हिमालय रोडिज सिजन ७ सम्पन्न, अनिश तामाङ बने विजेता

काठमाडौं । नेपालकै लोकप्रिय एडभेन्चर रियालिटी शो हिमालय रोडिज को सातौँ सिजन ग्रान्ड फिनाले प्रसारणसँगै सम्पन्न भएको छ । १४ पुस २०८२ मा फिनाले प्रसारण भएसँगै पुरस्कार हस्तान्तरण समारोहमार्फत सिजनको औपचारिक समापन गरिएको हो । समारोहमा अनिश तामाङलाई सिजन ७ को विजेताका रूपमा औपचारिक रूपमा पुरस्कार प्रदान गरिएको छ । टाइटल प्रायोजक यामाहा रेसिङले तामाङलाई पर्फर्मेन्स, पावर र राइडिङको रोमाञ्च झल्काउने मोटरसाइकल यामाहा एफजेड–३ प्रदान गरेको छ । साथै, कार्यक्रमको प्रसारक हिमालय टिभीले उनको मेहनत र उपलब्धिको कदर गर्दै १० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको हो । यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले विजेता तामाङलाई यामाहा एफजेड–३ हस्तान्तरण गरेका थिए । यामाहा प्रेसेंट्स हिमालय रोडिज सिजन ७ : हेल ओर हेभन सेप्टेम्बर १, २०२५ देखि प्रसारण सुरु भएको थियो । यस सिजनमा जम्मा १८ वटा एपिसोड प्रसारण भएका थिए ।

एमएडब्लु वृद्धिले दाङमा अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प ल्याउँदै

काठमाडौं । नेपालका लागि डोङफेङ र सेरेस ब्रान्डका इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोक्रपले दाङमा अहिलेसम्मकै सबैभन्दा ठूलो ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ आयोजना गर्ने भएको छ । क्याम्प पुस १९ देखि २१ गतेसम्म दाङस्थित राप्ती अटोमार्ट प्रालिको परिसरमा सञ्चालन हुनेछ, जुन दाङ क्षेत्रका लागि डोङफेङ नेपालका आधिकारिक वितरकसमेत हो । एमएडब्लु वृद्धिका अनुसार उक्त क्याम्पमार्फत ग्राहकहरूले आकर्षक आर्थिक सुविधासहित पुरानो सवारी साटेर नयाँ इलेक्ट्रिक सवारी खरिद गर्न सक्ने अवसर पाउनेछन् । यो कार्यक्रम दाङमा नयाँ अत्याधुनिक डोङफेङ शोरूमको उद्घाटन तथा बहुप्रतीक्षित ‘नामी भिगो’को आधिकारिक सार्वजनिक अनावरणको अवसरमा आयोजना गरिएको हो । कार्यक्रम अवधिमा इलेक्ट्रिक सवारी स्वामित्वलाई अझ सहज र सर्वसुलभ बनाउन विशेष अफर प्याकेज सार्वजनिक गरिएको एमएडब्लु वृद्धिले जनाएको छ । ग्राहकहरूले ‘नामी भिगो’ र ‘नामी बक्स’ विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन् । साथै ९७ किलोवाट क्षमताको द्रुत चार्जर, ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जर र निःशुल्क अटो प्लस बीमाको सुविधा पनि प्रदान गरिनेछ । उच्चस्तरीय इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकहरूका लागि सेरेस ब्रान्डमा अधिकतम ६ लाख रुपैयाँसम्मको विशेष लाभ उपलब्ध गराइनेछ । सबै मोडेलमा पुराना सवारी साधनको आकर्षक मूल्याङ्कन गरिने र टेस्ट ड्राइभ लिने प्रत्येक आगन्तुकलाई निश्चित उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । दाङमा सञ्चालनमा आएको नयाँ शोरूमले डोङफेङ र सेरेसका इलेक्ट्रिक सवारी साधनका लागि यस क्षेत्रको प्रमुख बिक्री तथा सेवा केन्द्रका रूपमा काम गर्नेछ । सीमित अवधिका विशेष अफरको लाभ लिन र इलेक्ट्रिक सवारीको प्रत्यक्ष अनुभव गर्न एमएडब्लु वृद्धिले दाङ तथा आसपासका ग्राहकहरूलाई आमन्त्रण गरेको छ ।

साझा यातायातको बन्द सेवा पुनः सुचारु

काठमाडौं  । तलब तथा सुविधाको विषयलाई लिएर कर्मचारीहरूले काम रोक्दा बुधबार बिहानदेखि प्रभावित भएको साझा यातायातको बस सेवा पुनः सुचारु भएको छ । कर्मचारीहरूसँगको छलफलपछि सहमति जुटेको र सबै रुटमा गाडी चल्न थालेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालले जानकारी दिए ।  उनका अनुसार यो कुनै आन्दोलन नभई कर्मचारीहरूको तलब-सुविधा सम्बन्धी केही अस्पष्टता हटाउन गरिएको आन्तरिक छलफल थियो । ‘यो आन्दोलन होइन, हाम्रा कर्मचारीहरूको तलब-सुविधा र नियमसम्मतका केही विषयमा जिज्ञासा थिए, त्यसैलाई स्पष्ट पार्न हामीले छलफल गरेका हौं’, अर्यालले विकासन्युजसँग भने ।  साझाले अधिकांश कर्मचारी आउटसोर्सिङ मार्फत लिएको र उनीहरूले आफूले पाउनुपर्ने सुविधाबारे केही भ्रम र जिज्ञासा राखेका थिए ।  सीईओ अर्यालले भने, ‘आउटसोर्सिङमार्फत आउनुभएका कर्मचारीहरूलाई हामीले पठाएको तलब र सुविधा सही तरिकाले पुगेको छ कि छैन भन्नेमा केही अस्पष्टता रहेछ। हामीले त्यसलाई क्लियर गर्ने प्रयास गर्‍यौं । ’ कर्मचारीहरूका माग श्रम ऐन अनुसार नै सम्बोधन गरिनेमा सहमति भएको छ । ‘श्रम ऐनले दिएको सुविधा दिन हामी तयार छौं, तर ऐनभन्दा बाहिर गएर सुविधा दिन मिल्दैन,’ अर्यालले भने, ‘अहिलेको सम्झौता चैतसम्म भएकाले त्यसलाई तोड्न मिल्दैन। चैतपछि फेरि बसेर सबैको हित हुने गरी नयाँ निर्णय लिइने मौखिक सहमति भएको छ । ’   कर्मचारीहरूले साझाले नै सिधै रोजगारी दिनुपर्ने माग राखेको विषयमा पनि आगामी दिनहरूमा छलफल गर्न सकिने उनले बताए । ‘यो ठूलो मुद्दा नभई सामान्य आन्तरिक छलफल हो, जुन हरेक कार्यालयमा हुन्छ,’ अर्यालले थपे, ‘केही तत्वहरूले उक्साउन खोजे पनि हामीले छलफलबाटै समस्या समाधान गरेका छौं । अब सबै समस्या हल भइसकेको छ र सेवा पूर्ण रूपमा सञ्चालनमा छ ।’ बिहान करिब ७ बजेदेखि कर्मचारीहरूले बस चलाउन रोकेका थिए । जसका कारण उपत्यकाका यात्रुहरूले सास्ती खेप्नुपरेको थियो । छलफलमा सहमति जुटेसँगै अहिले सबै रुटमा साझाका बसहरू गुड्न थालेका छन् ।