नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
काठमाडौं । नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको बैंकले जनाएको छ । 'बैंकको यो सेवा यसअघि तीनधारास्थित केन्द्रीय कार्यालयसहित पुतलीसडक, महाराजगञ्ज, विराटनगर र पोखरास्थित शाखा कार्यालयमा मात्रै उपलब्ध थियो, अब भने काठमाडौं उपत्यकाका १७ सहित २७ शाखामा सेवा विस्तार गर्न लागिएको छ', बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाँइले भने । बैंकका अनुसार यो सेवा अब उपत्यकाभित्रका तीनधारा, पुतलीसडक, महारागञ्ज, भाटभटेनी, कुलेश्वर, ठमेल, त्रिपुरेश्वर, विजुलीबजार, मैतीदेवी, हलचोक, सातदोबाटो, कौशलटार, बानेश्वर, गुंसिगाल, कोटेश्वर, भैँसेपाटी, जोरपाटीस्थित शाखामा उपलब्ध हुनेछ । साथै उपत्यकाबाहिर इटहरी, वीरगञ्ज, बिर्तामोड, हेटौँडा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, विराटनगर र पोखरास्थित बैंकका शाखा कार्यालयमा यो सेवा उपलब्ध हुनेछ । बैंकको डिजिटल सेवा तथा अन्तर्राष्ट्रिय बैंकिङ पहुँचलाई थप सुदृढ बनाउनका लागि सेवा विस्तार गरिएको डिसीइओ बजगाँइले जानकारी दिए । नबिल अनलाइन पेमेन्ट सेवामार्फत ग्राहकले सहज र सुरक्षित ढंगले अन्तर्राष्ट्रिय रुपमा भुक्तानी गर्न सक्नेछन् । जसमा भिसा आवदेन शुल्क, विश्वविद्यालय वा कलेजको आवेदन शुल्क, बीमा तथा एसिसिए भुक्तानीका साथै शैक्षिक तथा व्यापारिक सम्मेलनको पनि भुक्तानी गर्न सकिने बैंकको भनाइ छ । बैंकका अनुसार यो सेवा लिने ग्राहकले छुट्टै अन्तर्राष्ट्रिय कार्ड राख्नु पर्दैन ।
नेप्सेमा २ बैंकको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ बैंकको बोनस सेयर सूचीकृत भएको छ । माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको बोनस बापतको सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । माछापुच्छ्रे बैंकको ४ प्रतिशत बोनस बापतको ४६ लाख ४८ हजार ५४३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गरेको हो । बैंकको गत असोज १० गते सम्पन्न २७औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो । यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत बोनस बापतको ३ लाख ९ हजार ७६५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५.७५ प्रतिशतका दरले ३ करोड ९ लाख ७६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशतका दरले १६ लाख ३० हजार रुपैयाँ नगद गरी कुल ६.०५ प्रतिशत लाभांश वितरण गरेको हो । बैंकको २०८१ चैत २७ गते सम्पन्न १२औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो ।
२५ प्रतिशत ब्याज असुल र १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गरेर मात्रै पुनर्संरचना गर्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ प्रतिशत ब्याज रकम असुल र १२.५ प्रतिशत कर्जा नोक्सानी गरेका ऋणलाई मात्रै पुनरतालिकीकरण तथा पुनर्संरचना गर्न लघुवित्त वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाहरूलाई सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको हो । चालु आव २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा लघुवित्त संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरूको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने जनाएको थियो । राष्ट्र बैंकका अनुसार लिखित कार्ययोजना पेश हुनुका अतिरिक्त त्यस्तो कर्जा पुनरतालिकीकरण गर्दाको दिनसम्म असुल हुन बाँकी ब्याजको कम्तीमा २५ प्रतिशत ब्याज रकम असुल उपर भएमा कर्जा पुनरतालिकीकरण गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । यस्तै, ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको विषयमा लघुवित्त संस्था विश्वस्त भएमा ऋणीले पेश गरेको लिखित कार्ययोजनासहित कर्जा सम्बन्धी सम्पुर्ण आवश्यक कागजात तथा धितो कर्जाको हकमा सुरक्षण समेत पर्याप्त भएको प्रमाण, कर्जा असुल हुने सम्भावनाबारे विश्वस्त भएको आधार तथा पुनरतालिकीकरण मार्फत व्यवसायको निरन्तरताका सम्बन्धमा संस्था आश्वस्त भएमा मात्रै कर्जा पुनरतालिकीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । पुनरतालिकीकरण गरेको कर्जाको हकमा सो वापत १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने राष्ट्र बैंकले सर्त तोकेको छ । पुनरतालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा वर्गीकरण भैरहेका कर्जालाई पहिलो पटक पुनरतालिकीकरण गरिएमा र समान किस्तामा भुक्तानी हुनेगरी पुनरतालिकीकरण गरिएमा सबै अवस्थाको पालना गरी पुनरतालिकीकरण गरिएमा न्यूनतम १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ । यस्तै, पुनरतालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा वर्गीकरण भइरहेका कर्जालाई न्यूनतम २५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ । कमसल, शंकास्पद तथा खराब वर्गमा वर्गीकरण भैसकेका कर्जाहरुलाई पुनरतालिकीकरण गर्दा पूर्ववत् कायम गरिएको कर्जा नोक्सानी व्यवस्था कायम राख्नु पर्नेछ । तर, पुनरतालिकीकरण गरिएका कर्जामा कायम कर्जा नोक्सानी व्यवस्था लगातार २ वर्षसम्म कर्जा नियमित भएको अवस्थामा बाहेक कुनै समायोजन गर्न पाइने छैन । साथै विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका ब्यक्तिहरुलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाइ प्रतिव्यक्ति बढीमा १५ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सकिने राष्ट्र बैंकले जनाएको छ ।