मनसुनसँगै रोगहरूको उच्च जोखिम

मनसुन सुरु भएको एक हप्ता भइसकेको छ । निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ । उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन, चट्याङ्, डढेलो, आगलागीजस्ता प्राकृतिक विपद् बर्सेनि दोहोरिने गरेका छन् । भूकम्पीय जोखिमका हिसाबले नेपाल ११औँ, जल उत्पन्न प्रकोपमा ३०औँ, जलवायु परिवर्तनको असरले हुने बाढी, खडेरी र पहिरोमा चौथो र हरितगृह ग्यास उत्सर्जनका हिसाबले एक सय नवौँ स्थानमा पर्दछ । त्यसैमा पछिल्लो समयमा अध्ययन, अनुसन्धान र वातावरणीय प्रभाव विश्लेषणबिना खनिएका सडक संरचनाले थप मलजल गरेका छन् । विपद्बाट कुल गार्हस्थ्य उत्पादनमा वार्षिक तीनदेखि पाँच प्रतिशत ह्राससँगै आर्थिक नोक्सानी भइरहेको छ । गत वर्ष विपद्का घटना सात सय ६९ हुँदा ६३ जनाको मृत्यृ, ६९ घाइते तथा ३० बेपत्ता भएको तथ्यांक छ । यस वर्ष जल तथा मौसम विज्ञान विभागले सरदरभन्दा ३५ देखि ४५ प्रतिशत बढी वर्षा हुने अनुमान गरेको छ । मनसुनजन्य विपद्बाट करिब १८ लाख जनसङ्ख्या र चार लाख १२ हजार घरधुरी प्रभावित तथा ८३ हजार घरमा क्षति पुग्ने आकलन छ । मनसुन गत जेठ २८ गते भित्रिएपछि विपद्का एक सय ४७ घटनाबाट ३३ जिल्ला प्रभावित भई २८ जनाको ज्यान गइसकेको छ । मनसुनको सुरु भएसँगै बाढी, पहिरो, डुबान र चट्याङले देशभर ठूलो क्षति पुर्याइरहेको छ । हरेक दिन मृत्यृ, घाइते र बिरामीहरूको तथ्यांक आइरहेका छन् । कोशी प्रदेशबाट सुरु भएको क्षति कर्णाली र सुदूरपश्चिम प्रदेश पुगिसकेको छ । ३३ बढी जिल्ला प्रभावित, तीसभन्दा बढीको मृत्यृ तथा हजारौँ परिवार प्रभावित र भएका छन् । सुरुमै भएको क्षतिले चुनौतीपूर्ण भविष्यको संकेत गरेको छ । विपद्ले ल्याउने स्वास्थ्य समस्या  वर्षात्को समयमा आउने बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिसँगै सबै अस्पतालका निर्देशकहरूले उपलब्ध गराएको जानकारीमा गर्मीपछि वर्षात्को समयमा सबैभन्दा बढी झाडापखाला, हैजा, डेंगु, टाइफाइड, भाइरल, जण्डिस, हेपाटाइटिस ए र ई, आउँ, निमोनिया, औलो, कालाजार, ज्वरो, स्क्रब टाइफस, रुघाखोकी, छालाको समस्या, पेटको सङ्क्रमण, जुका, आँखा पाक्ने, लेप्टोस्पाइरोसिसजस्ता बिरामी देखिने गर्दछन् । अर्थात् दूषित खाना र पानी, लामखुट्टे, झिङ्गा, किराफट्याङ्ग्रा, फोहर तथा हिलोका कारण हुने सङ्क्रमण विशेषतः बढी देखिन्छ । परेको वर्षा ट्याङ्की वरिपरि मानिस, जनावर, पक्षीको बिष्ठा, ढकन नभएको, फोहरसहितको भेल मुहानमा परी प्रदूषित पानी, सिनो मासु, खोलानालाको प्रदूषित पानी सेवनले रोग लाग्दा जण्डिसलगायतका रोगहरूबाट मानिसहरू बिरामी पर्दैछन् । गर्भवतीलाई अस्वस्थता हुँदा थप जटिलता र गर्भपतनसम्म भएको पाइन्छ । बढ्दो वर्षासँगै विभिन्न किटाणु, जीवाणु, विषाणुजन्य सरुवा र सङ्क्रमणहरू  टाइफाइड, झाडाबान्ता, भाइरल फ्लु, पेटको दुखाई, रुघाखोकी, श्वासप्रश्वास सङ्क्रमण, जण्डिस, हेपाटाइटिस ए, आँखा सुक्खा, चिलाउने तथा आँखाको सङ्क्रमण, जनावरले टोकेर हुने बिरामीहरू बढ्दै छन् । यसबाहेक तराईमा सर्पदंश, उच्च ज्वरो, छालाको रोग, बढी पसिना जाँदा शरीरमा हुने पानी अभावको कारण जल वियोजन, पिसाब र मिर्गौलामा समस्या र लु बढ्दैछ । जार तथा बोतलको पानी सेवन गर्नेमा पनि त्यत्तिकै समस्या छ । दूषित खाना, पानी, सरसफाइको अभाव, फोहर हात, भाडाकुँडा, झिङ्गा, लामखुट्टे, साङ्ला, किराफट्याङग्रा तथा  बासी, सडेगलेका फोहर खानेकुरा, फोहर बानी व्यहोरा र फोहर पानीको प्रयोग नै यस समयको रोग लाग्ने मुख्य कारण हो । यस मौसममा हुने सरुवा रोगहरू केही श्वासप्रश्वास र धेरैजसो पाचन प्रणालीसँग सम्बन्धित हुन्छन् । करिब सयभन्दा बढी भाइरस प्रमुखतया इन्फ्लुएन्जा विषाणुद्वारा हुने सङ्क्रामक रोग रुघाखोकी लागेकालाई सामान्य बिरामीको रूपमा लिइन्छ । यसमा घाँटी खस्खसाउने, श्वास फेर्न अप्ठेरो हुने, पातलो सिंगान बग्ने, ज्वरो आउनुको साथै शरीर दुख्छ । प्रत्यक्ष सम्पर्कबाट र हावाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले