नाडालाई महासंघ बनाउने प्रस्ताव पारित, कागजात कुर्दै सीडीओ कार्यालय
काठमाडौं । अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को संस्थापन पक्षले बुधबार ४९औं वार्षिक साधारण सभा आयोजना गरेको छ । नाडाले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्देशन र रोकलाई ठाडो चुनौती दिँदै साधारण सभा आयोजना गरेको हो । प्रशासनले निर्वाचन कार्यतालिका प्रकाशन गरेर मात्र साधारण सभा गर्न दिएको आदेशलाई बेवास्ता गर्दै अध्यक्ष करण चौधरी पक्षले बन्दसत्र सञ्चालन गरेको हो । यति मात्र होइन, विवादका बीच नाडालाई महासंघ बनाउने प्रस्तावसमेत पारित गरिएको छ । जसलाई असन्तुष्ट पक्षले अवैध संज्ञा दिएको छ । जिल्ला प्रशासन कार्यालयले पुस ९ गतेका लागि तय गरिएको साधारण सभा रोक्न मंगलबार नै पत्र काटेको थियो । तर, नाडा नेतृत्वले सरकारी आदेशको बर्खिलाप गर्दै कार्यक्रम अगाडि बढाएपछि संस्थाभित्रको विवाद अब सडक र अदालतसम्म पुग्ने देखिएको छ । असन्तुष्ट पक्षका अनुसार नाडाको विधानमा साधारण सभा बोलाउनुअघि कम्तीमा १५ दिनको सार्वजनिक सूचना दिनुपर्ने अनिवार्य व्यवस्था छ । तर, उक्त प्रक्रिया पुरा नगरी हठातमा सभा आयोजना गरिएको भन्दै स्रोतले भन्यो, ‘प्रक्रिया नपुर्याई गरिएको यो सभा केवल पैसाको बरबादी र टाइम पास मात्र हो । यसका कुनै पनि निर्णयले कानुनी मान्यता पाउने छैनन् ।’ नाडामा विवादको बीउ दुई वर्षअघि नै रोपिएको थियो । करण चौधरी र आकाश गोल्छाबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुन लाग्दा दुई पक्षबीच चौधरी अध्यक्ष र गोल्छा वरिष्ठ उपाध्यक्ष हुने सहमति भएको थियो । अर्को कार्यकालमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी विधान संशोधनसमेत गरिएको थियो । तर, पछि अध्यक्ष चौधरीले विधान संशोधनको जानकारी जिल्ला प्रशासन कार्यालयमा समयमै दर्ता नगराएको र सचिवालयको ढिलाइको फाइदा उठाउँदै गोल्छालाई वरिष्ठ उपाध्यक्षबाट हटाएर साधारण सदस्यमा झारेपछि विवादले उग्र रूप लिएको हो । गोल्छाले नयाँ संस्था नाइमा खोलेको रिस फेर्न चौधरीले एकलौटी निर्णय गरेको आरोप असन्तुष्ट पक्षको छ । नाडाका कतिपय सदस्यहरूले संस्थालाई अध्यक्षले आफ्नो निजी कम्पनी जस्तो चलाएको र फरक मत राख्नेहरूलाई पाखा लगाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। ‘अध्यक्षको एकलौटी र निरंकुश कार्यशैलीले गर्दा नै नाडा फुट्यो,’ एक सदस्यले भने, ‘अहिलेको जबरजस्तीले नाडाको प्रतिष्ठा थप धमिलिएको छ ।’ असन्तुष्ट पक्ष प्रशासनको आदेश उल्लंघन भएको भन्दै पुनः कानुनी उपचार खोज्ने तयारी गरेको छ । के भन्छ प्रशासन ? जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रक्रियागत रूपमा कागजात प्राप्त भएपछि मात्रै त्यसबारे थप छलफल हुने र स्थानीय प्रशासनको स्वीकृतिविना कुनै पनि निर्णय अन्तिम नहुने जनाएको छ । संस्थाले महासंघ बनाउने प्रस्ताव पारित गरिसकेको सन्दर्भमा प्रशासनको आधिकारिक धारणा बुझ्न खोज्दा काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले संस्थाको आन्तरिक निर्णयबारे आफूहरूलाई औपचारिक जानकारी प्राप्त नभएको बताए । ‘उहाँहरूले आफ्नो विधान र कार्यविधिअनुसार के-के प्रस्ताव पारित गर्नुभयो । त्यो निर्णय हामीकहाँ आएपछि मात्रै थाहा हुन्छ,’ उनले भने, ‘अहिलेसम्म हामीलाई कुनै आधिकारिक जानकारी छैन ।’ उनले संस्थाले आफूखुसी निर्णय पारित गर्दैमा त्यसले स्वतः मान्यता नपाउने कुरामा जोड दिए । ‘उहाँहरूले पारित गर्ने बित्तिकै हामीले बनाइहाल्छौं भन्ने हुँदैन । स्थानीय अधिकारीको स्वीकृति नभईकन त्यो निर्णय अन्तिम हुँदैन, सहायक प्रजिअ भट्टराईले भने । नाडाको नयाँ नेतृत्वको टुंगो पुस २५ गते लाग्ने जनाइएको छ । अदालतमा मुद्दा विचाराधीन रहेको र प्रशासनले समेत रोक लगाएको अवस्थामा सम्पन्न यो साधारण सभाले नाडालाई थप कानुनी संकटमा धकेल्ने निश्चित छ । निर्वाचन बिना साधारण सभा नगर्न नाडालाई प्रशासनको निर्देशन
निर्वाचन बिना साधारण सभा नगर्न नाडालाई प्रशासनको निर्देशन
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को साधारण सभा रोक्न पत्र काटेको छ । बुधबारका लागि तय गरिएको ४९औँ वार्षिक साधारण सभा जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक्न आदेश दिएको हो । आकाश गोल्छा पक्षको उजुरीपछि प्रशासनले मंगलबार नाडालाई पत्र लेख्दै महासंघमा लैजाने प्रस्ताव कानुनसम्मत नभएको भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएको हाे । साथै नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका प्रकाशन गरेर मात्र साधारण सभा सम्पन्न गर्न प्रशासनले निर्देशन दिएकाे छ । ‘साधारण सभाको लागि प्रस्ताव गरिएका एजेण्डामा नयाँ कार्यसमितिको चयन सम्बन्धी कुनै प्रस्ताव नराखी सूचना प्रकाशित भएकोले सो साधारण सभामा नयाँ नेतृत्वको लागि निर्वाचन कार्य तालिका प्रकाशन गरी साधारण सभा सम्पन्न गर्न हुन र हाल अस्तित्वमा रहेको नाडालाई नै महासंघमा लैजाने भनि गरिएको प्रस्ताव कानुन सम्मत नभएको हुँदा सो सम्बन्धिt कार्य नगर्नु र नगराउनु हुन आदेशानुसार निर्देशन गरिएको छ,’ पत्रमा भनएिको छ । प्रशासनको पत्रले नाडालाई महासंघ बनाउने विवाद पनि समाधान भएको आकाश गोल्छाले बताए । महासंघ बनाउने नाममा संस्था कब्जा गर्ने र आफ्ना विरोधीहरूलाई पाखा लगाउने अध्यक्ष करण चौधरीको षड्यन्त्र अन्त्य भएको गोल्छाले बताए । गोल्छाका अनुसार नाडालाई महासंघमा लैजाने एजेण्डा नयाँ होइन, तर यसलाई अघि सार्ने समय र मनसाय भने शंकास्पद हो । गोल्छा भन्छन्, ‘ध्रुव थापा अध्यक्ष हुँदा नै वैश्विक संरचनामा जाने योजना थियो, तर विभिन्न कारणले भएन । करण चौधरीले कार्यकाल सम्हालेको डेढ वर्षसम्म यसबारे एउटा पनि बैठक गरेनन् । अटो शो सम्म पनि महासंघको चर्चा थिएन। तर जब कार्यकाल सकिन लाग्यो, अचानक यो एजेण्डा ल्याइयो ।’ अध्यक्ष चौधरीले महासंघको प्रस्ताव नाडाको उचाइका लागि नभई आफ्नो शक्ति टिकाउनका लागि ल्याएका गोल्छाको दाबी छ । ‘महासंघ बनाएपछि वर्तमान कार्यसमिति भंग गरी ३ जनाको तदर्थ समिति बनाउने र त्यसमा आफ्ना मान्छे मात्र राखेर अरू सबैलाई हटाउने उनको योजना छ। यो नाडा सुधार्ने प्रयास होइन, षड्यन्त्र हो,’ उनले भने । गोल्छाले नाडामा अहिले मौलाएको प्रवृत्तिलाई अराजकताको संज्ञा दिए । ‘हामी महासंघको विरोधी होइनौ, तर नाडा महासंघ बन्न सक्दैन, यो त महासंघको सदस्य मात्र बन्न सक्छ । यदि करण चौधरीलाई महासंघ बनाउनु नै थियो भने कार्यकालको सुरुमै वा असारभन्दा अघि विशेष साधारण सभा किन गरेनन् ? अहिले निर्वाचनबाट भाग्नका लागि यो प्रपञ्च रचिएको हो,’ गोल्छाले आक्रोश पोखे । उनले थपे, ‘अहिले जे हुँदैछ, त्यो विधान विपरीत छ। निर्वाचन नगर्ने र तदर्थ समितिमार्फत संस्था कब्जा गर्ने दाउपेच विरुद्ध हामी लडिरहन्छौँ ।’ विवाद र प्रशासनको पत्रका बाबजुद नाडा नेतृत्वले भने बुधबारको साधारण सभालाई निरन्तरता दिने संकेत गरेको छ । नाडाले विज्ञप्ति जारी गर्दै बाहिर आएका समाचारलाई निराधार हल्ला भनेको छ । तर, निर्वाचन तालिका बिना नै हुन लागेको यो साधारण सभाले नाडालाई झन् ठूलो कानुनी संकटमा धकेल्ने निश्चित छ । २०८२ पुस २० गते चुनिएको वर्तमान कार्यसमितिको म्याद पुस १९ गते सकिँदैछ । नियमत: यो साधारण सभाले नयाँ नेतृत्व छानिसक्नुपर्ने थियो । तर, नेतृत्वको इगो र सत्ता मोहका कारण अटोमोबाइल क्षेत्रको यो प्रतिष्ठित संस्था अहिले अनिर्णयको बन्दी बनेको छ । नाडाको विधानअनुसार हरेक दुई वर्षमा नयाँ नेतृत्वका लागि निर्वाचन हुनुपर्छ । २०८० पुस २० गते चुनिएको वर्तमान कार्यसमितिको कार्यकाल आगामी पुस १९ गते सकिँदैछ । विधानतः साधारण सभा हुनु १५ दिनअघि नै निर्वाचन तालिका सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ । तर अध्यक्ष चौधरीले निर्वाचनको एजेण्डालाई थाँती राखेर महासंघ बनाउने प्रस्तावलाई प्राथमिकता दिएपछि विवादले उग्र रूप लिएको हो ।
नाडामा विवाद : साधारण सभा रोक्न माग गर्दै सदस्यहरू अदालत र प्रशासनमा
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को साधारण सभा पुन:विवादमा तानिएको छ । नाडाको ४९ औं वार्षिक साधारण सभा विधान विपरीत हुन लागेको भन्दै सदस्यहरूले असन्तुष्टि जनाएका हुन् । वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल सकिए पनि निर्वाचन नगरी साधारण सभा गर्न लागिएको भन्दै सदस्य आकाश गोल्छा लगायतको समूहले रोक्न अदालत र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । नाडाका