गिरिजाबाबुले नै हो ‘राजा’ फालेको
२०६३ साल जेठतिर । जनआन्दोलनको रापताप सेलाइसकेकै थिएन । जेठ ४ गते पुनःस्थापित प्रतिनिधिसभाले सारा अधिकारहरू कटौती गरेर तत्कालीन ‘राजा’ ज्ञानेन्द्र शाहलाई ‘निलम्बन’ गरेको थियो। राजा निलम्बन अर्थात् ‘अधिकारविहीन’ भएको अनि राष्ट्रपति नभइसकेको त्यो समय गिरिजाप्रसाद कोइराला नै राष्ट्राध्यक्षको रुपमा हुनुहुन्थ्यो । नेपालको राजनीतिक इतिहासमा त्यो पहिलोपटक भइरहेको जहाँ एक सामान्य नागरिक राष्ट्रप्रमुख र सरकार प्रमुख भएर राजकाज चलाइरहेको थियो । विश्व राजनीतिक इतिहासमा पनि त्यो अलि दुर्लभ अनि मौलिक तरिका थियो । माओवादीलाई पनि संसदीय राजनीतिमा ल्याउनका लागि गिरिजाप्रसाद कोइराला आफ्नो सारा राजनीतिक जीवन नै दाउमा लगाउनुभएको थियो । ‘गणतन्त्र’ को बटमलाइनबाट टसमस नभइरहेको माओवादी १० वर्षसम्म राज्यविरुद्ध लडेर आएको एउटा विद्रोही राजनीतिक पार्टी थियो । लामो समय हतियार युद्ध लडेको पार्टीलाई सम्हाल्न आफैँमा धरै चुनौतीहरू थिए । त्यसमा पनि ‘राजा फाल्ने’ विषय भनेको कम्ती चुनौतीपूर्ण थिएन । राजा राख्ने कि नराख्ने भनेर दलहरू आफैमा विभाजित थिए । माओवादी जसरी भए पनि राजा फाल्ने जिद्दीमा थियो । अरु पार्टीहरू ‘हो’मा ‘हो’ मिलाउँथे । तर सबैले त्यसका लागि ‘गिरिजाबाबु’ को निर्णय पर्खिरहेका थिए । तर त्यसबारेमा गिरिजाबाबु खुलेर बोल्नभएको थिएन । त्यसअघि नै माओवादी झस्किसकेको थियो । २०६२ साल कात्तिक ७ गते सात तत्कालीन राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच भएको सात १२ बुँदे समझदारीमा ‘निरङ्कुश राजतन्त्रको अन्त्य’ भनेर लेखिएको थियो । त्यो बुँदामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मनाउन निकै धौ–धौ भएको थियो । त्यसका लागि गिरिजाबाबुले निकै मेहनत पनि गर्नुभयो । प्रचण्ड जी त ‘त्यो हुँदै हुन्न’ भनेर सात पटक सम्म संवाद छोड्नुभएको थियो । तर गिरिजाबाबुले ‘निरङ्कुश राजतन्त्रको अन्त्य’ भनेकै ‘राजतन्त्रको अन्त्य’ हो भनेर व्याख्या गर्नुभयो । त्यो बेला तत्कालीन जनमोर्चाका अमिक शेरचनजी र नेमकिपाका नारायणमान बिजुक्छेले भन्नु भएको थियो ‘गिरिजाबाबुसँग हाम्रा कतिपय असहमति छन् । विचारमा बेमेलहरू होलान् र उहाँले जनता राष्ट्रघातका पक्षमा कहिल्यै सम्झौता गर्नुहुन्न भन्ने विश्वास हामीलाई छ । त्यही आधारमा हामी हस्ताक्षर गर्छौँ ।” उहाँहरू अहिले पनि जीवितै हुनुहुन्छ । सातबुँदे सहमतिमा भने नेमकिपाका प्रेम सुवालले हस्ताक्षर गर्नुभएको छ । ऐतिहासिक शान्ति सम्झौताको प्रस्थान विन्दु मानिने त्यो १२ बुँदे समझदारीको ३ नम्बर बुँदामा यस्तो लेखिएको छ । ‘देशले आज सशस्त्र द्वन्द्वको सकारात्मक समाधानका साथ स्थायी शान्ति स्थापनाको माग गरेको छ । त्यसैले हामी निरङ्कुश राजतन्त्रको अन्त्य र उक्त प्रक्रियागत आधारमा आउने संविधानसभाको निर्वाचन र पूर्ण लोकतन्त्र स्थापनाको अग्रगामी राजनीतिक निकासद्वारा देशमा विद्यमान सशस्त्र द्वन्द्वको अन्त्य गरी स्थायी शान्ति स्थापना गर्न दृढ सङ्कल्पित छौँ । यस प्रक्रियाद्वारा शान्तिपूर्ण नयाँ राजनैतिक धारमा अघि बढ्न नेकपा–माओवादी) प्रतिबद्धता व्यक्त गर्दछ । यसै सन्दर्भमा निरङ्कुश राजतन्त्रको अन्त्य पछि हुने संविधानसभाको निर्वाचनको क्रममा माओवादी सशस्त्र शक्ति र शाही सेनालाई संयुक्त राष्ट्रसङ्घ वा भरपर्दो अन्तरराष्ट्रिय सुपरिवेक्षणमा राख्ने, निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गर्ने र निर्वाचनको परिणामलाई स्वीकार्ने समझदारी भएको छ । वार्ता प्रक्रियामा भरपर्दो अन्तरराष्ट्रिय समुदायको संलग्नतालाई हामी अपेक्षा गर्दछौँ ।’ यही बुँदामा उल्लेख गरिएको ‘निरङ्कुश राजतन्त्रको अन्त्य’ भन्ने ठाउँमा ‘राजतन्त्रको अन्त्य’ मात्रै लेख्न चाहन्थ्यो माओवादी । आज पनि त्यही आधारमा २०६२/०६३ को जनआन्दोलनको राजतन्त्रकै अन्त्य गर्ने मनसाय थिएन भन्ने भाष्यहरू निर्माण भएका छन् । तर गिरिजाबाबुले त्यो बेला निकै सोचीसम्झी त्यो शब्द राख्नुभएको थियो । २४० वर्षसम्म अविछिन्न एउटा शासक वर्गकै अन्त्य कम्ता चुनौतीपूर्ण थिएन । देश आन्तरिक ‘गृहयुद्ध’ ले थिलथिलो भइसकेको थियो । त्यसैले गिरिजाबाबु थप रक्तपात चाहनुभएको थिएन । सिधै राजा र राजसंस्थाकै अन्त्य गर्ने भनिएपछि त्यसबाट अनेकथरि प्रतिक्रान्ति हुनसक्थ्यो वा रक्तपात हुनसक्थ्यो । सदियौँदेखि दरबारप्रति बफादार र उत्तरदायी भएर बसेको नेपाली सेनाभित्रै त्यसले विद्रोह पनि निम्त्याउनसक्थ्यो । यद्यपि त्यो बेला अन्तरराष्ट्रिय समुदाय दलहरूको लोकतान्त्रिक आन्दोलनको पक्षमा थियो । र, पनि त्यसका कैयाँै आन्तरिक अवशेषहरू थिए । जो राजा र राजसंस्थाप्रति निकै बफादार थिए । त्यो समझदारीसँगै माओवादी पनि हतियार बिसाउन तयार भयो । जनआन्दोलनको बेग थाम्न नसकेर राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा पुनःस्थापनाको घोषणा गरे । त्यही पुनःस्थापित प्रतिनिधिसभाले राजाका सबै संवैधानिक अधिकारहरू कटौती गरिदियो । राजा निलम्बित अवस्थामा पुगे । गिरिजाबाबु राष्ट्राध्यक्षको जिम्मेवारीसहित अन्तरिम सरकारका प्रधानमन्त्री हुनुभयो । तर ‘राजा फाल्ने’ कुरामा गिरिजाबाबु निकै समय मौन रहनुभयो । थप रक्तपात नहोस् भनेर तत्कालका लागि ‘बेबि किङ’को अवधारणामा समेत पुग्नुभयो । उहाँ आफैले त्यो कुरा सुरुमा बोल्नुभएन । पुत्री सुजाता कोइरालालाई विराटनगरमा उहाँले त्यो प्रस्तावबारे बोल्न लगाउनुभएको थियो । तर तत्कालीन राजा ज्ञानेन्द्रले त्यो प्रस्तावलाई सिधै अस्विकार गरिदिए । त्यो प्रस्ताव लिएर जाने दरबारका प्रतिनिधिलाई उनले निकै हपारेको कुरा पछि गिरिजाबाबुले सुनानउनुभएको थियो । यद्यपि राजतन्त्र राख्ने वा नराख्ने भन्ने कुरा संविधानसभाको पहिलो बैठकले निर्णय गर्ने भनेर संविधानमा लेखिएको थियो । पुनःस्थापित प्रतिनिधिसभाले राजाका उत्तराधिकारीबारे एउटा विधेयक पनि पारित गरिसकेको थियो । जसमा ‘राजाका छोरा वा छोरी’मध्ये जसलाई पनि गद्दीको उत्तराधिकारी बनाउन सकिने भन्ने थियो । त्यसैका आधारमा गिरिजाबाबुले ‘बेबी किङ’को अवधारणा बनाउनुभएको थियो । तर ज्ञानेन्द्रले फेरि उहाँको प्रस्ताव रिजेक्ट गरिदिए । त्यसपछि नै गिरिजाबाबुले ‘इनफ इज इनफ’ भन्दै ‘अब त हुँदै हुन्न’ अर्थात् यी ‘राजा रहन्नन्’ भन्नुभएको थियो । त्यतिमात्रै होइन गिरिजाबाबु र राजा नहुँदैदेखि ज्ञानेन्द्रबीच जहिल्यै तनावपूर्ण सम्बन्ध थियो। त्यसमा व्यक्तिगत, कतिपय पारिवारिकर राजनीतिक विषयहरू पनि थिए । लेखक २०५८ साल असार २८ गते भएको ‘होलेरी काण्ड’ले ज्ञानेन्द्र गिरिजाबाबुबीच दूरी झन् बढेको थियो । त्यो बेला तत्कालीन माओवादीले नियन्त्रणमा लिएका ७२ जना प्रहरीलाई छुटाउनका लागि सरकारले सेनाको सहयोग मागेको थियो । तर दरबार सेना दिन तयार भएन । त्यसका लागि गिरिजाबाबु पटक पटक दरबार जाने प्रयास पनि गर्नुभयो । तर ज्ञानेन्द्रले झुलाइरहे । र, निकै अपमान गरे । त्यो मिसन सफल नभएपछि गिरिजाबाबुले राजीनामा दिनुभयो । र ‘ज्ञानेन्द्रको अनुहारै नहेर्ने’ भन्नुभएको थियो । त्यसपछिका दिनमा लगभग त्यस्तै भयो पनि उहाँले ज्ञानेन्द्रको अनुहार हेर्नैपरेन । जनआन्दोलनबाट फर्किएको संसद्को बलियो सरकारका तर्फबाट पठाएको प्रस्ताव पनि निलम्बित राजाले स्विकार गरेनन् । त्यसपछि प्रस्ट थियो, गिरिजाबाबु राजसंस्था बचाउने पक्षमा रहनुभएन । गिरिजाबाबुले नचाहेको भए देश सायद अर्कै अवस्थामा हुन्थ्यो होला । नभन्दै २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजसंस्थाको अन्त्य भयो । र, देश गणतन्त्रात्मक व्यवस्थामा पुग्यो । त्यो एउटा युगको सुरुआत गिरिजाबाबुको राजनीतिक जीवनको सबैभन्दा ऐतिहासिक उपलब्धि पनि थियो ।उहाँ आफैले त्यो दिन भन्नुभएको थियो ‘एक जुग एक दिन एकपटक मात्रै आउँछ ।’ गोपालप्रसाद रिमालको यो कबितांश गिरिजाबाबुको राजनीतिक जीवनमा एउटा यस्तो विन्दु बन्न पुग्यो जसले गर्दा जीवनभरि आलोचना गर्ने, गाली गर्नेहरूले पनि ‘राजनेता भनेको गिरिजाबाबुजस्तो हुनुपर्छ’ भन्ने विम्ब बनाउन थाले । गिरिजाप्रसादको राजनीतिक जीवनको अर्को विम्ब त्यही हो ‘कहिल्यै नहार्ने, कहिल्यै नथाक्ने ।’ व्यक्तिगत जीवनका सारा पलहरू गिरिजाबाबुले राजनीतिमै बिताउनुभयो । राजनीतिको त्यति स्पष्ट बाटो, अविचलित यात्रा अनि निर्णयमा दृढता भएको राजनेता अब नेपालमा जन्मिन अझ धेरै वर्ष कुर्नुपर्ने हुनसक्छ । दुनियाँ एकातिर हुँदा पनि उहाँ आफ्नो निर्णय अनि लक्ष्यमा पुग्ने दृढताबाट कहिल्यै विचलित हुनुभएन । त्यही नै गिरिजाशुत्र थियो । जसले उहाँलाई नेपालको राजनीतिक इतिहासमा सबैभन्दा अग्लो स्थानमा पुर्यायो । नेपाली राजनीतिमा कोइराला परिवारको आफ्नै इतिहास छ । राजनीतिक इतिहासका ती पानामा राष्ट्र अनि जनता र प्रजातन्त्रप्रति कोइराला परिवारका सङ्घर्ष, त्याग, समर्पण र बलिदानका कैयौँ कथाहरू छन् । इतिहासका ती त्यस्ता जिउँदा अक्षर र शब्दहरू हुन्, जसले नेपाली राजनीतिलाई सधैँ अग्रदिशा दिएको छन् । देशका हरेक सङ्घर्ष अनि परिवर्तनका मोडहरूमा कोइराला परिवारका अजर पाइलाहरू सधैँ देशको राजनीति पछ्याउने पदचाप बनेका छन् । त्यसमध्येका एक गिरिजाबाबु पनि हुनुहुन्थ्यो । विसं.