बैंककै कर्मचारीद्वारा ५ करोड हिनामिना, प्रहरीमा उजुरी
काठमाडौं । सिटिजन्स बैंकको मोरङस्थित विराटनगर कञ्चनबारी शाखामा कार्यरत कर्मचारीहरूले करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा बैंक प्रशासनले प्रहरीमा उजुरी दिएको छ । बैंकका कर्मचारीहरूले नै करिब ५ करोड रुपैयाँ हाराहारी रकम हिनामिना गरेको प्रारम्भिक तथ्य फेला परेपछि उजुरी परेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख कविद कटुवालले जानकारी दिए । उनका अनुसार शाखामा कार्यरत कर्मचारीहरूको संलग्नतामा बैंकको रकम हिनामिना भएको भन्दै उजुरी आएको र घटनाबारे अनुसन्धान भइरहेको छ । ‘हामी अनुसन्धानको चरणमा छौं, संलग्न व्यक्तिहरूबारे विस्तृत विवरण अझै खुलिसकेको छैन,’ उनले भने । बैंक स्रोतका अनुसार आन्तरिक लेखापरीक्षणका क्रममा उक्त शाखामा करिब ५ करोड रुपैयाँ बराबरको रकम हिनामिना भएको भेटिएको हो । प्रारम्भिक विवरण अनुसार पाँच जनाभन्दा बढी कर्मचारी यस प्रकरणमा मुछिएको आशंका गरिएको छ । स्रोतका अनुसार शाखामा कार्यरत रोजी कँडेलको नेतृत्वमा रकम हिनामिना भएको प्रारम्भिक निष्कर्ष आन्तरिक अडिटबाट देखिएको बताइएको छ । बैंक स्रोतले साविक सृजना फाइनान्सबाट आएका केही कर्मचारीहरू यस प्रकरणमा संलग्न रहेको हुन सक्ने आशंका पनि व्यक्त गरेको छ । बैंकले नियमित आन्तरिक लेखापरीक्षण गर्ने क्रममा उक्त अनियमितता पत्ता लागेको जनाइएको छ । यसअघि आन्तरिक अडिट बाह्य संस्थामार्फत गरिँदै आएकोमा हाल बैंककै विभागले अडिट गर्दा घटना सार्वजनिक भएको स्रोतको भनाइ छ । घटनामा संलग्न आशंकामा रहेका कर्मचारीहरूलाई बैंक प्रशासनले निलम्बन गरिसकेको छ । हिनामिना भएको रकम असुलउपर गर्न र दोषीमाथि कारबाही गर्न बैंकले प्रहरीमा जाहेरी दिएको बैंकले जनाएको छ ।
नबिल बैंकले गर्यो विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना
काठमाडौं । ग्लोबल मनी वीक २०२६ को अवसर पारेर नबिल बैंक, मालिगाउँ शाखाले काठमाडौंको टङ्गालस्थित श्री टङ्गाल माध्यमिक विद्यालयमा वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा १० देखि १२ सम्मका ४० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रम बालबालिका तथा किशोरकिशोरीहरूमा आर्थिक चेतना र वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष ग्लोबल मनी वीकको अवसरमा यस्ता सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा नबिल बैंक मालिगाउँ शाखाका प्रमुख उत्सव श्रेष्ठले बैंकिङ साक्षरता सम्बन्धी मुख्य प्रस्तुति दिएका थिए । कार्यक्रममा शाखाका सम्बन्ध अधिकृत कृपा दहाल र सञ्चालन इन्चार्ज कपिला लामिछानेको समेत उपस्थिति रहेको थियो । प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई बचतको महत्व, बैंकिङ प्रणालीको कार्यविधि, डिजिटल भुक्तानीका माध्यमहरू तथा सुरक्षित वित्तीय व्यवहारका बारेमा विस्तृत जानकारी गराइएको थियो । कार्यक्रमका वक्ताहरूले वर्तमान समयमा डिजिटल बैंकिङ, मोबाइल वालेट र अनलाइन कारोबारको प्रयोग तीव्र रूपमा बढ्दै गइरहेकाले युवापुस्तालाई सही वित्तीय ज्ञान हुनु अत्यावश्यक रहेकोमा जोड दिए । साथै विद्यार्थीहरूलाई पैसाको सही व्यवस्थापन, नियमित बचत गर्ने बानी र डिजिटल माध्यमको सुरक्षित प्रयोगबारे समेत व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । सहभागी विद्यार्थीहरूले यस कार्यक्रमबाट प्राप्त ज्ञानले भविष्यमा सही आर्थिक निर्णय लिन र सुरक्षित बैंकिङ कारोबार गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । नबिल बैंकले आगामी दिनमा पनि समुदायस्तरमा वित्तीय साक्षरताका यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ ।
सिटिजन्स बैंकको २०औं वर्ष प्रवेशको पूर्वसन्ध्यामा ६२ कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान’
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो स्थापनाको १९औं वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा ‘दीर्घ सेवा सम्मान’ कार्यक्रम आयोजना गरेको छ । हरेक वर्ष चैत्र १ गतेलाई ‘कर्मचारी दिवस’ का रूपमा मनाउँदै आएको बैंकले यस वर्ष पनि सोही दिन पारेर बैंकमा १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरूलाई सम्मान गरेको हो । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित विशेष समारोहका बीच प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले १० वर्ष सेवा पूरा गरेका ४८ जना र १५ वर्ष सेवा पूरा गरेका १४ जना गरी कुल ६२ जना कर्मचारीलाई पदक तथा प्रमाणपत्र प्रदान गरे । विसं २०६४ वैशाख ७ गते ४३ जना कर्मचारीबाट बैंकिङ यात्रा सुरु गरेको यस बैंकमा हाल १ हजार ७ सय ६४ कर्मचारीहरू कार्यरत छन् भने हालसम्म ३५६ जना कर्मचारीले दीर्घ सेवा पदक प्राप्त गरिसकेका छन् । समारोहलाई सम्बोधन गर्दै सीईओ पोखरेलले कर्मचारीहरूलाई जिम्मेवार, लगनशील र प्रतिबद्ध भई कार्यसम्पादन गर्न आग्रह गर्दै बैंकलाई नयाँ उचाइमा पुर्याउन शतप्रतिशत योगदान दिन आह्वान गरे। ‘बैंक अफ द इयर २०२४ र २०२५’ को प्रतिष्ठित उपाधि प्राप्त गर्न सफल यस बैंकले पछिल्लो समय प्रविधिमैत्री सेवामा आफूलाई अब्बल सावित गरेको छ । बैंकले नेपालमै पहिलो पटक ’सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल कार्ड) सञ्चालनमा ल्याउनुका साथै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘डिजी बैंक सेवा’, र फ्रिलान्सरहरूका लागि विशेष बचत खाता समेत सुरु गरिसकेको छ । हाल बैंकले देशभरका २०० शाखा, १६९ एटीएम र विभिन्न विस्तारित काउन्टरहरूमार्फत करिब २० लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । आगामी वैशाख ७ गते हुने मुख्य वार्षिकोत्सवको अवसरमा बैंकले महिनाभरि नै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।