ज्यादा भीडभाड हुने स्थान बस, फिल्महल, विद्यालय र जात्रामा बिरामीले खोक्दा, बोल्दा, हाछ्यूँ गर्दा छिटै सर्दछ । पानीजन्य रोगहरू रोगका किटाणु पानीको मुहानमा परे सर्ने सरुवा रोगमा झाडापखाला, हैजा, रगतमासी, जुकाहरू, पोलियो, जियारडियासिस, अमिवियासिस, आउँ, टाइफाइड, जण्डिसलगायत २० वटा सरुवा रोगहरू पर्दछन् । वर्षायाममा विशेषगरी काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, पचाउन नसकिने चिल्लो खाद्य पदार्थले खाना विषाक्तता हुन्छ । बिरामीलाई बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने हुन्छ । त्यसैगरी झिङ्गा भन्किएको र फोहर खानेकुरा खादा भिब्रियो कोलेरा ब्याक्टेरियाले आन्द्रामा सङ्क्रमण गर्छ र तीव्र सङ्क्रमण हैजा लाग्छ । हैजा लागेपछि धेरैपटक चौलानी पानीजस्तो पातलो दिसा र बान्ता एकैपटक लागिरहन्छ । त्यसले तीव्रगतिमा जलहरण गरी बिरामी शिथिल अवस्थामा पुग्छ । पटकपटक पातलो दिसा (तीन पटकभन्दा बढी) हुनुलाई झाडा पखाला भनिन्छ । यसले शरीरमा भएको पानी र लवणको मात्रालाई तुरुन्तै कम गर्ने भएकाले शरीरमा विभिन्न किसिमका जलविनियोजनसम्बन्धी स्वास्थ्य समस्याहरू देखा पर्दछन् । बान्ता र पखालासँगै भयो भने स्वास्थ्यका दृष्टिले खतरनाक मानिन्छ । सरसफाइको कमी, चर्पीको राम्रो व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झिंगा र अन्य किराफट्याङ्ग्राको बढी प्रकोप भएको ठाउँमा बढी देखिने सङ्क्रामक रोग टाइफाइड हो । झिङ्गा, सङ्क्रमित माटो र फोहर हातले खानेकुरा बनाउँदा रोग सर्न सक्दछ । यसमा ज्वरो बेस्सरी आउँछ, पाचन प्रणालीसँग सम्बन्धित लक्षण देखिन्छ । नेपालीमा म्यादी ज्वरो भनिने रोग टाइफाइड तथा पाराटाइफाइड ब्याक्टेरिया जीवाणुबाट लाग्छ । बिरामीको दिसापिसाबबाट दूषित हुन गएको पिउने पानी तथा खानाबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । टाइफाइडमा सुरुमा रोग रुघाखोकी जिउ तथा टाउको दुख्ने लक्षणबाट सुरु हुन्छ । त्यसपछि विस्तारै टाउकोको अगाडिको भाग दुख्ने, ज्वरो आउने आदि हुन्छ । ज्वरो बेलुकीपख बढ्छ र हरेक दिन केही ज्वरो बढ्दै जान्छ । बिरामीको ज्वरो कुनै बेला घट्ने र कुनै बेला बढ्ने पनि हुन सक्छ तर साधारण अवस्थामा आउँदैन । बिरामीलाई भोक नलाग्ने र विस्तारै सिकिस्त हुँदै जान्छ । ज्वरो बढ्नुको अनुपातमा नाडीको गति कम हुनु, कहिलेकाहीँ बान्ता आउनु, काँचो केराउको झोल जस्तो पखाला लाग्नु वा दिसा कब्जियत हुनु आदि पनि हुन्छ । यस्ता लक्षणहरू एक हप्तासम्म देखा पर्दछन् । दोस्रो हप्तामा ज्वरो बढी आउने र नाडीको गति अझ कम पनि हुनसक्छ । शरीरको प्रायः सबै भागमा र मुख्यगरी पेटमा गुलाबी दाना आउने, शरीर कम्पन हुने र बिरामी बेहोस पनि हुनसक्छ । कलेजो र फियो सुन्निन सक्छ । वर्षायाममा पानीकै कारणले मात्र लाग्ने हेपाटाइटिस ‘ए’ भाइरसद्वारा सङ्क्रमित भई ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, थकान महसुस हुनेजस्ता लक्षण देखा पर्न सक्छ । एकपटक हेपाटाइटिस ‘ए’को उपचार गरेपछि पुनः देखा पर्दैन । हिजोआज पहिले गर्भवती महिलामा मात्र बढी देखिने हेपाटाइटिस ‘ई’ पुरुषमा पनि बढ्दो छ । यसमा बिरामीको कलेजो सुनिन्छ । उपरोक्त दुवै हेपाटाइटिस दूषित पानी र खानाबाट सर्दछ । काँचो फलफूल र मासुबाट सर्ने विभिन्न किसिमका जुका पनि यो समयमा देखिन्छ । लामखुट्टेजन्य रोगहरू  वर्षायाममा लामखुट्टे लाग्दा र टोक्दा उच्च र तीब्र ज्वरो हुने डेंगु, औलो, फिलेरिया, इन्सेफलाइटिस, मेनिन्जाइटिस हुने सम्भावना रहन्छ । त्यसैगरी सैण्डफलाइले बिरामीको छाला कालो हुने, कलेजो सुन्निने, कालाजर लगाउँछ । लामखुट्टेजन्य रोगबाट बच्न लामखुट्टेको विकास र जीवनचक्र पूरा हुन दिनु हुँदैन जसका लागि लामखुट्टेको टोकाइबाट मानिस जोगिनु पर्दछ । वर्षायाममा सर्पदंशको समस्या पनि निकै हुने गर्दछ । सर्पले टोकेको ठाउँमा दुई दाँतको गहिरो निसान देखिन्छ । केही क्षणमै उक्त ठाउँमा फोका उठ्न थाल्दछ, दुख्छ र सुनिन्छ । रगत अलिक लामो समयसम्म