अभूतपूर्व सिक्ने र झोला थाप्ने वर्ष बन्दै २०७७ साल
काठमाडाैं । तपाईलाई जस्तै मलाई पनि नयाँ वर्ष २०७७ ले खुशी दिएको छैन । किनकी २०७७ सालमा हामी धेरैको आम्दानी घट्नेछ । लकडाउनका कारण अधिकांश कम्पनीहरुले चैत महिनाको कर्मचारीको तलव खातामा हालिदिएका छैनन् । धेरै रोजगारदातालाई कसरी कर्मचारीलाई तलव दिने भन्ने चिन्ता छ । यतिबेला रोजगारदाताहरु खर्च कटौति र कर्मचारी कटौतिका विषयमा जोडघटाउ गरिरहेका होलान् । र, कर्मचारीले तलव आएन भन्ने भन्दा पनि जागिर खोसिएला भन्ने चिन्ता गरिरहेका होलान् । विगतमा तलव वृद्धिको लागि सामूहिक सौदाबाजी गर्ने ट्रेड यूनियनहरु २०७७ सालभर कर्मचारी कटौति वा सुविधा कटौतिको विरोधमा संघर्ष गर्नेछन् । यो साल रोजगारदाता र श्रमिकबीच द्वन्द्वको वर्ष बन्न सक्छ । चैतको पहिलो सातामा २० रुपैयाँमा ३ देखि ५ वटा कागती किन्न पाइन्थ्यो । आज विहान एक दाना कागती २० रुपैयाँ किनबेच भईरहेको मैले देखेँ । बन्दबढी लम्बिदै जादा खाद्यन्यको मूल्यमा व्यापक वृद्धि भएको छ । आम्दानी घट्ने तर अत्यावश्यक बस्तुको सम्भावित मूल्य वृद्धिले आम उपभोक्तालाई ठूलै तनाव हुनेछ । २०७७ सालमा नयाँ उद्योगको कल्पना बेकार हुनेछ । निजी क्षेत्रको भूमिका नियन्त्रण गर्ने वर्तमान सरकारको नीतिका कारण नेपालीहरुले विगत केही वर्षदेखि नयाँ उद्योग खोलिरहेका थिएनन् । कोरोना भाइरस विरुद्धको खोप बजारमा नआएसम्म नयाँ उद्योग खुल्ने छैनन् । यतिबेला विदेशी लगानीको कल्पना नगरे हुन्छ । २०७२ सालको भूकम्पपछि नेपालीलाई संकटबाट माथि उकास्न मित्रराष्ट्र एवं वहुपक्षिय संस्थाहरुले जसरी सहयोग गरेका थिए, अहिले त्यस्तो सहयोग आउने छैन । विश्व बैंक र एशियाली विकास बैंकले पनि ऋण प्रस्ताव गरेका छन्, अनुदान प्रस्ताव शुन्य छ । संकटले नयाँ अवसर मिल्छ । संकटले ठूला उद्योगीहरुलाई संकटमा पार्नेछ । नविनतम सोच, बलियो आँट भएकाहरु नयाँ विकल्पका साथ अगाडि आउनेछन् । सशस्त्र द्वन्द्वपछि रेमिट्यान्स विजनेश मौलाएझै अब अनलाइन विजनेश मौलाउने छन् । आलु प्याजदेखि टिभी,मोवाइल सबै वस्तुको अनलाइन व्यापार बढ्ने छ । विकास भइसकेको तर प्रयोग नभईरहेका प्रविधिको व्यापक प्रयोग हुनेछ । जुमको विकास सन् २०११ मा भएको थियो । ९ वर्षपछि यसको प्रयोग व्यापक भएको छ, त्यो पनि कोरोना महामारीले वाध्य पारेर । आज भन्दा १ महिनाअघि नेपाली समाजमा जुम प्रयोग गरेर बैठक, सभा, सम्मेलन वाहियात कुरा थियो । अहिले