नेपालमा ३५० तारे होटल सञ्चालनमा, एक वर्षमै थपिए १५ वटा
अच्युत रेग्मी काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक वृद्धिसँगै तारे स्तरका होटल र रिसोर्ट खुल्ने क्रम पनि बढ्दै गएको पाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको देश र भगवान् गौतम बुद्धको जन्मस्थल नेपालमा पछिल्लो समय पर्यटनका क्षेत्रमा लगानी बढ्दै गएको देखिएको हो । फलस्वरूप नेपालमा होटलजस्ता पर्यटन सेवाका क्षेत्रमा पनि लगानीकर्ता बढ्दै गएका छन् । पर्यटन सेवा क्षेत्रमा बढ्दो यो आकर्षणको पछिल्लो उदाहरण नेपालमा थपिँदै गएका तारे होटल, रिसोर्ट तथा रेष्टुरेन्टहरू पनि हुन् । सङ्घीय राजधानी काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगन्ज, भद्रपुरजस्ता प्रमुख सहर र अन्य अन्य प्रमुख पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट सञ्चालनमा आउने क्रम बढेको पाइएको छ । पर्यटकस्तरका होटल प्रदेश सरकारमा दर्ता भएर सञ्चालन हुँदै आए पनि तारे होटल र रिसोर्ट भने पर्यटन विभागले नै दर्ता गरेर सञ्चालन अनुमति दिँदै आएको छ । पर्यटन विभागका अनुसार हालसम्म देशभर ३५० तारेस्तरका होटल तथा रिसोर्ट दर्ता भई सञ्चालनमा रहेका छन् । विभागका सूचना अधिकारी हिमाल गौतम पछिल्लो समय नेपालमा तारेस्तरका होटल तथा रिसोर्ट दर्ताको क्रम बढेको बताउँछन् । गत वर्ष ३३५ होटल तथा रिसोर्ट विभागमा दर्ता भएकामा यस वर्ष बढेर ३५० पुगेको हो । उनका अनुसार ४४ एकतारा, ४९ दुईतारा, ३७ तीन तारा, ४० चारतारा र २८ पाँचतारा स्तरका होटल दर्ता भएका छन् । त्यसैगरी, पाँचतारा डिलक्सस्तरका होटल तीन, पाँच तारास्तरका लक्जरी बुटिक हेरिटेज होटल तीन, डिलक्स हेरिटेज चारतारा होटल पाँच, नर्मल हेरिटेज बुटिक (तीन तारास्तर) एक, साधारण रिसोर्ट १२७, डिलक्स रिसोर्ट १० र लक्जरी रिसोर्ट तीन रहेका छन् । विभागका अनुसार दर्ता भएका ३५० होटलमा १६ हजार ६१३ कोठा रहेका छन् । उक्त कोठामा २६ हजार २८५ शय्या रहेका छन् । उक्त तारे होटल तथा रिसोर्ट सञ्चालनसँगै पर्यटकलाई गुणस्तरीय आवास, आधुनिक सेवासुविधा तथा अन्तरराष्ट्रियस्तरको आतिथ्य प्रदान गर्ने क्षमता पनि विस्तार हुँदै गएको छ । विभागका सूचना अधिकारी गौतम पछिल्लो समय होटल तथा रिसोर्टमा लगानी गर्नेको सङ्ख्या बढ्दै गएसँगै विभागले समायनुकूल होटलको मापदण्ड परिमार्जन गर्न सुरु गरेको छ । नेपालमा होटल तथा रिसोर्टलाई व्यवस्थित र स्तरीकरण गर्न पहिलोपटक २०७० सालमा होटल वर्गीकरण मापदण्ड निर्माण गरिएको थियो । समयको माग र अन्तरराष्ट्रिय अभ्यासअनुसार सरकारले २०७६ सालमा उक्त मापदण्डलाई संशोधन गरेको थियो । अन्तरराष्ट्रिय मापदण्ड, गुणस्तर र इको टुरिजमलाई ध्यानमा राखेर होटल मापदण्ड परिमार्जनको भइरहेको सूचना अधिकारी गौतम बताउँछन् । उक्त मापदण्डलाई परिमार्जन गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन महाशाखाका सहसचिवको नेतृत्वमा निर्देशक समिति गठन गरिएको छ भने पर्यटन विभागका निर्देशक एवं होटल शाखा प्रमुख (उपसचिव)को नेतृत्वमा मस्यौदा कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले यही असार मसान्तभित्र परिमार्जित होटल मापदण्ड मस्यौदा मन्त्रालयमा पेस गर्नेछ । होटल सङ्घ नेपाल (हान) का का अध्यक्ष विनायक शाह नेपालमा तारे होटल तथा रिसोर्टको सङ्ख्या बढ्नुले नेपालप्रति विदेशी पर्यटकको आकर्षण बढेको छ भन्ने देखाएको बताउँछन् । नेपालको प्रकृति, संस्कृति र साहसिक यात्राको मज्जा लिन विदेशी पर्यटक नेपालमा आउने गरेको उनको भनाइ छ । अध्यक्ष शाह पछिल्लो समय नेपालमा भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य