२०५८ साल मङ्सिर ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले देशमा सङ्कटकाल लगाएपछि राजा र गिरिजाबाबुबीचको आन्तरिक लडाइँ सतहमै आएको थियो । दुई शक्तिकेन्द्रबीचका कैयन वैमनस्यहरू एकैपटक छताछुल्ल भएका थिए । ती धेरै राजनीतिक थिए कतिपय पारिवारिक थिए । एक प्रकारले इतिहासको कुनै कालखण्डमा ‘दरबार’ अनि कोइराला परिवार अलग अलग ‘शक्तिस्तम्भ’ रहे । यी दुईबीच सधैं एकप्रकारको टक्कर रहि रह्यो । दरबार हत्याकाण्डपछि नेपालको राजकीय राजनीतिको विरासतमा एकप्रकारले ‘शाही कुण्डली’को पात्रो फेरिएकै हो । त्यसमा पनि राजा ज्ञानेन्द्रको माथमा पलाएको शक्तिको उधुम महत्वाकाङ्क्षा आखिरमा त्यो विरासत अन्त्य अनि देशको व्यवस्था परिवर्तनको एउटा ‘मुहूर्त’ बनिदियो । दुई सय ४० वर्षदेखि जिउँदो इतिहासको अन्तिम पानामा राजा ज्ञानेन्द्र सिङ्गो विरासतलाई नै धुमिल बनाउँदै बाहिरिए । सङ्कटकालको सुरुवातमै गिरिजाबाबुले औपचारिक–अनौपचारिकरुपमै भनिसक्नुभएको थियो ‘अब राजा रहन्नन्’ । आखिरमा देशमा राजामात्रै रहेनन्, बरु एउटा ‘तन्त्र’ नै फेरियो । व्यवस्था परिवर्तनको यो मोड गिरिजाबाबुको राजनीतिक अनि व्यक्तिगत जीवनको अन्तिम ‘इनिङ’ थियो । कृष्णप्रसाद कोइराला भारतको गिरिजादेवी दर्शन गर्न जानुभएको थियो साथमा उहाँकी धर्मपत्नी दिव्या कोइराला पनि हुनुहुन्थ्यो । त्यो बेला दिव्या गर्भवती पनि हुनुहुन्थ्यो। गिरिजादेवी दर्शनका बेला उहाँहरूले एउटा सङ्कल्प गर्नुभएको थियो, छोरा वा छोरी जसको जन्म भए पनि उसको नाम ‘गिरिजा’ हुनेछ । ‘गिरिजा’ शब्दको धार्मिक अर्थ हिमालयकी छोरी अर्थात् ‘पार्वती’ हो । विसं १९९८ असार १८ गते भारतको दीप नगरमा कोइराला परिवारको एउटा हाँगो जन्मियो अर्थात् गर्भको त्यही ‘गिरिजा’ । त्यो मात्र एउटा कोखको गर्भ थिएन बरु त्यो नेपाली राजनीतिको एउटा यस्तो शिखर बन्यो जसलाई छुनका लागि अझै कैयन् युग पर्खिनुपर्ने हुन्छ । राणा शासनको कोपभाजनमा परेर त्यो बेला कोइराला परिवार नै भारतमा निर्वासित जीवन बिताइरहेको थियो। कृष्णप्रसाद र दिब्या पनि आफ्ना सारा परिवारका साथ भारतमै हुनुहुन्थ्यो, हालको विहार सुपौलमा । ‘देशद्रोह’ अभियोग भिराएर त्यो बेला निर्वासित गरिएका कृष्णप्रसादहरूलाई राणाहरू फेरि देश फर्किने अनुमति दिए । देश फर्किएपछि उहाँले आफ्नै ठाउँमा एउटा विद्यालय पनि स्थापना गर्नुभयो । ‘आदर्श’ स्कुल देशकै पहिलो हो । त्यहीँ नै गिरिजाबाबुको शिक्षारम्भ भयो। सामान्य शैक्षिक जीवन बिताएका गिरिजाबाबुको राजनीतिक जीवन भने ‘अद्वितीय’ रह्यो । किशोरावयले छुँदै गर्दा राजनीतिक चेतले भरिइसकेका गिरिजाबाबु आफ्ना दाजु विशेश्वरप्रसाद कोइराला(बीपी)को राजनीतिक दीक्षाले अझ परिपक्व भइसक्नुभएको थियो । विराटनगरको जुट मिलमा एक सामान्य मजदुरका रुपमा सार्वजनिक जीवन सुरु गर्नुभएका गिरिजाबाबु त्यही मिलमा भएको एउटा मजदुर विद्रोहबाट राजनीतिको बाटोमा डोरिनुभयो। मिल मालिकहरूसँग मजदुरका हकहितका बारेमा आवाज उठाउन थालेपछि त्यहाँका आवाजविहीन मजदुरहरूले उहाँलाई आफ्नो नेता मानिसकेका थिए । गर्भरचनामा अरु नै भए पनि २००३ साल फागुन २१ गते त्यो मिलमा सुरु भएको मजदुर आन्दोलनको अगुवा गिरिजाबाबु नै हुनुहुन्थ्यो । यो मिलका मात्रै होइन विराटनगर भरिका हजारौँ मजदुर उहाँकै अगुवाइमा आन्दोलित भए । खासमा मजदुरका हकहितका कुरा उठाइए पनि त्यो आन्दोलन राणा शासकहरूका लागि एउटा चोटिलो झापड बन्यो । त्यही बेलै बिपी, मनमोहनहरूसँगै गिरिजाबाबु पनि गिरफ्तार हुनुभयो । र, उहाँहरूलाई ‘अड्डा’ सार्दै सार्दै काठमाडौँ पुर्याइयो । पहिलो पटकमै उहाँले तीन वर्ष जेल जीवन बिताउनुभयो । कार्यकर्तालाई सङ्गठित राखिरहनसक्ने क्षमता विकास गरिसक्नुभएका गिरिजाप्रसादले नेपालमात्रै होइन भारत तथा भुटानमा भएका आन्दोलनहरूमा पनि नेतृत्वदायी भूमिका निभाउनुभएको थियो । राणा शासनविरुद्ध २००७ सालमा भएको नेपाली कांग्रेसले सुरु गरेको हतियारसहितको ‘जनक्रान्ति’को एक कमाण्डर गिरिजाबाबु पनि हुनुहुन्थ्यो। उहाँकै नेतृत्वमा नेपाली काँग्रेसको ‘मुक्ति सेना’ दोस्रो प्रयासमा विराटनगर ‘कब्जा’ गरेको थियो । राजाले जेल हालेपछि उहाँले जेलभित्रै आमरण अनसन गर्नुभएको थियो । भारतका महात्मा गान्धीको जीवन र सिद्धान्तबाट प्रभावित हुनुभएका गिरिजाबाबु कलिलै उमेरदेखि आफ्नो संकल्पमा यतिसम्म हठी हुनुहुन्थ्यो कि त्यसका लागि उहाँले ज्यानमात्रै होइन ‘सबकुछ’ दाउमा राख्नुहुन्थ्यो । अन्ततः उहाँलाई २१ दिनपछि जेलमुक्त गरिएको थियो । विस.२०३४ सालमा नेपाली कांग्रेसमा महामन्त्रीको जिम्मेवारी लिएर उहाँले पार्टीको सङ्गठनलाई निकै सक्रिय बनाउनुभयो। निर्वासित रहेकै बेला उहाँले पार्टीको आन्दोलनप्रति अन्तर्राष्ट्रिय समर्थन बलियो बनाइसक्नुभएको थियो । २०३७ साल वैशाखमा उहाँ नेपाल फर्किएर फेरि देशभरि पार्टी र सङ्गठनलाई अझ सुदृढ अनि बलियो बनाउने अभियान छेड्नुभयो । जीवनको अन्तिम क्षणमा बिपी कोइरालाले आफ्ना नजिकका मित्रहरूसँग भन्नुभएको थियो ‘कृष्णप्रसाद भट्टराईको जस्तो नीति, गणेशमानको जस्तो त्याग अनि गिरिजाजस्तो सङ्गठनकर्ता भए नेपाली कांग्रेसकै नेतृत्वमा नेपालमा प्रजातन्त्र चाँडै नै आउनेछ ।’ विसं २०३९ सालमा स्वर्गीय हुनुभएका महामानव बिपीले भनेजस्तै २०४६ सालको जनआन्दोलनले ३० वर्षे पञ्चायत ढालेको थियो र देशमा फेरि प्रजातन्त्रको उज्यालो छरिएको थियो । त्यसको कमाण्डर गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादहरू नै हुनुहुन्थ्यो । २०४७ सालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नेपालमा प्रजातान्त्रिक संविधान जारी भयो। त्यसपछि २०४८ मा भएको आम निर्वाचनमा गिरिजाप्रसाद कोइराला मोरङ र सुनसरीबाट अत्यधिक मतका साथ विजयी हुनुभयो र नेपाली कांग्रेसको संसदीय दलको नेता पनि बन्नुभयो । त्यसपछि २०४८ साल जेठ १२ गते उहाँ देशको प्रधानमन्त्री बन्नुभयो । तीस वर्षे पञ्चायतपछि प्रजातन्त्रकालमा चुनाव जितेर प्रधानमन्त्री बन्ने सौभाग्य गिरिजाबाबुको थियो । माओवादी द्वन्द्व सुरु भएसँगै देश फेरि गृहयुद्धको बाटोमा जाँदै थियो । यता दलहरूबीचको कलह पनि उत्कर्षमा पुगिरहेको थियो। पार्टीहरू आफ्नै नेतृत्वको सरकार ढाल्न र बनाउन उद्यत थिए । एकले अर्कोलाई लछार्न अनि पछार्न लागिपरेका थिए उता जङ्गलमा माओवादीले युद्धको सनही अझ तेज पार्दै थियो। अविश्वासको मत, प्रतिनिधिसभाको विघटन, पार्टीको आन्तरिक विभाजन अनि अल्पमत र बहुमतका सरकारहरू पनि यही बेलाका परिघटना थिए । मध्यावधि निर्वाचनको नियति पनि मुलुकले भोग्नुपर्यो । माओवादी युद्धका कारण दलीय दूरी त बढेकै थियो त्यसमा दरबार पनि ‘भिलेन’ बनेर उभिन थाल्यो । विसं २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्ड देशमा अर्को उथलपुथलको एउटा ‘टर्निङ प्वाइन्ट’ बनिदियो । ज्ञानेन्द्र शाहले सत्ताशक्ति आफ्नो हातमा लिनासाथ माओवादीले आफ्नो युद्धको गति अझ तेज र विस्तार गरिरहेको थियो । २०५८ साल मङ्सिर ८ गते दाङमा सैनिक ब्यारेकमाथि आक्रमण गरेर माओवादीले दरबारविरुद्ध सिधा धावा बोलेको थियो । मङ्सिर ११ गते तत्कालीन शेरबहादुर देउवाको सरकारले सङ्कटकाल घोषणा ग¥यो । त्यसबाट नेपाली कांग्रेसभित्रको आन्तरिक कलह झन् उत्कर्षमा पुग्यो । सङ्कटकाल थप गर्ने विषयमा भएको आन्तरिक मतभेदले प्रतिनिधिसभाको विघटनमात्रै भएन बरु नेपाली कांग्रेसको बाटो नै फाट्यो । शेरबहादुर देउवाले कांग्रेसका केही नेताहरू लिएर नयाँ पार्टी बनाउनुभयो । राजनीतिक घटनाक्रमहरू यत्तिमै सिमित रहेनन् । तत्कालीन युद्धरत माओवादीले रोल्पाको होलेरी बन्धक बनाएका केही सुरक्षाअधिकारीहरूलाई छुटाउनका लागि सैनिक परिचालनको अनुमति माग्दा राजा वीरेन्द्रले अपमान गरेर फर्काएपछि नै गिरिजाबाबु र दरबारबीचको मनमुटाव अझ चर्किएको थियो । राजा ज्ञानेन्द्रले सङ्कटकाल घोषणा गरेपछि अन्योलपूर्ण अवस्थामै गिरिजाबाबुले ‘राजतन्त्र’ जान्छ भनिसक्नुभएको थियो । त्यसका लागि उहाँले मूलधारमा रहेका संसदीय दलहरूमात्रै होइन जङ्गलमा युद्ध गरिरहेको माओवादीसँग समेत भित्री सहमति गरिसक्नुभएको थियो। संसद्बिना सरकार र व्यवस्था प्रजातान्त्रिक नहुने भन्दै संसद् पुनःस्थापनालाई ‘बटम लाइन’ बनाएर गिरिजाबाबु सबै राजनीतिक दलको साथ लिँदै २०६० वैशाख अन्तिमतिर आफै सडकमा ओर्लिनुभयो । यो आन्दोलनलाई सबै राजनीतिक दल र माओवादीको पनि नैतिक समर्थन थियो। २०६२ सालको अन्तिमतिर आन्दोलनको उत्कर्षमा त माओवादी पनि अरू दलहरूसँगै मिसिएर सडक आन्दोलनमा आइसकेको थियो । माओवादीसहित सारा राजनीतिक दल अनि लाखौँ जनताले दरबार घेर्न थालेपछि २०६३ साल वैशाख ८ गते राजा ज्ञानेन्द्रले एउटा शाही घोषणा गरे । यो घोषणामा राजा ज्ञानेन्द्रले आफूले सत्ता छोडेको घोषणा गरेका थिएनन् । सात दलको आन्दोलन त्यत्तिकैमा रोकिएन । बरु दलहरूले अझ सशक्त आन्दोलनको घोषणा गरे अन्ततः वैशाख ११ गते राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै फिर्ता गरिदिए । संसद् पुनःस्थापना भयो । त्यसमा सबै दलहरूले सहमति गरेर माओवादीलाई पनि संसदमा भित्र्याउने सहमति भइसकेको थियो । आखिरमा गिरिजाबाबुले आफ्नो अठोट पूरा गरेरै छोड्नुभयो । त्यो बेला गिरिजाबाबुले नचाहेको भए, माओवादीको युद्ध के हुन्थ्यो अनि देशको अवस्था के हुन्थ्यो होला ? त्यो परिस्थितिको आकलन नै गर्न निकै कठिन हुन्छ । २०६२÷०६३ मा सडक आन्दोलन सुरु हुनुअघि नै गिरिजाप्रसादले नै पहल गरेर माओवादीसहित सबै राजनीतिक दलहरूबीच १२ बुँदे सम्झौता भइसकेको थियो । संसद् पुनःस्थापना भएपछि गिरिजाबाबु फेरि एकपटक देशको प्रधानमन्त्री बन्नुभयो । यो भने अन्तरिम सरकार थियो अनि गिरिजाबाबुको राजनीतिक जीवनको अन्तिम इनिङ पनि यही नै बन्यो। उहाँकै नेतृत्वमा २०६४ सालमा नेपालको इतिहासमै पहिलोपटक संविधानसभाको निर्वाचन भयो । यही संविधानसभाले ‘जनताको गणतान्त्रिक संविधान’का रुपरेखाहरू कोर्न सुरु गर्यो र दोस्रो संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गर्यो । भलै गिरिजाबाबुले यो दिन देख्न पाउनु भएन तर जसरी देशका ऐतिहासिक मोडहरूमा नेतृत्व सम्हाल्न नेपाली कांग्रेसमात्रै