आइरहन्छ । पीडितलाई वाकवाकी लाग्छ, मुखबाट र्याल निक्लन्छ, डर त्रासले उत्तेजित हुन्छ, ओंठ र मुख सुख्छ, तिर्खा लाग्छ, मुटुको धड्कन बढछ भने आँखी भौं, परेला तल झर्छ । खान निल्न पनि समस्या हुन्छ । बोल्दा जिब्रो लर्बराउने, हिड्दा खुट्टा लडखडाउने र समय बित्दै जाँदा आँखाले एउटा वस्तुको दुई छाया देख्ने, आँखा खोल्न गाह्रो हुने गर्दछ । विरामीलाई श्वास लिन समस्या हुन्छ भने पक्षघात देखिने र तीनदेखि छ घण्टापछि पिसाव रातो भएर आउँछ । विषालु सर्पले टोकेपछि मानिसको श्वासप्रश्वासमा अवरोध भई, मांसपेशीमा पक्षघात भई, रक्तचाप ज्यादै न्यून भई अचेत हुन जान्छ र मृत्यु हुन्छ । तर व्यवहारमा ६० प्रतिशत जति सर्पदंशमा या त सर्प विषालु हुँदैन या विष टोकेको स्थानमा नपर्ने तथा परे पनि कम भएको पाइने गरेको छ । मानिस जति आतिन्छ, त्यति रक्तसञ्चार बढ्छ र विष छिटो शरीरमा फैलिन्छ । विषविहीन सर्पले टोक्दा पनि मानिस आत्तिने गर्दा ह्दयाघात, छिटोछिटो सास फेर्ने, टोकेको ठाउँमा घोचेजस्तो हुने, टोकेको ठाउँ वरपर सुन्निने, रक्तश्राव, निलो, फोका उठ्ने, सङ्क्रमण तथा नेक्रोसिस, कुहिने, हातखुट्टा बाउडिने वा नचल्ने, बेहोस हुनेजस्ता लक्षण देखिन्छन् । टोकेको ठाउँदेखि शरीरमा विष फैलन नदिन सर्पले टोकेको खुट्टा वा हात चल्न नदिने गर्नुपर्छ  । टोकेको ठाउँदेखि दुई–तीन  इन्चमाथि मुटुतिर अलगअलग तीन ठाउँमा ब्याण्डेज, डोरी, रुमाल बाँध्ने र एउटा औला पट्टीभित्र मुस्किलले छिर्न सक्ने गरी बाँध्ने तर प्रत्येक १५ मिनेटमा आधा मिनेट डोरी खोली रक्तसञ्चार हुन दिनुपर्दछ । यदि अस्पताल वा स्वास्थ्य संस्था धेरै टाढा भएमा वा त्यहाँसम्म पुग्न तीन घण्टाभन्दा बढी समय लाग्ने अवस्था भएमा तत्कालका लागि प्राथमिक उपचार गरेर मात्र व्यक्तिलाई अस्पतालतिर लानुपर्दछ । मनसुनजन्य विपद तयारी र प्रतिकार्य  उच्च जोखिममा फलाइङ स्क्कार्ड तयारी, खोज, उद्धार र राहतका लागि स्रोतसाधनको ब्यवस्थापन गरिएको छ । देशका ३४ स्थानमा चेतावनीमूलक साइरन प्रणाली जडान भएको र थप १५ स्थानमा गरिँदैछ । नेपाली सेनाले १० हजार आठ सय ४७, नेपाल प्रहरीले १० हजार पाँच सय ५८ र सशस्त्र प्रहरी बलले नौ हजार नौ सय २४ सुरक्षाकर्मीहरू विपद् प्रतिकार्यका लागि तयारीमा छन् । सेनाले इटहरी, सुर्खेत र काठमाडौँमा हेलिकप्टर तैनाथ छन् । बेलीब्रिज, बोटजस्ता आपत्कालीन सामान रणनीतिक स्थानहरूमा राखिएका छन् । कमाण्डपोष्ट खडा गरिएको छ । त्यसैगरी प्रदेश, जिल्ला र स्थानीय तहमा तयारी अवस्थामा रहने गरी प्रतिकार्य भइरहेको छ । पूर्वतयारीसम्बन्धी क्रियाकलापहरूका बारेमा सूची बनाई तयारी मन्त्रालयले गरिसकेको छ भने प्रतिकार्यसम्बन्धी सूचीकृत मुख्य क्रियाकलापहरूमा विपद्को असरको आधारमा सङ्घीय तथा प्रादेशिक तहका स्वास्थ्य विषयगत क्षेत्र सक्रिय बनाउने, स्वास्थ्य क्षेत्रको दु्रत लेखाजोखा गर्ने, तथा सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सन्देशमूलक सूचना र सचेतना अभिवृद्धिमा जोड दिनु रहेका छन् । त्यस्तै प्रभावित स्थानमा द्रुत प्रतिकार्य टोली परिचालन, आकस्मिक चिकित्सकीय टोली परिचालन, हैजा, डेंगुका किट, खोप, औषधिजन्य सामग्रीको व्यवस्था, एम्बुलेन्सको परिचालन, बिरामी तथा घाइतेको व्यवस्थापन, नमूना परीक्षण, शव व्यवस्थापन, भेक्टर नियन्त्रण, महामारीको उपचार, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, मनोसामाजिक नसर्ने तथा सर्ने रोगहरूको नियमितता, घुम्ती स्वास्थ्य सेवा गर्नेगरी प्रतिकार्य काम भइरहेका छन् । त्यस्तै हटलाइनहरू पनि सञ्चालनमा छन् । अन्तमा रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ । जुनसुकै उमेर, वर्ग र तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनुपर्छ । उमालेको पानीको प्रयोग गर्नुका साथै खाना खानुअघि र पछि साबुनपानीले हात धुनुपर्दछ । जथाभावी दिसापिसाब नगर्ने, बासी सडेगलेका र अपच हुनेगरी खुला ठाउँमा राखिएका खाना खानु हुँदैन । व्यक्तिगत सरसफाइ र घर वरपरको वातावरण सफा राख्नुपर्दछ । रासस (लेखक केन्द्रीय कारागार अस्पतालका प्रमुख तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता हुन् )