नियमित प्रक्रिया भएको छ । गत साता किङ्स कलेजले एउटा अन्तराष्ट्रिय सम्मेलन जुमबाट गर्यो, जहाँ शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले सम्बोधन गरेका थिए । विकासन्युजको नियमित बैठक १०ः३५बजे हुने गरेको थियो अफिसमा पुगेर । अहिले १० बजे नै बैठक हुन्छ जुम प्रयोग, घरमै बसेर । विनोद चौधरी, चन्द्र ढकाल, पशुपति मुरारका, देवि भट्टचन, सिर्जना राणा लगायतले घरबाटै आफ्ना विजनेश मिटिङ सञ्चालन गरिरहेका छन् । सबै प्रकारका किनबेल र सबै प्रकारका भुत्तानी अनलाईनबाट गर्न सकिन्छ । प्रविधिको विकास र प्रयोग भईरहेकै छ । मात्र हामीले नजानेर प्रयोग नगरेका हौ । सिक्ने प्रयास पनि गरेका थिएनौं । २०७७ सालमा जनस्तरमा प्रविधिको प्रयोगबारे अभूतपूर्व सिकाइ हुनेछ, जसरी माओवादी द्वन्द्वकालमा नेपालीको राजनीतिक र सामाजिक चेतना अभूतपूर्व बढेको थियो । लकडाउन लम्बिएसँगै स्कूल कलेजहरुले अनलाईनबाट पढाउने प्रयास गरेका छन् । बैकिङ क्षेत्रले डिजिटल कारोबारलाई निःशुल्क गरिसकेका छन् । बीमा क्षेत्रमा हुलाक टिकटसहितको कागजी फाइलको व्यवस्था हटाएर अनलाइन डकुमेन्टेशनलाई आधिकारिकता दिइदैछ । चिठ्ठीको बदला इमेललाई मान्यता दिन १० औं वर्ष लगेको थियो नीति निर्मातालाई । कोरोनाको दवावले नेपालका शासकहरु यति गलेका छन् कि अब उनीहरुले डिजिटल सिग्नेचरको महत्व पनि बुझ्नेछन् । २०७७ सालमा नेपाली समाजमा डिजिटल सिग्नेचरले उच्च स्थान पाउन सक्छ । प्रविधिमा आधारित विजनेशहरु मौलाउने छन् । एनसेल, डिस होम, वल्डलिङ्क जस्ता प्रविधिमा आधारित सेवा प्रदायक कम्पनीहरुले यहि वर्ष विजनेशमा छलाङ मार्न सक्छन् । सेवा क्षेत्र भईकन बैकिङ, बीमाको विजनेशमा गिरावट आउने छ । धेरै क्षेत्रमा आर्थिक संकट पर्ने भएकोले वित्तीय क्षेत्र वर्षभरी नै तनावमा हुनेछ । तर उनीहरुको भूमिका भने झन् बढ्नेछ । विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिताः भविष्य कोरौं, एक लाख जितौं सेवा क्षेत्रमा शिक्षा क्षेत्र स्थीर रहने छ । तर स्वास्थ क्षेत्रमा ठूलो उथलपुथल आउनेछ । कोरोना भाइरसको त्रासले ज्वोरोको विरामीको पनि उपचार गर्न नमान्ने निजी लगानीका हस्पिटलहरुले जनविश्वास गुमाउने छन् । नीति निर्माता र विचार निर्माताको नजरमा पनि उनीहरु नराम्ररी गिर्दैछन् । २०७७ सालमा हावाई, होटल, रेष्टुरेन्ट, यातायात क्षेत्रलाई माथि उड्न सबैभन्दा बढी संघर्ष गर्नु पर्नेछ । धेरै मान्छे जम्मा गरेर खुशी मनाउने