गभर्नर नियुक्तिमा ‘परीक्षा’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि अहिले प्रधानमन्त्री पद फलामको चिउरा बनेको छ । सत्ता गठबन्धनका लागि सुरुमा प्रमुख दल नेपाली कांग्रेसले निर्वाध र स्वतन्त्र रूपमा काम गर्न दिए पनि पछिल्लो समय ओलीको अराजकता, सुस्त कार्यशैली, देशभन्दा पार्टी र कार्यकर्तालाई महत्त्व र उनको मपाइत्वप्रति दिक्क बन्दै नेपाली कांग्रेस उनको विकल्प खोज्ने कि आफू हावी हुने भन्ने रणनीति बुनिरहेको छ । सुरुवाती दिनमा सरकार र राजनीतिक स्थायित्वका लागि ठूला राजनीतिक दलले गठबन्धन गर्नुपरेको तर्क दिँदै आएका नेपाली कांग्रेसका नेताहरू अहिले खुला मञ्चहरूमा ओलीको आलोचनामात्रै होइन, संघीन आरोप लगाउनुपर्ने स्थितिमा आइपुगेका छन् । प्रधानमन्त्रीको कुर्सीमा बसेर ओलीले जुन किसिमको कार्यसम्पादन गरिरहेका छन्, त्यसमा सिंगो नेपाली कांग्रेससँगै सत्तासीन दलहरू पनि असन्तुष्ट छन् । यसअघि विभिन्न निकायमा नियुक्तिका लागि भाग खोज्ने प्रवृत्ति र अभ्यासबाट आजित बन्दै राजनीतिक स्थायित्वका लागि गठबन्धन गर्नुपर्ने अवस्था सिर्जना भएको भनेर तर्क गर्ने नेकपा एमाले र कांग्रेसीहरू अहिले त्यही नियुक्तिको भागबन्डा नमिलेर छुट्टिने कि भन्ने बार्गेनिङको बाण बजाइरहेका छन् । विशेषगरी नेपाली कांग्रेसकै शीर्ष नेता तथा पदाधिकारीहरूले नै सार्वजनिक रूपमै ओलीको आलोचना गरेर उनलाई आमसर्वसाधारण र राजनीतिक वृत्तमा धूमिल पारेर साथ छोड्ने संकेत देखाइरहेका छन् । प्रधानमन्त्री ओलीले गलत काम गरे पनि सुरुवाती दिनहरूमा त्यसलाई ढाकछोप गर्ने प्रयत्न गरिरहेको नेपाली कांग्रेस ‘अब यो किसिमले भएन’ भन्दै विकल्प खोज्ने दाउमा देखिएको छ । त्यसको सुरुवात नेपाली कांग्रेसकै महामन्त्री गगनकुमार थापाले गरेका छन् । सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्यसमेत रहेका थापाले यो पाराले नहुने धारणा राख्नुले पनि पछिल्लो समय कांग्रेस ओलीको कार्यशैलीप्रति सन्तुष्ट नभएको बुझ्न सकिने आधार पर्याप्त छ । ‘बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म भयो, यस्तो अवस्थामा प्रधानमन्त्री ओलीलाई काँध थाप्न सकिँदैन’ भन्ने थापाको अभिव्यक्तिले पनि ओली र कांग्रेसको सम्बन्ध पातलिँदै गएको बुझ्न सकिन्छ । उनको त्यो बोलीलाई कांग्रेसकै अन्य नेताहरूले पनि समर्थन गरेका छन् । ओलीले काम गर्न नसकेको उनीहरूले स्वीकार गरेका छन् । विगतका दिनहरूमा सरकारमा सामेल नभएर आफू प्रतिपक्षमै बस्ने धारणा राख्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षकै मौका पारेर २०८२ मा नयाँ गठबन्धनको सरकार बन्ने वक्तव्य दिएका छन् । यसले पनि राजनीतिक कोर्स बदलिँदै गएको बुझ्न धेरै गाह्रो छैन । ओलीप्रति कांग्रेसीहरूको असन्तुष्टि सार्वजनिक मञ्चबाटै प्रस्फुटन हुनु, २०८४ सम्म सरकारमा जान्नँ भनेर तराई-मधेश जागरण अभियान थालेका प्रचण्डले पुनः वर्तमान गठबन्धन भत्किएर नयाँ समीकरण बन्न सक्ने धारणा प्रष्ट रूपमा राख्नुले पनि वर्तमान सत्ता गठबन्धन धर्मराएको बुझ्न धेरै टाढा जानु पर्दैन । यसअघि नेपाल धितोपत्र बोर्डका अध्यक्षको नियुक्तिमा कुरा नमिलेर तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धन भत्किएर एमाले र कांग्रेसको गठबन्धन बनेको थियो । त्यतिखेर बिचौलियाहरू हाबी भएको आरोप लागेको थियो । बिचौलियाले ओलीलाई आफ्नो फन्दामा पारेर धितोपत्र बोर्डको अध्यक्षमा आफूले चाहेको व्यक्ति नियुक्त गरेरै छाडेको आरोप अहिलेसम्म सेलाउन सकेको छैन । सोही घटनाको पुनरावृत्ति नेपाल राष्ट्र बैंकमा पनि देखिन डर अन्य राजनीतिक दल, वित्तीय क्षेत्र, वित्तीय क्षेत्रका विज्ञ तथा सरोकारवालाले पनि गरेका छन् । ओलीले पुनः स्वार्थ समूहको व्यक्तिलाई गभर्नर बनाउन सक्ने अनुमान गर्दै सरोकारवालाले यसप्रति चिन्ता र चासो व्यक्त गरिरहेका छन् । मंगलबार दिएको गगन थापाको वक्तव्यले पनि त्यो आशंका र अनुमानलाई थप पुष्टि पार्ने काम गरेको छ । ओलीको अराजकता र मपाइत्वको आलोचना गर्दै नेपाली कांग्रेसले पनि विभिन्न निकायको नियुक्तिमा भाग खोजिरहेको छ । नेपाल बीमा प्राधिकरणमा कांग्रेसले आफू निकट व्यक्तिलाई अध्यक्ष बनाएको चर्चा पनि बजारमा छ । नेपाल राष्ट्र