सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ बिक्री खुला गर्ने
काठमाडौं । सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतका दरले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १७ लाख २३ हजार ८८० कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता सेयर सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिने बैंकले जनाएको छ । बैंकको आईपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र बिक्री नभएमा पुस १० गतेसम्म आवेदन दिन समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । बैंकको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सीआश्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितलाई दियो न्यानो कपडा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ । सोमबार आयोजित विभिन्न कार्यक्रममा सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र इलाम नगरपालिकाका मेयर केदार थापालाई न्यानो कपडा प्रदान गरिएको हो । हस्तान्तरण कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले बाढी प्रभावितलाई बैंकका तर्फबाट कपडा हस्तान्तरण गरेका थिए । सूर्योदय नगरपालिकाका बाढीपहिरो प्रभावितका लागि ३५० वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित सात बोरा न्यानो कपडा, तथा इलाम नगरपालिकाका बाढी प्रभावितका लागि १७५ वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित पाँच बोरा न्यानो कपडा हस्तान्तरण गरिएको थियो । सांग्रिला डेभलपमेन्ट बैंकले स्थापना दिवसको अवसरमा इलामका बाढी प्रभावितका लागि न्यानो कपडा प्रदान गर्ने घोषणा अनुसार यो कार्यक्रम सम्पन्न गरेको हो ।
कामना सेवा विकास बैंकले पायो अग्राधिकार सेयर निष्कासनको स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार निष्कासन गर्न स्वीकृति दिएको छ । बैंकले अंकित मूल्य १ सयका दरले ३५ लाख कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको हो । बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको छ । विकास बैंकको १८औँ वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि धितोपत्र बोर्डमा पेस गरिएको थियो । बोर्डले सबै प्रक्रिया पूरा भएपछि सेयर जारी गर्ने अनुमति दिएको हो । अग्राधिकार सेयर निष्कासनपछि बैंकको पूँजीगत संरचना थप सुदृढ हुने, पुँजीकोष बढ्ने तथा बैंकले व्यवसाय विस्तारका अवसरहरू थप पाउने अपेक्षा गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार हालको बजार तरलता तथा प्रतिफल दरको अवस्थालाई हेर्दा ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयर संस्थागत लगानीकर्ताका लागि उचित माध्यम हुनेछ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजीकोष सुदृढीकरणका लागि हकप्रद सेयरका विकल्प स्वरूप अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्न सर्कुलरमार्फत गरेको थियो ।