नाडा अटो शो: कार बिक्रीमा तीब्र प्रतिस्पर्धा, दुई दिनमै एक अर्ब २६ करोड बढीको बुकिङ

काठमाडौं । गाडीहरुको मेला नाडा अटो शोमा विभिन्न ब्राण्डका करिब एक अर्ब २६ करोड रुपैयाँ भन्दा बढी चार पाङ्ग्रे गाडीको बुकिङ भएको छ । मंगलबारदेखि सुरु भएको शोको दुई दिनमा ११ स्टलबाट २७२ वटा कार, जिप तथा ह्याचब्याक बिक्री भएका हुन् । मेलाका अवसरमा विभिन्न कम्पनीले कारमा बीमा, नगद छुट, निःशुल्क सर्भिसिङ, उपहार जस्ता आकर्षक योजना ल्याएका छन्। विभिन्न कम्पनीबीच ग्राहकलाई आकर्षित गर्न प्रतिस्पर्धा चलिरहेको छ । आकर्षक अफरसँगै मेलामा नयाँ मोडल तथा मनपरेको कार किन्न आउनेको भीड लागेको छ । मेलामा भाग लिने १६ वटा कम्पनीमध्ये लक्ष्मी इन्टरकन्टिनेन्टल प्राली, गो अटोमोबाइल्स प्राली, एमएडब्लू प्राली र अरुण कन्टिनेन्टल ट्रेडर्सले भने बुकिङ बारे गोप्य राखेका छन् ।  साँग्रीला मोटर्स प्रालीले भने बुकिङ नखुलाएको जानकारी दिएको छ । महिन्द्रा नाडा अटो शोमा महिन्द्राको जीप सेग्मेन्टका गाडीहरु बढी बिक्री भएका छन् । मेलामा करिब १५ वटा जिप सेग्मेन्टका गाडीहरु बिक्री भएका छन् । जिपमध्येमा आकर्षणको केन्द्रबिन्दुमा रहेको थार चारवटा बुक भएको म्यानेजर सुरज राजवंशीले जानकारी दिए । महिन्द्राले जिपलाई शोको पहिलो दिन सार्वजनिक गरेको थियो । हालसम्म पाँचवटा डबल क्याब र १५ वटा जिप सेग्मेन्टका गाडी बिक्री गरेको कम्पनीले तीनवटा एक्युभी मोडलको कार बुकिङ दर्ता गरेको छ । कम्पनीले करीब ९ करोड ४२ लाख ४० हजार रुपैयाँ बराबरको बुकिङ गरेको छ । टाटा मोटर्स टाटा मोटर्सको दुई दिनमा ५५ वटा गाडी बुकिङ भएको छ । जसबाट करिब १८ करोड दुई लाख ५० हजार रुपैयाँ बराबरको कारोबार हुनसक्ने कम्पनीको अनुमान छ । भर्खरै सार्वजनिक भएको टाटा टिगोर २० वटा बुकिङ भएका छन् भने टियागो १५ जनाले बुकिङका लागि दर्ता गराएका छन् । जेस्ट करिब दस वटा र बाकी सुमो र गोल्ड बुक भएको कम्पनीले जानकारी दिएको छ । होन्डा मेलामा होन्डाले करिब तीन करोड नौ लाख रुपैयाँ बराबरको बुकिङ गरेको छ । दुई दिनमा होन्डाका सातवटा गाडी बुकिङ भएका हुन् । बुकिङ हुनेमा होन्डाका बिआरभी, सिटी, अमेज र ज्याज मोडलका कार रहेको कम्पनीले जानकारी दिएको छ । रिनाल्ट मेलामा लञ्च भएको दुई दिन मै रिनाल्टको क्विड मोडलको कार सात जनाले बुकिङ गरेका छन् । रिनाल्टले दुई दिनमा करिब सात करोड २५ लाख रुपैयाँ बराबरको बुकिङ गरेको हो । रिनाल्टको जम्मा २० वटा बुकिङ मध्ये १३ वटा डस्टर रहेको कम्पनीले जानकारी दिएको छ । डाट्सन सुरुवाती दुई दिनमा डाट्सनले तीन करोड ६६ लाख रुपैयाँ बराबरको सवारीसाधन बुकिङ दर्ता गराएको छ । दुई दिनमा भएको १८ वटा गाडी बुकिङ मध्ये १४ वटा रेडी गो १ लिटर , दुईवटा रेडि गो ८०० लिटर र गो दुई वटा बुकिङ भएको कम्पनीले जानकारी दिएको छ । इसुजु मेलामा इसुजुका १२ वटा गाडी बुकिङ भएका छन् । जसबाट करिब सात करोड रुपैयाँ बराबरको कारोबार भएको कम्पनीको अनुमान छ । शोमा भी क्रस ११ वटा बुकिङ भएका छन् भने एउटा एस क्याब बुक भएको कम्पनीले जानकारी दिएको छ । भोक्सवागेन भोक्सवागेनले मेलाको दोस्रो दिनसम्ममा २८ वटा गाडी बुकिङ दर्ता गराएको छ। सो अवधिमा करिब २२ करोड ५३ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार १४ वटा क्रस पोलो र १४ वटा न्यु टिगुवान बुकिङ भएका छन्। निस्सान पायोनियर ग्रुपको निस्सानका ३० वटा गाडीहरु बुक भएका छन् । जसको मूल्य करिब आठ करोड ३० लाख हुन्छ । कम्पनीका अनुसार अधिकांश ग्राहकले नयाँ मोडलको सनी कार रुचाएका छन् । जम्मा बुकिङ मध्ये २५ प्रतिशत बुकिङ सनीको रहेको छ । बाकी ७५ प्रतिशत माइक्रा एक्टिभले लिएको कम्पनीले दाबी गरेको छ । किया कियाको विद्युतीय कार सोल इभीमा ग्राहकको विशेष आकर्षण पाइएको छ । ५६ लाख रुपैयाँ पर्ने उक्त कारमा डेढ लाख रुपैयाँ छुट दिइएको छ । दुई दिनमा उक्त कारमा २२ जनाले बुकिङ गरेका छन् । कम्पनीले करिब ३३ करोड ६० लाख रुपैयाँ बराबरको गाडी बुकिङ गराएको छ । विद्युतीय कारपछि सबैभन्दा बढी पिकान्टो कार बिक्री भएको कम्पनीको दाबी छ । सुबारु सुबारुले चार १३ लाख रुपैयाँ बराबरको कार बुकिङ गराएको छ । बुकिङ हुने चार गाडी मध्ये एउटा फरेस्टर मोडल र तीन वटा एक्सओभी मोडलका रहेको कम्पनीले जानकारी दिएको छ । स्याङयाङ आइएमएस मोटर्सको स्याङयाङ ब्राण्डका १५ वटा कारहरु बुकिङ भएका छन् । एक्सएलभी मोडका ६ वटा, टिवोलीका तीन वटा, एक्टन स्पोर्जका चार वटा पिकअप र कोर्यान्डोका दुई वटा गाडी बुकिङ भएका छन् । बुकिङ सँगै दुई दिनमा कारोबार ९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको कम्पनीले जानकारी दिएको छ ।  