बैंकमा पनि कांग्रेसले भाग खोजिरहेको छ । तर, प्रधानमन्त्री ओलीले बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकमा आफूले रोजेको व्यक्ति नै गभर्नर बन्नुपर्ने अडान राखेका छन् । तर, कांग्रेसले भने आफ्नो भागमा गभर्नर नपरे गठबन्धन नै टुट्न सक्ने चेतावनी र धम्की ओलीलाई सांकेतिक भाषामा दिइरहेको छ । धेरैले मंगलबारको गगन थापाको वक्तव्य यही चेतावनीको एउटा सार भएको बुझेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले गभर्नरका लागि आ-आफ्ना उम्मेद्वारको लिष्ट पकेटमा राखेको छ । गभर्नर कसले पाउने भन्ने विषयको निर्क्यौलपछि यी दुई दलबीच ती व्यक्तिहरूमध्ये कसलाई गभर्नर बनाउने भन्ने विषयले स्थान पाउनेछ । दुवै दलले स्वार्थ समूहले बोकेका व्यक्तिलाई गभर्नर बनाउने योजना बुनिरहेका छन् । जसरी नेपाल धितोपत्र बोर्डमा एउटा व्यावसायिक घराना र व्यावसायिक स्वार्थ समूहले बोकेको व्यक्ति अनेक रस्साकस्सी र मुद्दा-मामिलाबीच नियुक्त गरियो, सोही घटना नेपाल राष्ट्र बैंकमा दोहोरिने निश्चित नै बनिसकेको छ । अर्थतन्त्र समस्याबाट गुज्रिरहेको बेला, उद्योगी तथा व्यवसायीको मनोबल कमजोर बनिरहेको बेला र सरकारप्रति सर्वसाधारणको दृष्टिकोण र विश्वास गुम्दै गइरहेको बेला सरकारले स्वायत्त र स्वतन्त्र नियामक निकायको छवि निर्माण गरेको नेपाल राष्ट्र बैंकको गभर्नरमा क्षमतावान, अनुभवी र योग्य व्यक्ति नियुक्त गर्नुपर्ने अपेक्षा धेरैको भएपनि सरकारले भने राष्ट्र बैंकको जिम्मा राजनीतिक निकट तथा स्वार्थ समूहको व्यक्तिलाई दिने तयारी गरेको भन्दै आलोचना समेत हुने गरेको छ । केही सञ्चारमाध्यमले गभर्नर नियुक्तिमा एक अर्बको सेटिङ भइरहेको समाचार पनि सम्प्रेषण गरिरहेका छन् । नेपाल विद्युत प्राधिकरणमा राम्रो काम गरिरहेका कुलमान घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने सरकारको निर्णय नेपाली कांग्रेसलाई मन परेको छैन । १५ दिनदेखि विभिन्न माग राखेर सडकमा रहेका शिक्षकहरुको माग सम्बोधनमा सरकारले देखाएको मौनतामा पनि कांग्रेसको चित्त बुझेको छैन । यिनै विषय र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न काँग्रेसले बैशाख ७ गते केन्द्रीय कार्यसमितिको बैठक पनि बोलाएको छ । नेपाली कांग्रेसकै नेताहरूले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक रूपमा बोल्न थालेपछि ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । भेटवार्तामा ओली र देउवाबीच गभर्नरको लागि सहमति भइसकेको दाबी पनि गरिएको छ । यो दाबी सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नै गरेका छन् । ‘प्रधानमन्त्री ओली र देउवाबीच गभर्नर कसलाई बनाउने भन्ने विषयमा सहमति भइसकेको छ, अब राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुन्छ’ भन्ने उनको भनाइले पनि अब राष्ट्र बैंक योग्य व्यक्तिभन्दा पनि राजनीतिक र स्वार्थ समूहको अखडा बनेको बुझ्न धेरै घोत्लिनु पर्दैन । तर, दशकौंदेखि एउटा स्वायत्त र स्वतन्त्र नियामकको रूपमा काम गर्दै आएको राष्ट्र बैंकमा शीर्ष दलहरूको गठबन्धन रहेकै सरकारले राजनीतिक र स्वार्थ समूहको फन्दामा परेर गभर्नर नियुक्त गर्नु आफैमा लज्जास्पद विषय हो । यदि तपाईं/हामीले अनुमान गरेका स्वार्थ समूहका उम्मेदवार नेपाल राष्ट्र बैंकको गभर्नर बनेमा नेपाली कांग्रेस र नेकपा एमालेले इतिहासको पानामा कालो धब्बाको बीजारोपण गर्नेछन् । विगतका गभर्नरहरूले जोगाएको स्वायत्तताको सान नेपाली कांग्रेस र नेकपा एमाले मिलेर तीलाञ्जली दिनेछन् । सार्वजनिक भाषणमा प्रष्ट बोलेर उखान-टुक्कामार्फत् सर्वसाधारणलाई मनोरञ्जन दिन माहिर प्रधानमन्त्री ओलीको लोकप्रियताको ग्राफ पछिल्लो समय आरालो लागिरहेको छ । पार्टीभित्र पनि उनीप्रतिको सम्मान स्खलित भइरहेको छ । नेकपा एमालेका नेता कार्यकर्ताले उनको खुलेरै आलोचना गर्न नसके पनि अनौपचारिक छलफलमा उनीप्रति आक्रोश पोख्ने गरेका छन् । ओलीकै कारण नेकपा एमाले आलोचित बन्दै गएको विश्लेषण पनि एमालेकै नेता तथा कार्यकर्ताले गर्न थालेका छन् । सर्वसाधारणमा ओलीप्रतिको विश्वास गुम्दै गएको छ । यही समयमा ओलीले स्वार्थ समूहको व्यक्तिलाई गभर्नर बनाउने चेष्टा तथा निर्णयमा गरेका ओलीको मात्रै होइन, सिंगो नेकपा एमाले, नेपाली कांग्रेस, अर्थमन्त्री विष्णु पौडेल र गभर्नर सिफारिस समितिका सदस्यहरू पनि राष्ट्र बैंकको स्वायत्तता चीरहरण गर्ने मतियारका रूपमा पुस्तौं–पुस्ताले चिन्नेछन्/बुझ्नेछन् । राष्ट्र बैंकको गभर्नरको नियुक्ति सत्तासीन ठूला दुई दल, प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर सिफारिस समितिको अग्नि परीक्षामात्रै मात्रै होइन, उनीहरू कसका लागि र केका लागि काम गरिरहेका छन् भन्ने विषयको थप प्रमाणित र पुष्टि गर्ने आधारशीला पनि हो ।
