नियो स्टोरको सातौं तथा सबैभन्दा ठूलो फ्ल्यागशिप स्टोर लाजिम्पाटमा

काठमाडौं । नेपालको इलेक्ट्रोनिक्स रिटेल चेन नियो स्टोरले काठमाडौंको लाजिम्पाटमा सातौं तथा देशकै सबैभन्दा ठूलो ‘फ्ल्यागशिप स्टोर’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरूलाई उत्कृष्ट भ्यालु र अन्तर्राष्ट्रिय स्तरको खरिद अनुभव प्रदान गर्ने उद्देश्यका साथ यो नयाँ शोरूम खोलिएको हो ।  नियो स्टोरका म्यानेजिङ डाइरेक्टर सञ्जय गोल्छाका अनुसार लाजिम्पाटमा सञ्चालनमा आएको यो स्टोर नेपालभरिकै सातौं शाखा हो। यसअघि काठमाडौं उपत्यकामा ६ र पोखरामा १ गरी ७ वटा स्टोर सञ्चालनमा थिए।  ‘लाजिम्पाटको यो हाम्रो फ्ल्यागशिप स्टोर हो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो पनि छ,’ गोल्छाले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेको उपभोक्तालाई उत्कृष्ट मूल्यमा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउनु हो । ’ नयाँ शोरूममा ल्यापटप, मोबाइल फोन, सीसीटीभी क्यामेरा, गेमिङ कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामग्रीहरूको बृहत् संकलन रहेको छ । विद्यार्थी, व्यवसायीदेखि कार्यकारीहरूसम्म सबै वर्गका ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर उत्पादनहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।  नियो स्टोरले आफ्ना उत्पादनहरूलाई ‘बेस्ट भ्यालु’को रूपमा प्रस्तुत गरेको छ । डाइरेक्टर गोल्छा भन्छन्, ‘हामी केवल जेन्युइन र ब्रान्डेड ल्यापटप मात्र बिक्री गर्छौं । हरेक उत्पादनमा वारेन्टी, ग्यारेन्टीका साथै एक वर्षको बीमा सुविधा पनि उपलब्ध छ । ’ ग्राहकहरूको सुविधाका लागि कम्पनीले किस्ताबन्दी (ईएमआई) को व्यवस्था पनि गरेको छ । नागरिकताको आधारमा पनि ग्राहकले सहजै ईएमआई सुविधा प्राप्त गर्न सक्नेछन्। ‘हामी केवल किन्ने बेलाको मूल्यमा मात्र होइन, उत्पादनको समग्र ‘कस्ट अफ ओनरशिप’मा ग्राहकलाई उत्कृष्ट भ्यालु प्रदान गर्न चाहन्छौं, उनले थपे ।  यो सातौं स्टोरसँगै नियोले भविष्यमा आवश्यकताअनुसार थप शाखाहरू विस्तार गर्ने र हाल सञ्चालनमा रहेका स्टोरहरूलाई समेत थप आधुनिक बनाउँदै लैजाने योजना बनाएको छ ।  ‘हाम्रो लक्ष्य नेपालमै ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको खरिद अनुभव दिनु हो,’ गोल्छाले भने । ग्राहकहरूलाई कुनै पनि इलेक्ट्रोनिक उत्पादन खरिद गर्दा मूल्य मात्र नभएर त्यसको समग्र भ्यालु हेर्न उनले आग्रह गरे । 

‘सुरक्षित यात्रा तपाईंकै रोजाइमा’ नारासहित इनड्राइभको नयाँ सुरक्षा अभियान सुरु, बीमा पनि समेटियो