मौद्रिक नीतिमा मोह, कर्जामा कमिसन

काठमाडौं । अहिले अधिकांशले मौद्रिक नीति कस्तो आउँदैछ भनेर चासो दिन थालेका छन् । तर, मौद्रिक नीति सार्वजनिक हुनु अगाडि नेपाल राष्ट्र बैंक धेरै बोल्दैन । अधिकांशले मौद्रिक नीतिमा धेरै अपेक्षा गरेको देखिन्छ । कसका के अपेक्षा छन् भनेर राष्ट्र बैंकले सुझावका रूपमा संकलन गरिरहेको छ । सबैले आआफ्नो क्षेत्रबाट सुझाव तथा माग गरिराख्नु भएको छ । तथ्य तथ्याङ्क, वर्तमान अवस्थाका आधारमा राष्ट्र बैंकले मौद्रिक नीति तयार पार्छ । देशको मूल्यवृद्धि उच्च छ भने मौद्रिक नीति कडा आउँछ भने मूल्यवृद्धि सहज वा भएका बेला केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति ल्याउनु स्वाभाविक हो । केन्द्रीय बैंक तथ्याङ्कभन्दा बाहिर नगई सन्तुलन भएर मौद्रिक नीति ल्याउँछ । राष्ट्र बैंकका गभर्नरले लचिलो मौद्रिक नीति ल्याउँछु भन्नु भएको छ भनेर यस विषयलाई सहज रूपमा नलिनु होला । वर्तमान अवस्था र तथ्याङ्कलाई अध्ययन गरेर राष्ट्र बैंकले कस्तो मौद्रिक नीति ल्याउँछ भनेर सहज रूपमा अनुमान गर्न सक्नुहुन्छ । राष्ट्र बैंकले मौद्रिक नीतिसँगै फाइनान्सियल सेक्टर पोलिसी पनि ल्याउँछ । र, अधिकांशको चासो त्यतातिर देखिन्छ । कोभिड महामारीमा धेरै महत्वपूर्ण काम गर्दा अवस्था सहज अवस्था बन्यो । त्यसैले कोभिडकालमा ल्याइएको जस्तो मौद्रिक नीतिको अपेक्षा आफूहरूले नगरेको निजी क्षेत्रले स्पष्ट रूपमा भनिरहेको छ । अर्थात् कोभिडको समयमा जुन अपेक्षा गरिएको थियो, त्यो अपेक्षा अहिले नरहेको निजी क्षेत्रले भनिरहेको छ । तर, व्यक्तिगत समस्यालाई सामान्यीकरण गरेको देखिन्छ । आफू अनुकुल गर्न खोजिरहेका छन् । व्यक्तिले आक्रामक रूपमा कर्जा लिएका छन् । त्यसबाट कसरी निस्किने भनेर विभिन्न उपाय खोजिरहेका छन् । त्यो सकसबाट बाहिर निस्किन राज्य, राष्ट्र बैंकले सहयोग गर्छ कि भनेर आशा राखिएको छ । र, ती आशालाई अन्तिममा राष्ट्र बैंकको मौद्रिक नीतिमा ठोक्काउन खोजेको महसुस हामीहरूलाई भइरहेको छ । मौद्रिक नीतिका आफ्नै सीमा छन् । त्यसैले धेरै हात फैलाउन वा हाँगा फिजाउन सक्दैन । सीमाभित्र रहेर राष्ट्र बैंकले काम गर्छ । यो विषय सबैले बुझिदिनुपर्छ । मौद्रिक नीतिको पूर्वसन्ध्यामा दैनिक दुईटा कार्यक्रममा भइरहेका छन् । ती कार्यक्रममा कतिपय साथीभाईहरूले यो–यो वस्तुमा लोन टू भ्यालू रेसियो बढाइदिनुपर्याे भनेर माग गर्नुहुन्छ । अहिलेको लोन टू भ्यालू रेसियो हुँदा त धेरै आत्तिनु भएको छ । अझै योभन्दा बढाउँदा अर्काे वर्ष साँचो बुझाउन आउनुहुन्छ । राष्ट्र बैंकले कसैलाई ऋणमा डुबाउने गरी नीति ल्याउँदैन । व्यक्तिलाई उद्यमी बनाउने हो । व्यवसाय धान्ने वातावरण वा नीति बनाइदिने हो । साथै सुधारका कार्यक्रम पनि ल्याउँछौं । वर्किङ क्यापिटल गाइडलाइन पनि सुधार नीतिका रूपमा अघि सारिएको हो । सुरुवातमा धेरै विरोध भयो । तर, पछिल्लो समय पचाइसक्नु भएको छ । सकारात्मक प्रभाव परेको देखिन्छ । वर्किङ क्यापिटल गाइडलाइनले ऋणीलाई ऋण लिन कुनै बाधा–अड्चन हुने छैन भनेर विभिन्न सार्वजनिक फोरमहरूमा भनिरहेको छु । यदि कहीँकतै समस्या देखियो भने सिधैं राष्ट्र बैंकमा गुनासो वा सुझावका रूपमा पेस गर्दा हुन्छ । ग्राहक संरक्षणका लागि राष्ट्र बैंकले छुट्टै डिभिजन नै खडा गरेको छ । आगामी आर्थिक वर्षदेखि मार्केट कण्डक्सन (बजार संचालन) को काम पनि गर्ने योजनामा छ । अब संस्थाको नियमन मात्रै नभएर ग्राहक संरक्षणसँग सम्बन्धित विषयमा पनि सुपरीवेक्षण राष्ट्र बैंकले गर्नेछ । एक जना ठूलो व्यवसायी म कहाँ आएर वर्किङ क्यापिटलका कारण मेरो व्यवसाय रोकियो, बैंकले पनि विभिन्न कुराहरू गर्न थालेको छ भनेर गुनासो गर्न थाल्नुभयो । त्यसपछि म आफैंले विगत ५ वर्षको फाइनान्सियल विवरण अध्ययन गर्दा पर्मानेन्ट वर्किङ क्यापिटल रिक्वायरमेन्ट धेरै ठूलो देखियो । रेगुलर बस्नुपर्ने