नबिल बैंकले सेयरधनीलाई १२.५० प्रतिशत लाभांश दिने
काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो । बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।
सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’, ५० प्रतिशत क्यासब्याक अफर
काठमाडौं । सिद्धार्थ बैंकले फोनपेसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड 'सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड' सार्वजनिक गरेको छ । उक्त कार्डको सार्वजनिकिकरण नेपाल प्रिमियर लिग दोस्रो संस्करणको अवसरमा आयोजित अन–ग्राउन्ड कार्यक्रममा गरिएको हो । नयाँ भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकहरूले भौतिक कार्डको आवश्यकता बिना नै देशभरका १८ लाखभन्दा बढी व्यापारीहरूमा छिटो, सुरक्षित र सम्पर्कसहित भुक्तानी गर्न सक्नेछन् । डिजिटल रूपमा सक्रिय ग्राहकहरूको आवश्यकता ध्यानमा राखी ल्याइएको यो कार्ड तुरुन्त सक्रियता, कार्ड नियन्त्रण तथा उच्च सुरक्षा सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ । ग्राहकले मोबाइल बैंकिङ एपमार्फत तुरुन्तै कार्ड आवेदन, कार्ड प्राप्ति र सक्रियता गर्न सक्नेछन् । साथै एपबाटै सीमा व्यवस्थापन, कार्ड लक–अनलक, स्टेटमेन्ट जाँच, भुक्तानी तथा अन्य आवश्यक व्यवस्थापनकार्य सरल रूपमा गर्न सकिने बैंकको भनाइ छ । विशेष लन्च अफरअन्तर्गत, सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ५० प्रतिशत क्यासब्याक पाउने व्यवस्था गरिएको छ । यो क्यासब्याक अधिकतम ७५० सम्म सीमित हुनेछ, जसले सदस्यता शुल्क समायोजन गर्ने सुविधा पनि प्रदान गर्छ । अफर ७ डिसेम्बर २०२५ देखि ७ जनवरी २०२६ सम्म सीमित अवधिका लागि लागू हुनेछ । यस सेवासम्बन्धी थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालन हुने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा विभिन्न माध्यममार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९१ पैसा र बिक्रीदर १११ रुपैयाँ ३७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३२ पैसा र बिक्रीदर २० रुपैयाँ ४१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २६ पैसा र बिक्रीदर १५ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा तोकिएको छ ।