अघि लाग्यो यो संविधान पनि कांग्रेसकै अगुवाइमा जारी भयो । संविधान जारी हुने बेला नेपाली कांग्रेसका सभापति सुशील कोइराला हुनुहुन्थ्यो । गिरिजाबाबु जति बाँच्नुभयो पूर्ण राजनीतिक जीवन नै बाँच्नुभयो । सारा व्यक्तिगत जीवनलाई उहाँले राष्ट्र र प्रजातन्त्रकै लागि समर्पित गर्नुभयो । अनि त्यसकै खातिर बाँच्नुभयो । सङ्घर्ष, प्रजातन्त्र अनि राजनीति नै उहाँको जीवन सिद्धान्त बने । तर राजनीतिक जीवनको सुरुआतदेखि जीवनको अन्त्यसम्म पनि राजनीतिको कोपभाजनले उहाँलाई पछ्याइरह्यो । पार्टीभित्रैको आन्तरिक राजनीतिक चक्रदेखि दलीय राजनीतिको व्यूहसम्मको नियतिमा बाँच्नुभएका गिरिजाबाबुको एउटा सपना भने पूरा हुनै पाएन त्यो थियो– गणतान्त्रिक मुलुकको राष्ट्रपति । बिथोलिएको त्यो सपनाका पछि देशीय अनि अन्तर्राष्ट्रिय कारणहरू थिए जो बिस्तारै बाहिर आउँदैछन् । बेलाबेला गिरिजाबाबुको सम्झनामा ओकलिने पछुतोहरू त्यसैका परिणाम हुन् । तर जे भए पनि त्यो सङ्क्रमणकालीन अर्थात् अन्तरिमकालमा भने गिरिजाबाबु ‘हेड अफ द स्टेट’कै हैसियतमा रहनुभयो । अहिले पनि गिरिजाबाबुले राजनीतिको मूलबाटोमा ल्याएर हिँडाउनु भएका कतिपय राजनीतिक सहयात्रीहरू सत्ता र शक्तिमै हुनुहुन्छ । बेलामा उहाँहरूले गिरिजाबाबुका बारेमा गुणगान गाउनु हुन्छ । तर उहाँसँग गरिएका प्रतिबद्धताहरूबाट धेरै पर पुगिसक्नुभएको छ । त्यो बेला गिरिजाबाबु साँच्चिकै देशको पहिलो राष्ट्रपति भएको भए सायद देशको अवस्था अलि फरक हुनसक्थ्यो । देशले अझ राम्रो विकासको गति पाउने थियो । यद्यपि गिरिजाबाबु विचलित हुनु भएन । बरु राजनीतिक परिस्थितिका उपजहरूलाई स्वीकार गररै जीवनभरि रहनुभयो । गिरिजाबाबुले बाँचेको त्यो निकै अग्लो कद अझ युगीन रहनेछ । र, युगैँयुगसम्म गिरिजाबाबु नेपाली राजनीतिको त्यही अग्लो शिखर बनेर नेपालको राजनीतिक इतिहासमा बाँचिरहनुहुनेछ । रासस
जापानमा एक वर्ष : बैंकको किस्ता र साहुको ऋण
परदेशमा आत्महत्या गर्नेहरूको संख्या बढ्दै गएको देखेपछि मेरो मनमा लागेका, परदेश आएपछि मैले भोगेका, देखेका र अनुभव गरेका केही तीतामीठा सन्दर्भहरू जस्ताको त्यस्तै यस आलेखमार्फत प्रस्तुत गर्न मन लागेर पाठकहरूमाझ यो सामग्री पस्केको छु । हेर्दाहेर्दै स्वदेश छाडेर विदेशी बनेको पनि करिब एक वर्ष पुरा हुन लागेछ । यो एक वर्षको अवधिमा मैले परदेशमा केही कुरा सिक्ने, देख्ने र भोग्ने अवसर पाएँ । परदेश के रहेछ ? घरदेश र परदेशमा के फरक रहेछ ? परदेशमा नेपालीको अवस्था कस्तो छ ? नेपाली-नेपालीबीचको व्यवहार कस्तो हुँदो रहेछ ? के-कस्ता काम गर्नुपर्ने रहेछ ? काम पाउन र कमाउन कत्तिको सजिलो, असजिलो रहेछ ? भन्ने बारेमा मैले प्रत्यक्ष देखे-भोगेका अनुभव र थाहा पाएका केही कुरा यस आलेखमार्फत प्रष्ट पार्ने कोसिस गरेको छु । हामी धेरैलाई थाहा भएकै कुरा हो, परदेश आफ्नो देशभन्दा बाहिरको देश हो । नेपालको सन्दर्भमा भन्नु पर्दा हाम्रो देशको सिमाना भन्दाबाहिर जानु परदेशिनु हो । मानिसहरू विभिन्न कारणले परदेशिने गर्दछन । रोजगारी, अध्ययन, व्यापार व्यवसायका लागि मान्छे विदेशिन्छ । घरदेश र परदेशबीच धेरै कुराहरूमा भिन्नता छ । अहिलेलाई यसरी बुझौं जहाँ हाम्रो जन्म हुन्छ, हाम्रो पहिचान हुन्छ, समाज र संस्कृति हुन्छ । भाषा, परिवार र घर हुन्छ त्यो हाम्रो घरदेश हो । जहाँ हाम्रो लागी सबै चिज नयाँ हुन्छ । हामीले जानेको केही पनि हुँदैन । हाम्रो कोही पनि हुँदैन । हाम्रो बस्ने खाने वातावरण फरक हुन्छ । भाषा, संस्कृति र अपनत्वको कमी हुन्छ । संघर्ष र अवसर दुवै हुन्छन, त्यो परदेश हो । धेरैको मनमा लाग्न सक्छ, घर छोडेर विदेशिएका नेपालीहरूको परदेशमा व्यवहार कस्तो हुन्छ होला ? उनीहरूबीचको सम्बन्ध कस्तो हुन्छ होला ? यो विषय व्यक्तिमा निर्भर हुने विषय हो । व्यक्तिले जन्मसिद्ध बोकेर ल्याएको र सामाजिक वातावरणले तयार गरेको आनीबानी उसले घरदेश वा परदेश जहाँ भएपनि अभिव्यक्त गर्दछ । कसैको सहयोगी, दयालु र समन्वयतात्मक भावना हुन्छ । उनीहरुमा मानवीय पक्ष सवल हुन्छ । दुःख अनि आपत विपतमा परेकाहरूलाई सहयोग गर्नु उनीहरुको आदत हुन्छ । अर्काथरिमा मानवीय भावनामा सहयोगी भाव कम हुन्छ । ‘आफू भलो त जगत भलो’ भन्ने सोच राख्ने उनीहरूमा दया, मायाभन्दा आडम्वर, स्वार्थ र निर्दयीपना बढी हुन्छ । जसले कुनै प्रकारको मानवीय कार्यमा सहभागिता जनाउनुलाई फगत समयको बर्बाद सम्झन्छन । परदेश आएका धेरै नेपालीहरू विभिन्न समस्याले जेलिएका हुन्छन । काम नपाउनुमात्र हैन समय-समयमा दुःख बिरामी हुनु नेपालीहरूको समस्या हो । यति मात्र होइन, कहिलेकाहीँ त प्राणघातक रोगहरू पनि लाग्ने गर्दछ । यस्तो रोग लाग्दासमेत पहिलो थरिका नेपालीहरू सहयोग गर्न अघि सरेका हुन्छन, अभियान सञ्चालन गरेर सहयोग गर्नु आफ्नो धर्म र कर्म दुवै सम्झन्छन । दोस्रो थरि मान्छेलाई यी सब चिज फगतजस्तो लाग्छ । मलाई यस्तो लाग्दैन कि परदेशमा सबैलाई राम्रो छ । यसको मतलब यो पनि होइन कि परदेशमा सबैलाई नराम्रो छ । यो सबै आफ्नो भाग्य, मिहिनेत र परिश्रमको कुरा हो । मैले यहाँ राम्रो कमाएर राम्रो प्रगति गरेका मान्छेहरू पनि देखेँ । अर्को, यहाँ बिचल्लीमा परेका खान बस्न समेत समस्या भएका र कलेजको शुल्क जुटाउन समेत धौ–धौ भएका मान्छेहरु पनि देखेँ । यस्तो समस्या मैले पनि भोगेँ । परदेश आएको एक वर्ष पुग्नै लाग्दा यस अवधिमा मैले करिब ६ महिना मात्रै काम गर्ने मौका पाएँ । ६ महिना कमाएको पैसाले विदेशमा ६ महिना पनि खान पुग्दैन । नेपालबाट आउँदा लागेको ऋणको त के कुरा गर्नु र ? एक दिन मात्रै काम नगरेर खाली बस्ने हो भने कति गाह्रो छ कति । त्यो विदेशमा आएर काम नपाएर बसेकालाई मात्रै थाहा हुँदो रहेछ । परदेशमा एक्लै रहने अनि हर परिस्थितिमा खुशी हुँदै संघर्ष र परिश्रम गर्नुपर्ने हुन्छ । हामीले घरदेशबाट हेर्दा सामाजिक सञ्जालमा देखिने मनोरम र सुन्दर दृश्यहरु हाम्रा लागि बनेका हैनन् कि जस्तो लाग्छ । ‘हाफ फआई’ गर्दै ढल्कदै हिँडेका, चिल्लो कारको अगाडी पछाडी बसेर, चिल्ला सडकमा गगनचुम्बी महललाई दायाँ–बायाँ पारेर खिचेका फोटाहरु घरदेशबाट हेरे जस्तो छैन परदेश । आफुभित्र अलिकति हिम्मत नभएपछि निकै गाह्रो हुनसक्छ परदेश । कोही नभएपनि आफ्नो लागि भएपनि बाँच्नु पर्छ भन्ने सकारात्मक सोंचको विकास गर्न सक्ने जस्तोसुकै खराब परिस्थिति सँग पनि मुकाविला गर्न सकिन्छ । आफुप्रतिको विश्वास टुट्न नदिनु मुख्य कुरा हो । मनोवल सधैँ उच्च राख्ने काम गर्नुपर्छ, कहिल्यै पनि हिम्मत हार्नु हुँदैन । परदेश आइसकेपछि समय परिस्थिति अनुसार जे जस्ता समय र परिस्थिति आएपनि म सहन सक्छु र जमेर सामना गर्ने औकात छ भन्ने उच्चस्तरको आत्मविश्वास हुनु पर्दछ । परदेश आएपछि यति चाहिँ सोच्नैपर्छ कि घरमा रहेका ती बुढा आमाबुवाको आर्शीवाद लिएर निधारमा टिका लगाई दिँदा दिएको आशीषवचन । बुवा आमाले आशिरवचनका साथ बोलेको शब्दहरु हाम्रो मानसपटलमा सधैँ ताजा रहनु पर्दछ । ती बुढा आमाबुवाको खुसीका लागी भएपनि केही गर्नेपर्छ । परदेशी जीवन यस्तै हो । श्रम गर्दा पसिना बग्छ नै । आफन्तजन र प्रीयजनहरुको यादले आँसु बग्छ । चाडपर्वको समयमा त अझ बढी घरदेशको यादले मुटु पोल्छ, अनि छाती चिरिएको भान हुन्छ । तर, पनि हामीले कहिल्यै हिम्मत भने हार्नु हुँदैन । आफुले आफैसित प्रतिस्पर्धा गर्नुपर्छ न कि अरु सँग । अरुको कमाइ कति छ ? अरुको घर परिवार कस्तो छ ? अरुको तलब कति छ ? यस्ता कुरामा कहिल्यै ध्यान दिनु हुँदैन । मेरो कसैसँग प्रतिस्पर्धा छ भने त्यो म आफै हो भनेर सोचाइ राख्नुपर्छ । आफुलाई अरुको तुलना गर्दा मान्छे कहिल्यै सुखी र खुसी हुँदैन । आफुलाई कमजोर बनाउने काम कहिल्यै गर्नु हुँदैन । आत्महत्या गर्ने सोंच कहिल्यै राख्नु हुँदैन । हामी करोडौ शुक्रकिटहरुलाई जितेर आएका हौं । आमाको गर्भमा रहँदादेखि नै प्रतिस्पर्धा र संघर्ष गर्दै आएका हामी संघर्षदेखि किन डराउनु ? हामीले कहिल्यै पनि हार मान्नु हुँदैन । हामीले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार भएर बस्नु पर्छ । परिस्थिति अनुकुल भए ठिकै छ प्रतिकुल भए अनुकुल बनाउने प्रयासमा लाग्नु पर्दछ । परदेश आएपछि धेरै कुरामा तनाब हुन सक्छ । कहिले एक्लै भइएला, एक्लै भए भनेर निराश होइन, भोलीको आशमा अघि बढ्नु पर्छ । धेरैमा त डिप्रेशनको समस्या देखिने गर्छ । यस्तो बेला आफुमा आत्मविश्वास अधिक हुनु पर्दछ । सधैँ सकारात्मक सोंच राख्नु पर्छ । आफ्नो मन लाई नियन्त्रण गर्ने क्षमताको विकास गर्नुपर्छ । आत्मविश्वका साथ आफैसँग लड्नु पर्छ, भिड्नु पर्छ । परदेशमा हामी घरदेशमा सोचेको जस्तो सजिलो छैन । सपनाको गन्तव्य त कति टाढा छ कति । मेहनत गर्न मन लाग्दैन । मेहनत नगरेसम्म गन्तव्यमा पुग्न सकिँदैन । गन्तव्यमा नपुगेसम्म हाम्रो आत्मबल दह्रो हुँदैन र बनाउन सकिँदैन । त्यो गन्तव्यसम्म पुग्न निकै कठिन हुन्छ । आएको चार पाँच वर्षसम्म नेपालबाट आउँदा लागेको ऋण तिरी नसकेका हरु पनि थुप्रै भेटेको छु । पदरदेश आएपछि मान्छेलाई पैसाको मात्रै ऋण हुँदैन । यहाँ कतिपय गुनासोका पनि ऋण हुन्छन् । कसैको बैैगुनको ऋण हुन्छ । कतिपयको बचनको ऋण हुन्छ । सबैभन्दा ठूलो कुरा यहाँ आएपछि इज्जतको ऋण हुन्छ । सुनौलो भविष्य निर्माण गर्ने इच्छा हुन्छ । त्यसैले पीडा बिनाका मान्छे भेटाउन नै गाह्रो हुन्छ । पीडा कसलाई हुँदैन र ? सबैलाई छ फरक यत्ति हो कसैले रोएर देखाउम्छन त कसैले मनभित्रै गुम्साएर राख्छन् । त्यसैले आत्महत्या समस्याको समाधान कदापी होइन । बरु के भएको छ, आफ्नो परिवारसँग कुराकानी गर्नुपर्छ । सबै कुरा बुझ्न सक्ने मान्छेलाई आफ्ना समस्या सुनाउनु पर्छ । कसैले पनि