काठमाडौं । राइड सेयरिङ प्लेटफर्म इनड्राइभले यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईंकै रोजाइमा’ नामक बृहत् सुरक्षा अभियान सुरु गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममाझ कम्पनीकी ब्राण्ड एम्बेस्डर नायिका स्वस्तिमा खड्काले उक्त अभियान सार्वजनिक गरिन् । अभियानको मुख्य उद्देश्य प्रयोगकर्ताहरूलाई एपमा उपलब्ध सुरक्षा सुविधाहरूबारे विस्तृत जानकारी गराउँदै यात्रालाई थप सुरक्षित र विश्वसनीय बनाउनु रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै ब्राण्ड एम्बेस्डर खड्काले इनड्राइभबारे समाजमा रहेका केही भ्रमहरूलाई यो अभियानले चिर्ने विश्वास व्यक्त गरिन् । ‘कतिपयमा इनड्राइभमा यात्रा सुरक्षित छैन कि वा यसमा बीमाको सुविधा छैन कि भन्ने गलत बुझाइ छ,’ उनले भनिन्, ‘यो अभियानले एपमा भएका हरेक सुरक्षा सुविधाहरूलाई सरल तरिकाले यात्रुसम्म पुर्‍याउनेछ । तपाईंको रोजाइमा सुरक्षित यात्रा तय गर्ने स्वतन्त्रता इनड्राइभले दिएको छ । ’ उनले यो सकारात्मक सन्देश आम प्रयोगकर्तासम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।  इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रीता पोखरेलका अनुसार इनड्राइभले सुरक्षालाई आफ्नो प्रमुख उत्तरदायित्व मानेको छ । इनड्राइभले अभियानमार्फत सुरक्षा सुविधाहरूको बारेमा जानकारी गराएको छ । जसमा यात्रुले आफूलाई लिन आउने विभिन्न राइडरहरूको प्रोफाइल, रेटिङ र उनीहरूले पूरा गरेको राइड संख्या हेरेर आफूलाई सबैभन्दा सुरक्षित लाग्ने राइडर छनोट गर्न सक्छन् ।  यात्राको क्रममा यात्रुले आफ्नो लाइभ लोकेसन परिवार वा साथीभाइलाई सजिलै सेयर गर्न सक्छन्, जसले गर्दा उनीहरू कहाँ पुगे भनेर ट्र्याक गर्न सकिन्छ । कुनै असुरक्षित महसुस भएमा एपबाटै सिधै प्रहरी वा आफ्नो आपत्कालीन सम्पर्क व्यक्तिलाई कल गर्न सकिने सुविधा छ । यात्रा सकिएपछि यात्रुले राइडरलाई र राइडरले यात्रुलाई रेटिङ दिन सक्छन्। यसले दुवै पक्षलाई मर्यादित र जिम्मेवार बनाउन मद्दत गर्छ । इनड्राइभमार्फत हुने हरेक यात्रा बीमाद्वारा सुरक्षित गरिएको छ । जसले गर्दा यात्रु र राइडर दुवैले ढुक्क महसुस गर्न सक्छन् ।   ‘हिडन कल फिचर’ ले गर्दा यात्रु र चालकको व्यक्तिगत फोन नम्बर गोप्य रहन्छ । जसले गर्दा व्यक्तिगत विवरण सुरक्षित हुन्छ ।  इनड्राइभकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले यी सुविधाहरू प्रयोग गर्न अल्छी नगरी हरेक यात्रामा उपयोग गर्न प्रयोगकर्ताहरूलाई आग्रह गरिन् । ‘हामीले राइड सुरु हुनुअघि, यात्राको दौरान र यात्रापछि, तीनवटै चरणमा सुरक्षा सुनिश्चित गर्ने फिचरहरू राखेका छौं,’ उनले भनिन् ।  इनड्राइभले यात्रुको सुरक्षाका साथै आफ्ना राइडरहरूलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ । हालै मात्र ‘प्ल्याटिनम गिभ अवे’ कार्यक्रमअन्तर्गत कार र बाइक प्रदान गरेको कम्पनीले क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै फेरि नयाँ उपहार योजना ल्याएको छ । यसअन्तर्गत उत्कृष्ट राइडरले कार, बाइक, स्मार्टफोन, स्मार्टवाच र फ्युल भौचर जित्ने मौका पाउनेछन् ।

सीएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’मोटरसाइकल लन्च हुँदै, नेपालमा परीक्षण सुरु

काठमाडौं । सीएफमोटोको नयाँ डुअल–स्पोर्ट मोटरसाइकल परीक्षणका क्रममा देखा परेको छ । नेपालमा बढ्दै गएको एड्भेन्चर र डुअल–स्पोर्ट सेगमेन्टमा नयाँ मोडल छिट्टै लन्च गर्नेगरी सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले २५० डुअलको परीक्षण सुरु गरेको हो ।  सो नयाँ मोडलले मोटरसाइकल प्रेमीलाई सहरी यात्रादेखि अफरोडसम्म बहुउपयोगी विकल्प प्रदान गर्ने विश्वास लिइएको छ । नयाँ मोटरसाइकललाई सीएफमोटोले मजबुत अफरोड क्षमता र स्लीक अर्बन–रेडी डिजाइनका साथ अत्यन्त आकर्षक लुक्समा तयार पारेको छ ।  नेपालका विविध सडक परिस्थिति र चुनौतीपूर्ण भूपरिवेशलाई ध्यानमा राखेर विशेष रूपमा उपयुक्त मोटरसाइकल ल्याउन चाहेको कम्पनीले संकेत दिएको छ । डिजाइनलाई आकर्षक र एग्रेसिभ लुक्स दिन सो नयाँ बाइकमा शार्प एंगुलर फ्रन्ट फेसियाका साथ विशेष डुअल–स्पोर्ट हेडलाइट जडान गरिएको छ । अफरोडमा यात्रा गर्दा धुलो तथा ग्राभेलबाट सुरक्षा दिन उठाइएको फ्रन्ट फेन्डर र लम्बिएको फोर्क गार्ड उपलब्ध गराइएको छ ।  बाइकमा लामो ट्राभल सस्पेन्सन, स्लिम तथा स्ट्रिमलाइन बडी प्यानल, हाई–माउन्टेड एक्जस्ट, डुअल–पर्पस टायर र उभिएर चलाउँदा समेत राम्रो नियन्त्रण दिन सक्षम, स्कल्प्टेड ट्याङ्कसँग जोडिएको सानो स्लिम सीट प्रोफाइल दिइएको छ । इन्डुरो मेसिनबाट प्रेरित क्लासिक डिजाइन फिलोसफीमा आधारित २५० डुअलको उत्पादन आधुनिक तवरबार गरिएको छ भने  प्रिमियम फिनिशिङले यसलाई थप परिष्कृत बनाएको छ । टिकाउपन र ह्यान्डलिङलाई विभिन्न परिस्थितिमा (सहरको भीडभाडदेखि बिग्रिएको सडक र अफरोड ट्रेलसम्म) मूल्यांकन गरिरहेको अवस्थालाई मध्यनजर गर्दा सीएफमोटो नेपाली सडक सुहाउँदो दछ । एर्गोनोमिक डिजाइन, फराकिलो ह्यान्डलबार र अप–राइट राइडिङ पोजिसनले सिएफमोटो २५० डुअललाई  लामो यात्रादेखि विकेन्ड एड्भेन्चरसम्मका लागि उपयुक्त बनाउँने अपेक्षा गरिएको छ ।