रोड इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङबीच तालमेल नहुँदा दुर्घटना बढ्यो : नवराज अधिकारी
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले देशको सडक सुरक्षा र सवारी व्यवस्थापनमा मेकानिकल इन्जिनियरिङ र चालक शिक्षाको भूमिका अपरिहार्य रहेको बताएका छन् । बिहीबार नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले थापाथली क्याम्पसमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख अधिकारीले स्वदेशी सवारी उत्पादनसँगै सवारी चलाउने व्यक्तिको प्राविधिक ज्ञान र शिक्षाको पाटोमा पनि उत्तिकै ध्यान दिनुुपर्नेमा जोड दिए । अधिकारीले भने, ‘हामी करोडौंका गाडीका कुरा गर्छौं । तर त्यो चलाउने मान्छेलाई गाडीको भित्री मेकानिजम र गतिको बारेमा कत्तिको ज्ञान छ भन्ने कुरामा बहस हुँदैन ।’ उनले रोड इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङबीच तालमेल नहुँदा दुर्घटना बढेको बताए । नेपालको भूगोल पहाड, अफ–रोड र सिटी रोड अनुसार सवारी साधनको इन्डिजेनाइजेसन (स्वदेशीकरण) हुनुपर्ने उनको तर्क थियो । प्रमुख अधिकारीले नेपालको सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने प्रक्रियामा पनि सुधारको आवश्यकता औंल्याए । ‘आठ अंक (८) मा सानो गाडी चलाएर लाइसेन्स लिने तर सडकमा पल्सर वा ठूला गाडी कुदाउने प्रवृत्तिले जोखिम बढाएको छ,’ उनले भने। सवारी साधनको गति नियन्त्रणका लागि म्यानुफ्याक्चरिङकै तहबाट सोच्नुपर्ने र नेपालका सडकको अवस्था हेरेर स्पिड लिमिट तोकिनुपर्ने उनले बताए । नेपाल अटो इन्डस्ट्रिज म्यानुफ्याक्चरिङ एसोसिएसनसँगको सहकार्यमा अब ट्राफिक प्रहरीहरूलाई नयाँ सवारीसाधनहरूको प्रविधि र मेकानिजमबारे वर्क ओरिएन्टेसन दिइने भएको छ । यसले सडकमा खटिने प्रहरीलाई सवारी साधनको प्राविधिक पक्ष बुझ्न र दुर्घटना न्यूनीकरण गर्न सहज हुने विश्वास लिइएको छ । कार्यक्रममा नाइमाकी बोर्ड सदस्य तथा साइमेक्स इन्ककी महाप्रबन्धक यमुना श्रेष्ठले इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूको विदेश पलायन रोक्न नेपालमै नयाँ आविष्कार र उत्पादनको वातावरण बनाउनुपर्ने बताइन् । ‘हामीले ब्याट्री वा मोटर आयात गरे पनि सफ्टवेयर, एआई र एसेम्बलीमा आफ्नै इन्जिनियरिङ प्रयोग गर्न सक्छौं, जसले देशलाई औद्योगिकीकरणतर्फ लैजान्छ,’ श्रेष्ठले भनिन् । यस्तै, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले आगामी पुस २६ गतेदेखि माघ ८ गतेसम्म ट्राफिक सप्ताह आयोजना हुन लागेको जानकारी दिँदै नाइमाले तयार पारेका सचेतनामूलक भिडियोहरू नाइमाको पेजमार्फत प्रचार गरिने बताए । कार्यक्रममा अन्य वक्ताहरूले सरकारले स्थिर नीति र नियम बनाएमा नेपालमै गाडी उत्पादन गर्ने सपना टाढा नरहेको र यसले देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने निष्कर्ष निकालेका थिए । थापाथली क्याम्पसका विद्यार्थी, इन्जिनियरहरू र सरोकारवालाहरूको उपस्थिति थियो ।
नाडा र नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित
काठमाडौं । अटोमोबाइल क्षेत्रको सीप विकास, व्यावसायिक तालिम पाठ्यक्रम निर्माण तथा मानव संसाधन विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) सम्मानित भएको छ । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले नाडालाई सम्मान–पत्र प्रदान गरेको हो । यसै क्रममा, अटोमोबाइल क्षेत्रमा आधारित व्यावसायिक तालिम पाठ्यक्रम निर्माण तथा कार्यान्वयन प्रक्रियामा संयोजकको हैसियतमा प्रभावकारी, प्रशंसनीय र नेतृत्वदायी भूमिका निर्वाह गरेको योगदानको कदर गर्दै नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठलाई प्रशंसा–पत्र प्रदान गरिएको छ । उक्त सम्मान तथा प्रशंसा–पत्र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो । प्रमाण–पत्रमा नाडाको सहकार्यमा अटोमोबाइल क्षेत्रमा श्रम बजारको मागअनुसार तयार गरिएका ट्रेड–आधारित सीपमूलक तालिम पाठ्यक्रम—विशेषगरी एसेम्बलर अपरेटर तथा विद्युतीय सवारी मर्मत प्राविधिकजस्ता कार्यक्रमहरूले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको छ । नाडाले आगामी दिनमा पनि सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै अटोमोबाइल क्षेत्रको सीप विकास, रोजगारी सिर्जना तथा प्राविधिक जनशक्ति उत्पादनमा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।
फिचर लोडेड भिक्टोरियस नेपालमा सार्वजनिक, मूल्य ५१ लाख रुपैयाँ
काठमाडौं । नेपाली बजारमा सुजुकीको भिक्टोरियस सार्वजनिक भएको छ । सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आफ्नो अहिलेसम्मकै सबैभन्दा धेरै फिचर भएको भिक्टोरियस सार्वजनिक गरेको हो । कम्पनीका अनुसार भिक्टोरियस आधुनिक डिजाइन, नयाँ प्रविधि र उच्च सुरक्षा मापदण्डलाई ध्यानमा राखेर विकास गरिएको हो । यसमा १.५ लिटर पेट्रोल इन्जिन दिइएको छ, जसमा माइल्ड–हाइब्रिड र स्ट्रङ हाइब्रिड विकल्प उपलब्ध छन् । यसबाहेक कम्पनीले सीएनजी भेरियन्ट पनि उपलब्ध गराएको छ । गाडीमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ । सुरक्षाको हिसाबले भिक्टोरियसमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल लगायतका फिचर समावेश छन् । कम्पनीका अनुसार गाडीले फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । फिचरका रूपमा भिक्टोरियसमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरुफ, वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट र कनेक्टेड कार टेक्नोलोजी दिइएको छ । साथै एडीएएस प्रविधि पनि उच्च भेरियन्टमा उपलब्ध गराइएको छ । यसमा एलईडी हेडलाइट र टेललाइट, आकर्षक फ्रन्ट ग्रिल र मस्कुलर एसयूभी लुक दिइएको छ । भित्री भागमा प्रिमियम फिनिस र फराकिलो क्याबिन रहेको कम्पनीले जनाएको छ । शक्तिशाली प्रदर्शन र अत्याधुनिक प्रविधिका कारण यस एसयूभीले प्रतिष्ठित भारतीय उत्कृष्ट कार अवार्ड– २०२५’ अवार्ड जित्न सफल भएको छ । सीजी मोटोकर्पले यस एसयूभीको सुरुवाती मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकेको छ । साथै कम्पनीले लिमिटेड समयका लागि लञ्चिङ अफर पनि सार्वजनिक गरेको छ, जसअनुसार पहिलो ५० बुकिङका लागि अधिकतम २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनससहितको प्रारम्भिक मूल्यमा उपलब्ध हुनेछ ।