रोहित पौडेललाई एसपीजी अटोमोबाइल्सको सम्मान, जे फाइभ ईभीसहित ब्रान्ड एम्बासडर घोषणा
काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बासडर घोषणा गरेको छ । नेपाली क्रिकेटमा ऐतिहासिक सफलता दिलाउँदै पौडेलको कप्तानीमा लुम्बिनी लायन्सले हालै एनपीएल सिजन-२ को उपाधि जित्न सफल भएको थियो । उक्त उल्लेखनीय उपलब्धिको सम्मानस्वरूप एसपीजी अटोमोबाइल्सले पौडेललाई अत्याधुनिक जे फाइभ ईभी गाडी प्रदान गरेको छ । कम्पनीले गाडी मात्र होइन, गाडीमा लाग्ने सम्पूर्ण करसमेत स्वयं व्यहोर्ने घोषणा गर्दै पौडेलप्रतिको सम्मान र विश्वासलाई अझ बलियो बनाएको छ । यस अवसरमा एसपीजी अटोमोबाइल्सले यसअघि ब्रान्ड एम्बासडरको भूमिका निर्वाह गरेका राष्ट्रिय क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई पनि विशेष सम्मान गरेको छ । एसपीजी अटोमोबाइल्सले खेलकुद क्षेत्रसँगको सहकार्यमार्फत युवा पुस्तालाई प्रेरणा दिने र नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने उद्देश्य रहेको जनाएको छ ।
प्रोटोन ईमासको ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना बुटवलमा सुरु हुँदै
काठमाडौं । जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको विद्युतीय सवारी साधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले बुटवलमा ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक गरेको छ । तीनदिने एक्सचेन्ज कार्यक्रम पुस १२ देखि १४ गतेसम्म बुटवलको कालिकानगरस्थित प्रोटोन ईमासको शोरुममा आयोजना हुने जनाइएको छ । कार्यक्रम अवधिभर ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साट्न सक्नेछन् भने प्रोटोन ईमासका विद्युतीय सवारी साधनका विशेषता, सेवा, सुविधा र फाइदाबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् । एक्सचेन्ज कार्यक्रमअन्तर्गत प्रोटोन ईमास ७ को सुरुआती मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार प्रोटोन ईमास ७ मा १६० किलोवाट क्षमताको मोटर, १८० एमएम ग्राउन्ड क्लियरेन्स तथा ४९२ किलोमिटरदेखि ५८५ किलोमिटरसम्मको एनईडीसी रेन्ज रहेको छ । यसका साथै सवारी साधनमा आधुनिक सुरक्षा प्रविधि, आकर्षक प्रिमियम डिजाइन र ४,६१५ एमएम लम्बाइ रहेको कम्पनीले जनाएको छ । यस विशेष एक्सचेन्ज अफरमार्फत बुटवलका ग्राहकहरूलाई आधुनिक, प्रविधिमैत्री तथा वातावरणमैत्री विद्युतीय सवारी साधनमा स्तरोन्नति गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने लक्ष्य प्रोटोन ईमासले लिएको जनाएको छ ।
पारामाउन्ट मोटर्सको ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ एक्सचेन्ज योजना सार्वजनिक
काठमाडौं । एमजी तथा आइएम मोटर्सका लागि नेपालका आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ वर्ष २०२६ को अवसरमा ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत एमजी र आइएमका इलेक्ट्रिक सवारी साधन खरिद गर्ने ग्राहकले आकर्षक सुविधा र लाभ लिन सक्नेछन् । सीमित अवधिको यस एक्सचेन्ज अफरमा पुरानो सवारीसाधन साट्दा ग्राहकले चार लाख रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजनामा उत्कृष्ट मूल्यांकन सुविधा, अतिरिक्त एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निःशुल्क एक्सेसरी तथा तत्काल डेलिभरी जस्ता आकर्षक अफर समेटिएका छन् । यो अफर एमजी र आइएमका सबै इलेक्ट्रिक मोडलहरूमा लागू हुनेछ । ग्राहकहरूले देशभर रहेका आधिकारिक एमजी शोरूममार्फत यो एक्सचेन्ज योजना लिन सक्ने कम्पनीले जनाएको छ । नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको यस योजनामार्फत पारामाउन्ट मोटर्सले विद्युतीय सवारी साधनलाई अझ सहज, किफायती र पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याएको जनाएको छ । इलेक्ट्रिक सवारी साधनप्रतिको बढ्दो रुचिलाई ध्यानमा राख्दै कम्पनीले आफ्ना लोकप्रिय मोडलहरूमा विशेष सुविधा उपलब्ध गराएको हो । यो अफर डिसेम्बर २५ देखि सुरु भइसकेको छ ।