बढेको बताउँछन् । प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकार रहेको र नेपालको पर्यटन क्षेत्रमा क्रमशः विश्वासको वातावरण सृजना हुँदै गएको अध्यक्ष शाहको भनाइ छ । ‘नेपाल भारत र चीनको बीचमा रहेको सुन्दर भूमि हो, दुवै देश आर्थिक हिसाबले शक्तिशाली छन्, यी देशबाट बर्सेनि करोडौँ मानिसहरू यात्राका लागि निस्किन्छन्, त्यहाँका पर्यटकलाई नेपाल भित्र्याउन सकियो भने नेपालको पर्यटक क्षेत्रले ठूलो फड्को मार्न सक्थ्यो,’ उनले भने । भक्तपुर र काभ्रेपलाञ्चोकको सिमानामा मण्डनदेउपुरमा बन्दै गरेको निगालो होटलकी कार्यकारी सहायक प्रबन्धक क्रिस्टिना श्रेष्ठ होटल क्षेत्रमा बढ्दो लगानीले रोजगारी सृजना, स्थानीय अर्थतन्त्रको चलायमान र पर्यटन पूर्वाधार विकासमा सकारात्मक योगदान पुर्याएको बताउँछिन् । नेपाली व्यवसायीको झन्डै २ अर्ब लगानीमा निर्माण सम्पन्न हुन लागेको निगालो होटलमा हाल सुविधासम्पन्न ६५ कोठा रहेका छन् । एक दशक लामो अष्ट्रेलिया बसाइपछि नेपाल फर्केर द्वारिकाज, पोखराको रूपाकोट, मल्ल, हिल्टनजस्ता चर्चित होटलमा काम गरेकी श्रेष्ठ पछिल्लो समय अन्तरराष्ट्रिय होटल ब्रान्डको प्रवेशसँगै नेपाली होटल उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि विस्तार भइरहेको बताउँछिन् । अन्तरराष्ट्रिय पर्यटक आगमन वृद्धि, पर्यटन प्रवर्द्धन, पूर्वाधार सुधार र सेवा गुणस्तरमा निरन्तर ध्यान दिनुपर्ने उनको भनाइ छ । अर्का पर्यटन व्यवसायी अभिषेकविक्रम शाह पछिल्लो समय पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी व्यापक रूपमा बढेको बताउँछन् । नयाँ सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेसँगै भविष्यका लागि होटल क्षेत्रमा लगानी बढेको उनको भनाइ छ । व्यवसायी शाह निर्माण भएका अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न सकिए विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य बढ्ने बताउँछन् । केही समयदेखि लाजिम्पाटस्थित बुकी बुटिक होटल, नागार्जुनस्थित नागार्जुन रिसोर्टको व्यवस्थापनको नेतृत्व गर्दै आएका शाहले नेपालमा पछिल्लो समय भित्रिएका भारतीयका साथै आन्तरिक पर्यटनको आगमन र चहलपहलले यस क्षेत्रमा हौसला थपिएको धारणा राखेका छन् । त्यसैगरी, लाजिम्पाट बुटिक होटलका सञ्चालक लिलाप्रसाद ढकाल पछिल्लो समय नेपालमा होटल तथा रिसोर्टको सङ्ख्या बढ्नु सकारात्मक भएको बताउँछन् । विदेशीमात्र नभई आन्तरिक पर्यटकलाई लक्षित गरेर पनि थुप्रै पर्यटकस्तरीय होटल सञ्चालन आएको भन्दै राज्यले यस्ता होटललाई होटलवालामात्र नभई होटल व्यवसायीको दृष्टिकोणले हेनुपर्ने उनको भनाइ छ । कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कँदै गएको छ । कोरोनापछि सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ र सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपालमा भित्रिएका छन् । यो वर्षको जुनसम्म पाँच लाखभन्दा बढी पर्यटक नेपाल भित्रिसकेका छन् । रासस
बर्डफ्लु संक्रमित कुखुरा बेच्नेलाई कडा कारबाही गर्ने
काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्रीवितरण गरेमा सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने जनाएको छ । आमनागरिकको स्वास्थ्यसँग खेलबाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले सङ्क्रमित पन्छी बजारमा बिक्री गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने जानकारी दिए । गत चैतदेखि देशका ११ जिल्लामा फैलिएको बर्डफ्लुका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अपनाउन विभागले निर्देशन दिएको हो । रोगको सङ्क्रमण नियन्त्रण गर्न प्राविधिकको टोली सङ्क्रमित क्षेत्र काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा सक्रिय रहेको बताउँदै उनले रोग अन्यत्र फैलिन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिए । सम्बन्धित जिल्लामा ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गरिएकाले केही जिल्ला नियन्त्रणमा आउने क्रममा छन् । मरेको कुखुरा जथाभावी फाल्दा, सङ्क्रमित पन्छी नष्ट गर्दा मान्छेमा सर्न सक्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ । काठमाडौं उपत्यका लगायत बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दानासमेत नष्ट गरिएको विभागले जनाएको छ । विभागका प्रवक्ता डा. उपाध्यायका अनुसार बर्डफ्लुको खोप प्रभावकारी रूपमा विकास नभएकाले सङ्क्रमण देखिनासाथ पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन । प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत नष्ट गरिएका पन्छीको मूल्याङ्कन गरी मुचुल्का उठाउने र सम्बन्धित जिल्लाका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन विवरण सङ्कलन कार्य भइरहेको जनाइएको छ ।
क्रोएसियालाई हराउँदै अन्तिम १६ मा पोर्चुगल
काठमाडौं । पोर्चुगलले फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणमा क्रोएसियालाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । टोरन्टोस्थित बीएमओ फिल्डमा आज बिहान सम्पन्न रोमाञ्चक खेलमा पोर्चुगलले इन्जुरी समयमा विजयी गोल गर्दै नकआउट चरण पार गरेको हो । खेलको ५३औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । त्यसपछि पोर्चुगलले लगातार दबाब सिर्जना गर्यो । ६८औं मिनेटमा भीएआरमार्फत पेनाल्टी पाएपछि कप्तान क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट फिनिस गर्दै खेल १–१ को बराबरीमा ल्याए। खेल अतिरिक्त समयमा पुग्ने निश्चितजस्तै देखिएको अवस्थामा ९०ं४औं मिनेटमा गोन्सालो रामोसले राफाएल लेआओको आकर्षक क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै पोर्चुगललाई २–१ को रोमाञ्चक जित दिलाए । क्रोएसियाले बराबरी गोलका लागि अन्तिम समयसम्म संघर्ष गरे पनि पोर्चुगलका गोलरक्षक डियोगो कोस्टाले केही महत्वपूर्ण बचाउ गर्दै टोलीको अग्रता जोगाए । खेलभर दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिएको थियो भने भीएआरका निर्णयले पनि खेललाई थप रोमाञ्चक बनाएको थियो । यो जितसँगै पोर्चुगलले अन्तिम १६ मा स्थान बनाएको छ, जहाँ उसले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले यसअघि अस्ट्रियालाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो । युरोपका दुई शक्तिशाली टोलीबीचको यो भिडन्त विश्वकपको सबैभन्दा प्रतीक्षित खेलमध्ये एक हुने फुटबल विश्लेषकहरूको आँकलन छ ।
स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा ६० वर्षमाथि र ७० वर्षमुनिका नागरिक, दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँसभाको अधिवेशनले वार्षिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था उल्लेख गरेपछि बजेटसमेत सुनिश्चित भएको हो । अध्यक्ष दिनेश लामाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा रोशीले सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई पनि निःशुल्क दिवाखाजाको व्यवस्था गर्ने जनाइएको छ । यसका लागि ६९ लाख रुपैयाँ प्रस्तावित बजेट पारित गरिएको छ । सङ्घीय सरकारले कक्षा १ देखि ५ मा अध्ययनरत विद्यार्थीका लागिमात्रै दिवाखाजा उपलब्ध गराउँदै आएको छ । यस्तै सङ्घीय सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई मात्रै सामाजिक सुरक्षा भत्ताका साथै निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ । महिला स्वास्थ्य स्वयंसेविकाका लागि बीमा प्रिमियमको ५० प्रतिशत सरकारले व्यहोर्दै आएकामा रोशी गाउँपालिकाले थप ५० प्रतिशत सुविधा उपलब्ध गराएको हो । त्यसैगरी, गाउँपालिकाले नीति तथा कार्यक्रममा तीनधारे झरना, ताराखसे लेक, भूमिचुली डाँडा र बाह्रवर्षे गोदावरी मेला लाग्ने चैत्य–पानी लेकजस्ता क्षेत्रको संरक्षण र व्यवस्थापन गर्न कार्यविधि बनाई समिति गठन गर्दै ती क्षेत्रमा पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याइने र पर्यटन प्रवर्द्धन गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा भगिनी सम्बन्ध विस्तार गर्न पहलसमेत गरिने नीति लिइएको छ । अधिवेशनमा आउँदो आबका लागि प्रस्तुत कुल ७२ करोड ९९ लाख ४२ हजार रुपैयाँ बराबरको आयव्ययको अनुमान (बजेट) पारित गरिसकेको छ । उक्त बजेटमा अन्तरिम मौज्दातसमेत गरी आन्तरिक स्रोतबाट ५ करोड ८३ लाख ६५ हजार रुपैयाँ सङ्कलन हुने अनुमानसमेत गरेको छ । यस्तै, राजस्व बाँडफाँटतर्फ स्थानीय राजस्वबाट ३ करोड ३० लाख रुपैयाँ, सङ्घीय राजस्वबाट ९ करोड ८६ लाख ८९ हजार रुपैयाँ र प्रदेश राजस्वबाट ४ करोड ५ लाख ३१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । सङ्घीय सरकार समानीकरण १० करोड ४३ लाख रुपैयाँ, सङ्घीय सशर्त अनुदान ३३ करोड २३ लाख रुपैयाँ, सङ्घीय समपूरक अनुदान ३० लाख रुपैयाँ, सङ्घीय विशेष अनुदान ७६ लाख रुपैयाँ, प्रदेश सरकार समानीकरण ९१ लाख ५९ हजार रुपैयाँ, प्रदेश सरकारको सशर्त अनुदान १ करोड २७ लाख ९८ हजार रुपैयाँ, प्रदेश सरकारको समपूरक अनुदान २ करोड ४५ लाख रुपैयाँ र प्रदेश विशेष अनुदान ५५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । यसैबीच, गाउँपालिकाले बाढीपहिरोबाट पीडित निजी आवास पुनर्निर्माण र प्रबलीकरणलाई थप जोड दिँदै ६० लाख रुपैयाँ रकम विनियोजन गरेको छ । विगत तथा हुनसक्ने प्राकृतिक विपद् र बाढीपहिरोले पुर्याएको क्षतिको व्यवस्थापन गर्दै पालिकालाई समृद्ध बनाउने सङ्कल्प गाउँपालिकाले लिएको छ ।
आज देशभर पानी पर्ने, यी ४ प्रदेशमा भारी वर्षाको चेतावनी
काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्ने छ । देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ । तराईका केही स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । आज राति पनि देशभर साधारणतया बादल रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै, पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
विश्वकपमा स्पेनको दबदबा, अस्ट्रियालाई ३–० ले हराउँदै अन्तिम १६ मा
काठमाडौं । युरोपियन च्याम्पियन स्पेनले फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रियालाई ३–० ले पराजित गरेको छ । लस एन्जलस स्टेडियममा भएको खेलमा सहज जित निकाल्दै स्पेनले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । स्पेनको जितमा कप्तान मिकेल ओयारजाबाल नायक बने । उनले ३६औं र ८९औं मिनेटमा दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे । अर्को गोल डिफेन्डर पेड्रो पोरोले ६६औं मिनेटमा हेडमार्फत गरेका थिए । पहिलो हाफमा खेलमाथि नियन्त्रण कायम गरेको स्पेनले दोस्रो हाफमा थप आक्रामक प्रदर्शन गर्दै अस्ट्रियालाई कुनै अवसर नै दिन सकेन । गोलरक्षक उनाई सिमोन र स्पेनको रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्दै लगातार अर्को क्लिन सिटसमेत कायम राखे । स्पेनका लागि यो जित विशेष रह्यो, किनभने विश्वकप नकआउट चरणमा सन् २०१० मा उपाधि जितेपछि यो पहिलो जित हो । यससँगै उपाधि दाबेदारका रूपमा स्पेनले बलियो सन्देश दिएको छ । अब स्पेनले अन्तिम १६ मा पोर्चुगल वा क्रोएसियामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