बीमा गराउँदा बुढी ठूस्स, ४० लाख पाएपछि छोरी डाक्टर
खेमराज ढकाल तपाईं एक घन्टा कुनै योगी वा महात्मासँग गफ गर्नूस्, संगत गरेको केहीबेरपछि तपाईंमा जीवन केही होइन् भन्ने भान पर्दछ र तपाईंमा वैराग्यता आउन थाल्दछ । तपाईं केहीबेर कुनै राम्रो राजनीतिकर्मीसँग बस्नूस्, केही बेरपछि तपाईंलाई पनि राजनीति गर्न वा उसको कार्यकर्ता हुन मन लाग्दछ । तपाईं कुनै डिस्को वा वारमा कुनै जाँड पिउने साथीसँग केहीबेर बस्नूस्, एकछिन पछि तपाईंलाई पनि उसको कुरा सुनेर जाँड पिऊँ पिऊँ जस्तो लाग्छ । हामी जसको र जस्तो सगंत गर्दछौं, विस्तारै हामी पनि ऊ जस्तै हुन थाल्दछौं । झन् बीमा अभिकर्ताको कुरा सुन्यौं भने त हामीलाई लाग्न सक्छ– जीवन केही होइन, हामी जतिखेर पनि मर्न सक्छौं… बरु आफू बाँच्दा वा जीउँदो छँदभन्दा मरेपछि एकमुष्ठ पैसा आउने हुँदा बरु मर्दा फाइदा छ । आजभन्दा पन्ध्र–सोह्र वर्ष अगाडिको कुरा हो । मेरो एकजना मिल्ने साथी जो पेशाले जीवन बीमाको अभिकर्ता हुन् । ऊ र म साथी भएको नाताले र उसको पेशा नै अरूलाई बीमा गराउने भएकोले ऊ बारम्बार मेरो घरमा आइरहन्थ्यो । एकछिनको औपचारिकता निभाएपछि ऊ बीमा गर्ने होइन त भनेर मसँग पेशागत मार्केटिङ गरिहाल्थ्यो । म भने बीमामा खासै रुचि नभएकोले र पैसा पनि नभएकोले जहिले पनि हरेक भेटमा ठाडै नाइँ भन्न नसकेर र साथी रिसाउँछ भन्ठानेर हाँसीहाँसी पछि गरौंला नि भनेर टार्दथें । मलाई र मेरो श्रीमतीलाई बीमासम्बन्धी कुनै ज्ञान नभएकोले बीमा गर्नुपर्दछ भन्ने लाग्दैनथ्यो । झन् मेरी श्रीमती त उसलाई देखिसहदिन थिइन् । भन्थिन् कस्तो हो … हजुरको साथी जहिले पनि घरमा आई बीमा गर, बीमा गर मात्र भन्छन् । उनको संगत नगर्नू है… यस्ताको …। काठमाडौंको बसाइँ महगो छ, घरखर्च गर्न त धौधौ छ, बीमा गर्ने खर्च कहाँ बाट ल्याउने …? म भने उनलाई फकाउँदै नरिसाउन, साथी हो, उसको पेसै यस्तै छ, बरु चिया पकाइदेऊन भनेर फकाउँथे । उनी भने रिसाइरिसाइ साथी र मलाई चिया पकाउँथिन् । तर यो चोटि उसले अति नै कर गर्यो मलाई । सायद यो महिना एउटा पनि उसको पोलिसी नबिकेको हुनुपर्दछ । मैले संधै झैं उसलाई टार्दै पछि गरौंला नि, हुन्न ? भनें । उसले पछिपछि भनेर नभन्न यार, आज त एउटा पोलिसी जसरी पनि काटदछु …के तँ मेरो साथी होइन ? उसले साथीको प्रश्न उठायो, मैले हो नि त, मेरो मिल्ने साथी हो भनेर भनें । उसले साथी हो भने एउटा जीवन बीमा गर न त भनेर अति नै कर गर्यो, मैले अहँ भन्नै सकिनँ । विस्तारै हुन्छ भनेँ । ऊ औधी खुसी भयो । म भने मनमनै बीमा गर्ने पैसा कहाँबाट ल्याउने होला भनी सोंचिरहें । कर गरेर भएपनि बीमा त गर्ने भइयो । अब कुरा आयो कसको गर्ने । उसले मलाई सुझाव दिँदै परिवारमा तँ नै कमाउने हो, तेरै गर्नुपर्छ । यदि तँलाई भोलि केही भइहाल्यो भने अथवा मरिस् भने त एकमुष्ठ पैसा भाउजूले पाउनु हुन्छ । ऊ स्टे्रट फरवार्ड मान्छे सिधै भनिदियो तँ मरिस भने एकमुष्ठ पैसा आउछ भनेर । श्रीमतीले यो कुरा सुनेर मलाई इसाराले कोठामा आउन आदेश दिइन् । म डराइडराइ एकछिन है भनेर साथीलाई बैठककोठामै छोडेर श्रीमती भएको कोठामा गएँ र फकाउँदै भने के भयो ? श्रीमतीको अनुहार मलिन थियो, घुँक्कघुँक्क रुँदै उनले भनिन्, ‘चाहिँदैन बीमासीमा… कस्तो साथी हो यो तपाईंको ? तपाईं मरेपछि पैसा आउछ रे… तपाईं मरेपछि मलाई पैसाको के काम । मेरो श्रीमती अलि भावनात्मक र संवेदनशील मान्छे भएकोले म मर्ने कुरा सुनेर होला उसलाई चोट परेको । मलाई केही हुन्न क्या… भनेर उसलाई कोठामै छोडेर एकछिन है भनेर म फेरि साथी भएको बैठककोठामै आएँ र भनें– मेरो नगर्दा हुन्न ? उसले फेरि उसो भए छोरीको गरौं न त भन्दै