गलत निर्णय लिनु हुँदैन । एकदिन सबै सोचेको जस्तो हुन्छ भनेर मनलाई चित्त बुझाउनु पर्छ । सान्त्वना दिनुपर्छ । विदेशमा बस्ने हामी पनि यहाँ गरिने संघर्ष र पश्रिमका कहानीहरुलाई वास्तवविक रुपमा देखाउनुपर्छ । जस्तो बि विदेश आउँदा साहु महाजनवाट लिएको ऋण, अनि हरेक महिना बैंकलाई तिर्नु पर्ने किस्ताले दिने पीडा, परदेशमा आएपछि होटल, रेष्टुराँ, अस्पताल, सुपरमार्केटमा खटेर गर्नु पर्ने काम । के कस्तो काम गर्दै हुनुहुन्छ त्यो पनि बताई दिनु पर्छ । कामको शिलशिलामा हुने मानसिक तनाव र पीडाहरू पनि भनिदिनु पर्छ । विदेशमा बस्दा घरपरिवार, समाज रीतिरिवाज, चाडपर्व लगायत सामाजिक कारणले हुने पीडा पनि सुनाउनुपर्छ । कति समय खट्नु पर्छ त्यो पनि भनिदिनु पर्छ । सामाजिक सञ्जालमा देखिने तपाईंको मोजमस्तीको जीवनशैली तडकभडक भन्दा सामान्य जीवनशैली जीउन सक्नुपर्छ । (लेखक केसीको घर गंगादेव गाउँपालिका ६ रोल्पा हो, हाल उनी जापानमा छन् ।)
कहिले होला महिला स्वास्थ्य स्वयंसेविकाको मूल्याङ्कन ?
रुपन्देहीको सबैभन्दा विकट क्षेत्र हो मर्चवार । मर्चवारको पनि सबैभन्दा दक्षिण सीमाक्षेत्रको गाउँ हो, सम्मरीमाई गाउँपालिका । यही सम्मरीमाई गाउँपालिका–६ मा छ, असुरैना स्वास्थ्यचौकी । असुरैना हेल्थपोष्टमा पुग्नुभयो भने तपाइँले स्वास्थ्यचौकीसँगै देख्नुहुनेछ व्यवस्थित सुत्केरी कुरुवा घर । सुत्केरी हुन आउने महिलाका आफन्त बस्ने ठाउँ नहुँदा समस्या भएपछि २०७९ सालमा स्वास्थ्य स्वयंसेविकाहरुको अगुवाइमा यो कुरुवा घर बनेको हो । कुरुवा घर बनेपछि असुरैनामा गर्भजाँच गराउन र सुत्केरी हुन आउने महिलाको सङ्ख्या ह्वात्तै बढेको छ । कुरुवा घर बन्नुअघि यहाँ मासिक १० जना मात्रै महिला प्रसूति हुन्थे । अहिले मासिक ४२ जनासम्म महिलाले यही स्वास्थ्यचौकीमा शिशु जन्माएका छन् । गाउँमा घरमै सुत्केरी हुने र उपचारका लागि टाढाका स्वास्थ्य संस्था जाने चलन हटेको छ । कसरी बन्यो त सुत्केरी कुरुवा घर ? गाउँपालिकाका पदाधिकारीका अनुसार मुस्लिम समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा आठ वर्षअघि २४ घण्टे प्रसूति सेवा सुरु भए पनि सुत्केरी हुने महिला आएनन् । कारण बुझ्न स्वास्थ्य स्वयंसेविकालाई घरदैलो गराइयो । सेवा लिन जानेले बस्ने ठाउँ नहुँदा सुत्केरी हुन जान समस्या हुने गुनासो गरे । स्वास्थ्य स्वयंसेविकाहरुले समस्या समाधान गर्न कुरुवा घर बनाउनुपर्ने प्रस्ताव बनाए । उनीहरु आधारभूत स्वास्थ्य परियोजना र सम्मरीमाई गाउँपालिमा गए । सम्मरीमाई गाउँपालिकाले रु आठ लाख र परियोजनाले रु पाँच लाख लगानी गरे । रु १३ लाख लगानीमा एक कोठा, एक भान्सा, शौचालय र स्नान कक्षसहितको चिटिक्कको कुरुवा घर तयार भयो । अहिले असुरैना हेल्थपोष्टमा असुरैनाका मात्र होइन, सम्मरीमाईका अन्य क्षेत्रबाट पनि सुत्केरी हुन आउँछन् । देखिनेगरी परिवर्तन गरेका यहाँका स्वास्थ्य स्वयंसेविकाहरु अहिले खुसी हुँदै घरघर पुगेर गर्भवती, सुत्केरी र शिशुको स्वास्थ्योपचारमा खटिएका भेटिन्छन् । तर, उनीहरुका लागि कसैले थप सुविधा दिएको छैन । निःशुल्क र निःस्वार्थ सरकारका स्वास्थ्य अभियानमा खट्ने व्यक्ति हुन् महिला स्वास्थ्य स्वयंसेविका । उनीहरुको पारिश्रमिक छैन तर काम र भूमिकाको सीमा छैन । उनीहरुकै कारण धेरै शिशु मृत्युको मुखबाट बचेका छन् भने धेरै आमाले ज्यान जोगाएका छन् । रुपन्देहीको मायादेवी गाउँपालिका–३ की रुक्सना खातुनको कुरा गरौँ । उनी गर्भवती थिइन् । चार महिना सुरु हुँदै थियो, उनी अचेत भइन् । घरमा कोही थिएन । स्वास्थ्य स्वयंसेविका रञ्जना चौधरीले थाहा पाइन् । उनले तत्काल एम्बुलेन्स खोजिन् र कम्हरिया हेल्थपोष्टमा पुर्याइन् । तत्काल स्वास्थ्य संस्था पुर्याएका कारण उपचारपछि रुक्सना ब्युँतिन् । त्यसपछि लगातार तीन महिना हरेक साता स्वास्थ्य परीक्षण गर्नुपर्ने भयो । रञ्जनाले हरेक हप्ता रुक्सनालाई स्वास्थ्यचौकी पुर्याउने र उपचारमा सघाउने काम गरिन् । माघ दोस्रो साता रुक्सनाले सुरक्षित तरिकाबाट स्वस्थ सन्तान जन्माइन् । रञ्जनाको काम अझै सकिएको छैन । उनी अहिले पनि हरेक हप्ता घरमा पुगेर आमा र शिशुको स्वास्थ्य अवस्थाबारे बुझ्छिन् । सो अवस्था स्वास्थ्यचौकीमार्फत स्वास्थ्य कार्यालयमा पठाउँछिन् । रञ्जना १४ वर्षयता यहाँका दुई सय ८० घरपरिवारका महिला, बालबालिकालगायतको आधारभूत स्वास्थ्य र प्रजनन् स्वास्थ्यको सुरक्षा गरिरहेकी छन् । अहिले पनि उनी मातहत ३१ गर्भवती र १३ सुत्केरी महिला र बालबालिका छन् । कामको बोझ जति थपिए पनि उनलाई सुविधा थपिँदैन । महिला स्वास्थ्य स्वयंसेविका नेपालको स्वास्थ्य सुधारका मेरुदण्ड हुन् । उनीहरु निरन्तर ग्रामीण भेग र दूरदराजका बस्तीमा मातृशिशु स्वास्थ्य र आधारभूत स्वास्थ्य सुधारमा खटेका छन् । आफूले काम गरेको समुदाय र