स्टक प्रशस्त छ । त्यसका लागि ३ देखि १० वर्षको वर्किङ क्यापिटल लिन सकिने व्यवस्था छ । त्यसैले विरोधका लागि विरोध नगर्न आग्रह छ । व्यवहारिक हिसाबमा समस्या परेको छ भने राष्ट्र बैंकको ढोका खुला छ । बैंकबाट कर्जा लिँदा कमिसन खाने गरेको सार्वजनिक कार्यक्रममा एक जना इन्जिनियर र विकास बैंकका अध्यक्षले गुनासो गर्नुभयो । यो राष्ट्र बैंकका लागि पटक्कै स्वीकार्य छैन । यस्ता विषय हाम्रो कानमा परेपछि चुप लागेर बस्दैनौं । राष्ट्र बैंकका लागि योभन्दा ठूलो विषय केही हुन सक्दैन । दुवै जनाले कुन व्यक्ति र कुन बैंक हो, त्यसको प्रमाण दिनुपर्छ । होइन भने बिना प्रमाण र बिना आधारका विषय सार्वजनिक फोरममा गरेर केही अर्थ हुँदैन । राष्ट्र बैंकले सयौं जनालाई कारबाही गरेको छ । ग्राहकसँग खाता लिंक भएकै संकेतका आधारमा राष्ट्र बैंकले कारवाही गरेको हो । तर, तपाईहरू सार्वजनिक कार्यक्रममा कर्जा लिँदा कमिसन लिएको प्रमाण देखाउँछु भनिराख्नु भएको छ । केन्द्रीय बैंकका लागि यो विषय गम्भीर हो । योभन्दा ठूलो आक्षेप बैंकका लागि अरू केही हुँदैन । कुन व्यक्ति र कुन बैंकले कमिसन लिएको हो त्यसको सबै प्रमाण केन्द्रीय बैंकलाई दिनुपर्छ । होइन भने सार्वजनिक कार्यक्रममा बोल्न पाए भन्दैमा जे पायो त्यही बोल्न मिल्दैन । नेपालको अर्थतन्त्रमा विपन्न वर्ग तथा प्राथमिकता प्राप्त क्षेत्र जरूरी छ । भलै विकसित अर्थतन्त्रमा यस्ता विषयले अर्थ नराख्न सक्छ । प्राथमिकता प्राप्त क्षेत्र जलविद्युतमा १० प्रतिशत कर्जा अनिवार्य नगरेको भए यति धेरै पीपीए हुने थिएनन् । हाल ३३ सय मेगावाट जलविद्युत उत्पादन भइरहेको छ । आगामी वर्ष ४५ सय मेगावाट उत्पादन गर्ने सरकारको लक्ष्य छ । अब अरूण तेस्रोबाट पनि बिजुली उत्पादन भएपछि क्षमता अझै व्यापक बन्छ । बैंकहरू जहाँ कम जोखिम छ त्यहाँ बढी कर्जा दिन रुचाउनुहुन्छ । आयात गर्ने, आयातको फाइनान्सिङ गर्ने, सामान बेच्ने र कर्जा तिर्नेलाई कर्जा दिन बैंकहरू सहज मान्नुहुन्छ । तर, राज्यको उद्देश्य आयात गर्ने मात्रै होइन । आन्तरिक उत्पादन बढाउने र रोजगारी श्रृजना गर्नु पनि हो । त्यसका लागि बैंकिङ प्रणालीमा रहेको स्रोतलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ । २०८४ सालसम्म कृषिमा १५ प्रतिशत अनिवार्य कर्जा प्रवाह गर्नुपर्छ । त्यसपछि कृषिमा ३ खर्ब बराबरको आयात रोकिन्छ । साना उद्यमीलाई पनि प्रोत्साहन गर्नुपर्छ । उनीहरू अर्थतन्त्रका खम्बा हुन् । १५ प्रतिशत साना उद्यममा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ । विपन्न वर्गतर्फ ३० लाख ग्राहकहरू छन् । जसमध्ये अधिकांश महिला छन् । उहाँहरूले ससानो ऋण विपन्न वर्ग क्षेत्रका माध्यमबाट पाउनु भएको हो । व्यक्तिगत जीवन परिवर्तन गर्न र जीवन निर्वाहका लागि ठूलो योगदान पुर्याएको छ । कहिलेकाहीँ काम गर्ने शिलशिलामा केही समस्या आउँछन् । जसले काम गर्छ उसका बारेमा धेरे कुराहरू आउनु स्वभाविक हुन्छन् । त्यसलाई अन्यथा लिनु हुँदैन । काम गर्दैगर्दा समस्या आयो भने डराउनु हुँदैन । समस्या र चुनौती व्यवस्थापकका लागि कच्चा पदार्थ जस्तै हुन् । ती समस्या र चुनौतीसँग जुधेर समाधान गर्न अग्रसर हुनुपर्छ । त्यसैले हाम्रो अर्थतन्त्रमा विपन्न वर्ग तथा प्राथमिकता प्राप्त क्षेत्रमा जाने कर्जा आवश्यक छ । बजार सोही अनुसार परिपक्व हुनुपर्छ । बैंकहरू स्वनियमन र अनुशासित हुनुपर्छ । आफ्नो पोर्टफोलियो विविधिकरण, व्यवस्थापन, सन्तुलित र राष्ट्रिय आवश्यकता अनुसार परिचालन गर्नुपर्छ । वित्तीय प्रणालीमा नियमन भएन भने सहकारीको जस्तै स्थिती हुन्छ । त्यसैले नियमन हुँदैमा आत्तिनु पर्दैन । तर, ती नियमन बजारमैत्री, बैंकिङमैत्री छन् कि छैनन् भन्ने विषय महत्वपूर्ण हो । नियमन हुँदा नै बैंकिङ प्रणाली जोगिएको छ, रिजनेबल बनाएको छ, विश्वास जगाएको छ । तापनि बैंकहरूमाथि शंका गरिरहेका छन् । त्यसकारण नियमन आवश्यक छ, राष्ट्र बैंकले सोही अनुसार काम गरिरहेको छ ।

विद्यार्थीले कक्षा दशपछि के पढ्ने ?