सुझायो । छोरीको पढाइको लागि शैक्षिक बीमा । अन्ततः मेरो ३ वर्षे छोरीको नाममा शैक्षिक बीमा गरियो, १६ वर्षे अवधिको, बीस लाख रुपैयाँ बीमाङ्कको । जसमा मैले महिनामा करिब दश हजार जति तिर्नु पर्ने भयो । उसले हाँस्दै पोलिसी काट्यो, म भने भित्रभित्र खर्च बढ्यो भनेर खिन्न भइरहेको थिएँ । उसले पोलिसी काट्दै मलाई ढाडस दिँदै भन्न थाल्यो– कहिले काही किस्ता तिर्ने पैसा भएन भने भन्न म हालिदिम्ला सापटी । मैले टाउको हल्लाई स्वीकृति दिएँ । छोरीको शैक्षिक बीमा गरेको त्यो रात श्रीमती मसँग धेरै रिसाइन्, अब प्रत्येक महिना बीमालाई दश हजार तिरेपछि केले घर खर्च गर्ने ? के खाने ? त्यही पोलिसी पकाउने हो अब ? आफै पुर्याउनु घरखर्च, तलब मलाई दिनु पर्दैन अब भन्दै रिसाइन् । त्यो रात रिसाएर घरमा खाना पनि पाकेन, नखाई सुतियो । साँच्चै भन्नुपर्दा चार पाँच दिन मेरो र श्रीमतीबीच बोलचाल नै बन्द भयो । झन कहिलेकाही गफैगफमा त्यो बीमा अभिकर्ता मेरो साथीको कुरा निस्कियो भने ऊ मलाई खाउँला जसरी हेर्थिन् । त्यस्ता साथीको कुरा नगर्नु है मसँग, त्यस्तालाई घरमा पनि ल्याउनु पर्दैन भन्थिन् । कहिलेकाँही भने उसलाई म घरबाहिरै भेट्थेँ । यद्यपि पछिल्लो समय भेट पातलिँदै गइरहेको थियो । मैले एउटा पोलिसी किनिदिएर होला र मसँगको स्वार्थ पुरा भएर होला प्रायः आउने साथी बिस्तारै टाढिँदै गयो । आखिरमा उसको काम फत्ते भयो, अब किन पो आउँथ्यो र मेरोकहाँ ? उसलाई पोलिसी बेच्नुथ्यो बेच्यो । यता मैले बीमाको किस्ता नियमित नै तिरिहरेको थिएँ । घर खर्च गर्न धौधौ परिरहेकै थियो । समयको अन्तरालसँगै छोरीले पनि एसईईमा ए प्लस ल्याइन् । सानैदेखिको उसको डाक्टर पढने रहरले राम्रै कलेजमा साइन्स पढाइयो र प्लस टु पनि राम्रैसँग पास गरिन् । आज झन खुसीको दिन थियो । एमबीबीएस इन्ट्रान्समा छोरी पास भएकोले अब छोरी डाक्टर पढ्ने र उसको रहर पुरा हुने पक्का थियो तर डाक्टर पढ्न साठी लाखजति लाग्ने भएकोले यत्रो पैसा कहाँबाट ल्याउने भनेर हामी चिन्तित थियौं । सम्पत्तिको नाममा हामीसँग केही थिएन । झन मेरो सानो जागिर त्यसमा पनि काठमाडौको बसाइँ– खान लाउन र छोरीलाई पढाउँदा दैनिक घर खर्च चलाउन धौधौ नै थियो । बैंक ब्यालेन्स जिरो थियो । विवाहको श्रीेमतीको गरगहना बेच्दा र मेरो नोकरीको सञ्चयकोषको सबै रकम निकाल्दा पनि बीस–बाइस लाख मात्र जोहो हुन्थ्यो । छोरीलाई डाक्टर पढाउन साठी लाख लाग्दथ्यो, जसमा बीस लाख घटाउँदा पनि चालीस लाख पुग्दैनथ्यो । अरू तिरबाट सरसापट माग्न नखोजेको पनि होइन । तर भनेको बेला कस्ले दिन्छ र सापटी ? फेरि तिर्नु पनि त पर्यो नि त, कसरी तिर्ने ? भनेको बेला कोसँग पैसा हुन्छ आजकाल ? फेरि कसले पत्याउने ? थोरै भए पो सापटी माग्नू । र अन्त्यमा हामी निराश हँुदै छोरीलाई डाक्टर नपढाउने बरु नर्स पढाउन धेरै खर्च नलाग्ने भएकोले नर्स नै पढाउने निर्णय गरियो । छोरीको सानैदेखिको डाक्टर पढ्ने सपना भए पनि, उसले डाक्टरमा नाम निकाले पनि बल्लबल्ल उसलाई नर्स नै पढ ल छोरी, बाबामामुसँग त्यत्रो पैसा छैन भनेर सम्झाइयो र अन्त्यमा ऊ पनि नमानीनमानी नर्स नै पढ्ने निधो गरिन् । आज छोरीको नर्सको इन्ट्रान्स परीक्षाको दिन, छोरी परीक्षा दिनको लागि ठिक्क पर्दै थिइन् । म र मेरो श्रीमती पैसाकै कारणले छोरीलाई डाक्टर पढउन नसकेको र हाम्रो कारणले छोरीले नर्सको परीक्षा दिन लागेको सम्झेर मन खिन्न भइरहेको थियो । एक्कासि घरको मूल ढोकामा कारको हर्न बज्यो । सायद कोही आएको हुनुपर्दछ । हामीले ढोका खोल्यौं । गाडीमा त उही मेरो पूरानो साथी पो रहेछ, उही क्या त बीमा अभिकर्ता । ऊ वर्षौंपछि मेरो घरमा आएको थियो । उसलाई देख्दा निकै ऊ निकै बदलिएको देखिन्थ्यो । उसले टिलिक्क टल्केको जुत्ता र निकै राम्रो सुट लगाएको थियो । संधै बाइक चढ्ने ऊ आज कारमा थियो । मैले पनि औपचारिकता देखाउँदै आऊ बस भने । चिया खाने हो त भनेर सोध्न आँट पनि आएन । मेरो श्रीमतीले मन नपराएको मान्छे हो ऊ । ‘कहाँ हराएको यत्रो दिन’ भनेर मैले गफको प्रसंग कोट्याएँ । ‘म कहाँ हराएँ र ? बीमाको काम यस्तै हो … थाहा नै छ त तिमीलाई । अहिले म बीमा कम्पनीको प्रदेश हेड भइसकेँ नि त, धेरै देश पनि डुलिसकेँ, पैसा पनि राम्रै कमाइयो । ऊ त्यो कार छ नि त्यो पनि कम्पनीले मलाई नै दिएको हो,’ उसले भन्यो । मैले उसलाई बधाईसँगै यो तिम्रो मिहिनेतको परिणाम हो भनेँ । हाम्रो कुरा सुनेर श्रीमती रिसाइरहेकी थिइन् । ऊ वर्षौंपछि हाम्रो घरमा आउँदा पनि मेरो श्रीमतीको मन र रिस भने अझै मरेको थिएन । वर्षौपछि कसरी सम्झियौ त मलाई आज भनी मैले प्रश्न गरेँ । उसले आफ्नो ब्यागबाट कागजपत्र निकाल्दै मलाई एक चेक थमाउँदै भन्यो, ‘ल यो राख चालीस लाखको तिम्रो छोरीको नामको चेक । थाहा छ तिमीले छोरीको सोह्र वर्षे शैक्षिक बीमा गरेको थियौ नि, बीस लाखको त्यसको भाका पुग्यो । तिमीले तिरेको बीस लाख र त्यसको बोनस गरेर जम्मा चालीस लाख भयो । म त्यही दिन आएको ।’ म खुसीले गदगद भएँ । नसोचेको पैसा आज एक्कासि हातमा आइपुग्यो । बीमा भनेको त खर्च भन्ठानेको थिए, यो त बचत पो रहेछ । मैले उसलाई आफ्नो कमिशनको लागि बीमा गराएको होला भन्ठानेको थिएँ, त्यसो होइन रहेछ । मैले उसलाई कति गलत सोंचेछु । बीमा अभिकर्ताहरू हामीजस्ताको लुखुरलुखुर घर धाइरहन्छन्, बीमा नगरुन्जेल लिसोजस्तै टाँस्सिरहन्छन् भनेर सोचेको होइन रहेछ । बीमा भनेको त हाम्रौ लागि रहेछ । भविष्यको जोखिम कम गर्न पो रहेछ । बल्ल आज मैले बुझेँ । यदि आजको यो स्वार्थी दुनियाँमा हाम्रो लागि आफ्नो परिवारबाहेक बाहिरको कोही सोच्ने छ भने त्यो बीमा अभिकर्ता नै हो । मैले बल्ल बीमाको महत्व बुझेँ । यत्तिकैमा छोरी पनि नर्सको परीक्षा दिन तयार हुँदै कोठाबाट बाहिर ठीक्क निस्केकी मात्र के थिइन्, ती मेरा साथीले सोधिहाले– तिम्री छोरी त ठूली भइसकिछिन्, कतिमा पढ्दैछौ छोरी ? उसले छोरीलाई कतिमा पढ्छौ भनेर के प्रश्न गरेका मात्र थिए यता मेरी श्रीमतीले हाँस्दै र मेरो हातको उसले भर्खरै दिएको चालीस लाखको चेक हेर्दै छोरीले अब डाक्टर पढ्छे भनिन् । सायद श्रीमतीले चालीस लाखको बीमाको चेक मेरो हातमा देखेर हुनुपर्दछ छोरीलाई डाक्टर पढाउन आँट आएको । मैले पनि मनमनै गरगहना र सञ्चयकोषको गरी बीस लाख, अनि बीमाको चालीस लाख जम्मा गरी साठी लाख । म खुसीले फुरुङ भएर भनेँ– हो डाक्टर पढ्छे । मेरो साथीले पनि बधाई दिँदै हामीबाट बिदा हुन खोज्यो । यता म भने चियासम्म खुवाउन नसकेकोमा दुःख मानिरहेको थिएँ । एक्कासि श्रीमतीले भान्साबाट हामीनिर आई छोरीलाई हजारको नोट दिँदै चोकबाट छोरीलाई मासु लिन भनिन् । उनले साथीलाई भनिन्, ‘आज चिया होइन, मासुभात खुवाउँछु मेरो देवर बावुलाई । आज यतै बस्नुपर्छ है । बीमा सम्बन्धी धेरै कुरा बुझ्न मन लागेको छ मलाई ।’ मेरी श्रीमती र साथी गफ गर्दै थिए, यता म भने मेरो श्रीमतीको साथीप्रति र बीमाप्रति आएको सकारात्मक परिवर्तन देखेर खुसी हुँदै थिएँ । तर त्यतिखेर साथीलाई नराम्रो सम्झेकोमा मनमनै पश्चाताप पनि भैरहेको थियो । उता भान्साबाट मेरी श्रीमतीले मेरो साथीलाई सोेध्दै थिइन्, ‘साँच्ची बावु यो बीमा अभिकर्ता बन्न के गर्नु पर्दछ ? म पनि बनूम् कि क्या हो बीमा अभिकर्ता ?’
नयाँ वर्षको प्रतिज्ञा र मानसिकता परिर्वतनको यात्रारम्भ
मानिसमा निहित सोच तथा विश्वासहरूले उनीहरूको व्यवहार तथा क्रियाकलापहरूलाई प्रत्यक्ष तथा परोक्षरूपमा प्रभावित पार्ने गर्दछन् । मानिसमा विद्यमान मानसिकताका आधारमा कुनै विषय वा प्रसङ्गमा कस्तो दृष्टिकोण राख्ने वा परिस्थितिहरूलाई कसरी स्वीकार गर्ने तथा प्रतिक्रिया दिने भन्ने कुरा निरन्तर रूपमा निर्धारण भैरहेको हुन्छ । जसका आधारमा मानिसहरूका शिक्षा, पेशा, व्यक्तिगत विकास, सामाजिक सम्बन्ध आदिमा नियमित तथा निरन्तर रूपमा तरंग पैदा हुन्छ । मानिसहरुका प्रतिक्रिया वा व्यवहारका आधारमा अन्तरनिहित मानसिकतालाई मुख्यरूपमा निश्चित वा स्थिर तथा विकासशील गरी दुई तरिकाले विभाजन गर्न सकिन्छ । क) निश्चित मानसिकता निश्चित मानसिकता भएका मानिसहरूले आफ्ना क्षमता, बौद्धिकता आदि जन्मजात तथा निश्चित रहन्छन् भन्ने कुरामा विश्वास गर्ने गर्दछन् जसबाट उनीहरूमा नयाँ कुरा सिक्न तथा आफूलाई परिस्थिति अनुकूल ढाल्न वा सुधार गर्नमा अनिच्छा पैदा हुने गर्दछ । जसकारणले उनीहरू सदैव चुनौती र असफलताको भयबाट जीवन व्यतित गरिरहेका हुन्छन् । आफूसँग अपरिचित विषयवस्तु, कार्य वा परिस्थिति उत्पन्न हुनासाथ प्रतिकूलताको