सदस्य आकाश गोल्छाका अनुसार संस्थाको विधानमा कार्यसमितिको कार्यकाल दुई वर्षको हुने र दोस्रो साधारण सभामा निर्वाचन हुनै पर्ने स्पष्ट व्यवस्था छ । तर वर्तमान कार्यसमितिले निर्वाचन बिनै साधारण सभा गर्न लागेर विधानको उल्लंघन गरेको उनको आरोप छ । नाडाको कार्यसमितिले मंसिर १५ गते बसेको बैठकबाट पुस ९ गते साधारण सभा गर्ने निर्णय गरे पनि त्यसलाई रोक्न माग गर्दै केही सदस्यले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा सोमबार निवेदन दर्ता गराएका छन् । निर्वाचन कार्यक्रम नै सार्वजनिक नगरी अवैधानिक रूपमा साधारण सभा गर्न लागिएको दाबी गर्दै उनीहरूले सभा तत्काल रोक्न माग गरेका हुन् । नाडाको विधानअनुसार हरेक दुई वर्षमा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन अनिवार्य व्यवस्था गरिएको छ । नाडाले यसअघि २०८० साल पुस २० गते सम्पन्न साधारण सभाबाट नयाँ नेतृत्व चयन गरेको थियो । सो कार्यसमितिको कार्यकाल यही पुस १९ गते समाप्त हुँदैछ । तर कार्यकाल समाप्त हुनै लाग्दा पनि नाडाले निर्वाचन प्रक्रिया अगाडि नबढाएको भन्दै सदस्यहरू असन्तुष्ट देखिएका हुन् । विधानमा स्पष्ट रूपमा साधारण सभा हुनुभन्दा कम्तीमा १५ दिनअघि निर्वाचन तालिका प्रकाशन गर्नुपर्ने व्यवस्था छ । तर पुस ९ गते साधारण सभाको मिति तोकिएको भए पनि हालसम्म निर्वाचन तालिका सार्वजनिक गरिएको छैन । ‘चुनाव नगरिकन दोस्रो साधारण सभा कसरी हुन सक्छ ? यो विधानसम्मत छैन,’ गोल्छाले भने, ‘यसरी विधान विपरीत सभा गर्दा पछि अदालतले बदर गर्न सक्ने र यसले संस्थाको पैसा मात्र खेर जाने जोखिम छ ।’ यो विषयमा अदालतमा मुद्दा विचाराधीन रहेको र अहिलेसम्म कुनै आदेश नआएको उनले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि यस विषयमा ध्यानाकर्षण गराइएको छ तर त्यहाँबाट पनि कुनै निर्णय आएको छैन । यसले गर्दा भोलि हुने भनिएको साधारण सभा हुने वा नहुने भन्नेमा अन्योलता बढेको छ । असन्तुष्ट पक्षको निवेदनका बाबजुद वर्तमान कार्यसमितिले साधारण सभाको तयारीलाई अघि बढाइरहेको देखिन्छ । गोल्छाले भने, ‘हामीले गलत प्रक्रियाका विरुद्ध आवाज उठाएका हौं । जबसम्म यो प्रक्रिया सच्याइँदैन, तबसम्म हामी लडिरहन्छौँ ।’ अदालत र प्रशासनबाट कुनै अन्तिम निर्णय नआइसकेको अवस्थामा साधारण सभा आयोजना गरिए त्यसको वैधानिकतामाथि नै प्रश्न उठ्ने असन्तुष्ट पक्षको भनाइ छ । निर्वाचनबिना साधारण सभा गरिनु विधान विपरीत हुने र यसले संस्थालाई थप कानुनी जटिलतामा धकेल्न सक्ने निवेदनमा उल्लेख छ । गोल्छासहित ८ जना कार्यसमिति सदस्यले मंगलबार (आज) नाडा अध्यक्ष करण चौधरीलाई पत्र लेख्दै बुधबार हुने ४९ औं वार्षिक साधारण सभा रोक्न माग गरेका हुन् । नाडाले आफूलाई महासंघ बनाउने एजेन्डासहित भोलि ललितपुरको होटल द प्लाजामा साधारण सभा गर्दैछ।