इन्जिनियर बन्न चाहन्थे, ईडी बने
काठमाडौं । कहिलेकाहीँ जीवनले बुनेका सपना समयको भुमरीमा कतै हराएझैँ लाग्छन् । तर, तिनै सपना फेरि अर्को रूप लिएर मानिसलाई अप्रत्याशित उचाइमा पु¥याइदिन्छन् । स्याङ्जा गल्याङको शान्त पहाडी परिवेशमा हुर्किएका दयाराम शर्मा पंगेनीले पनि बाल्यकालमा एउटा सपना बुनेका थिए– इन्जिनियर बन्ने । गणितप्रतिको लगाव र भविष्यप्रतिको उत्साहले उनले विद्यालयमा ऐच्छिक विषयका रूपमा गणित रोजेका थिए । तर, जीवन सधैं योजनाअनुसार चल्दैन । घरको आर्थिक अवस्थाले त्यो सपना अधुरै रह्यो । समयले उनलाई व्यवस्थापनको बाटोमा मोड्यो, र त्यही बाटो हुँदै उनी आज नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (ईडी) को जिम्मेवारीमा पुगेका छन् । उनको जीवनयात्रा केवल पदोन्नतिको कहानी मात्र कनेन, संघर्ष, साहस, इमानदारी र कर्तव्यनिष्ठाको एउटा गहिरो प्रेरणा बनेको छ उनको जीवन । २०६२/६३ सालतिर देशको राजनीतिक अवस्था अत्यन्तै अस्थिर थियो । माओवादी जनयुद्धको प्रभाव देशका धेरै भूभागमा फैलिएको थियो । यात्रुहरू सडकमा निस्कँदा अनिश्चितता र त्रासदीपूर्ण हुन्थ्यो । त्यही समय दयाराम शर्मा पंगेनी नेपाल राष्ट्र बैंकको सहायक तृतीय श्रेणीमा कार्यरत थिए र उनको सरुवा धनगढी कार्यालयमा भएको थियो । कैलालीको धनगढीमा काम गर्नु त्यतिबेला सहज थिएन । तर, जिम्मेवारीबाट पछि हट्ने स्वभाव उनको थिएन । त्यही बेला बैंकिङ प्रशिक्षण केन्द्र (बीटीसी) ले उनलाई काठमाडौं आएर दुई वटा कक्षा पढाउनुपर्ने जिम्मेवारी सुम्पियो । उनी अहिले पनि सम्झिन्छन्, ‘धनगढीबाट हायस चढेर काठमाडौं आउने क्रममा कर्णाली पुल पार गरेपछि गाडी एकाएक रोकियो । केही क्षणमै माओवादी कार्यकर्ता आए र सबै यात्रुलाई गाडीबाट बाहिर निकालेर सडकछेउमा उभ्याए । एक–एक गरेर सबैसँग सोधपुछ हुन थाल्यो—कता जाने, के गर्ने, कहिले फर्किने ।’ उनले आफ्नो परिचय दिए । सोधपुछपछि यात्रुहरू फेरि गाडीमा चढे र यात्रा अघि बढ्यो । तर, काठमाडौं पुगेपछि उनलाई एउटा कुरा सम्झना आयो, माओवादीसँग सोधपुछ हुँदा आफूले फर्किने समय ठीकसँग टिपाउन बिर्सिएका रहेछन् । उनी त्यो क्षण सम्झँदै भन्छन्, ‘माओवादीको चेकिङमा २÷४ दिन थप बस्छु भनेर टिपाउनै बिर्सेछु ।’ त्यसपछि उनको मनमा एउटा अदृश्य डर बस्यो । यदि फर्किँदा फेरि सोधपुछ भयो भने के होला ? यही त्रासले उनले सामान्य बाटो छोडेर नेपालगन्ज हुँदै भारतको बाटो प्रयोग गरेर धनगढी फर्किने निर्णय गरे । बमको आवाजबीच बितेको रात नेपालगन्ज पुगेपछि उनी राष्ट्र बैंकका त्यतिबेलाका कार्यालय प्रमुख चिन्तामणि शिवाकोटीको क्वार्टरमा बसे । दिनभरको यात्रापछि शरीर थाकेको थियो, तर रात शान्त थिएन । उनी सम्झन्छन्, ‘चिन्तामणी सर (चिन्तामणी सिवाकोटी)ले पंगेनी बावु आज मेरैमा बस्नु भन्नु भयो । उहाँकोमा खाना खाइयो, उहाँको मै बसें । खाना खाएर कुराकानी गर्दै थियौं । बम पड्किएको आवाज आउन थाल्यो । सर पनि डराउनु भयो, म पनि डराए ।’ रातको सन्नाटामा विस्फोटका आवाजहरू झन् भयावह सुनिन्थे । त्यो रात उनीहरूले निद्राभन्दा बढी त्रासको अनुभूति गरे । भोलिपल्ट उनले अर्को निर्णय गरे । ‘नेपालको बाटो भएर जाँदा जोखिम हुन सक्छ । त्यसैले भारतको बाटो हुँदै धनगढी जाने,’ त्यो कहालीलाग्दो समय स्मरण गरेर उनले सुनाए, ‘धनगढी पुगिसकेपछि म बाँच्ने पक्का भएँ भनेर लामो स्वास फेरें ।’ कुखुराको खोरमा बितेको रात धनगढी पुगेपछि पनि अवस्था सहज थिएन । माओवादी गतिविधि बढिरहेको थियो । राति डेरातिर जाँदा बाटोमै विस्फोट हुने घटनाहरू सामान्यजस्तै भइसकेका थिए । त्यो दुश्य स्मरण गर्दै उनी भन्छन्, ‘म क्वार्टरमा पनि बस्न सक्दैनथें । धनगढीको उत्तरबेहडी भन्ने ठाउँमा मेरो एक जना साथीले डेरा खोजेर बसेको थिए । ढुकुटीको चाबीहरु सबै अफिसमै राखेर लक गरेर डेरामा बस्थें । म डेरामा जाँदा पनि बाटोमै बम पड्किन्थ्यो, कहिलेकाहीँ डेरामा नपुगिकन कुखुराको खोरतिर गएर रात बिताएको पनि छु ।’ संकटको त्यो समय केवल डरले भरिएको थिएन, जिम्मेवारीले पनि भरिएको थियो । बैंकको काम रोक्न मिल्दैनथ्यो । निरीक्षणमा जाँदा चार/पाँच जना अपरिचित मानिस देखिँदा पनि मनमा डर लाग्थ्यो । ‘विद्रोहकालिन समयमा निरीक्षण गर्न जाँदा ४/५ जना कोही आएपनि डराउँथ्यौं । माओवादीले २/४ पटक राष्ट्र बैंकको धनगढी कार्यालयमा आक्रमण गर्याे । तर, कर्मचारी साथीहरु कसैलाई केही भएन,’ उनले सुनाए । गाउँबाट सुरु भएको यात्रा दयाराम शर्मा पंगेनी स्याङ्जाको गल्याङ नगरपालिका–१० मा जन्मिएका हुन् । उनका बाल्यकालका दिनहरू पहाडको शान्त वातावरण, विद्यालयका साधारण कक्षाकोठा र भविष्यका साना–साना सपनाहरूले भरिएका थिए । उनले कक्षा पाँचसम्म तेज प्राथमिक विद्यालयमा पढे । त्यसपछि बालसिता निमाविमा अध्ययन गरे र २०४९ सालमा दहथुम माध्यमिक विद्यालयबाट एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भए । बाल्यकालको पढाइ सम्झिँदै उनी भन्छन्, ‘एसएलसी भन्दामुनी म त्यति धेरै मिहिनेत गर्ने होइन तर, कम मिहिनेत गर्ने पनि होइन । विषय वस्तुलाई घोकेर भन्दा पनि बुझेर जानुपर्छ भन्ने स्वभावको थिएँ । फस्ट ब्वाई भएकाले सबै गुरुहरुले मन पराउनुहुन्थ्यो ।’ उनी थप्छन्, ‘त्यतिबेला म एक्स्ट्रोभेट नेचरको थिएँ । तर, अहिले आएर इन्ट्रोभट नेचर छ की जस्तो लाग्छ ।’ राष्ट्र बैंकसम्मको यात्रा प्लस टु, स्नातक र स्नातकोत्तर सबै अध्ययन उनले शंकरदेव क्याम्पसबाट पूरा गरे । स्नातक पढ्दै गर्दा उनले लोकसेवा आयोगबाट निजामति सेवाको परीक्षा पास गरे र रक्षा मन्त्रालय सिंहदरबारमा काम सुरु गरे । तर, राष्ट्र बैंकको अवसर देखेपछि उनले त्यतातिर पाइला मोडे । ‘राष्ट्र बैंक आउनु भन्दा अगाडि १०/११ महिना जति म निजामति सेवातर्फ रक्षा मन्त्रालय सिंहदरबारमा थिएँ । त्यहाँ पनि लोकसेवा नै पास गरेको हो । त्यसपछि राष्ट्र बैंकको खुला प्रतिस्पर्धाबाट असिस्टेन्ट र ४ वर्षपछि आन्तरिक प्रतिस्पर्धाबाट हेड असिस्टेन्ट भएँ । हेड असिस्टेन्ट २/३ महिना मात्रै भएँ । त्यसपछि खुला प्रतिस्पर्धाबाट जाँच दिएको थिएँ, २०५९ साउन २७ गते असिस्टेन्ट डाइरेक्टर बनें ।’ ‘मेरो फाइल प्रमोशन कहिले पनि भएन । सधैँ लिखितमा नाम निकालेर नै हो । सहायकदेखि निर्देशकसम्म सबैमा लिखितबाट नै आएको हो,’ उनले भने । तेस्रो प्रयासमा बने निर्देशक प्रधान सहायक, सहायक निर्देशक र उपनिर्देशक पद उनी पहिलो प्रयासमै बने । तर, निर्देशक बन्ने यात्रा भने तीन प्रयासपछि मात्र सफल भयो । दुई पटक लिखित परीक्षा पास गरे पनि अन्तर्वार्तामा असफल हुँदा उनले हार मानेनन् । ‘मैले अरु बढी मिहिनेत गर्नुपर्छ, अरु बढी परिस्कृत हुनुपर्छ, ज्ञान लिनुपर्छ र अर्काे परीक्षामा उत्कृष्ट ढंगले मेरो जवाफहरु पेस गर्नुपर्छ भन्ने लाग्यो । तेस्रो पटकको प्रयासमा म निर्देशक भएँ,’ उनले भने । दयाराम आफ्ना आमाबुवाका एक्ला सन्तान हुन् । संघर्षपूर्ण जीवन बिताएर सफलता हासिल गरे पनि एउटा पीडा भने उनलाई सधैं खड्किन्छ । उनले आफ्नो सफलता बुबाआमालाई देखाउन पाएनन् । उनका छोरा कम्प्युटर इन्जिनियरिङ पढ्दैछन् भने छोरी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा स्नातकोत्तर अध्ययनरत छिन् । दयाराम शर्मा पंगेनी आफ्नो करियरलाई इमानदारी र कर्तव्यनिष्ठाको आधारमा हेर्छन् । राष्ट्र बैंकले दिएको अवसरलाई उनले जीवनकै महत्वपूर्ण उपलब्धि ठान्छन् । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय एक्सपोजर, वित्तीय र मौद्रिक क्षेत्रमा काम गर्ने धरातल दियो । समाजमा दयाराम शर्मा पंगेनी भनेर चिनाउने र उच्च शिर गरेर बस्न दिएको उनी बताउँछन् । राष्ट्र बैंकमा योगदान राष्ट्र बैंकको विजनेश कन्टिन्यूटी प्लान तयार गर्नुपर्ने थियो । संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा रहँदा बिजनेश कन्टिन्यूटी प्लानमा भूमिका खेलेको उनले सुनाए । बैंकिङ विभागमा रहँदा पनि आफूले धेरै नै कामहरु गरेको उनको दाबी छ । ‘डिजिटल सर्भिस ट्याक्सको काम भएको थिएन । माइक्रोसफ्ट, गुगल, मेटा, टिकटक लगायत केही सामाजिक सञ्जाल र सूचना प्रविधि कम्पनी सञ्चालनमा थिए । तर, करको दायरामा आएका थिएनन् । अर्थमन्त्रालयसँग समन्वय गरेर नेपालमा व्यवसाय गरेबापतको डिजिटल सर्भिस ट्याक्सको दायरा ल्याउने काम गर्याैं,’ उनले भने । भूटान, श्रीलङ्का, रसिया, म्यान्मार, अन्य अफ्रिकन मुलुक र बुद्ध धर्मावलम्बी रहका देशका नागरिकले आफ्नो देशको मुद्रा ल्याएर लुम्बिनीमा चढाउँछन् । लामो समयदेखि विभिन्न मुलुकका धर्मावलम्बीहरुले चढाएको उक्त रकम सटही हुन नसकेर कोषमा थुप्रिएको थियो । लुम्बिनी विकास कोषले उक्त मुद्रा सटहीका लागि राष्ट्र बैंकसँग पटक पटक अनुरोध गरिरहेको थियो । तर, राष्ट्र बैंकबाट सटहीको काम हुन सकिरहेको थिएन । रुपन्देहीमा रहेको लुम्बिनी विकास कोषको ननकन्भर्टेबल करेन्सीलाई सटही गर्ने काम पनि गरेको उनले सुनाए । ‘लुम्बिनी विकास कोषले धेर पटक अनुरोध गरेको थियो । हामी अध्ययन गरिरहेका थियौं । तर, म गइसकेपछि यो काम गर्नुपर्छ है भनेर लुम्बिनी विकास कोष र राष्ट्र बैंकको भैरहवा कार्यालयसँग समन्वय गर्याैं, गभर्नरज्यूबाट पनि स्पष्ट निर्देशन आयो,’ उनले भने, ‘हाम्रो एजेन्सी बैंक सिंगापुरमा थियो, सीआइएमबि । दर्जनौं पटक अनुरोध गरेपछि करिब ६० लाख रुपैयाँ बराबर सिंगापुरबाट सटही गरेर लुम्बिनी विकास कोषलाई हस्तान्तरण गर्याैं ।’ स्ट्याण्डर्ड चार्टर्ड बैंकबाहेक सबै वाणिज्य बैंकले सरकारी कारोबार गर्छन् । तर, नेपाल बैंकसँग वर्षाैंदेखि अर्बाैं रुपैयाँ रिकन्सिलेसन हुन सकिरहेको थिएन । पछि आफ्नो नेतृत्वमा नेपाल बैंकसँगको सरकारी कारोबारको पनि हिसाबमा देखिएको समस्या समाधान गरेको उनले सुनाए ।
