एनएमबि बैंकको ‘इन्स्टा बाइ’ सेवा : क्रेडिट कार्ड खरिद अब किस्तामा सजिलै
काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवामा नयाँ डिजिटल सुविधा ‘एनएमबि इन्स्टा बाइ’ सार्वजनिक गरेको छ । यस सुविधाले क्रेडिट कार्डधारकलाई ५ हजार रुपैयाँ भन्दा माथिको खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (इएमआई) मा रूपान्तरण गर्न सक्ने अवसर प्रदान गरेको छ । ग्राहकले खरिद बिल र पोस स्लिप १० दिनभित्र इएनएमबि एप वा बैंकको वेबसाइट मार्फत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्नेछन् । बैंकका अनुसार न्युनतम शुल्क तथा ब्याजदरको व्यवस्था गरिएको छ भने अग्रिम भुक्तानी गर्दा कुनै जरिवाना लाग्ने छैन । यस सेवामार्फत स्वास्थ्य परिक्षण, यात्रा, जीवनशैली तथा चाडपर्वमा हुने खर्च सहज रूपमा व्यवस्थापन गर्न सकिन्छ । एनएमबि बैंकले देशभरका २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउण्टरमार्फत आफ्ना ग्राहकलाई सेवा प्रवाह गरिरहेको छ ।
महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय अवार्डबाट सम्मानित
काठमाडौं । महालक्ष्मी विकास बैंक 'बैंकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट' विधामा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । भारतको नयाँ दिल्लीमा डिसेम्बर ७, २०२५ मा आयोजित एक समारोहमार्फत बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो । समारोहमा प्रदान गरिएको क्षेत्रीय–स्तरको अन्तराष्ट्रिय अवार्ड बैंकले हालका वर्षहरूमा गरेको डिजिटल सुधार, ग्राहकमैत्री सेवा, संस्थागत सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता तथा ब्रान्ड प्रतिष्ठा अभिवृद्धिका आधारमा दिएको जनाइएको छ । बैंकका वरिष्ठ अधिकृतहरूले महालक्ष्मी विकास बैंकको तर्फबाट सम्मान ग्रहण गरेका थिए । बैंकले पछिल्लो समय सीमा–पार वित्तीय सेवा सुगमनमा महत्वपूर्ण भूमिका खेलेको छ । विशेषगरी भारत–नेपाल भुक्तानी प्रणाली सहज बनाउन गरेको सहयोगका कारण पनि यो अवार्ड महत्वपूर्ण भएको बैंकको भनाइ छ । अवार्डले दुवै देशबीचको बैंकिङ सम्बन्ध मजबुत बनाउन, व्यापार तथा रेमिटेन्स प्रवाह वृद्धि गर्न थप मद्दत गर्ने बैंकको विश्वास छ । यसअघि पनि बैंक इन्डियन चेम्बर अफ कमर्सद्वारा प्रदान गरिने प्रतिष्ठित अवार्डबाट सम्मानित भइसकेको छ, जसले अन्तराष्ट्रिय स्तरमा बैंकको उपस्थिति र विश्वसनीयता बढाउन महत्त्वपूर्ण योगदान पुर्याएको थियो । महालक्ष्मी विकास बैंकले निरन्तर सेवा विस्तार, ग्राहक विश्वास अभिवृद्धि तथा नवप्रवर्तनमार्फत बैंकिङ यात्रालाई थप सबल बनाइरहेको जनाएको छ ।
सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ २८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४० पैसा र बिक्रीदर ९५ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ र बिक्रीदर १०४ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ८६ पैसा र बिक्रीदर १११ रुपैयाँ ३३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३२ पैसा र बिक्रीदर २० रुपैयाँ ४१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४० पैसा र बिक्रीदर २२ रुपैयाँ ४९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४७० रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ७० पैसा , ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।