । वास्तुमा धन-लक्ष्मीको दिशा आग्नेय कोणमा पर्दछ । यस दिशालाई प्रसिद्घि, धन, भौतिक सुख आदिका रुपमा पनि लिइन्छ । घरको यो दिशा वास्तु अनुकूल रहेमा उल्लिखित गुणहरु प्राप्त हुन्छ । अन्यथा घरका आयस्रोतहरु ठप्प हुने, धनागमनमा समस्या, दुर्घटना हुनसक्ने, खर्च बढ्ने आदि हुनसक्छ । ३. धान्य-लक्ष्मी : धान्य-लक्ष्मी कृषि धनको वाहक, प्रशस्त उत्पादन र खाद्य सुरक्षा सुनिश्चित गर्ने देवी हुन् । धान्य-लक्ष्मीलाई माता अन्नपूर्णा वा भोजनकी देवी पनि भनिन्छ । धान्य-लक्ष्मीको सम्बन्ध भोजनसँग छ । उचित भोजनले हाम्रो शरीरलाई पौष्टिकताका साथै सकारात्मक ऊर्जा उपलब्ध गराउँछ । भोजन ग्रहण गरेर मात्र हुँदैन उपयुक्त भोजन राम्रोसँग पचाउन पनि सक्नुपर्छ । जुन व्यक्तिमा धान्य-लक्ष्मीको कृपा रहँदैन, त्यो व्यक्ति सधैँ बिरामी रहन्छ । खाना राम्रोसँग पचाउन नसक्नेले मन लागेको वस्तुको सेवन गर्न सक्दैन । यस्ता व्यक्तिका लागि संसारको सम्पूर्ण धन पनि व्यर्थ रहन्छ । घरमा अन्नको सदुरुपयोग गर्नाले धान्यलक्ष्मीको कृपा रहन्छ । वास्तुमा धान्य-लक्ष्मीको दिशा पूर्व र उत्तर-पश्चिमलाई मानिन्छ । यस दिशालाई स्वास्थ्य, नाम प्रसिद्घि, अन्न अनाजको प्रतीकका रुपमा पनि लिइन्छ । ४. गज-लक्ष्मी/भाग्य-लक्ष्मी/राज-लक्ष्मी : गज-लक्ष्मी/भाग्य-लक्ष्मी/राज-लक्ष्मीलाई धन, शक्ति, कृषि तथा उर्बरताकी देवी, सन्तान प्राप्ति, सन्तान सुख, समृद्घि, वाहन प्राप्ति, शाही वैभव र सार्वभौमिकताको प्रतीकको रुपमा लिइन्छ । यी देवी अन्जन नामक हात्ती चढ्छिन् । गज-लक्ष्मी व्यक्तिको जीवनमा गाडी-घोडाहरुको कारक हो । भाग्य-लक्ष्मीले जीवनमा भाग्य ल्याउँछ भने राज-लक्ष्मीले उन्नति-प्रगति । साथै भाग्य-लक्ष्मीको कृपाले व्यक्ति उच्च ओहदामा पुग्ने गर्दछन् । ५. सन्तान-लक्ष्मी : सन्तान र पारिवारिक समृद्घिको दाता, ज्ञान कला कौशलता, शिक्षामा सफलता, सन्तानसहित परिवारलाई आशीर्वाद दिने र उनीहरुको कल्याण गर्ने देवी सन्तान-लक्ष्मी हुन् । सन्तान लक्ष्मीलाई स्कन्द माता पनि भनिन्छ । सन्तान-लक्ष्मीको कृपाले बच्चा स्वस्थ, आज्ञाकारी र माता-पिताप्रति सद्भाव राख्नाका साथै माता-पिताको सेवा गर्ने हुन्छन् । यस्ता सन्तानले समाजमा आफ्नो तथा परिवारको नाम कमाउँछन् । ६. वीर-लक्ष्मी/धैर्य-लक्ष्मी : वीर-लक्ष्मी व्यक्तिको जीवनमा शान्ति, वीरता, विजय र साहसको प्रतीक हो । धैर्य-लक्ष्मीबाट व्यक्तिको जीवनमा सौभाग्य, समृद्घि, आत्मविश्वास र धैर्यता प्राप्त हुन्छ । माता वीर-लक्ष्मी प्रसन्न रहेमा भक्तलाई अकाल मृत्युबाट बचाउने तथा भक्तलाई रक्षा गर्दछिन् । वीर-लक्ष्मीलाई माता कात्याइनीका रुपमा पनि चिनिन्छ, जसले महिषासुरको वध गरेकी थिइन् । वास्तुअनुसार बीर-लक्ष्मीको दिशा दक्षिण र धैर्य लक्ष्मीको दिशा पश्चिम हो । परिवार बनाउने या तोड्ने कार्यका लागि यो महत्वपूर्ण क्षेत्र हो । जब परिवारका सदस्यहरूले धैर्यता राख्न असक्षम हुन्छन्, तब घरमा शान्ति र सहिष्णुताको स्तर कमजोर हुन्छ । यसले अन्ततः ठूलो पारिवारिक समस्याको रूप लिन्छ । यस दिशालाई घरको मुख्य मान्छे, नैतिकता, शान्ति, प्रसिद्घी, आनन्दआदिको रुपमा पनि लिइन्छ । यदि घरमा यी चिजहरुको कमी छ भने तपाइको बीर-लक्ष्मीको कृपा नरहेको स्पष्ट हुन्छ । ७. विद्या-लक्ष्मी : विद्या-लक्ष्मी ज्ञानकी लक्ष्मी हुन् । विद्या-लक्ष्मीले सिक्ने, सिकाउने क्षमतालाई मद्दत गर्छिन्, जसले आफ्नो कर्मको मार्गमा पुग्न मद्दत मिल्छ । उनको कृपाले हामी सबै आफ्नो क्षेत्रमा अधिक ज्ञान प्राप्त गर्छौं र कठिन विषयहरू पनि बुझ्न सक्षम हुन्छौँ । विद्या-लक्ष्मी हाँसमा विराजमान रहन्छिन् भने धन-लक्ष्मी कमलको फूलमा । त्यसैले विद्या-लक्ष्मीलाई धेरै स्थिर मानिन्छ, जब कि धन-लक्ष्मीलाई चञ्चल । जीवनमा ज्ञानलाई भौतिक सम्पदाभन्दा धेरै महत्व दिइन्छ । ८. विजय लक्ष्मी : जीवनमा आउने समस्याबाट लड्ने शक्ति विजय-लक्ष्मीबाट प्राप्त हुन्छ । यिनको कृपाले जय-विजय, यश, कृति तथा सम्मान प्राप्त गराउने काम गर्छिन् । जीवनमा हामीले सङ्घर्ष गर्नुपर्दछ, जसवाट जित्ने प्रेरणा विजय-लक्ष्मीले दिन्छिन् । हाम्रो जीवनमा आउने समस्याहरुसँग लड्ने र जित्ने साहस दिने काम विजय-लक्ष्मीको हो । वास्तुअनुसार विजय-लक्ष्मीको दिशा उत्तर-पश्चिम (वायव्य) कोण हो । अष्ट-लक्ष्मीहरूले जीवनलाई सहज र स्थिर राख्न एकअर्कासँग मिलेर काम गर्छन् । पूर्वकी धान्य वा ऐश्वर्या लक्ष्मीले गज लक्ष्मीसँग मिलेर व्यक्तिहरूलाई सुख सुविधा र विलासिताका साथ उच्चपदको उपभोग गर्ने क्षमता प्रदान गर्छिन् । दक्षिण-पूर्वकी धन-लक्ष्मीले उत्तर-पश्चिमकी विजया-लक्ष्मीसँग मिलेर आग्नेयमा उत्पन्न हुने नगद आवश्यक परेको बेला सहयोगको रूपमा उपलब्ध छ भनी सुनिश्चित गराउँछन् । वास्तुअनुसार लक्ष्मी वा सम्पत्ति भनेको स्पष्टता हो, जुन हामीले उत्तर-पूर्वबाट प्राप्त गर्छौं, दोस्रो लक्ष्मी, स्वास्थ्य तथा कनेक्टिभिटी हो जुन हामीले पूर्वबाट प्राप्त गर्छौं ं। तेस्रो लक्ष्मी भनेको पैसा हो जुन हामीले दक्षिण-पूर्व, नगद वा अग्निको वास्तु क्षेत्रबाट प्राप्त गर्छौं । चौथो लक्ष्मी भनेको प्रसिद्धि हो जुन हामीले दक्षिणबाट पाउँछौँ । त्यसपछि दक्षिण-पश्चिम क्षेत्र आउँछ जसले हामीलाई सीप र विशेषज्ञता दिन्छ । उत्तर-पश्चिमले बल र समर्थन दिन्छ । उत्तरले अवसर दिन्छ । यसरी आठ दिशाबाट यी आठ प्रकारको धन वा लक्ष्मीको आशीर्वाद लिन सकियो भने मात्र जीवन साँच्चै अनमोल बन्न सक्दछ । अन्त्यमा, आज लक्ष्मी पूजा अर्थात् धनधान्यकी देवीको पूजा गर्ने दिन । हामी सबैले आफ्नो घर या कर्म क्षेत्रमा माता लक्ष्मीको पूजा-अर्चना