विदेशमा बसेका नागरिकका लागि ग्लोबल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ । बिहीबार बैंकमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरेको हो । नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत बैंकले अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका आफ्ना ग्राहकहरुलाई ग्राहयताका साथ एकद्वार प्रणालीमार्फत् सेवा प्रदान गर्नेछ । बैंकको यस विभागबाट विदेशमा रहेका नेपालीहरुलाई सम्पूर्ण बैंकिङ सेवाहरु जस्तै बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङ सम्बन्धी सेवाहरु प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सेवाहरू उपलब्ध गराउने छ । विदेशमा रहेका नेपालीहरूलाई सेवा उपलब्ध गराउन बैंकले ग्राहकहरुलाई ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित यस विभागको कार्यालयमार्फत विभिन्न सेवाहरु उपलब्ध गराउने छ । विभिन्न देशमा रहेका नेपालीहरुको सेवामा सहजीकरणका लागि बैंकले सहायता कक्ष स्थापना गरी बैंकिङ सेवा सञ्चालन गर्नेछ । बैंकले भविष्यमा यस सेवा कक्षमार्फत् ग्राहकहरुलाई २४ सै घण्टा सेवा प्रदान गर्नेछ । सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आइएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोराको सेवालाई निरन्तर प्राथमिकता दिँदै बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले विगत दुई दशकमा विश्वव्यापीरुपमा रेमिट्यान्स सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय बैंकहरूसँगको सहकार्य सुदृढीकरण, संयुक्त अधिराज्य, अष्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय स्थापना, आप्रवासी–केन्द्रित बैंकिङ सेवाहरुको विकास तथा विभिन्न १० देशभन्दा बढि देशमा रहेका बैंकका कर्मचारीहरुमार्फत् बैंकिङ सेवाहरु प्राथमिकतामा प्रदान गर्दैआएको छ । विदेशमा रहेका ग्राहकहरुले भौगोलिक दूरी वा भौतिक उपस्थितिको कुनै अवरोध बिना नेपालमा सहज, झन्झटरहित बैंकिङ सेवा पाउनुपर्छ भन्ने बैंकको बुझाइ रहेको छ । विभागको औपचारिक उद्घाटन गर्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारी तथा अन्य कामको शिलसिलामा विदेशमा बसोबास गर्ने हरेक नेपाली नागरिक नेपालको विकास र प्रगतिका महत्वपूर्ण साझेदार रहेको र यस नयाँ विभागबाट बैंकले प्रदान गर्ने सेवाबाट विदेशमा बस्ने नेपालीलाई आफ्नो मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने बताए । 'यस नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत ग्लोबल आइएमई बैंकले विदेशमा रहेका नेपाली नागरिकहरुलाई उहाँहरुको आवश्यकता अनुरुप पूर्ण बैंकिङ सेवाहरु प्रदान गर्ने छ । यस विभागले विभिन्न सेवामार्फत उहाँहरुको सपना, लगानी र स्वदेशमा रहेका परिवारसँग जोड्न सहयोग पुर्याउनेछ । नेपालीहरू जहाँ भए पनि सहज, द्रूत र पारदर्शी रुपमा पूर्ण बैंकिङ सेवा प्रदान गर्ने यो हाम्रो महत्वपूर्ण प्रयास हो,' उनले भने । यसै अवसरमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस विभागबाट प्रदान हुने सेवाले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई नेपालसँग जोडिन थप सहज हुने बताए । 'यस नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत ग्लोबल आइएमई बैंकले रेमिट्यान्स सेवाका अतिरिक्त विदेशमा रहेका नेपालीहरूलाई विदेशमा बस्दाकै बखत नेपालमा लगानी गर्न र उनीहरुको आवश्यकता तथा चाहनालाई पुरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ,' उनले भने । उनले यस पहलसँगै ग्लोबल आइएमई बैंक विदेशमा रहेका नेपाली नागरिकहरुसँग पूर्ण तथा दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । उक्त शुभारम्भ कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, बरिष्ठ व्यवस्थापकहरुको उपस्थिती रहेको थियो । बैंकले आफूलाई अग्रणी रेमिट्यान्स साझेदार मात्र नभई नेपाली डायस्पोराका लागि भरपर्दोे बैंकिङ सेवा प्रदायकका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । यस विभागको कार्यालय ग्लोबल आइएमई बैंकको काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा रहने छ । साथै, विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नन् रेसिडेन्ट एण्ड ओभरसिज बैंकिङ विभाग मा प्रत्यक्ष फोन, इमेल वा ह्वाट्सएप वा भाइबरको माध्यमबाट सम्पर्क गरी बैंकिङ सेवा लिन सक्नेछन् ।
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने विदेशी मुद्रा
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य क्षेत्र सकारात्मक अवस्थामा देखिएको छ । यो अवधिसम्ममा मुलुकको चालु खाता र शोधनान्तर उच्च बचतमा छ भने १८ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ८४ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता यस वर्ष ३ अर्ब ४७ करोडले बचतमा रहेको छ । त्यस्तै गत माघ मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर ११ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १० अर्ब २२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार यो अवधिमा शोधनान्तर स्थिति ५ खर्ब ७२ अर्ब ७३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको थियो । गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो ७ महिनामा २३.३ प्रतिशतले वृद्धि भई ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ माघ मसान्तमा १६.७ प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८२ माघ मसान्तमा २१.२ प्रतिशतले वृद्धि भई २९ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा २०८२ माघ मसान्तमा ४२.८ प्रतिशतले वद्धि भई ३ खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ कायम भएको छ । गत माघ मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
मूल्यवृद्धि ३.२५ प्रतिशत, कुन प्रदेशमा कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ३.२५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार गत माघ महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिनाको औसत मुद्रास्फीति भने १.९२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.८६ प्रतिशत रहेको थियो । केन्द्रीय बैंकका अनुसार गत माघ महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशत, घ्यू तथा तेलको ७.६१ प्रतिशत र फलफूलको ७.४१ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.१९, खाद्य तथा खाद्यजन्य पदार्थको २.९७ र मरमसलाको २.६१ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २१.९८, शिक्षाको ७.४६, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२८, सुर्तीजन्य पदार्थको ४.१५ र मदिराजन्य पेयपदार्थको ३.८५ प्रतिशतले बढेको छ । सञ्चार उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.८ प्रतिशतले घटेको छ । त्यस्तै गत माघ महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.५२ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.५१ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३, मधेस प्रदेशको ५.१४, बागमती प्रदेशको ३.१०, गण्डकी प्रदेशको २.४२, लुम्बिनी प्रदेशको ३.२९, कर्णाली प्रदेशको १.६२ र सुदूरपश्चिम प्रदेशको १.६४ प्रतिशत रहेको छ । त्यस्तै, काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४८ प्रतिशत, तराईको ३.६६ प्रतिशत, पहाडको २.६८ प्रतिशत र हिमालको २.५८ प्रतिशत रहेको छ ।