तीब्रता महसुस गर्दै सहजै हार स्विकार गर्ने अवस्थाहरु पनि सृजना हुने गर्दछन् । उपलब्धी तथा सफलता मानव भाग्यमा जन्मदेखि नै निर्धारण हुने भएकोले जीवनका प्रयत्नका कारणले मात्रै परिवर्तन सम्भव ल्याउंदैन भन्ने धारणाको गहिरो प्रभावका कारणले स्थिर मानसिकताका मानिस प्रायः असफलताको डर, चुनौतीबीच असहजता, संघर्षमा सन्देह, पुरातन वा परम्परागत विचारमा अडिगता आदिका शिकार हुने गर्दछन् । ख) विकासशील मानसिकता व्यक्तिमा निहित क्षमता तथा बौद्धिकतामा समय, अभ्यास अनि प्रयत्नसँगै विकास हुदै जान्छ भन्ने सोंच राख्ने मानिसहरूलाई विकासशिल मानसिकतामा राख्ने गरिन्छ । यस्ता मानिसले चुनौतीको सामनालाई अवशरका रूपमा स्वीकार गर्दछन् र असफलताहरूलाई सिकाइका माध्यमका रूपमा देख्छन् । सदैप नयाँ कुरा सिक्ने कुरामा प्रेरित भैरहने यस्ता मानिस अनवरत कडा परिश्रम, अभ्यास, सकरात्मक सोच तथा निरन्तर सुधारको बाटोमा अग्रसर भैरहेका भेटिन्छन् । व्यक्तिमा विकास हुने मानसिकताले उसको जीवनको दिशा निर्धारण गर्नमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । निश्चित वा स्थिर मानसिकताले परिवर्तनलाई सदैव बहिष्कार गर्दछ भने विकासशील मानसिकताले सदैव परिर्वतनलाई सिकाइको प्रमुख आधारका रूपमा बुझिरहेको हुन्छ । लक्ष्य प्राप्तिका लागि मानसिकतालाई पनि सोहीअनुरूप ढाल्न सक्यो भने मात्र आशातित सफलता हासिल हुन सक्छ अन्यथा भाग्यलाई दोष लगाउँदै टाउकोमा हात लगाउनुको विकल्प रहँदैन । मानिसमा विकास भैरहेको वा बनिसकेका मानसिकता परिवर्तन गर्नै नसकिने भने होइन । नियमितरूपमा स्वपरीक्षण गर्दै आफ्ना दृष्टिकोणहरुमा परिवर्तन ल्याउन अभ्यासरत मानिसले आफ्ना यथास्थिति केन्द्रित मानसिकतालाई जित केन्द्रित मानसिकताले प्रतिस्थापन गर्न सक्षम रहन्छन् । अपेक्षित परिणाम र त्यसका लागि आवश्यक क्रियाकलापका निम्नानुसारका समीकरणीय बोधपश्चात आपश्यक अभ्याससहित नयाँ वर्षसँगै लिइने प्रतीज्ञाहरूमा आफ्ना मानसिकता परिर्वतनको यात्रारम्भ गर्न सक्दा पक्कै पनि उपलब्धीको प्रभावकारिता अनि आयातन ठुलो हुनेछ । १) सफलता = (धैर्य + निरन्तरता) सफलता प्राप्त गर्नका लागि केवल एउटा प्रयत्न वा एक पलको प्रयास कहिल्यै पनि पर्याप्त हँुदैन । यसका लािग धैर्य र प्रयत्नको निरन्तरताको दरकार पर्दछ । केवल अथक प्रयास र संर्घषले मात्रै मानिसलाई अन्ततः लक्ष्यमा पुर्याउने भएकोले जस्तोसुकै परिस्थितिमा धैर्य राख्दै आफ्नो यात्रा निरन्तर राख्नाले मात्रै सफलताको स्वाद चाख्न पाउँछ । २) उपलब्धी = (आत्मविश्वास + मेहनत) आत्मविश्वास र परिश्रमको उपर्युक्त सन्तुलनबाट अपेक्षित सफलता हासिल हुन सक्छ जसका लागि सर्वप्रथम सफलताको अपेक्षाकर्ताले आफ्ना क्षमतामा विश्वास राख्दै कडा मेहनत गर्दा लक्ष्यमा पुग्न सकिन्छ । बिना परिश्रम प्राप्त हुने सफलताको दिगो नहुने भएको आत्मविश्वासका साथ प्राप्त गरेको सफलताको सन्तुष्ठि अधिक हुन्छ । ३) प्राप्ती = (सकारात्मक सोंच + परिश्रम) सकारात्मक सोंच र कडा परिश्रमको तालमेलले मानिसलाई लक्ष्य प्राप्त गर्न सबलता प्रदान गर्दछ । जब मानिस आफ्ना कामहरुमा सकरात्मक तरिकाले परिश्रम गर्न थाल्दछ त्यसपछि सफलताको यात्रा अत्यन्तै प्रभावकारी बन्दै जान्छ । सकारात्मक सोचबाट मानसिकतामा सुधार आउँछ भने परिश्रमले आफ्नो फल आर्जन गर्न भएकोले यस्तो प्राप्तिको स्वाद अत्यन्तै मीठो हुने गर्दछ । ४) नेतृत्व = (अवशर + तयारी) आवश्यक तयारीको उपस्थितिमा हमेशा अवसरले सफलतालाई आकर्षित गर्ने गर्दछन् । जुन मानिस सदैव हरेक कुरामा तयार रहन अभ्यासरत रहन्छ अवसरहरूले पनि उसैलाई पछ्याउँदै नेतृत्वको शिखरमा पु¥याउने गर्दछ भने बिना तयारीमा हासिल भएको नेतृत्वले अक्सर बाँदरको हातमा नरिवलको भावनालाई चरितार्थ गर्ने बाहेक अन्य केही गर्न सक्दैन । ५) परिणाम = (विचार + कर्म) मानिसले जीवनमा हासिल गर्ने परिणाम उसको विचार अनि उसले गर्ने विभिन्न कर्मको योगफलका रूपमा उत्पन्न हुने गर्दछन् । विचारमात्रै वा कर्ममात्रैबाट पनि केही न केही परिणाम उत्पन्न त हुन सक्छन् तर अपेक्षित परिणामका लागि दुबैको उपस्थिति अपरिहार्य छ । सही विचार र उचित कर्मले निश्चिय नै उत्पन्न हुने परिणामलाई सकरात्मक बनाउने