कलंकी-कोटेश्वर सडकमा गति सीमाः मुख्य लेनमा ५० किमि, सर्भिस लेनमा प्रतिघण्टा २० किमि
काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण गर्न चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डमा गति सीमा निर्धारण गरिएको छ। विस्तारित यो खण्डमा तीव्र गतिमा गुड्ने सवारीका कारण दुर्घटना बढेकाले ट्राफिक प्रहरीले गति सीमा तोकेको हो । यो सडकको मुख्य लेनमा ५० किमि प्रतिघण्टाको गति तोकिएको छ। सर्भिस लेनमा २० किमि प्रतिघण्टा तोकिएको छ । जेठ २० देखि नै सवारीसाधनको गति जाँच्ने काम भइरहेको ट्राफिक महाशाखाले जनाएको छ । तोकिएको गतिभन्दा बढी गतिमा सवारीसाधन चलाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४ (६) बमोजिम आवश्यक जरिवाना र कारबाही हुने जनाइएको छ। साढे १० किलोमिटर कलंकी–कोटेश्वर सडक खण्ड चीन सरकारको आर्थिक तथा प्रविधिक सहयोगमा विस्तार गरिएको थियो । दुईलेनको सडक आठ लेनमा विस्तार गरिएको थियो। सडकको बिचमा चार लेनको मुख्य सडक र दायाँ र बायाँ दुई÷दुई लेनको सहायक सडक छ। उपत्यकाभित्र सडक भए पनि यो पैदलमैत्री छैन। पर्याप्त मात्रामा जेब्रा क्रसिङ, आकासे पुल, ट्राफिक लाइट नहुँदा बारम्बार दुर्घटना भइरहेको छ । सडक विभागले सडकलाई यात्रुमैत्री र सुरक्षित बनाउन अध्ययन गरिरहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
१०१ भन्दा बढी सदस्य भएका १५० यातायात समिति कम्पनीमा दर्ता, ‘हट्यो सिण्डिकेट’
काठमाडौँ । शक्तिशाली भनिएका र यातायात क्षेत्रमा सिन्डिकेट चलाइरहेका यातायात समितिहरू कम्पनीमा रूपान्तरण भएका छन् । सरकारले कानुन संशोधन गरेर १८ जेठभित्र कम्पनीमा रूपान्तरण हुने म्याद तोकेको थियो । तोकिएको समयावधिभित्रै १ सय १ भन्दा बढी सदस्य भएका देशभरका सबै यातायात समितिले कम्पनीमा दर्ताका लागि विवरण बुझाएको कम्पनी रजिस्ट्रारको कार्यालयका प्रमुख रजिस्ट्रार भुवनहरि अर्यालले जानकारी दिए । ‘शनिबार मध्य–रातिसम्म दर्ताका लागि अनलाइन तथा उपस्थित भएर विवरण बुझाएका समितिलाई अध्ययन गरेर दर्ता गर्ने काम भइरहेको छ,’ उनले भने, ‘यो काम आइतबार मध्य–रातिसम्ममा सम्पन्न हुन्छ ।’ १८ जेठमा सार्वजनिक बिदा (शनिबार) भएकाले काम आइतबार गरिएको हो । आइतबार बेलुकासम्ममा १ सय १ भन्दा बढी सदस्य भएका १ सय ५० वटा समितिलाई कम्पनीमा दर्ता गरिएको छ । दर्ताका लागि कागजपत्र बुझाएकाहरू थप भएकाले संख्या केही थपिनेछन् । तर, १ सय १ वा त्योभन्दा कम सदस्य संख्या रहेका समितिलाई भने कानुनी बन्देज नभएकाले अझै दर्ता हुन पाउनेछन् । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफूअन्तर्गतका सबै यातायात समिति र व्यवसायीलाई ५ दिनभित्र कम्पनीमा दर्ता हुन ५ जेठमा सूचना जारी गरेको थियो । महासंघले कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ अनुसार कम्पनीमा दर्ता गर्न सूचित गरेको थियो । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
असार १ बाट बिहान ८ देखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी काठमाडौँ उपत्यका प्रवेश गर्न नपाउने
काठमाडौँ । असार १ गतेदेखि काठमाडौं उपत्यकामा दिउँसोको समयमा कुनैपनि मालबाहक सवारी चलाउन नपाइने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिङरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी ल्याउन नपाइने भएको निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । काठमाडौंको सवारी चाप, दुर्घटना लगायत विषयलाई ध्यानमा राखेर मालबाहक सवारी चलाउन रोक लगाउने निर्णय भएको हो हो–महानिर्देशक दाहालले भने । दाहालका अनुसार यो व्यवस्था सार्वजनिक बिदाका दिन भने लागू हुने छैन । साथै अत्यावश्यक सेवामा प्रयोग भएका मालबाहक सवारीलाई भने यो नियम लागु हुने छैन । दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला, पेट्रोलियम पदार्थ, लगायतका सामग्री बोकेका सवारी बाहेका अन्य सबै मालबाहक सवारीलाई विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म तोकिएका स्थान बाहेक चलाउन रोक लगाइएको छ–विभागले निकालेको सूचनामा उल्लेख छ । काठमाडौं र ललितपुरको चक्रपथभित्रको सबै क्षेत्र र भक्तपुरको भित्री शहरी क्षेत्रमा पनि यो प्रावधान लागू हुने विभागले जनाएको छ । त्यसैगरी चक्रपथ बाहिरको चाबहिल–जोरपाटी सडक, गोपीकृष्ण–कपन सडक, नारायणगोपाल चोक–बुढानीलकण्ठ सडक, बालाजु बाइपास–गोलढुंगा सडक, बगडोल–नख्खु सडक, सातदोबाटो–हरिसिद्धी सडक, ग्वार्को–चापागाउँ सडकमा विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी चलाउन नपाइने जनाइएको छ । हाल काठमाडौंको रिङरोड भित्र ठूला मालबाहक सवारीलाई मात्र प्रवेश रोक लगाईदै आएको छ ।