एसइई परीक्षामा २०८० सालमा सामेल विद्यार्थीहरू अहिले कक्षा ११ को भर्नाका लागि आफूलाई पायक पर्ने सानादेखि ठूला सहर र केन्द्रमा परामर्श लिन दौडधुप गरिरहेका छन् । विद्यार्थीका अभिभावकहरू आफ्नो नानीबाबुको पढाइ र सुन्दर भविष्यका लागि आवश्यक खर्चको जोहो गर्ने र परामर्श लिने क्रममा हुनुहुन्छ । अबको ५० हजार विद्यार्थी एसइई पास गरेर ११ कक्षामा भर्ना हुनेछन् । यस क्रममा कक्षा ११ मा के पढ्नु उपयुक्त होला ? भनी अभिभावकहरूले जिज्ञासा बढ्न थालेको छ । विषय छनोट कसरी गर्ने  ?  हरेक बालबालिका १० कक्षासम्मको पढाइ पूरा गर्ने क्रममा उसको लगाव प्राकृतिक विज्ञान वा सामाजिक विज्ञानमध्ये एकातिर अलि बढी भएको कुरा उसको शिक्षक, अभिभावक वा ऊ आफैँले पहिचान गरेको हुनुपर्छ । प्रकृति विज्ञानअन्तर्गत भौतिकशास्त्र, रसायनशास्त्र, जीव विज्ञान आदि पर्छन् । यसले एउटा तथ्यलाई संसारभरि त्यही तथ्यका रूपमा स्वीकार्छ । जस्तो दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन मिसाउँदा त्यो नेपालमा भए पनि अमेरिकामा भए पनि पानी नै बन्छ, त्यो चाहिँ प्राकृतिक विज्ञान हो । समाज विज्ञानमा लेखा, अर्थशास्त्र, वाणिज्य शिक्षा आदि पर्दछन् । समाज विज्ञानले तथ्यलाई समयसापेक्ष बुझ्न सिकाउँछ । जस्तो नेपालको गरिबीका कारण अमेरिकाको गरिबीको कारणसँग मेल खाँदैन । त्यसैले समाज विज्ञान पढ्न पढाइसँग नेतृत्व गर्ने, व्यवस्थापन गर्ने आदि सीप विकास गर्दै लानुपर्ने हुन्छ । यस क्रममा विद्यार्थी कक्षा ९ र १० तिर पढिरहँदा उसले दिने सृजनात्मक उत्तर, उसले बनाउने परियोजना कार्य, कक्षाको छलफल वा उसले प्रयोग गर्ने ग्याजेटस आदिबाट थाहा पाउन पनि सकिन्छ । यदि बालबालिकाहरू बढी जागरुक छभने उसले कोरेको आफ्नो भविष्यको योजनाले समेत यसको जानकारी दिन्छ । खासगरी प्राविधिक स्वभावको बालबालिकाले प्राकृतिक विज्ञान, सामाजिक सीप जस्तैः नेतृत्व लिन चाहने, भाषाशैलीमा महत्व दिने, व्यवस्थापकीय सीपमा चाख राख्ने बच्चाहरूले समाज विज्ञान पढेको राम्रो हुन्छ । विशेष सीप जस्तैः सङ्गीत, हस्तकला, चित्रकला आदितिर झुकाव भएकाहरूले त्यसैअनुसारको विषय छनोट गर्न उपयुक्त हुन्छ । यी विषय छान्नुपूर्व विद्यार्थीहरूले पहिले आफ्नो जीवन खुसी हुने आदर्श पेसा कुन हो र केही गरी त्यो भएन भने दोस्रो छनोट के हो भनेर निर्धारित गर्नुपर्ने हुन्छ । त्यसका लागि १५, १६ वर्षको उमेरमा विद्यार्थीहरू पढेलेखेका अभिभावक र आफन्तहरू तथा मित्रहरूले सहयोग गुर्नपर्छ । त्यसैले कुनै पनि विद्यार्थीले आफ्नो विषय छनोट गर्दा विषयको गम्भीरता र त्यसले दिने रोजगारी आफूलाई मिल्दो, सुहाउँदो र इच्छाएको हुन्छ कि हुँदैन भन्ने विषयमा राम्ररी परिकल्पना गरेर निश्चित गर्नु उपयुक्त हुन्छ । के गर्नु राम्रो हुँदैन ? हाम्रो पुरानो विश्वासका आधारमा धेरै नम्बर पाएका विद्यार्थीहरू प्राकृतिक विज्ञान पढ्ने, मेडिकल, इन्जिनियरिङ आदि गर्नुपर्ने भन्ने मान्यता राख्नु हुँदैन । कुनै पनि पेसा आफैँमा ठूलो सानो छैन । कुन तहको काममा सम्बन्ध छ भन्ने कुराले सन्तुष्टिको तहलाई फरक पार्दछ । अनावश्यक रूपमा बालबालिकालार्ई दसैँका टीका लगाउँदादेखि यस्तो बनोस्, उस्तो गरोस् भनेर सुनाउन आफैँ मा घुमाउरो पाराले अभिभावकको इच्छालाई विद्यार्थीको भविष्यमा मुखरित गरिएको हो । यो आफैँमा घातक छ । कुनै पनि विद्यार्थीलाई सानो उमेरमै विज्ञान पढ्ने होला तिमीले, उसले–उसले यो पढेर यसो गर्यो आदि कुरा गर्नु हुँदैन । किनकि त्यस्तो गर्दा विद्यार्थीको वास्तविक क्षमता भएको क्षेत्र पहिचान नै गर्न सक्दैन । मानिस स्वभावतः ठूलो देखिन खोज्ने प्राणी हो । बालकालिकालाई हामीले विज्ञान ठूलो हो भन्ने प्रभाव दिँदा धेरै बालबालिकाहरूले आफू अरुहरूभन्दा ठूलो देखिनका लागि नै विज्ञान पढ्ने निधो गर्दछन् । यो अन्ततोगत्वा गलत हुन्छ । त्यस्तै कतिपय अवस्थामा बच्चाहरूलाई तिमीलाई जुन राम्रो लाग्छ, त्यही पढ भन्छौँ । यो पनि बच्चालाई आज राम्रो लागेको कुरा सधैँ राम्रो नलाग्न सक्छ । उसको कलिलो उमेरले त्यो सबै निर्णय गराउन पनि उपयुक्त हुँदैन । त्यसका लागि विज्ञहरूको परामर्श चाहिन्छ । बालबालिकाले विषय छनोट केका आधारमा गरेको हो, त्यसै अनुसार विज्ञले परामर्श दिनु उपयुक्त हुन्छ । धेरै जस्तो अवस्थामा बालबालिका साथीभाइ जता जान्छन् र जे पढ्छन्, त्यसै गर्छु भनी आफ्नो निर्णय साथीलाई गर्न दिन्छ । यो अत्यन्त प्रत्युत्पादक हुन्छ । त्यसैले कोही पनि बालबालिकाले विषय छनोट गर्दा भविष्यको पेसाको कमाई, सुरक्षा, नाम प्रतिष्ठा, पहिचान, बुबाआमाको इच्छा, देश प्रेम, समाजको आवश्यकतामध्ये कुन आधारमा गरेको छ भनी विज्ञसँग बसेर छलफल गर्नु उपयुक्त हुन्छ । केही विद्यार्थी तथा अभिभावकहरू अहिलेलाई विज्ञान पढ्दै गरौँ र पछि जता पनि जान पाइन्छ भन्ने खालको तर्क पनि गर्नुहुन्छ । कक्षा ११ मा पुग्दा फेरि नेपाली र अङ्ग्रेजीबाहेक अरू सबै विषयको विकल्प छ । आफू जाने पेसा र विषयलाई कम ध्यान दिएर अन्य विषयवस्तुलाई बढी समय दिइराख्नु पनि तर्कसङ्गत छैन । प्रायः कक्षा १० सम्म विद्यार्थीको लगाव छुट्याउन नसकेका अभिभावकहरू यो मतमा आउनुहुन्छ, त्यो त्यति हितकारी छैन । केही अभिभावक विज्ञान गाह्रो विषय हो र त्यो पढेर पछि अरू विषय पढ्न सजिलो हुन्छ । त्यसैले अहिले विज्ञान नै पढ्दै गरोस् भन्ने तर्क दिनुहुन्छ । यो तर्क झट्ट हेर्दा सही हो कि जस्तो लागे पनि यस तर्कले विद्यार्थीको भावनालाई प्रतिनिधित्व कदापि गर्दैन । यसमा अभिभावकको विचारको हाबी देखिन्छ । केही अभिभावक र विद्यार्थीहरू कुन विषय पढ्दा विदेश जान सजिलो हुन्छ भनी प्रश्न गर्ने गर्नुहन्छ ।खासगरी विकसित देशहरूमा शिक्षा दिने तरिका ज्यादै फरक छ । उनीहरू अन्डर ग्राजुयट तहसम्म विद्यार्थीलाई सामान्य र धेरै विषय पढाउँछन्, दर्शनशास्त्रलाई धेरै महत्व दिन्छन् । विषय छनोटमा व्यापक लचकता दिन्छन् । त्यसैले हाम्रो पाठ्यक्रम उनीहरूको भन्दा नितान्त फरक हो । विदेश जानलाई कक्षा ११ को यो वा त्यो विषयले तात्विक फरक पार्दैन । कति अभिभावकहरू परामर्शमा आउँदा घुमाउरो हिसाबले आफ्नो बालबालिकाले डाक्टर, इन्जिनियर पढोस् भन्ने चाहनुहुन्छ । यसको कारण सोध्दा उहाँहरूको आफ्नो स्वार्थ देखिन्छ । कतै न कतै डाक्टरको इन्जिनियरको मामा, काका, आमाबुबा हुने स्वार्थ त्यसमा देखिनु सही हुँदैन किनकि कोही पनि विद्यार्थीले अभिभावकको स्वार्थलाई त्यति महत्व दिएको पाइँदैन । कतिपय अभिभावकहरू सबैभन्दा राम्रो विषय के हो ? भनी सोध्नुहुन्छ, यसको उत्तर के हुन सक्छ ? विषयहरू गुणात्मक रूपमा प्रस्तुत गर्न मिल्दैन, सानो ठूलो विषय भन्ने हुँदै हुँदैन । कुनै विषयलाई कुन तहसम्म अध्ययन गरियो र कस्तो जनशक्ति तयार भयो  भन्ने कुरा नै प्रमुख हुन्छ । के गर्नुपर्छ ? विसं २०८० को