छन् । ६) चरित्र = (विपत्ति + संघर्ष) सुनको शुद्धता खारेपछि मात्रै थाहा भए झैं जीवनका कठिनाइ र संर्घषले सदैव मानिसको चरित्रलाई बलियो बनाउछ । त्यसैले अधिक प्रतिकूलताहरूसँगको सामना खदिलो चरित्रको आधार स्तम्भ हो । कठिन समयमा जुन सीप वा ज्ञान हासिल हुन्छ त्यसले सदैव जीवनमा सबलता प्रदान गर्ने गर्दछ । त्यसैले प्रतिकूलता तथा संघर्षलाई जिताइ वा सिकाइका रूपमा दिन सक्दा मानिसको चरित्र तथा मानसिकता दुबैमा सकरात्मक बल प्राप्त हुन्छ । ७) तयारी= (सपना + योजना) लक्ष्य प्राप्तिको सपना देख्नु मात्रै पर्याप्त हुँदैन, यसलाई प्राप्त गर्न आवश्यक योजना बनाउनु पर्ने हुन्छ । जसमा के कस्ता गतिविधि वा क्रियाकलाप गर्ने, कहिले गर्ने, कुन दिशामा अग्रसर बन्ने, कति परिश्रम गर्ने, कस्तो ज्ञान, सीप वा संगति हासिल गर्ने आदिजस्ता पक्षहरूको मेहेनतका साथ आँकलन तथा अनुसरण गर्न सक्दा पक्कै पनि सफलता हासिल गर्ने तयारी परिपक्क बन्न सक्छ । ८) प्रगति = (समय + प्रतिवद्धता) हरेक मानिससँग समयको सीमा हुन्छ । जसले उपलब्ध समयको सहि सदुपयोग गर्दै लक्ष्य प्राप्तिमा प्रतिबद्ध हुन्छ उसको मात्रै प्रगति सुनिश्चित हुन्छ । जसले यसलाई तालमेल गर्न सक्दैन उसको जीवन केवल गुनासो मात्रै शेष रहने गर्दछ । ९) जीवन शिक्षा = (अनुभव + शिक्षा) शिक्षाले सदैव सैद्धान्तिक ज्ञान दिन्छ भने अनुभवले त्यसलाई व्यावहारिक बनाउने भएकोले आर्जित अनुभव र शिक्षालाई एकीकृतरूपमा सदुपयोग गर्दा जीवन उपयोगित शिक्षा प्राप्त हुन्छ । जीवन उपयोगी शिक्षाको प्रचुरतासँगै जीवनका कठिनाइहरूसँगै डटेर जुधून् तथा अवसरहरूको भरपूर सदुपयोग गर्न सक्षमता वृद्धिमा टेवा पुग्छ । १०) व्यक्तिगत विकास = (आत्म आलोचना + सुधार) आत्म आलोचनाले मानिसलाई आफ्ना कमजोरीहरूको सुक्ष्म परीक्षण गरी सुधारका रणनीतिहरू बनाउन मार्गदर्शन गर्दछ जसबाट हिजोभन्दा आज क्रमिकरूपमा व्यक्तिगत विकासहरू देखिन थाल्दछन् । आत्म आलोचना र सुधारको प्रक्रियाले मानिसको व्यक्तिगत विकासमा ठूलो भूमिका खेल्ने गर्दछ । यो निरन्तर सुधारको प्रक्रियाले मानिसलाई जीवनभर विकास गर्न मद्दत गर्दछ । ११) अहंम = (१/सफलता) मानिसलाई महान तथा तुच्छ सम्म बनाउन सक्ने विशेषता बोक्ने भएकोले अहंमले जीवनमा दोधारी तरबारको काम गरिरहेको हुन्छ । यो समीकरणले मानिसहरूलाई साँचो सफलता अहंमता बढाउनमा होइन, विनम्रता स्विकार गर्नमा छ भनेर सतर्क बनाउने काम गर्दछ । जब सफलता एक हुन्छ मानिसको अहंमता शून्यमा झर्दा मात्रै मानिसको बृहत्तर वृद्धि तथा समृद्धिको मार्ग खुल्ने छ । १२) आत्मविश्वास = विश्वास / वास्तविकता हरेक क्रियाकलापहरू सम्पादन गर्दा मानिसहरूमा आत्मविश्वासको आवश्यकता पर्दछ जुन उसको विश्वास र बास्तविकता बीचको सन्तुलनबाट निर्माण हुने गर्दछ । विश्वासको अधिकताबाट अहंकारको जन्म हुन सक्छ भने वास्तविकताको बोधको कमीले क्षमताको सही सदुपयोग नहुन सक्छ । त्यसैले मानिसको विश्वासलाई वास्तविकतासँग मिलान गर्दा स्वस्थ अनि सबल आत्मविश्वास विकासमा टेवा पुग्छ । १३) खुशी = (अनुभव–अपेक्षा) × कृतज्ञता मानिसका खुसीहरू केवल बाह्य परिस्थितिहरूमा मात्रै निर्भर नभई अपेक्षा तथा वर्तमान परिवेशको बोध, प्रशंसा एवं कदर गर्ने क्षमतामा पनि निर्भर गर्दछ । यस समीकरणले मानिसलाई आफ्ना अपेक्षाहरू व्यवस्थापन गर्न, अनुभवहरूलाई बढाउन तथा कृतज्ञता व्यक्त गर्न प्रेरित गर्दछ जसबाट सन्तुष्ट, सुखी तथा खुसी जीवनका लागि मार्गदर्शन हुन्छ । १४) असफलताको लचकता = ((प्रयत्न + सिकाइ)/(भय × २)) अपेक्षित सफलता प्राप्तिका लागि यात्रामा आउने प्रत्येक असफलताहरूले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले सफलताको अभिन्न अंगका रूपमा विफलताहरूलाई लिने गरिन्छ । त्यसैले असफलतालाई तिरष्कार गर्नेभन्दा पनि लचकता अपनाउने गर्दा जीवनमा प्रयास र सिकाइ मात्र होइन डर कम तथा सामना गर्दै निरन्तर जीतको तयारीमा जुट्न प्रेरणा मिल्ने गर्दछ । असफलताहरूलाई सिक्ने अवसरका रूपमा हेर्न सक्दा मानिस जीतका लागि थप बलियो बन्नुका साथै प्रतिकूलता बहन क्षमता विस्तारमा लचिलो बन्न सक्छ । १५) असाधारण सफलता = (जोश + दृढता + धैर्य) जीवनमा असाधारण सफलता हासिल गरिरहेका मानिसहरूको