गभर्नरले डेपुटी गभर्नर सिफारिस गर्न तयार पारेको ‘लिस्ट होल्ड’
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको नियुक्ति नयाँ सरकार गठन भएपछि मात्रै हुने भएको छ । अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही नेताहरूले अन्तरिम सरकारले दीर्घकालीन प्रभाव पार्ने ठूला नीतिगत निर्णयसँगै नियुक्ति तथा बढुवाका निर्णय नगर्न आग्रह गरेपछि तत्कालका लागि डेपुटी गभर्नरको नियुक्ति पनि रोकिएको हो । अर्थमन्त्रालय स्रोतका अनुसार वर्तमान अर्थमन्त्री रामेश्वर खनालले रिक्त रहेका डेपुटी गभर्नरको नियुक्तिका लागि गभर्नर डा.विश्वनाथ पौडेलसँगै अर्थसचिवसँग पनि छलफल गरेका थिए । छलफलपछि नयाँ आउने सरकार शक्तिशाली भएकोले तत्कालका लागि डेपुटी गभर्नरको नियुक्ति रोक्दा नै राम्रो सन्देश जान सक्ने भन्दै अर्थमन्त्रीले सो प्रक्रिया अगाडि नबढाउने सोच बनाएका हुन् । ‘रास्वपाका एक नेताबाट सचिवज्यूलाई नै फोन गरेर दीर्घकालीन प्रभाव राख्ने र कुनै पनि संस्थामा नयाँ व्यक्ति नियुक्ति नगर्नु भनेर आग्रह आयो, वर्तमान सरकारले पनि तत्काल डेपुटी गभर्नर नियुक्ति नगर्ने कि भन्ने कुरा भएको छ,’ अर्थमन्त्रालयको एक उच्च स्रोतले भन्यो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र पाँच वर्षे कार्यकाल सकाएर आइतबार बिदा भइसकेका छन् । दुवै डेपुटी गभर्नरले विकासन्युजसँग कुरा गर्दै आइतबारदेखि राष्ट्र बैंकबाट बिदा भएको जानकारी गराए । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले अर्थमन्त्री समक्ष डेपुटी गभर्नरको नाम सिफारिसको लागि तयारी गरिरहेका थिए । अर्थमन्त्रीसँग छलफलपछि उनले डेपुटी गभर्नरका लागि तयार पारेको कार्यकारी निर्देशकहरुको सूची होल्ड गरेको बुझिएको छ । नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर राष्ट्र बैंकका विशिष्ट श्रेणी (कार्यकारी निर्देशक–ईडी) स्तरका अधिकृतहरूमध्येबाट नियुक्त गरिने व्यवस्था छ । हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत छन् । ऐनअनुसार गभर्नरले ती कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम डेपुटी गभर्नर पदका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने हुन्छ । गभर्नरले सिफारिस गरेका चार जनामध्येबाट सरकारले दुई जनालाई डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले पनि अहिलेको राजनीतिक परिवेशले डेपुटी गभर्नर नियुक्ति प्रक्रियालाई प्रभावित पार्न सक्ने बतायो । उनले वर्तमान सरकारले डेपुटी गभर्नर नियुक्त नगरेकै राम्रो हुने धारणा राखे । ‘निर्वाचन सम्पन्न भएर कुन पार्टीले सरकार बनाउँछ भन्ने कुरा प्रष्ट भइसकेको छ, बहुमतसहितको शक्तिशाली सरकार आउँदैछ, त्यसैले राष्ट्र बैंकजस्तो संस्थामा अन्तरिम सरकारभन्दा पनि अब आउने सरकारले डेपुटी गभर्नरको नियुक्ति गर्दा राम्रो सन्देश जान्छ,’ ती कार्यकारी निर्देशकले भने । राष्ट्र बैंक ऐनअनुसार गभर्नरले डेपुटी गभर्नरका लागि नाम सिफारिस गर्दा एकल अधिकार प्रयोग गर्न सक्ने व्यवस्था छ । ‘विगतको अभ्यास हेर्दा डेपुटी गभर्नर नियुक्ति प्रक्रिया कहिलेकाहीँ साढे दुई महिनासम्म लम्बिएको उदाहरण पनि छ । यदि नयाँ सरकारले नियुक्ति गर्ने अवस्था आयो भने एकल बहुमतको सरकारले छिट्टै निर्णय गर्न सक्ने सम्भावना पनि देखिन्छ,’ स्रोतले भन्यो, ‘यस्तो अवस्थामा हालको सरकारले नियुक्ति प्रक्रिया रोकिने सम्भावना पनि रहेको छ ।’ अर्थमन्त्री रामेश्वर खनालले डेपुटी गभर्नर नियुक्ति प्रक्रिया रिक्त भएपछि प्रक्रिया अगाडि बढ्ने बताएका छन् । आइतबार विकासन्युजसँग कुरा गर्दै उनले भने, ‘डेपुटी गभर्नरको नियुक्ति सरकारले गर्ने हो र तर कुन सरकारले गर्ने भन्ने कुरा परिस्थितिमा भर पर्छ । अहिले नै यसबारे भन्न सकिँदैन । गभर्नरले सिफारिस गरिसकेपछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने हो ।’ राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीले पनि कानुनले नरोके पनि व्यवहारिक रूपमा मिलाउनका लागि आउने सरकारले नै डेपुटी गभर्नरको नियुक्ति गर्दा राम्रो हुने बताए । ‘निर्वाचन सम्पन्न भइसकेको छ, अहिलेको सरकार ‘केयर टेकर’ मात्रै हो । प्रक्रिया अगाडि बढाउन कानुनले नरोके पनि व्यवहारिक रुपमा आउने सरकारलाई नै छोड्दा राम्रो हुन्छ, गरिहाले पनि अब नेतृत्व गर्ने पार्टीका नेताहरूसँग समन्वय गरेर नियुक्ति हुन्छ,’ उनले भने । उनका अनुसार डेपुटी गभर्नरका लागि सिफारिस गर्ने अधिकार नितान्त गभर्नरको रहेकोले यस विषयमा उनले सञ्चालक समिति र राष्ट्र बैंकभित्रका सरोकारवालाहरूसँग छलफल नभएको जानकारी दिए ।
ग्राहकलाई प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका अनुसार ग्राहक खाताबाट काटिएको करको विवरण ‘आयकर ऐन २०५८’ अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको प्यान प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक भएको हो । ग्राहकले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एप ‘एनआईसी एशिया मो–बैंक’मा रहेको ‘प्यान अपडेट’ विकल्प प्रयोग गरेर आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् । साथै नजिकको बैंक शाखाबाट समेत आवेदन दिई प्यान अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले निक्षेपकर्ताको ब्याज भुक्तानीबाट काटिएको करलाई ई–टिडिएस रेकर्डमा समावेश गर्न प्यान अनिवार्य हुने जनाएको छ । प्यान अद्यावधिक भएपछि ग्राहकको कर कट्टी विवरण स्वतः सम्बन्धित प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीमार्फत करसम्बन्धी विवरण मिलान हुने बैंकको भनाइ छ । त्यस्तै बैंकले ग्राहकलाई आफ्नो खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकले बैंकको भिडियो केवाईसी सेवा वा मोबाइल बैंकिङ एपको ‘माइ प्रोफाइल’मा रहेको ‘चेन्ज इमेल’ विकल्पमार्फत इमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन् । आवश्यक परे नजिकको बैंक शाखामा गई पनि इमेल ठेगाना अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । यसअघि प्यान वा इमेल अद्यावधिक नगरेका ग्राहकले नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गरी सेवा लिन सक्ने बैंकले जनाएको छ ।