प्रकृतिको व्यवसायलाई पनि गाह्रो छ । सिनेमा हल, बैंक्वेट, खेलकुद, कन्सर्ट लगायतका विजेनशहरु २०७७ सालभर माथि उठ्न सक्ने छैनन् । सहरी क्षेत्रमा बढी कारोबार हुने घरजग्गा, सेयर, सवारीको व्यापार चौपट नै हुनसक्छ । विदेशबाट फर्केका वा सहरी क्षेत्रमा रोजगारी गुमाएका लाखौ ग्रामिण क्षेत्रमा फर्कनेछन् । त्यसले ग्रामिण क्षेत्रमा हुने कृषि तथा कुटिर उद्योग माथि उकास्ने छ । विल गेट्ले भनेजस्तै कोरोना भाइरस विरुद्धको औषधि बजारमा नआएसम्म विश्वभर लकडाउनको अवस्था जारी रहनसक्छ । नेपाल त्यसबाट अलग रहन सक्दैन । ‘नेपाल कोरोना मुक्त देश’ भन्ने मन्त्री योगश भट्टराईका विचारहरु पागलमतमा परिणत हुँदै जानेछन् । अर्थमन्त्री युवराज खतिवडाका अनुसार ३ साता लकडाउन हुँदा जीडीपीमा ४ प्रतिशतको क्षय हुने देखियो । दैनिक अर्बमा उठ्ने राजश्व करोडमा झरिसक्यो । यस्तो संकटको बेलामा सरकारले सहिबाटो लिन सकेको छैन । पवन गोल्यानले १० हजार गार्मेन्ट उद्योग खोल्छु भनेका छन् । उनको परिकल्पना राम्रो छ । उनको परिकल्पनालाई साकार गर्न सरकारले सहयोग गर्ने सम्भावना देखिदैन । सरकारले रोजगारदातालाई प्रोत्साहित गर्ने नीति नलिएर बेरोजगारलाई दाल चामल वितरण गर्ने नीति लिएको देखिन्छ । गरिव मानिसलाई माछा मार्न सिकाएर धनी बनाउनुको साटो माछा मारेर वितरण गर्ने र गरिबीलाई पालिराख्ने सरकारी नीतिका कारण यस वर्ष धेरै नेपालीहरु आफ्नो काम छोडेर झोला थाप्न जानेछन् । राजनीतिककर्मी, गैरसरकारी संस्थाका सञ्चालक तथा कर्मचारी लगायत प्रचारबाजहरूलाई याे वर्ष भ्याइनभ्याइ हुनेछ । यस वर्षकाे सामाजिक सञ्चालमा यस्ता फाेटाे सर्वाधिक देखिनेछन् । माेवाइलका क्यामराहरू दानी र माग्नीहरूकाे फाेटाे खित्न व्यस्त हुनेछन् । राहात थाप्नेले केही छाट टार्नेछन् भने दिनेहरू माला र खादामा सजिने छन् । सरकारले राहत वितरणमा अर्बौ रुपैयाँ खर्च गर्नेछ । त्यसमा सिंहदरवारदेखि वडादरवारसम्म व्यापक भ्रष्टाचार हुने आधारहरु २०७६ सालमै छरपष्ट रुपमा सार्वजनिक भईसकेका छन् । २०७७ सालमा सरकारप्रति जनआक्रोश चुलिने सम्भावना छ । वाध्यताले यो वर्ष प्रधानमन्त्री परिवर्तन हुन सक्छ । तर, फेरी पनि सरकार नेकपाले नै चलाउने छ । अन्त्यमा धेरै मानिसको मुखबाट व्यक्त हुने एउटा भनाई –‘कोरोना महामारीबाट विश्वमा यति धेरै मानवीय क्षति हुँदा पनि नेपालमा कोरोनाका कारण एक जनाको पनि ज्यान गएको छैन । पशुपतिनाथले हाम्रो कल्याण गर्नुहुनेछ ।’ नयाँ वर्ष २०७७ सालको सबैलाई शुभकामना ।