एसइईको नतिजा केही दिनभित्रै आउँदैछ । हामीसँग जति बाँकी दिनहरू छन्, ती दिनहरूमा विद्यार्थीलाई विभिन्न पेसाका बारेमा खोज अध्ययन गर्न लगाऊँ । विद्यार्थी कहिलेकाहीँ आफू सेतो कोट लगाएर मेडिकल डाक्टरको काम गरेको, कहिले नीलो कोट लगाएर प्रशासक बनेको, कहिले कालो कोट लगाएर न्याय तथा कानुन सेवामा काम गरेको, कहिले बैङ्कर भएको, कहिले प्रोफेसर भएको, कहिले फौजी सेवा, कहिले व्यापार–व्यवसाय आदिमा काम गरेको कल्पना गर्न लगाऊँ । सम्बन्धित त्यस्ता ठाउँहरूमा पुर्याएर कामको प्रकृति देखाऊँ, कामको अनुभूति पनि गराऊँ । तिमी १० वर्षपछि कुन काम गरिरहेको सपना देख्छौ भनी उसको बानी व्यवहार र रुचि निश्चित रूपमा पहिचान गर्न सक्यौँ भने उसले पहिले पेसा छनोट गर्न सक्छ । एउटा विद्यार्थीले पहिले आफ्नो पेसा छनोट गरोस् । अनि उक्त पेसालाई चाहिने विषय छनोट गरोस् । त्यसपछि उक्त विषय पढाउने संस्था छनोट गरोस् । संस्था छनोट गर्दा पनि केही सावधानी अवश्य अपनाओस् । सामान्यतयाः विद्यार्थीलाई अभिभावकहरूले कलेज हेरेर आऊ भनी पठाउनुहुन्छ, जब ऊ कलेज छनोट गर्न आउँछ, उसँग खासै केही प्रश्न हुँदैनन् । प्रायः विद्यार्थीले सोध्ने गर्छन्, “यो कलेज कस्तो छ ?” खासगरी कुनै पनि संस्थामा गएर यो संस्था कस्तो छ भनी सोध्दा के उत्तर आउँछ रु त्यसैले कलेज छनोट गर्न अभिभावकहरूले पनि विद्यार्थीसँगै जानुपर्छ र संस्थाको स्थायित्व, विगतको परीक्षाको परिणाम, पढिरहेका वा पढाइसकेका विद्यार्थीहरूको उदाहरण र सफलता, खर्च, पढाइको वातावरण, शिक्षक शिक्षिका र कर्मचारीको स्थायित्व र क्षमता, पूर्वाधार, लगानीकर्ता आदि पक्षको राम्रो तुलनात्मक अध्यापन गरेर मात्र निष्कर्ष निकाल्नु उपयुक्त हुन्छ । कुनै संस्थाले अस्वाभाविक रूपमा अधिक खर्च लिँदैमा वा न्यून खर्चमा पढाइदिन्छ भन्दैमा वा खर्चको हिसाबमा मात्र शैक्षिक संस्थालाई राम्रो वा नराम्रो भन्नु गलत हुन्छ । कहिलेकाहीँ अस्वाभाविक ज्यादा मूल्यले पनि उपभोक्तालाई आकर्षण गरेको देखिन्छ । खासगरी यस समयमा कलिला विद्यार्थीहरूलाई राम्रो परामर्शदाता, विषयविज्ञ, अनुभवी र दक्ष मानव संसाधनविद्को परामर्शमा डोर्याउनु अति आवश्यक हुन्छ । निष्कर्ष एउटा विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि विषय छनोट र स्कूल छनोट गर्ने कुरा उसको जीवनमा एकपटक मात्र आउने र उसको जीवनपर्यन्त महत्व राख्ने विषय भएकाले हामी अभिभावक र आफन्तहरूले उसको यो महत्वपूर्ण घडीमा अत्यन्तै सजग र जिम्मेवार हुनुपर्छ । यस कार्यमा अभिभावकले आफ्ना नानीबाबुलाई समय र साथ दिएर विषय छनोट गराउनु उपयुक्त हुन्छ । यस कार्यमा बौद्धिक र व्यावसायिक परामर्शदातासँग सल्लाह र सुझाव लिँदै विद्यार्थीको रुचिको विषय, उसको स्वभाव र बानी व्यवहारलाई समेत उपयुक्त हुनेमा ध्यान दिनुपर्छ । यस क्रममा पहिलो कुरा विद्यार्थीले भविष्यमा अपनाउन चाहेको पेसाको छनोट, दोस्रो कुरा उक्त पेसालाई चाहिने विषय छनोट र तेस्रो कुरा छानिएको विषयलाई राम्रो वातावरणमा उपयुक्त सेवा पुर्याउन सक्ने संस्थाको छनोट गर्नु उपयुक्त हुन्छ । यसरी विषय र संस्थाको छनोट गरे विद्यार्थीको अध्ययन सही मार्गमा प्रवेश गरेसँगै उसको भविष्यको पेसागत गन्तव्य सहज बन्छ र अभिभावकको लगानीको सदुपयोग हुन गई उनीहरूको मनोकाङ्क्षा पनि पूर्ण हुन्छ । रासस (लेखक काठमाडौं बर्नहार्ट स्कूल/कलेजका प्रिन्सिपल हुन्)