गर्छौैं । माता लक्ष्मीको पूजा गर्दा लक्ष्मीका आठवटै रुपको विधिवत् पूजा-अर्चना गर्न अनिवार्य छ । समग्र सुखको प्राप्तिका लागि धनलक्ष्मीको मात्र साधना नगरी आठै रुपको विधिवत् अर्चना या आराधना गर्दा उत्तम लाभ मिल्छ । जीवनका समग्र पक्षमा अधिकतम् उपलब्धिका लागि लक्ष्मीका आठैरुपको साधना गरौँ । (लेखक वास्तु विज्ञानका सञ्चालक एवं दक्षिण एसियाली ज्योतिष महासङ्घका आजीवन सदस्य हुनुहुन्छ)
कृषि र व्यापारभन्दा जागिरमा आकर्षण
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको भदौ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रका बाह्य सूचकाङ्कहरूमा तिहारको झिलीमिली जस्तै उज्यालो रहेको देखाएको छ । अहिले बजारमा तिहारको उज्यालोले प्रवेश पाए जस्तै अर्थतन्त्रका बाह्य सूचकाङ्कहरुमा पनि उज्यालोपन देखिएको हो । आयातमा भएको कमी र बढ्दो विप्रेषणको कारण रु २१ खर्ब ५२ अर्ब बराबरको विदेशी मुद्रा सञ्चितिमा रहेको छ । विदेशी मुद्रा सञ्चितिको आकार चालु आवको बजेटभन्दा बढी रहेको छ । जबकि चालु आवको बजेटको आकार रु १८ खर्ब ६० अर्ब ३० करोड छ । यसले अर्थतन्त्रको बाह्य सूचक एकदमै मजबुत रहेको देखाउँछ । विदेशी दातृ निकायहरूले विदेशी विनिमय सञ्चिति बढेको कारण लगानी बढाउन सक्ने देखिएको छ । सञ्चितिमा रहेको विदेशी मुद्रा वैदेशिक भ्रमण र अध्ययनका लागि जाने विद्यार्थीले लैजानेबाहेक उपादनमूलक क्षेत्रमा प्रवाह गर्न सकेमा अझै सुधार आउने थियो । अहिले चालु खाता रु ४९ अर्ब ६९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु २३ अर्ब ९७ करोडले मात्रै बचतमा रहेको थियो । अहिलेको सञ्चितिले १६.८ महिनाको वस्तु र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैङ्कले जनाएको छ । भदौसम्ममा विप्रेषण १५.२ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ६३ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्ष भदौ मसान्तसम्म शोधानान्तर स्थिति रु ५५ अर्ब १० करोड बचत रहेकामा चालु आवमा रु एक खर्ब एक अर्ब ७७ करोडले बचतमा रहेको छ । यी कुराहरूले अर्थतन्त्रको बाह्य सूचकाङ्क राम्रो रहेको देखाउँछ । तर, आन्तरिक अर्थतन्त्र पनि बाह्य अर्थतन्त्र जस्तै बनाउनु पर्ने खाँचो देखिएको छ । रोजगारीमा आएको सङ्कुचन, केन्द्रीय बैंकले सार्वजनिक गरेभन्दा बढी रहेको मूल्य, खस्कदो आयजस्ता कारणले गर्दा आन्तरिक अर्थतन्त्र केही कमजोर रहेको देखिन्छ । उत्पादन पर्याप्त बढाउन नसक्दा निर्यात व्यापारमा त्यही अनुपातमा सुधार आउन सकिरहेको छैन । चालु खाता बचत, बढ्दो विप्रेषण, बैंकिङ क्षेत्रमा थुप्रिएको तरलताले ‘लिक्युडिटी ट्रयाप’ को अवस्था सिर्जना गरेको छ । प्रचुर मात्रामा तरलता भए पनि लगानीको वातावरण सोचेजस्तो हुन सकेको छैन । चालु आवको दुई महिनामा पनि