कसरी गर्ने स्वास्थ्य बीमा ? कसरी पाइन्छ दाबी भुक्तानी ?
बिमितले आफ्नो स्वास्थ्य अवस्था कमजोर हुँदा आर्थिक सुरक्षण मिलोस भनेर बीमा गर्ने गर्छन् । जस्तोसुकै आर्थिक अवस्था भएका व्यक्तिहरु पनि स्वास्थ्य बीमामा सहभागी हुन भन्ने हिसाबले सामूहिक स्वास्थ्य बीमाका योजनाहरु अहिले उपलब्ध छन् । अहिले गरेको बीमाले भविष्यमा आउँने स्वास्थ्य जोखिम तथा दुःखमा साथ दिन्छ । बैक, अस्पताल, राजदुतावासहरु, गैरसरकारी संस्थाहरु, अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु जस्ता निकायले आफ्ना कर्मचारीहरुको अहिले सामूहिक बीमा गर्दै आएका छन् । स्वास्थ्य बीमाको सन्दर्भमा बीमा शुल्कको अनुपातमा दाबी निकै धेरै आउँने गर्छ । यसको अर्थ भनेको स्वास्थ बीमा नाफाको लागि मात्र होइन, सेवामा समेत समर्पित छ भन्ने बुझ्न सक्छौं । एउटा व्यवसायको बीमा गर्दा त्यसमा अर्को बीमा सेवा थप गर्ने (एकोमोडेट) प्रकृतिका स्वास्थ बीमा अघि बढिरहेको छ । उदाहरणको लागि होटलको बीमा गर्ने क्रममा होटलमा काम गर्ने कर्मचारीहरुको समेत स्वास्थ बीमा गर्न सकिन्छ । ट्राभल मेडीकल इन्स्योरेन्स गराउँने बिमितहरु प्रायः धेरै हुने गर्छन् । विदेश जाने क्रममा इन्स्योरेन्स नभई सम्बन्धित देशले भिसा दिदैनन् । एक महिनाका लागि घुम्न जादा पनि स्वास्थ्य बीमा गर्नुपर्छ । यो बीमा एक प्रकारले अनिवार्य जस्तै छ भन्न सकिन्छ । के हो स्वास्थ्य बीमा ? सरकारले अहिले लघु बीमा संचालन गरिरहेको छ । ४ सदस्य भएको परिवारले २५ सय बीमा शुल्क बुझाउँदा ५० हजार रुपैयाँ बीमांक बराबरको बीमा गर्न मिल्ने व्यवस्था छ । सस्तोमा १२ सय ५० रुपैयाँ बीमा शुल्क वार्षिक रुपमा बुझाउँनु पर्छ भने महङ्गोमा ३७ हजार ५ सय बीमा शुल्क बुझाउँनु पर्ने बीमा योजना स्वास्थ्य बीमामा छन् । सबैभन्दा सस्तो बीमा शुल्क बुझाउँदा ५० हजार रुपैयाँ बीमांक तोकिएको छ भने सबैभन्दा महङ्गो बीमा शुल्क बुझाउँदा बिमांक रकम १० लाख रुपैयाँसम्म तोकिएको छ । यस्तै, अन्य पोलिसी मार्फत बिमितलाई स्वास्थ्य जोखिम परेको अवस्थामा बीमा सुरक्षा दिनु नै स्वास्थ्य बीमा अन्तर्गत पर्छ । बीमा कम्पनीहरुले अस्पतालसँग सम्झौता गरेर बिमितलाई उपचार छुट तत्काल प्रदान गर्नेदेखि भर्ना भइसकेपछि बिमितलाई बिल हेरेर दाबी भुक्तानी गराइरहेका छन् । साथै, अस्पतालमा भर्ना भएको बिमितले कम्तिमा २० घण्टासम्म अस्पतालमा बिताएको हुनुपर्छ । दाबी भुक्तानीको अवस्था अहिले बीमाको दाबी भुक्तानी लिन निकै सहज छ । यसमा २ किसिमले बिमितलाई सहज बनाइएको छ । एउटा भनेको बीमा कम्पनीहरुले नै विभिन्न अस्पतालहरुसँग समन्वय गरेका हुन्छन् । त्यस्तो अवस्थामा बिमितले तोकिएको प्रतिशतमा सम्बन्धित अस्पतालमा छुट पाउँन सक्छन् । अर्को भनेको बिमितले उपचार गराउँदा आफ्नो खल्तीबाट पैसा तिर्ने र उपचारपछि इन्स्योरेन्स कम्पनीबाट दाबी भुक्तानी लिने भन्ने हो । भुक्तानी दाबी गर्ने अवस्था सामान्यतः बीमा कम्पनीहरुले आवश्यक कागजात पूरा भएको अवस्थामा दाबी भुक्तानी सहजै गर्दै आएका छन् । स्वास्थ्य बीमामा पनि केही कागजात भने आवश्यक पर्छ । डाक्टरको प्रेस्कृप्सन लेखिएको पत्रले स्वस्थ्य बीमाको दाबी भुक्तानी मजबुद बनाउँने गर्छ । यस्तै, सोही उपचारकै क्रममा डाक्टरले तोकेको टेष्टहरु उल्लेख गर्नु आवश्यक हुन्छ । कुनैपनि बिमितले बीमा कम्पनीमा स्वास्थ्य खर्चका ओरिजिनल बिल पेश गर्नु पर्छ । मुख्यतः यी कुरामा मात्रै ध्यान पुर्याउदा पनि स्वास्थ्य बीमाको दाबी भुक्तानी लिन झण्झट व्यहोर्नु पर्ने अवस्था आउँदैन । दाबी भुक्तानी नपाइने अवस्था पहिलो कुरा त बीमालेखले नसमेटेको कुरामा बीमाको दाबी भुक्तानी पाइदैन । यस्तै, डाक्टरले नलेखेको भिटामिन वा फलफुलको मूल्य बीमाले भुक्तान गर्दैन । डेन्टल बिमितको हकमा कस्मेटिक रुपमा प्रयोगरिने ब्रासेस, क्राउनको पैसा बीमाले दिदैन । यति कुरा बुझेको अवस्थामा स्वास्थ्य बीमा गर्न र त्यसबाट दाबी भुक्तानी लिन समस्या हुँदैन । (प्रिमियर इन्स्योरेन्स कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिवारीसँग गरिएको कुराकानीमा आधारित)
बैंकको किस्ता तिर्ने समय १ वर्ष जति बढाउन पर्नसक्छ
कोरोनाको कारण बैंकिङ क्षेत्रको भविश्य विश्वभरी फैलिरहेको कोरोना भाइरसको महामारीले सबै क्षेत्रलाई असर पारेको छ । बैंकिङ क्षेत्रमा पनि त्यसबाट टाढा रहन सकेको छैन । यसको असर बैंकिङ क्षेत्रमा पनि परेको छ । हामी सबैले के बुझ्नु पर्छ भने बैंकिङ क्षेत्र आमनागरिकको निक्षेपबाट चल्छ । यो निक्षेपलाई सुरक्षित बनाउनको लागि सबै क्षेत्रको सहयोग उत्तिकै चाहिँन्छ । अहिले तत्कालिन रुपमा बैंकिङ क्षेत्रको समस्या भनेको धितो र ऋण हो । निक्षेपकर्ताको निक्षेप त सुरक्षित छ नै तर जसले ऋण लिनुभएको छ । उनीहरुको व्यापार व्यवसाय नचलेपछि तिर्न नसक्ने अवस्था आउँछ । त्यस्तो अवस्था आएको खण्डमा र त्यो अवस्था नआओस् भन्नका