देशको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरेका छन् । चिकित्सकको पहुँच नहुने ठाउँमा बालस्वास्थ्य, मातृस्वास्थ्य, प्राथमिक उपचार, राष्ट्रिय खोप अभियानहरु सञ्चालन गर्दै आएका छन् । स्वास्थ्य स्वयंसेविकाले गाउँका घरघरमा पुगेर प्राथमिक उपचारसँगै सुरक्षित मातृत्व, परिवार नियोजन, झाडापखाला, श्वासप्रश्वास नियन्त्रण, पोषण र बालस्वास्थ्य सेवा दिन्छन् । खोप अभियानदेखि आधारभूत स्वास्थ्य कार्यक्रमको प्रवद्र्धन गर्छन् । गर्भवतीलाई गर्भजाँच र सुत्करी हुन आफैँले स्वास्थ्य संस्था लैजान्छन् । महिला स्वास्थ्य स्वयंसेविकाकै कारण देश आधारभूत स्वास्थ्य सुधार गर्न र मातृशिशु मृत्यु घटाउन सफल भएको छ । सुरक्षित सुत्केरी सेवाको पहुँचलाई बढाउन, ठूलाठूला महामारीजन्य रोगविरुद्धको अभियान सफल पार्न सकेको छ । अभियान सफल भएकामा उनीहरुलाई प्रोत्साहन भने गरिएको छैन । स्वास्थ्य अभियानमा निःस्वार्थ र निःशुल्क सहयोग गर्न भन्दै तत्कालीन गाविसमा २०४५ र नगरपालिकामा २०५२ सालबाट सरकारले स्वास्थ्य स्वयंसेविकाहरु राख्ने नियम बनाएको हो । अहिलेसम्म देशभरमा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका छन् । देशका हरेक स्थानीय तहका हरेक वडामा एक जना स्वास्थ्य स्वयंसेविका छन् । उनीहरुले गर्भवती र सुत्केरीसहितको ‘स्वास्थ्य आमा समूह’ गठन गर्छन् । समूहलाई मातृशिशु र आधारभूत स्वास्थ्यबारे पनि सिकाउँछन् । वास्तवमा समाजमा बोल्न नसक्नेको आवाज, हिंड्न नसक्नेको खुट्टा र सुन्न नसक्नेको इशारा हुन् स्वास्थ्य स्वयंसेविका । यद्यपि, महिला स्वास्थ्य स्वयंसेविकाका मामिलामा ‘काम गर ज्याला चाहिँ दिन्नौँ भन्ने राज्यको नीति’ छ । यही कारण झण्डै ३६ वर्षअघिदेखि स्वास्थ्य अभियानमा सक्रिय महिला स्वास्थ्य स्वयंसेविकाको काम गर्ने आत्मबल भने गिरेको छ । सरकारले स्वास्थ्यमा करोडौँ लगानी गरेको छ । हरेक वर्ष आधारभूत र महामारीजन्य रोगविरुद्ध स्वास्थ्य अभियान थपिँदै गएका छन् । स्वास्थ्य अभियान थपिँदै जाँदा स्वास्थ्य स्वयंसेविकाको कामको बोझ पनि थपिँदै गएको छ । पछिल्लो समय किशोरकिशोरी स्वास्थ्य, वृद्धवृद्धा, मृत्यु दर्ता, बसाइँसराइ र जन्मदर्ताको जिम्मा पनि उनीहरुलाई दिइएको छ । तर, ग्रामीण क्षेत्रका दूरदराजसम्म पुगेर स्वास्थ्य अभियान सम्पन्न गर्ने स्वास्थ्य स्वयंसेविकाका लागि भने सरकार सहयोगी छैन । जीवनभर निःशुल्क काम गर्दा जीविकोपार्जनमा समस्या छ । स्वास्थ्य स्वयंसेविकाहरु दिनरात नभनी काममा खट्छन् । जीवनको उर्भर समय स्वास्थ्य अभियानमा बिताउँछन् । तर राज्यले उनीहरुका लागि केही गरेको छैन । महँगीले सीमा नाघेका बेला अभियानमा खट्दा चिया नास्ता खाने रकमसमेत उनीहरुले पाउँदैनन् । देश विकासशील मुलुकमा रुपान्तरण हुँदैछ । स्वास्थ्यका संरचना गाउँगाउँमा पुगेका छन् । स्वास्थ्य स्वयंसेविकाको भूमिका अझै घटेको छैन, बरु बढ्दै छ । सन् २०३० सम्म देशले दिगो विकासको लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएको छ । त्यसमा स्वास्थ्यका धेरै नतिजा स्वास्थ्य स्वयंसेविकाको भूमिकामा जोडिएको छ । हाल एक लाख महिला आमा बन्दा एक सय ५१ जनाले ज्यान गुमाउँछन् । सन् २०३० सम्म यो सङ्ख्या घटाएर ७० मा झार्नु छ । हाल शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ रहेकामा घटाएर १० बनाउनु छ । बालमृत्युदर प्रतिहजार जीवित जन्ममा २८ जना रहेकामा १२ बनाउनु छ । सस्थागत सुत्केरी ७९ बाट ९० प्रतिशतमा पु¥याउने लक्ष्य छ । कुपोषणको दर ३३ बाट १९, पूर्ण खोपको अवस्था ८० प्रतिशतबाट ९५ प्रतिशतमा पु¥याउने भनिएको छ । यी सबै लक्ष्य हासिल गर्न थालिएका हरेक काममा स्वास्थ्य स्वयंसेविकाहरु खटेका छन् । यतिधेरै जिम्मेवारी पाएका स्वास्थ्य स्वयंसेविकाहरुले सङ्घीय सरकारले पोशाकबापत रु १० हजार र यातायातबापत रु १२ हजार दिन्छ । खोप अभियानका दिन रु चार सय यातायात खर्च पाउँछन् । विकटका स्वयंसेविकालाई यो खर्च आउनजान पनि पुग्दैन । सेवाबाट निस्कँदा रु २० हजार प्रोत्साहन भत्ता भनेर दिने गरेको छ । तर बिरामी वा अशक्त नै भए पनि ६० वर्ष पहिला निस्कने स्वास्थ्य स्वयंसेविकाले यो सुविधा पाउँदैनन् । कम्तीमा २० वर्ष सेवा गरेका स्वयंसेविकालाई पनि प्रोत्साहन भत्ता दिनुपर्ने माग उठ्दै आएको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न कतिपय स्थानीय तहले साइकल, झोलालगायत वितरण गरेका छन् । सेवा छोड्ने बेलामा केही प्रोत्साहन रकम दिने गरेका छन् । प्रदेश सरकारहरुको भूमिका भने त्यसमा देखिँदैन । स्वयंसेवाका नाममा निःशुल्क र निःस्वार्थ स्वास्थ्य अभियानमा खटेका स्वास्थ्य स्वयंसेविकालाई सरकारबाट थप सुविधा र निवृत्तिभरण सुविधा आवश्यक छ । स्वयंसेविकाको कामको मूल्याङ्कन र तीन तहकै सरकारबाट प्रोत्साहन जरुरी देखिन्छ । रासस