पुँजीगत खर्चभन्दा साधारण खर्चकै बाहुल्यता रहेको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढे पनि निजी क्षेत्रमा कर्जा प्रवाह बढ्न सकेको छैन । निजी क्षेत्र अझै पनि लगानीको लागि पर्ख र हेरको अवस्थामा रहेको छ । सोही कारण निजी क्षेत्रले कर्जा नलगेपछि बैंक तथा वित्तीय संस्थाले सेयर कर्जालाई बढाएका हुन् । भदौसम्मको तथ्याङ्कअनुसार सेयर धितो कर्जा अर्थात् मार्जिन प्रकृतिको कर्जा ९९ अर्ब ७६ करोड पुगेको छ । सेयरजस्तै गत वर्षको त्रैमासिक अवधिको तुलनमा चालु आवको सोही अवधिमा घरजग्गा कारोबार १७ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । हाल देशभर बैकिङ क्षेत्रको रु तीन खर्ब घरजग्गामा ऋण लगानी रहेको छ । योभन्दा बढी व्यवसायीको लगानी छ । यी दुवै गरेर घरजग्गामा रु आठ खर्ब लगानी पुगिसक्दा पनि कारोबारमा सुधार आउन सकिरहेको छैन । यी कुराहरुलाई मध्यनजर गरी अर्थतन्त्रलाई अझ चलायमान बनाउन र देशलाई विकासको दीर्घकालीन बाटोमा लैजान आर्थिक विशेषज्ञता, नवीन सोच एवं साहसमा जोड दिनु पर्ने देखिएको छ । सन् २०२० मा विश्व अर्थतन्त्रमा आएको आर्थिक शिथिलता, रोजगारीका अवसरमा हस, गरिबी तथा असमानता, पेट्रोलियम पदार्थको उत्पादनमा देखिएको असन्तुलनजस्ता कारणबाट मानिसको दैनिक जीवनमा समेत समस्या देखिएको थियो । अहिले पनि फेरि त्यस्तै अवस्थाको सुरुआत हुन थालेको आभास हुन थालेको छ । बाह्य सूचकाङ्कले जस्तै आन्तरिक सूचकाङ्कले साथ दिएमा यस्ता कुराहरु हट्ने थियो । हामीकहाँ आर्थिक दृष्टिले पुँजीवादी खुला बजार अर्थतन्त्रको अभ्यास भइरहेको छ । योसँगै समाजवादी अर्थतन्त्र भएको छिमेकी मुलुक रहेको कारण नेपालको आर्थिक प्रणालीमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । यसले पनि आयात दर उच्च बनाउन केही भूमिका खेलेको छ । कृषिमा आधारित अर्थतन्त्र भए पनि उत्पादकत्वमा सुधार आउन सकेको छैन । प्राकृतिक साधन तथा स्रोतको पहिचान र उपयोग हुन नसक्दा उत्पादकत्वमा उल्लेखनीय सुधार आउन नसकेको हो । हामीकहाँ ७० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित रहेको अनुमान छ । विश्वव्यापी रूपमा हेर्ने हो सन् १९९१ मा कृषि क्षेत्रमा कार्यरत सङ्ख्या ४४ प्रतिशत रहेको थियो । अहिले यो झरेर २८ प्रतिशतमा खुम्चिएको छ । यसले कृषितर्फ आकर्षण घट्दै गइरहेको देखाउँछ । हामी कहाँ पुरानो उखान उत्तम खेती, मध्यम व्यापार र निकृष्ट नोकरी भन्ने रहेको थियो । तर, यो उखान अहिले त्यति उपयुक्त नहुन सक्छ । किनकि खेतीपाती र व्यापारभन्दा पनि नोकरीतर्फ आकर्षण बढेको कारण स्वदेशमा नोकरी नपाउनेहरु विदेशमा गएर काम गर्न थालेका छन् । तर पनि जुन देशमा कृषि रोजगारी कम छ, त्यस देशको विकास बढी भएको देखिएको छ । तर, हामी कहाँ ७० प्रतिशत कृषि रोजगारीमा रहे पनि