पेट्रोल पम्प बन्द गर्ने व्यवसायीलाई १० लाखसम्म जरिवाना हुने
काठमाडौं । नेपाल आयल निगमले उचित कारणबिना पेट्रोल पम्प बन्द गरी इन्धन अभाव सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने व्यवस्था गरेको छ । निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै यस्तो गतिविधिमा संलग्न व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र पाँचदेखि १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने प्रावधान लागू गरेको हो । पेट्रोलियम व्यवसायीहरूले मूल्य घट्ने अनुमान गर्दै मंगलबार निगमका डिपोबाट इन्धन नउठाएपछि बुधबार देशभर आपूर्ति प्रभावित भएको थियो । अत्यावश्यक वस्तुको आपूर्ति असहज बनाउने गतिविधि रोक्न स्पष्ट कानुनी व्यवस्था आवश्यक देखिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले निगमलाई तत्काल कदम चाल्न निर्देशन दिएकी थिइन् । मन्त्रीको निर्देशनपछि निगम सञ्चालक समितिको बैठकले विनियमावलीमा संशोधन गर्दै “नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ अभाव सिर्जना गर्न नहुने” प्रावधान थप गर्ने निर्णय गरेको हो । नयाँ व्यवस्थाअनुसार पहिलो पटक कसुर गरेमा तीन लाख रुपैयाँ जरिवाना र पाँच दिनसम्म इन्धन आपूर्ति रोक्का गरिनेछ । दोस्रो पटक दोहोरिएमा छ लाख रुपैयाँ जरिवाना र १० दिन आपूर्ति रोक्का हुनेछ भने तेस्रो पटक उल्लङ्घन गरेमा १० लाख रुपैयाँ जरिवाना र १५ दिनसम्म इन्धन आपूर्ति बन्द गरिनेछ । निगमका अनुसार संशोधित व्यवस्थासँगै अब कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्प व्यवसायीलाई कानुनी रूपमा कडाइका साथ कारबाही गर्न स्पष्ट आधार तयार भएको छ ।
नागर्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा हुँदा कतिपय ठाउँ जलमग्न
काठमाडौं । बिहीबार (आज) काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कञ्चनपुरको दोधारा-चाँदनीमा १७५ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो अभिलेखअनुसार कञ्चनपुरपछि कपिलवस्तुमा ११८ मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा पनि भारी नजिक वर्षा भएको छ । विभागका अनुसार काठमाडौंको नागर्जुन क्षेत्रमा ४६ दशमलव दुई मिलिमिटर वर्षा भएको छ । त्यस्तै सुन्दरीजलमा ४२ दशमलव आठ, कपन र बबरमहल क्षेत्रमा ३५र३५ र बूढानीलकण्ठमा १५ मिलिमिटर वर्षा भएको छ । ललितपुर र भक्तपुरमा भने मध्यम मात्रै वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए । उनका अनुसार कास्की र दाङमा पनि भारी वर्षा भएको छ । आज काठमाडौंमा भएको वर्षाका कारण कतिपय ठाउँ जलमग्न भएका छन् । अहिले पनि सडकमा पानी जमेकाले यात्रुले सहज रूपमा यातायातका साधन साउन नसकेका भन्दै आवागमन सहज बनाउन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । केहीबेर अघि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गरी अविरल वर्षाका कारण उपत्यकाका विभिन्न सडकखण्डमा पानी जम्न गई सवारी आवागमन प्रभावित भएको जानकारी दिएको छ । प्रतिकूल मौसममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नागरिकको सहजताका निरन्तर सडकमा खटिइ सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन जिम्मेवारी निर्वाह गरिरहेका छन् । यसैबीच, यात्राका क्रममा आवश्यक सजगता अपनाउन र सुरक्षित रहन कार्यालयले सबैमा अनुरोध गरेको छ ।