ट्राफिक प्रहरी फेरी जाग्याे, हर्न बजाउने ४१३ सवारी साधन एकैदिन कारवाहीमा
काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो । महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिइएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको जानकारी दिए । महाशाखाले जथाभावी हर्न बजाउने सवारी साधनलाई प्लेकार्ड, ब्यानर, अडियो, पर्चा पम्लेट वितरण गरेर सचेत गराएको थियो । “ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका छौँ”, उनले भने । यसअघि उपत्यकामा विसं २०७४ वैशाख १ देखि उपत्यकालाई पूर्ण हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । उक्त घोषणा धेरै मात्रामा लागू भए पनि पूर्णरूपमा भने लागू भएको थिएन । महाशाखाले ध्वनि प्रदूषण गरेवापत एउटा सवारीसाधनबाट रु ५०० कारवाही स्वरुप लिँदै आएको छ । यातायात व्यवस्था विभागका अनुसार देशभर ३३ लाख तथा उपत्यकामा मात्र नौ लाख सवारीसाधन सञ्चालमा छन् । रासस
दिउँसो मालवाहक सवारी गुड्न रोक, ‘आपूर्ति व्यवस्थामा गम्भीर असर पुग्ने’
काठमाडौँ । ट्राफिक व्यवस्थापनमा सहज गर्ने लक्ष्यका साथ सरकारले मालवाहक सवारी साधन दिउँसोको समयमा गुड्न रोक लगाएकामा नेपाल चेम्बर अफ कमर्सले ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलाई ध्यानकर्षण गराउँदै यस व्यवस्थाले औद्योगिक उत्पादनलगायत खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीकोे राजधानीभित्र हुने आपूर्ति व्यवस्थामा गम्भीर असर पुग्ने उल्लेख गरेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार त्यस्तो रोकले आपूर्ति प्रणालीमा नै असर पर्नेछ । मन्त्रालयले सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग हुनेबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । चेम्बरले सवारी आवागमन सञ्चालनमा सहज तुल्याउन सडक निर्माण, विस्तार तथा मर्मत गर्ने एवम् अन्य पूर्वाधार विकास गर्ने, प्रविधिमा सुधारजस्ता वैकल्पिक व्यवस्था गर्नसमेत माग गरेको छ ।
सुजुकीले ल्यायो सुपर क्यारीमा विशेष अफर, ‘१ वर्षको निःशुल्क बीमा र २० हजार नगद छुट’
काठमाडौँ । सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर ल्याएको छ । कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्ने ग्राहकलाई १ वर्षको निःशुल्क बीमा तथा रु. २०००० को नगद छुटपनि प्रदान गर्ने जनाएको छ । कम्पनीले २ वर्ष/३०००० किलोमिटर (जुन अगाडि हुन्छ त्यो)को वारेन्टी समेत प्रदान गरेको छ । कम्पनीद्वारा नयाँ सुजुकी सुपर क्यारीको खरिदमा १ वर्षसम्मको निःशुल्क सर्भिसिङ्ग सुबिधा उपलब्ध गराएको छ, जस अन्तर्गत इन्जिन आयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रिन वास सेड्युल अनुसार पर्दछ । बजारमा नयाँ सुपर क्यारीको मूल्य रु.११,९९,०००/– रहेको छ । यस्ता छन् विशेषताः सुपर क्यारीमा ३.२५ स्क्वायर मिटरको लोडिङ्ग क्षेत्र रहेको छ भने ७४० किलोसम्मको भारवहन क्षमता रहेको छ । १६० एम एमको ग्राउन्ड क्लियरेन्स, २११० एमएमको ह्वीलवेस तथा ४.३ मिटर, टर्निङ्ग रेडिएस रहेको छ । लाइट स्ट्रिमिङ्ग ह्वील, मोबाइलचार्जिङ्ग सकेट, डुयअल असिस्ट ग्रिप, मल्टि पर्पोज स्टोरेज स्पेस, बोटल होल्डर आदिजस्ता सुविधाहरु रहेका छन् । १२ इन्चको ह्वील्स, लोड सेन्सर प्रविधि, चुस्त ब्रेकिङ्गको लागि अगाडिको फ्रन्ड डिस्क तथा रियर ड्रम ब्रेक आदिसुपर क्यारीक ा विशेषताहरु हुन् ।