डेल्टा अटोकर्पको फेस्टिभ अफरमा १० लाख नगद र थाइल्याण्ड भ्रमणको अवसर
काठमाडौं । नेपालका लागि भेस्पा–एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्पले दशैं, तिहार तथा छठ पर्वको अवसरमा 'डबल या तेब्बर बबाल' फेस्टिभ अफर सार्वजनिक गरेको छ । नेपालीहरूको महान पर्वलाई अझ उत्साहपूर्ण बनाउन ल्याइएको यस अफर अन्तर्गत भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत आकर्षक नगद पाउनेछन् । कार्डमा दिइएको क्युआर कोड स्क्यान गरी जितिएको रकमलाई दोब्बर वा तेब्बरसम्म बढाउन सकिने कम्पनीले जनाएको छ । यससँगै, हरेक हप्ताको लक्की ड्रमार्फत ग्राहकले ४ रात ५ दिनको रोमाञ्चक थाइल्याण्ड भ्रमण जित्ने अवसर पाउनेछन् । बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली ग्राहकले रु। १० लाख नगद प्राप्त गर्ने विशेष मौका पाउनेछन् । त्यसैगरी, जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम ४० हजार रुपैयाँ मूल्याङ्कन पाउने र स्क्र्याच कार्डमार्फत थप १ लाख ५० हजारसम्म लाभ लिन सकिनेछ । ४.९९ प्रतिशत ब्याजदरमा इएमआइ सुविधा र शून्य सेवा शुल्कसहितका फाइनान्स सुविधाहरू पनि उपलब्ध छन् । अफर नेपालभरका सबै भेस्पा–एप्रिलिया शोरूममा लागू हुने कम्पनीले जनाएको छ । योजनाबारे जानकारी दिँदै डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत विजय महतोले भने, 'ग्राहकहरूलाई हरेक वर्ष नयाँ अनुभव र लाभ दिलाउने हाम्रो प्रयास हो । ‘डबल या ट्रिपल बबाल’ अफरले यसपटकको पर्वलाई थप रोचक र यादगार बनाउनेमा हामी विश्वास गर्छौं ।'
विश्वकै ठूलो ईभी निर्माता बीवाईडीको नाफा घट्दै, उत्पादन विस्तार योजनामा ढिलाइ
काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) निर्माता बीवाईडीको त्रैमासिक नाफा तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक घटेको छ । सरकारद्वारा मूल्ययुद्धविरुद्ध चलाइएको अभियानबीच कम्पनीको विस्तारमा अवरोध आएपछि नाफा घटेको हो । विश्वकै सबैभन्दा ठूलो ईभी उत्पादक बीवाईडीको दोस्रो त्रैमासिक (एप्रिल–जुन) शुद्ध नाफा ६.४ अर्ब युआन (८९४.७४ मिलियन अमेरिकी डलर) रह्यो, जुन गत वर्षको तुलनामा २९.९ प्रतिशतले घटेको हो । यसअघि पहिलो त्रैमासिकमा नाफा १००.४ प्रतिशतले बढेको थियो । सोही अवधिमा आम्दानी १४ प्रतिशतले बढेर २००.९ अर्ब युआन पुगेको कम्पनीले शुक्रबार जनाएको छ । पहिलो छ महिनामा नाफा १३.८ प्रतिशतले र आम्दानी २३.३ प्रतिशतले बढेको छ । टेस्लाको सबैभन्दा ठूलो चिनियाँ प्रतिस्पर्धी मानिने बीवाईडीले पछिल्ला महिनामा चुनौती भोगेको छ, किनकि चिनियाँ अधिकारीहरूले मूल्ययुद्ध अन्त्य गर्न आह्वान गरेका छन्, जसले पूरै उद्योगमा नाफाको मार्जिनमा दबाब दिएको छ । बीवाईडीले यस वर्ष विश्वभर ५५ लाख कार बिक्री गर्ने लक्ष्य राखेको छ । तर, पहिलो सात महिनामा मात्र २४ लाख ९० हजार कार बिक्री भएको छ, जुन लक्ष्यको ४५ प्रतिशत मात्र हो । ‘बीवाईडीले यस वर्षको महत्त्वाकांक्षी लक्ष्य पुरा गर्ने सम्भावना निराशाजनक देखिन्छ,’ तेस्रो ब्रिजका विश्लेषक रोजाली चेनले भनिन् । नोमुराका विश्लेषकहरूले अगस्ट १२ मा बीवाईडीले यस वर्ष ५ मिलियनदेखि ५.