एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा डोङफेङ र दीपाल शोरुम उद्घाटन
काठमाडौं । नेपालका लागि दीपाल तथा नामी विद्युतीय सवारी साधनहरूको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नेपालगन्जमा डोङफेङ र दीपालको अत्याधुनिक शोरुमको औपचारिक उद्घाटन गरेको छ । यससँगै एमएडब्लु वृद्धिले पश्चिम नेपालमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ । देशव्यापी ईभी नेटवर्क विस्तार गर्ने र पश्चिम नेपालमा बजार सुदृढ गर्ने योजनाअन्तर्गत नेपालगन्जमा सञ्चालनमा आएको यो शोरुम एमएडब्लु वृद्धिको लागि महत्वपूर्ण कोसेढुङ्गा मानिएको छ । शोरुमको उद्घाटन नाडा एसोसिएसन बाँकेका अध्यक्ष नरेन्द्रप्रसाद ओली, एमएडब्लु ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लु वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रसन्न पन्त, एमएडब्लु वृद्धि अटोकर्पका सीईओ ज्ञानेन्द्र चन्द तथा पानास अटोमोटिभका अध्यक्ष ज्ञानेन्द्र खनालको उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रममा अटोमोटिभ तथा व्यावसायिक क्षेत्रका प्रतिष्ठित अतिथि, सरोकारवाला, स्थानीय अधिकारी, व्यवसायी, ग्राहक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नेपालगन्जको प्रमुख स्थानमा अवस्थित यस शोरुमले डोङफेङ र दीपालका नवीनतम विद्युतीय सवारी साधनहरूको प्रत्यक्ष अनुभव प्रदान गर्नेछ । ग्राहकको सुविधा र आरामलाई ध्यानमा राखी डिजाइन गरिएको शोरुममा आगन्तुकहरूले सवारी साधनहरू नजिकबाट अवलोकन गर्दै उत्पादनसम्बन्धी विस्तृत जानकारी लिन सक्नेछन् । शोरुम उद्घाटनको एक दिनअघि नेपालगन्जमा नामी भिगो र दीपाल एस–०५ सार्वजनिक गरिएको थियो । यी नयाँ मोडलहरूले नेपाली बजारमा विद्युतीय सवारी साधनका विकल्पहरूलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ । टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प सञ्चालन शोरुम उद्घाटनको अवसरमा एमएडब्लु वृद्धि मोटर्सले नेपालगन्जस्थित पानास अटोमोटिभमा ‘टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प’ सञ्चालन गरिरहेको छ । क्याम्पअन्तर्गत ग्राहकहरूले डोङफेङ र दीपालका विद्युतीय सवारी साधनहरूको प्रत्यक्ष अनुभव लिन सक्नेछन् । कार्यक्रममा आकर्षक नगद छुट, एक्सचेन्ज बोनससहित उत्कृष्ट मूल्याङ्कन, निःशुल्क चार्जर (७ किलोवाट वा ३.५ किलोवाट), निःशुल्क बीमा तथा प्रत्येक टेस्ट ड्राइभमा उपहारको सुविधा प्रदान गरिने एमएडब्लु वृद्धिले जनाएको छ ।
नाइमाको पहिलो वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो साउनमा हुने
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पहिलो वार्षिक साधारण सभा अध्यक्ष रितु सिंह वैद्यको अध्यक्षतामा नाइमाको कार्यालय, कमलपोखरीमा सम्पन्न गरेको छ । साधारण सभाले संस्था स्थापना भएदेखि हालसम्मका प्रमुख उपलब्धि र सिकाइहरूको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रम, संस्थागत संरचना तथा रणनीतिक योजनाहरू औपचारिक रूपमा पारित गरेको छ । सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले छोटो अवधिमै नाइमा देशको मोबिलिटी क्षेत्रको एकीकृत र सशक्त आवाजका रूपमा स्थापित हुन सफल भएको बताइन् । उनले विगत नौ महिनामा हासिल गरिएका उपलब्धिहरू प्रस्तुत गर्दै पहिलो ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’ को सफल आयोजना तथा मोबिलिटी क्षेत्रका