लागि सरकारले राहतको व्यवस्था मिलाउन पनि आवश्यक छ । सरकारले उनीहरुको लागि केही सावाँ व्याज तिर्ने म्याद पनि थप्ला । अहिले सरकारले चैतको किस्ता असारमसान्त भित्रसम्म तिर्न सकिने भनेको छ । तर, मलाई लाग्छ यो निर्णय हतारमा भयो । लकडाउन कतिसम्म रहन्छ, कसैलाई थाहा छैन । किनकि देशमा कोरोनाले कतिसम्म असर र संक्रमण विस्तार गर्छ भन्नेमा भर पर्छ । सबैको सहयोगबाट बैंकहरु चल्ने हो । यदि भोलि ६ महिनासम्म लकडाउन रह्यो भने पहिलेको जस्तो बैंकहरुले नाफा गर्यो भन्ने अवस्था आउँदैन । यसको असर बैंकिङ क्षेत्रमा पर्छ नै । हामीले आफै केही पनि गर्न सक्दैनौं । यसका लागि राष्ट्र बैंकको निर्देशन आउनु पर्नेहुन्छ । यदि यो लकडाउन लामो समयसम्म रह्यो भने अस्ति गरेको सम्बोधनले मात्र पुग्दैन । त्यहाँ चैतभित्र तिर्नुपर्ने किस्ता असार भित्र पनि तिर्दा हुन्छ भनेको छ । यदि यो लकडाउन लम्बियो भने अहिलेको पनि असारमा तिर्नु पर्यो र असारको पनि तिर्दा त्यो तिर्न सक्ने अवस्था आउँदैन । मलाई लाग्छ यो निर्देशन ५ महिना, एक वर्ष वा कतिसम्म गर्न सकिन्छ, गर्नु पर्छ । हामी कसरी यसको न्युनिकरण गर्छौं भन्ने कसैलाई थाहा छैन । लकडाउन खोलेर जोखिम निम्त्याउनभन्दा लकडाउन कायम नै गर्नु उचित हुन्छ । बैंकको क्वाटर रिपोर्ट र वित्तीय रिपोर्टमा परिवर्तन यो एक दुई महिनाको लकडाउनले बैंकिङ क्षेत्रको वित्तीय विवरण नराम्रो आउँदैन । ग्राकहलाई व्याज त चार्ज भइरहेको नै हुन्छ । लिने र दिने दुवै व्याज चार्ज भइरहेको हुन्छ । त्यो हिसावले त्यति धेरै परिवर्तन तथा घाटा नहोला जस्तो लाग्छ । तर, व्याज इनकम क्यास नआएकोले वितरणयोग्य नाफा घट्छ । क्यास आएपछि नाफा वितरण गर्न पाइन्छ । तर, अन्य नोक्सान खासै पर्दैन । बैंकहरुलाई अहिले प्रत्यक्ष असर पर्ने भनेको इन्ट्रेस्ट इनकम हो । बैंकको नगद इनकम घट्छ । त्यसमा कर्जाको ग्रोथ रहँदैन । रेमिटान्स पेमेन्ट पनि एकदमै घट्छ । विस्तारै सबै क्षेत्रमा कमि आउँछ । खराब कर्जामा कस्तो असर ? यो विषयमा अहिले नै आँकलन गर्न सकिदैन । समयवद्ध रुपमा कर्जाको सावा र व्याज तिर्यो भने खराव कर्जा बढ्दैन । चैतको पैसा चैतमै तिर्यो भने खराब कर्जा बढ्दैन । अन्यमा भने केही चाप चाहिँ पर्छ नै । लकडाउनको समयमा क्लाइन्ट तथा नोट ह्याण्डलिङ हामी नियमित रुपमा अफिसमै बसेर काम गरिरहेका छौं । हामीहरु मसान्त आउन लाग्यो भनेर दुरी कायम गरेर काम गरिरहेका छौं । हामीले सुरक्षित हुने