२ मिलियनसम्म कार बेच्ने अपेक्षा गरेको बताएका थिए । चीनमा बिक्रीबाट करिब ८० प्रतिशत आम्दानी गर्ने बीवाईडीको बिक्री जुलाईमा लगातार तेस्रो महिनासम्म घट्यो भने १७ महिनापछि पहिलोपटक उत्पादन पनि घटेको छ । जुनमा रोयटर्सले जनाएको अनुसार कम्पनीले उत्पादन ढिला गरेको र चीनका कारखानामा क्षमता विस्तार योजना पनि स्थगित गरेको छ । बीवाईडी ती प्रमुख अटो निर्मातामध्ये एक हो जसले गत जुनमा चिनियाँ अधिकारीको निर्देशनपछि आपूर्तिकर्तालाई ६० दिनभित्र भुक्तानी गर्ने र मूल्ययुद्ध अन्त्य गर्ने वाचा गरेको थियो । यस वाचापछि विश्लेषकहरूले बीवाईडीलगायत अन्य अटो निर्माताको वर्किङ क्यापिटल (चालु सम्पत्ति र चालु दायित्वबीचको अन्तर) मा अझ कडा निगरानी गरेका छन् । जुन ३० सम्म बीवाईडीको वर्किङ क्यापिटल घाटा १२२.७ अर्ब युआन पुगेको छ, जुन मार्चको अन्त्यमा ९५.८ अर्ब युआन थियो । सन् २०२४ को अन्त्यमा यो १२५.४ अर्ब युआन थियो । बीवाईडी कम्पनीको स्थापना सन् १९९५ मा वाङ चुआनफुले चीनको शेनझेन सहरमा गरेका थिए । सुरुमा कम्पनीले मोबाइल फोन र लिथियम ब्याट्री उत्पादन गर्ने काम गर्थ्याे । ब्याट्री क्षेत्रमा छिट्टै सफलता हासिल गरेपछि यो संसारकै प्रमुख रिचार्जेबल ब्याट्री उत्पादक बन्न पुग्यो । त्यसपछि कम्पनीले अटोमोबाइल क्षेत्रमा प्रवेश गर्ने निर्णय गर्यो र सन् २००३ मा एउटा सानो चिनियाँ अटो कम्पनीलाई किनेपछि विद्युतीय सवारीसाधन (ईभी) उत्पादनतर्फ कदम बढाएको हो । बीवाईडीको वास्तविक उदय सन् २००८ पछि सुरु भयो, जब यसले आफ्नै विद्युतीय कार मोडेल बजारमा ल्यायो । चीन सरकारको ईभी प्रवर्द्धन नीतिले कम्पनीलाई ठूलो फाइदा पुग्यो । समयसँगै कम्पनीले ब्याट्री उत्पादनमा भएको अनुभवलाई सवारीसाधनमा लागू गर्यो र किफायती विद्युतीय कार तथा बसहरू निर्माण गर्दै बजार विस्तार गर्यो। २०२२ मा यसले पेट्रोल–डिजेल कार उत्पादन पूर्ण रूपमा रोक्दै केवल ईभी र हाइब्रिड कार उत्पादन गर्ने घोषणा गर्यो । आज बीवाईडी विश्वकै सबैभन्दा ठूलो ईभी निर्माता बन्न सफल भएको छ ।
सानिमा बैंकका ग्राहकलाई बस टिकट खरिदमा क्यासब्याक सुविधा
काठमाडौं । सानिमा बैंकले ग्राहकलाई डिजिटल भुक्तानी प्रयोगमा उत्साहित गर्न बससेवासँग सहकार्य गर्दै आकर्षक क्यासब्याक योजना ल्याएको छ । यस अन्तर्गत सानिमा भिसा डेबिट वा क्रेडिट कार्डमार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट टिकट खरिद गर्दा ग्राहकले नेपालभित्रको टिकटमा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म र भारतको टिकटमा १५ प्रतिशत वा अधिकतम ४०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना २०८२ भदौ १५ देखि २०८२ फागुन १४ गतेसम्म लागू रहने बैंकले जनाएको छ । सानिमा बैंकले यसअघि पनि विभिन्न छुट तथा अफरमार्फत डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्दै आएको छ । हाल बैंकका सातै प्रदेशमा १३४ वटा शाखा र १२७ वटा एटीएम सञ्चालित छन् ।