खाद्यान्नमा अझै पनि परनिर्भरताकै अवस्था रहेको छ । परनिर्भरता हटाउनको लागि माथि भनिएजस्तै कृषिमा परम्परागत प्रवृतिलाई विस्थापित गरी कृषि यान्त्रिकीकरण गर्नुपर्ने खाँचो देखिएको छ । नेपालको संविधान २०७२ ले मुलुककको अर्थतन्त्रलाई समाजवाद उन्मुख अर्थतन्त्रको रूपमा विकास गर्ने आर्थिक उद्देश्य राखेको छ । समाजवादले देशमा रहेको सम्पूर्ण उत्पादनका स्रोत, साधनहरू व्यक्ति विशेषको नियन्त्रणमा नभएर समाजको नियन्त्रणमा हुनुलाई जनाउँछ । उत्पादनको स्रोत, साधनहरू व्यक्ति विशेषको नियन्त्रणमा नरहेर समाजको नियन्त्रणमा रहँदा उत्पादनबाट आउने नाफामा श्रमिकहरुको समान पहुँच हुन गई समाजमा धनी र गरिबबीचको खाडल मेटिन्छ भन्ने मान्यता समाजवादमा रहेको छ । श्रीमद्भागवद् गीताको १६ अध्यायको श्लोक १६ मा आसुरी व्यक्तिले धन आर्जनमा पापपूर्ण बाटो अपनाउने र अवैध तरिकाले इन्द्रिय तृप्तिको लागि कालोबजारी गर्ने उल्लेख छ । हामीकहाँ पनि बजार मूल्य बढाउनुमा अतृप्त धन आर्जन नै मुख्य तत्वको रूपमा रहेको छ । खाद्यान्नमा परनिर्भरताको कारण देशभित्र उत्पादन कम हुन थालेको छ । श्रीलङ्का, अफगानिस्तान, लेबनान, इथियोपिया, सोमालिया, केन्या, इजिप्ट, दक्षिण सुडान, यमनलगायतका देशमा खाद्यान्नमा दबाबको अवस्था कायमै रहेको छ । बढी खाद्यान्न निर्यात गर्ने देशहरुले ‘खाद्य राष्ट्रवाद’ (फुड नेसनालिजम) लाई प्राथामिकतामा राख्न थालेका छन् । आम्दानीको तुलनामा खर्च मात्रै बढ्न थालेपछि उपभोक्ताको जीवनयापन असहज हुन थालेको छ । वस्तु र सेवाको मूल्य महँगो (इन्फ्लेसन) हुन थालेको अहिलेको अवस्थामा वस्तु तथा सेवाको परिणाम घटाएर बेच्ने पद्धतिको अभ्यास शुरु भएकोसम्म देखिन आएको छ । यसले बजारमा मागभन्दा आपूर्ति कम हुन गई मूल्य बढाउन सहयोग पुर्याइरहेको छ । राजनीतिक विश्लेषक हरि रोकाले वैकल्पिक अर्थतन्त्र नामक पुस्तकमा जीवनयापनका लागि पुँजी निर्माण हुन नसक्दा ग्रामीण वा सहरी क्षेत्रका आम नागरिकको जीवस्तर नराम्ररी प्रभावित भएको उल्लेख गर्नु भएको छ । पुँजी निर्माणमा सक्रियतापूर्वक जनसङ्ख्यामाथि हुने वातावरण नबन्दा राष्ट्रिय पुँजी निर्माणमा समेत आघात पुगेको उहाँको पुस्तकमा लेखिएको छ । यसले अर्थतन्त्रको बाह्य सूचक मात्रै मजबुत हुँदैमा आम नागरिकको जीवनस्तरमा आमूल परिवर्तन आउन सक्दैन भन्ने देखाउँछ । बजेटले अर्थतन्त्रमा सिर्जना भएको गतिशीतला, पुनरुत्थान, निजी क्षेत्रको उत्साहप्रद लगानीबाट ६ प्रतिशतको आर्थिक वृद्धिदर र ५.५ प्रतिशतको मुद्रास्फीर्तिलाई बाञ्छित सीमाभित्र राख्ने घोषणा गरेको छ । यसलाई व्यवहारमा ल्याउन आन्तरिक उत्पादनमा वृद्धि, रोजगारी सिर्जना, उद्योग कलकारखाना पूर्णरूपमा चल्ने वातावरण सिर्जना गर्न सकेमा तिहारको चमक जस्तै अर्थतन्त्रमा उज्यालोपन आउने थियो ।