काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ ।
बैंकले जेठ २९ गते जिल्ला अस्पताल खलङ्गा र जेठ ३० गते दुहुँ गाउँपालिकामा शिविर आयोजना गरेको जनाएको छ । जिल्ला अस्पताल खलङ्गामा सञ्चालन गरिएको शिविरमा ३ सय ८७ जना र दुहुँ गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा ३ सय २४ जनाले सेवा लिएका थिए ।
शिविरमा गेटा आँखा अस्पताल धनगढीका नेत्र चिकित्सकसहितको टोलीले विशेषज्ञ सेवा प्रदान गरेको थियो । सहभागीहरूलाई निःशुल्क आँखा परीक्षण, परामर्श, आवश्यक औषधी तथा चश्मा वितरण गरिएको बैंकले जनाएको छ ।
शिविरमा परीक्षण गरिएका बिरामीमध्ये मोतियाबिन्दुको शल्यक्रिया आवश्यक पर्नेहरूका लागि बैंकले निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाउने जनाएको छ ।
कार्यक्रममा स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ गर्दै आगामी दिनमा सेवा विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।