सिप्रदीद्धारा नाडा अटो शोमा म्याक फोरटी रोयल सार्वजनिक

काठमाडौं । म्याक लुब्रिकेन्टको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले नाडा अटो शो मा म्याक फोरटी रोयल सार्वजनिक गरेको छ । उक्त उत्पादनलाई भारत पेट्रोलियम कर्पोरेशनका कार्यकारी निर्देशक एमएम सोमाया र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले एक कार्यक्रमबीच संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । कम्पनीका अनुसार म्याक फोरटी रोयल उच्च पावर भएका ४ स्ट्रोक बाइकहरुलाई लक्षित गरि उत्पादन गरिएको सेमी सिन्थेटिक आयल हो । साथै कम्पनीले विशेषतः रोयल इनफिल्ड बाइक प्रयोगकर्ताहरुलाई सो उत्पादन प्रयोग गर्न आग्रह समेत गरेको छ । यसले उच्च पावर र टर्क प्रदान गर्ने भएकोले बाइक उच्च तापक्रममा पनि अत्यधिक गतिमा कुद्न सक्छ । यसका साथै यसको छिटो पिकअपले रोमाञ्चक ड्राइभिङ्ग अनुभव प्रदान गर्दछ । यसले अक्सिडेसन स्थिरतालाई बढाउँछ जसले गर्दा इन्जिन र आयलको आयु स्वतः बढ्छ र यसको इन्जिनको पाटपुर्जाहरुलाई समेत सुरक्षित राख्दछ । लुब्रिकेन्टको उत्पादनहरुलाई निरन्तर रुपमा विस्तार गरि म्याकलाई ग्राहकहरुको पहिलो रोजाईको रुपमा स्थापित गराउने क्रममा म्याक फोरटी रोयललाई भारत पेट्रोलियम कर्पोरेशन लि. ले भारतमा उद्घाटन गरिसकेको छ । उक्त कम्पनीले लुब्रिकेन्ट वर्गमा गुणस्तरीय उत्पादनहरु जस्तै अटामोटिभ इीन्जन, गियर आयल, ट्रान्समिसन आयल, स्पेसियालिटी आयल र ग्रिज जस्ता उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ ।  

अबदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट

ललितपुर । यातायात व्यवस्था विभागले अबदेखि चार र तीन पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने प्रावधान ल्याएको छ । यातायात व्यवस्था विभाग बागमती शाखा एकान्तकुनामा आज आयोजित कार्यक्रममा विभागका महानिर्देशक रुपनारायण भट्टराईले सवारी साधनमा जडान गरिने नयाँ प्रविधिको उच्च सुरक्षित इम्बोस्ड नम्बर प्लेटले सवारी साधनको सुरक्षा मजबूत हुने बताए । नम्बर प्लेटसँगै सवारी साधनमा राखिने रेडियो फ्रिक्वेन्सी आइडेन्टीफाइ डिभाइस (आरएफआइडी) स्टिकरले गाडीको बारेमा सम्पूर्ण जानकारी पाउन सकिने उनकाे भनाइ छ । आरएफआइडी स्टिकरमा जडान गरिएको एन्टेनाले सवारी साधन कहाँ र कति दुरीमा पुगेको छ भन्ने जानकारी थाहा पाउन सकिने उहाँले बताए । उनका अनुसार आगामी पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने लक्ष्य रहेको छ । यातायात व्यवस्था विभाग बागमती शाखा एकान्तकुनाका प्रमुख वसन्त अधिकारीका अनुसार इम्बोस्ड नम्बर प्लेटका कारण सवारी साधनको चोरी न्युन हुनेछ । उहाँका अनुसार हाल सरकारी, संस्थान र निजी सवारी साधनमा यो व्यवस्था लागु गरिएको छ । रासस