जीवनलाई नियालेर हेर्दा प्रायः सबै मानिसहरूमा हुने सामान्य गुणहरूकै प्रचुरता रहेको पाइन्छ । त्यसैले असाधारण सफलता हासिल गर्नका लागि पनि प्रेम, धैर्यता तथा दृढताको मिश्रणसहितको प्रतिभा र समयको साथ लक्ष्य प्राप्तिको निरन्तर प्रयास नै हो भनेर बुझ्दा सहज हुने देखिन्छ । १६) उत्प्रेरणा =(चाहना ×एकरूपता) मानिसका प्रत्येक क्रियाकलापहरूको प्रेरक शक्तिका रूपमा प्रेरणाले काम गर्छ जुन संधै स्थिर नरहन सक्छ । उत्प्रेरणालाई अविच्छिन्न राख्न बलियो इच्छा वा चाहना तथा एकनास प्रयासको आवश्यकता रहन्छ । यो उत्साह र निरन्तर प्रगतिको संयोजन हो जसले मानिसलाई अघि बढ्न हौसाइरहेको हुन्छ । १७) एकाग्रता = (व्यतित समय × तीव्रता) / विचलित अवस्था मानिसले जीवनमा आफ्ना पूर्वनिर्धारित लक्ष्यबाट विचलित हुने अनेकन क्रियाकलापहरू तथा परिस्थितिहरूको निरन्तर सामना गरिरहको हुन्छ जसबाट उसको एकाग्रता भंग भै लक्ष्य प्राप्तिमा अवरोध सृजना हुन्छ । त्यसैले मानवजीवनमा ध्यान एकाग्र गर्न सक्नु पनि एक मूल्यवान सीप हो । यो समीकरणबाट मानिसहरूलाई एकाग्रता भनेको केबल समयको खर्च मात्र होइन कि अपेक्षित कार्यमा तीब्रता कायम गर्दै ध्यान भट्काउने तत्वहरूलाई घटाउनु समेत हो भनेर बुझ्न सहजता प्रदान गर्दछ । १८) स्व:प्रेम = (करुणा + स्वीकृति) ×क्षमा जसले आफूलाई प्रेम गर्दैन उसले कसैलाई पनि प्रेम गर्नै सक्दैन । त्यसैले स्व:प्रेम व्यक्तिगत विकासको एक आधारस्तम्भ हो । यसबाट मानिसलाई आत्मदया, आत्म स्वीकृति तथा माफी भनेको एक स्वस्थ्य आत्मचित्रको आधार समेत निर्माण हुने गर्दछ । आफूलाई दया र समझदारीका साथ व्यवहार गर्दा मानिसलाई सकारात्मक एवं समृद्ध जीवनको मार्गदर्शन हुने गर्दछ । १९) लचकता =((प्रतिकूलता ×अनुकूलन) /( भय + शंका)) मानिसको जीवन प्रायः प्रतिकूलताका चुनाैतीहरूले भरिएको हुन्छ जसबाट बाहिर निस्कनका लागि मानिसहरूसँग रहने परिस्थितिजन्य लचकताको क्षमताले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ । यस समीकरणबाट प्रतिकूलता सामना गर्दा अनूकुलनको क्षमता र भय अनि शंका घटाउन पर्ने आवश्यकतालाई प्रष्ट पार्दछ । लचिलोपन भनेको केवल कठिनाइ सहन गर्नु मात्र नभई त्यसको बाबजुत पनि समृद्धि हासिल गर्ने क्षमता विकास समेत हो । २०) दिगो सफलता = (जुनून + निष्ठा) × प्रभाव सफलताहरू केवल व्यक्तिगत उपलब्धीहरू मात्रै नभई मानिसहरूले संसारमा छोड्ने दीर्घकालीन प्रभावहरू समेत हुन् । त्यसैले दिगो सफलताको मापन मानिसहरूको जुनून, निष्ठा र वरपर देखिने सकारात्मक प्रभावका आधारमा समेत मापन हुने गर्दछ । त्यसैले सफलतालाई दिगो स्वरूप दिनका लागि वरपर सकारात्मक बाह्यता सृजना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्दछ । माथिका प्रत्येक समीकरणले मानिसलाई विभिन्न महत्त्वपूर्ण पहलुहरूमा ध्यान केन्द्रित गराउन, जीवनका चुनौतीहरूसँग जुध्न, लक्ष्यहरू प्राप्ति गर्न, खुसी तथा सुखी बन्न आदिका बारेमा बढ्ने जागरणसँगै मानसिकता तथा परिणाममा परिवर्तन वा वृद्धि हुने कुराको संकेत गर्दछन् । समीकरणीय बोध तथा दैनिक जीवनमा नियमित अभ्यासबाट मानसिकताहरूमा सकारात्मक परिर्वतन आई जीवनलाई अधिक सफल तथा सुखी मार्गमा निर्देशित गर्न सकिने प्रमाणहरू पनि माथिका प्रसंङ्गमा भेटिन्छन् । । त्यसैले यस्ता सुत्रहरूलाई आत्मसात गरेर आफ्नाे आत्मगौरव, आत्मविश्वास, खुसी, विफलतामा विजय आदिमा नयाँ आयाम स्थापित गर्न सकिन्छ, जुन प्रत्येक नयाँ वर्षहरूमा गरिने प्रतिबद्धताहरूलाई कसिलो तथा प्रभावकारी बनाउने आधार समेत बन्न सक्छ । प्रायः नयाँ वर्षसँगै मानिसहरूले आफूमा केही न केहि परिर्वतन ल्याउने, बदल्ने अथवा सुधार गर्ने प्रतिज्ञा गर्ने प्रचलनहरूसमेत रहेका छन् तर धेरै प्रतिज्ञाहरू नयाँ वर्षको पहिलो महिनाको १५ दिनसम्म पनि कायम रहँदैनन् । फेरि अर्काे वर्षमा यस्तै प्रतिज्ञाहरू भइरहन्छन् । यस नयाँ वर्ष २०८२ ले हामी सबैलाई स्वस्थ तथा सबल मानसिकता प्रवर्द्धन एवं विकासका हरेक संकल्पहरूको सुक्ष्म बोधसहित अनवरत एवं अनुशासित कार्यान्वयनमा जुट्ने ऊर्जा थप्न सकोस्, सबैलाई हार्दिक मंगलमय शुभकामना ! (उल्लेखित विचारहरू लेखकका निजी भएकाले आवद्ध संस्थाको प्रतिनिधित्व गदैनन्)