सिकाइ सत्रहरूको निरन्तर सञ्चालनले संस्थाको भूमिका अझ व्यापक र विश्वसनीय बनेको उल्लेख गरिन् । कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन र आगामी वर्षको कार्यक्रम तथा वित्तीय योजना प्रस्तुत गरे । साथै, संस्थाको दीर्घकालीन उद्देश्य हासिल गर्न प्रभावकारी कार्ययोजना र पारदर्शी वित्तीय व्यवस्थापनप्रति कार्यालयको प्रतिबद्धता दोहोर्‍याए । साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का लागि नियमित मोबिलिटी संवाद, क्षमता अभिवृद्धि तालिम, क्षेत्रगत अध्ययन–अनुसन्धान, नीतिगत बहस तथा पैरवी र ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’ को आयोजना लगायतका कार्यक्रमहरू पारित गरेको छ । आगामी मोबिलिटी एक्सपो २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने तयारी नाइमाले गरेको जनाएको छ । संस्थागत सुदृढीकरणअन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा रणनीति तथा मेम्बरशिप अफेयर्स समिति गठन गर्ने निर्णय गरिएको छ । साथै, मेगाटेक ग्रुप प्रालिलाई नयाँ सदस्यका रूपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा समितिमा सदस्यका रूपमा मनोनयन गरिएको छ । समापनमा अध्यक्ष वैद्यले नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालीन उन्नतिका लागि नाइमाले सक्रिय भूमिका खेलिरहने प्रतिबद्धता व्यक्त गरिन् ।
टियागो ईभी अन्तर–स्कुल चित्रकला प्रतियोगिता 'कार्टनिभल'का आशिम र समय्यालाई पी एस ५ पुरस्कार
काठमाडौं । टियागो ईभी कार्निभल अन्तर–स्कुल चित्रकला कार्यक्रमअन्तर्गत चित्रकला प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न भएको छ । सिप्रदीयन सहायता संस्था र बुढानिलकण्ठ स्कुलको सहकार्यमा आयोजित उक्त अन्तर–स्कुल चित्रकला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । कार्यक्रम चित्रकला प्रतियोगिता, उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा विशेष पुरस्कार वितरण समारोहसहित सम्पन्न गरिएको थियो । प्रतियोगिताअन्तर्गत कक्षा ५ देखि ८ सम्मको समूहमा त्रियोग हाईस्कुलका आशिम सुन्दास प्रथम भएका छन् भने कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ स्कुलकी समया थापा प्रथम हुन सफल भइन् । दुवै समूहका प्रथम विजेतालाई पुरस्कारस्वरूप प्लेस्टेसन–५ (पी एस ५) प्रदान गरिएको थियो । दुई चरणमा सञ्चालन गरिएको यस कार्यक्रमको पहिलो चरणअन्तर्गत गत मङ्सिर १३ गते चित्रकला प्रतियोगिता तथा कार्यशाला आयोजना गरिएको थियो । दोस्रो चरणमा पौष २८ गते उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको हो । कक्षा ५ देखि ८ को समूहमा काठमाडौं युरो स्कुलकी ब्रिशा भट्ट द्वितीय, नेशनल ब्लुमिङ फ्लावर एकेडेमीका सामिक कुँवर तृतीय, बुढानिलकण्ठ स्कुलका दक्ष चौधरी चौथो तथा त्रियोग हाईस्कुलकी आश्वी घले पाँचौँ स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी, कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ माध्यमिक विद्यालयकी युनिशा श्रेष्ठ द्वितीय र राजन मुखिया तृतीय भएका छन् । उक्त कार्यक्रम बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलाल, सिप्रदी ट्रेडिङ प्रालिका पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापति, शैक्षिक व्यक्तित्व, अभिभावक, सहभागी विद्यालयका विद्यार्थी तथा कला क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो ।