प्रभु बैंकका सीईओसहित ३ जना पक्राउ, करोडौं रकम कर्जा दुरुपयोगको आरोप
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित अशोक शेरचनसहित ३ जनालाई पक्राउ गरेको छ । सीईआबीका प्रवक्ता तथा वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार सीईओ शेरचनसहित नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत (सीसीओ) रिवास श्रेष्ठ पक्राउ परेका हुन् । बैंकलाई हानी नोक्सानी पुर्याएको तथा अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने तथा गराउने कसुरमा संलग्न रहेका आरोपमा पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले बताए । उनीहरुलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उच्च अदालत पाटन, ललितपुरबाट पक्राउ अनुमति लिई आइतबार पक्राउ गरिएको उनको भनाइ छ । ‘प्रतिवादी कुसुम लामा समेत उपर अनुसन्धान भएको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा संकलन भएका विवरण तथा तथ्यहरूको विज्ञ टोली समेतले अध्ययन विश्लेषण गर्ने क्रममा सीईओ शेरचन समेतले राष्ट्र बैंकबाट जारी निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने/गराउने कसुरमा संलग्न रहेकाले पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको छ,’ सीआईबीका प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि सीआईबीले प्रभु ग्रुपका सञ्चालक तथा नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचनलाई पक्राउ गरेको थियो । तर, तारिखमा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन दिएपछि भट्टचन रिहा भएका थिए । कात्तिक २१ गते राति सीआईबीले प्रभु बैंकको मुख्यालयमा छापासमेत मारेको थियो । प्रभु म्यानेजमेन्ट फन्डको गैरकानुनी कारोबारबारे सीआईबीले अनुसन्धान गरिरहेको छ ।
एनएमबि बैंकको कार्ड पेमेन्ट गेटवे सञ्चालनमा, विदेशी कार्डबाट अनलाइन भुक्तानी
काठमाडौं । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । यस सेवाले भौतिक तथा अनलाइन ई–कमर्स व्यवसायीहरूलाई डिजिटल कारोबार सहज, द्रुत र सुरक्षित रूपमा गर्न मद्दत गर्ने बैंकले जनाएको छ । नयाँ गेटवे मार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका डेबिट वा क्रेडिट कार्ड मार्फत ग्राहकबाट भुक्तानी स्वीकार गर्न सक्नेछन् । यस सुविधाले नेपालभित्र तथा विदेशबाट पनि डिजिटल भुक्तानी लिन सकिने भएकाले व्यवसाय विस्तारमा ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ । गेटवेमाअन्तर्गत ओटीपी वा पासवर्ड–आधारित प्रमाणीकरण प्रणाली समावेश गरिएको छ, जसले कार्डबाट हुने अनलाइन कारोबारलाई अझ सुरक्षित बनाउँछ । बैंकका अनुसार यसले अनाधिकृत भुक्तानी वा जोखिमपूर्ण खरिदमा उल्लेखनीय कमी ल्याउनेछ र उपभोक्ता तथा व्यवसायी दुवैमा विश्वसनीयता बढाउनेछ । एनएमबि बैंकले यो सहकार्य ई–कमर्स प्रवर्द्धन तथा देशको डिजिटलाइजेसनलाई सुदृढ बनाउने महत्त्वपूर्ण कदम भएको बताएको छ । सबैका लागि कार्ड भुक्तानीलाई सजिलो र सुरक्षित बनाउँदै, बैंकले डिजिटल अर्थतन्त्रतर्फ देशलाई अगाडि लैजाने लक्ष्य राखेको छ । सुरक्षित भुक्तानी सेवा अपनाउन इच्छुक अनलाइन व्यवसायीहरूले आफ्नो पोर्टलमा पेमेन्ट गेटवे जोड्नका लागि एनएमबि बैंकमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आइतबार थप ४० अर्ब रूपैयाँ उठाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार थप ४० अर्ब रूपैयाँ उठाउने भएको । बजारमा अत्याधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम उठाउने भएको हो । राष्ट्र बैंकले ३५ दिनका लागि आइतबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम कम्तीमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी पुस १० गते तोकिएको छ । यसको ब्याज दरसमेत बोलकबोलको माध्यमबाट हुनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याज दरमा गर्नुपर्ने छ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।