कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत सितापाईला, नागार्जुनस्थित हेल्पिङ ह्यान्डस बाल गृह लाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

बैंकको शाखा कार्यालय नख्खुमार्फत उपलब्ध गराइएको उक्त वाटर डिस्पेन्सर बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले बाल गृहकी प्रतिनिधि सृजना नेपालीलाई हस्तान्तरण गरेका हुन् ।

स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँचलाई सहज बनाउने उद्देश्यसहित गरिएको यो सहयोगले बाल गृहमा आश्रित बालबालिकाहरूको दैनिक जीवनयापनमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

कार्यक्रममा बोल्दै बाल गृहकी प्रतिनिधि सृजना नेपालीले बालबालिकाहरूको आवश्यकतामा सहयोग पुर्याएकोमा बैंकप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक सहयोगले संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताइन् ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू तथा बाल गृहका बालबालिकाहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्दै यस्ता सामाजिक उत्तरदायित्वका गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । 

Share News