नेपाल बैंकले ल्यायो ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना
काठमाडौं । नेपाल बैंकले आफ्ना ऋणीहरूलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न सकिने आकर्षक सहुलियत योजना सार्वजनिक गरेको छ । बैंकले जारी गरेको सूचना अनुसार विसं २०७९ साल चैत्र मसान्त अगावै खराब वर्गमा वर्गीकरण भएका १ करोड रुपैयाँसम्मको सावाँ बक्यौता रहेका ग्राहकहरूले यो योजनाको लाभ लिन सक्नेछन् । यस्ता ऋणीहरूले विसं २०८३ आषाढ मसान्तभित्र तोकिएका शर्तहरू पालना गरी कर्जा चुक्ता गरेमा विशेष ब्याज छुट प्राप्त गर्ने सुवर्ण अवसर प्रदान गरेको बैंकले जनाएको छ । बैंकले आफ्ना सम्बन्धित ग्राहकहरूलाई यस सहुलियतको उपयोग गरी वित्तीय भार कम गर्न र कर्जा राफसाफ गर्न अनुरोधसमेत गरेको छ । यसैगरी, बैंकले २०८० वैशाख १ गते पश्चात निष्कृय तथा सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूको हकमा पनि राहतको व्यवस्था गरेको छ । यस्ता ग्राहकहरूले विसं २०८२ चैत्र मसान्तभित्र आफ्नो बक्यौता सावाँ तथा ब्याज बुझाएर कर्जा चुक्ता गरेमा वा खाता नियमित गराएमा आकर्षक ब्याज छुट दिइने बैंकले जनाएको छ । इच्छुक ग्राहकहरूलाई थप जानकारी र सुविधाको लाभ लिनका लागि आ-आफ्नो सम्बन्धित शाखा कार्यालयमा यथाशीघ्र सम्पर्क राख्न बैंकले आग्रहसमेत गरेको छ ।
हिमालयन बैंकका ९ शाखा व्हिलचियरमैत्री, जेष्ठ नागरिकलाई शाखा प्रमुखले सेवा दिने
काठमाडौं । हिमालयन बैंकले देशका विभिन्न ९ वटा शाखा कार्यालयलाई व्हिलचियर मैत्री शाखाका रूपमा रुपान्तरण गरेको छ । फरक क्षमताका ग्राहकहरूले बैंकका शाखामा सहज रूपमा प्रवेश गरी सेवा लिन सकून् भन्ने उद्देश्यले शाखाहरूलाई व्हिलचियर मैत्री बनाइएको बैंकले जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशको इटहरी शाखा, मधेश प्रदेशको बारागढी शाखा, बागमती प्रदेशका महाराजगन्ज, हिटीदरबार, डिल्लीबजार, झम्सिखेल र सामाखुसी शाखा, लुम्बिनी प्रदेशको नेपालगञ्ज शाखा तथा कर्णाली प्रदेशको सल्यान (श्रीनगर) शाखालाई व्हिलचियर मैत्री शाखामा रुपान्तरण गरिएको हो । त्यसैगरी, ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा फरक क्षमताका ग्राहकहरूले बैंकिङ कारोबार- जस्तै खाता खोल्ने, चेक साट्ने, रकम जम्मा गर्ने लगायतका सेवाका लागि सिधै शाखा प्रमुख वा अपरेसन इन्चार्जलाई सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।
ग्लोबल आइएमई बैंकका काठमाडौं र ललितपुरका ८ शाखा मर्ज हुने
काठमाडौं । ग्लोबल आइएमई बैंकका काठमाडौं र ललितपुरस्थित ८ वटा शाखा कार्यालय समायोजन (मर्ज) हुने भएका छन् । बैंकका अनुसार काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाभित्र एक-अर्काको नजिक रहेका शाखाहरूलाई वि.सं. २०८३ वैशाख २८ गतेदेखि एक आपसमा समायोजन तथा एकीकरण गरी कारोबार सञ्चालन गरिनेछ । समायोजनपछि सञ्चालनमा रहने शाखाबाट ग्राहकहरूले सम्पूर्ण बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार काठमाडौंका ज्ञानेश्वर, नयाँ बानेश्वर, इन्द्रचोक र बाफल-कलंकी शाखा तथा ललितपुरका खुमलटार, धोबीघाट, सुन्धारा र कुमारीपाटी शाखा समायोजन हुनेछन् । समायोजनपछि ज्ञानेश्वर र सानो गौचरन शाखा सानो गौचरन शाखामा, नयाँ बानेश्वर र शंखमुल शाखा शंखमुल शाखामा, इन्द्रचोक र असन शाखा असन शाखामा तथा बाफल-कलंकी र कलंकी शाखा कलंकी शाखाबाट सेवा सञ्चालन हुने बैंकले जनाएको छ । यस्तै, खुमलटार र सातदोबाटो शाखा समायोजन भई सातदोबाटो शाखा, धोबीघाट र एकान्तकुना शाखा समायोजपश्चात् एकान्तकुना शाखा, सुन्धारा र ग्वार्को शाखा समायोजनपश्चात् सुन्धारा शाखा, कुमारीपाटी र लगनखेल शाखा समायोजनपश्चात् लगनखेल शाखाबाट सेवा सञ्चालन हुने बैंकको भनाइ छ । यस्तै, ललितपुरतर्फ खुमलटार र सातदोबाटो शाखा समायोजनपछि सातदोबाटो शाखा, धोबीघाट र एकान्तकुना शाखा एकान्तकुना शाखा, सुन्धारा र ग्वार्को शाखा समायोजनपछि सुन्धारा शाखा तथा कुमारीपाटी र लगनखेल शाखा समायोजनपछि लगनखेल शाखाबाट बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।