सामग्रीहरुको प्रयोग बढाएका छौं । कर्मचारीहरुले आफ्नो सुरक्षाका लागि पञ्जा, माक्स लगाउने काम गरिरहेका छन् । ग्राहक पनि नजिक नआओस् भने बार लगाएका छौं । स्यानिटाइजर प्रयोग गरेर मात्र भित्र आउन दिन्छौं । भिडभाड गर्न दिएका छैनौं । यसरी नै हामीले सुरक्षित भएर काम गरिरहेका छौं । ग्राहहको चाप पनि एकदमै घटेको छ । सबै काम इन्टरनेटबाटै गरिरहेका छौं । काउन्टरमा बस्नेलाई जोखिम जोखिम सबै क्षेत्रमा छ । अस्पतालका चिकित्सकलाई पनि जोखिम छ । तर, उनीहरुले सेवा दिनेकि नदिने ? त्यो जोखिम हामीलाई पनि छ । जोखिम भएपनि हामी लागिरहेका छौं । अत्यावश्यक सेवामा आइसकेपछि हामीले सेवा दिने हो । अहिले धेरै स्टाफहरु घरबाटै काम गर्छन् । पहिले ४÷५ जना काउन्टरमा बस्थे भने अहिले एक दुई जना मात्र बसिरहेका छन् । त्यस्तो धेरै समस्या छैन । बैंकिङ क्षेत्रमा कर्मचारी कटौती हुने अवस्था अन्य क्षेत्रमा कर्मचारी हायर एण्ड फायर गर्न सकिन्छ । तर, बैकिङ क्षेत्रमा त्यो सम्भव छैन । हाम्रो नीति नियम पनि कडा छ । जतिबेला जेसुकै भएपनि हाम्रो कम्पनी धान्नसम्म कर्मचारीलाई कटौती गर्ने अवस्था हुँदैन । हामी त्यो पक्षमा छैनौं । मलाई लाग्छ, सबै बैंकहरुको हाम्रो जस्तै छ । कर्मचारी नै कटौती गर्ने खालको समस्या हाम्रोमा आउँदैन । हामी कहाँ कर्मचारी आइसकेपछि अन्य ठाउँमा जाने वातावरण पनि छैन । हामीसँग देशभर ८ सयभन्दा बढी कर्मचारी छन् । एक सय दुई शाखाहरु छन् । सबैसँग राय सल्लाह लिएर काम गरिरहेका छौं । डिजिटल बैकिङतर्फको ध्यान मलाई लाग्छ, विकास बैंकहरुमा मोबाइल बैकिङमा नै हामी लिडर हौं । मोबाइल बैकिङलाई हामीले प्राथमिकताका साथ हेरिरेहका छौं । हामीसँग ३५ वटा एटिएम छन् । बैंकमा नआउने वातावरण निर्माण गरेका छौं । मोबाइल बैकिङको एउटा टोली बनाएका छौं । जोखिम नहुने गरी काम गरिरहेका छौं । त्यो हिसावले सीमित रकम कारोबार गर्न हामीले प्रमोट गरिरहेका छौं । हाम्रोमा मोबाइल बैकिङका ४५ हजारभन्दा बढी प्रयोगकर्ता छन् । मोबाइल बैकिङमा कहिले काहिँ नेटवर्क नभएको कारणले समस्या आउन सक्ने हो । तर, अन्य भौतिक तथा क्यास ट्रान्सर्फरमा त्यस्तो कुनै समस्या र जोखिम छैन । हामीले ग्राहक आउने वित्तिकै योे सुविधा पाउनुहुन्छ भन्ने कूरा गरेका छौं । इमेल मेसेज गरेका छौं । हाम्रो डिजिटल बैंकिङ चलाइरहेका छन् । (महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लामिछानेसँग गरिएको कुराकानीमा आधारित)