नेपाल राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी, कुन तहमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी मागेको छ । सहायक पददेखि सहायक निर्देशक गरी ७६ जना कर्मचारी मागेको हो ।  राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागका अनुसार अधिकृत तृतीय श्रेणीमा सहायक निर्देशक अर्थशास्त्र र व्यवस्थापन तर्फ १/१ जना, सहायक निर्देशक ३९ जना, लेखा तथा लेखापरीक्षणतर्फ १० जना, वाणिज्य कानुनतर्फ ४ जना र सहायक द्वितीय २१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।  इच्छुक र योग्यता पुगेका नेपालीहरूले शुक्रबारदेखि पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त फाराम बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्म फाराम भर्न सकिनेछ । 

लक्ष्मी सनराइज बैंकको सञ्चालक समिति ६ सदस्यीय बनाइने

काठमाडौं । लक्ष्मी सनराइज बैंकको सञ्चालक समिति ६ सदस्यीय बनाइने भएको छ । बैंक सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले सञ्चालकको संख्या थपेर ६ सदस्यीय बनाउने निर्णय गरेको कम्पनी सचिव पीयूष राज अर्यालले जानकारी दिए ।  हाल बैंकको सञ्चालक समिति ५ सदस्यीय रहेको छ । सञ्चालक समितिको संरचना हेरफेरको प्रस्ताव पारित गर्न बैंकले २५औँ वार्षिक साधारण सभा पुस १४ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ ।  हाल बैंकमा संस्थापक सेयरधनीहरूको ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीहरूको ४९ प्रतिशत सेयर स्वामित्व छ । अब नयाँ संरचना अनुसार सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट ३ जनाले प्रतिनिधित्व गर्नेछन् । साथै, सर्वसाधारण सेयर समूहबाट २ जना र एक जना स्वतन्त्र सञ्चालक गरी ६ जनाको सञ्चालक समिति गठन गर्ने तयारीसहित प्रस्ताव गरिएको उनले बताए ।  उनका अनुसार हाल संस्थापक समूहबाट प्रतिनिधित्व गर्दै रमण नेपाल अध्यक्ष र मनोज कुमार भट्टराई सञ्चालक छन् । यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट दिनेश पौड्याल र स्वाती रूङ्गटा र विद्या बस्नेत स्वतन्त्र सञ्चालक छन् ।  राष्ट्र बैंकको व्यवस्था अनुसार ५ देखि ७ जनाको सञ्चालक समिति बनाउनुपर्छ । ‘६ जनाको सञ्चालक समिति बनाउन पाइन्छ । मर्जर अगाडि पनि ६ जनाको सञ्चालक समिति थियो,’ उनले भने ।  उपसमितिका लागि सञ्चालक कम भएकाले संख्या थप्नु परेको उनले बताए । राष्ट्र बैंकले अनिवार्य गठन गर्नुपर्ने अडिट, एएमएल, एचआर लगायत कमिटीमा कम भइरहेकाले संख्या थप्न परेको उनको भनाइ छ । संस्थापक समूहबाट हाल २ वटा सिट रहेकोमा अब बढाएर ३ वटा सिट पुर्याउन लागिएको उनले बताए ।  कुनै निर्णय गर्दा मत विभाजन भइ ३/३ भयो भने समस्या आउन सक्छ की भन्ने प्रश्नमा उनले भने, ‘बैंकमा समस्या आउनु ठिक होइन । अहिलेसम्म समस्या आएको छैन । यदि सञ्चालक समितिमा चुनाव गरेर अध्यक्षको भोटिङ राइट प्रयोग गर्ने हो भने त्यो बैंक ठिक होइन । त्यो स्थिति नसोचेर काम गर्न खोजेको हो ।’ बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले २ अर्ब ४३ करोड ४६ लाख ५१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशतका दरले १२ करोड ८१ लाख ३९ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।  लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले पुस १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । 

यस्तो छ विदेशी मुद्राको विनिमयदर, डलर १४४.६१ मा कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९२ रुपैयाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८० रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिदर १०३ रुपैयाँ २९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ २५ पैसा र बिक्रीदर १११ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपैयाँ ३९ पैसा र बिक्रीदर २० रुपैयाँ ४७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८३ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १५ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ५० पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४७१ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपै्रयाँ ०५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।