राष्ट्रव्यापी सामुदायिक उत्सवसँगै यामाहाले मनायो ७१औं वार्षिकोत्सव
काठमाडौं । यामाहा नेपालले विभिन्न सामाजिक तथा ग्राहकमुखी कार्यक्रम आयोजना गर्दै आफ्नो ७१औं वार्षिकोत्सव मनाएको छ । हरेक वर्ष जुलाई १ मा मनाइने ‘यामाहा डे’ का अवसरमा कम्पनीले सातै प्रदेशमा ग्राहक, कर्मचारी, डिलर र समुदायलाई जोड्ने विविध कार्यक्रम सञ्चालन गरेको हो । वार्षिकोत्सवको सुरुवात देशभरका यामाहा शोरुम, डिलरशिप र कम्पनीका आउटलेटमा एकैसाथ केक काटेर गरिएको थियो । यस अवसरमा कम्पनीमा २० वर्षदेखि निरन्तर सेवा गर्दै आएका कर्मचारीलाई सम्मान गरिएको थियो भने १०० भन्दा बढी डिलर डिजिटल माध्यमबाट कार्यक्रममा सहभागी भएका थिए । ग्राहकका लागि विशेष अफरअन्तर्गत देशभरका सेवा केन्द्रमा लेबर चार्जमा २५ प्रतिशत छुट प्रदान गरिएको थियो । साथै ‘७ प्रदेश, ७ ग्राहक’ अभियानमार्फत प्रत्येक प्रदेशका एक/एक जना भाग्यशाली ग्राहकलाई सर्भिस चार्जमा शतप्रतिशत क्यासब्याक दिइएको कम्पनीले जनाएको छ । जुलाई १ मा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई विशेष वार्षिकोत्सव उपहारस्वरूप चकलेट पनि वितरण गरिएको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढी, पोखरा, काठमाडौं, भरतपुर, बर्दिबास र इटहरीलगायत सात स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । अभियानबाट करिब ३५० युनिट रगत संकलन भएको कम्पनीले जनाएको छ । विराटनगरस्थित प्लान्टमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको थियो । यामाहा पर्साले खैरहनीस्थित श्री धर्मेश्वर आधारभूत विद्यालयका नर्सरीदेखि कक्षा ७ सम्म अध्ययनरत सात जना विपन्न विद्यार्थीको कक्षा १२ सम्मको अध्ययन खर्च व्यहोर्ने घोषणा गरेको छ । साथै, १६ देखि ४० वर्षसम्म यामाहा सवारी प्रयोग गरेका पुराना ग्राहक, १ लाखदेखि २ लाख किलोमिटरसम्म यात्रा गरेका राइडर, पूर्वी चितवनमा प्रि-ओन्ड सवारी व्यवसाय सुरु गर्ने उद्यमी तथा ३२ वर्षदेखि कार्यरत मेकानिकलाई पनि सम्मान गरिएको थियो । एमएडब्लू राइड्स प्रालिका प्रबन्ध निर्देशक तथा अध्यक्ष विष्णु अग्रवालले यामाहा नेपाल प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ४०० परिवारको रोजगारीसँग जोडिएको बताउँदै डिलर, कर्मचारी र ग्राहकको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे । समुदायसँगै अघि बढ्ने प्रतिबद्धताअनुसार ट्राफिक सचेतना, रक्तदान, वृक्षारोपण र परोपकारी अभियानलाई निरन्तरता दिइने उनले बताए । यस अवसरमा काठमाडौंमा ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो भने ब्लू स्ट्रिक्स राइडिङ कम्युनिटीले बूढानीलकण्ठस्थित माउन्टेन चिल्ड्रेन्स होममा परोपकारी राइड आयोजना गरेको थियो । यामाहाका नेपालस्थित ब्रान्ड एम्बेसडर अनुप विक्रम शाही तथा कम्पनीका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले पनि ७१औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका थिए । एमएडब्लू ग्रुपअन्तर्गत सञ्चालन हुँदै आएको यामाहा नेपालले जापानी प्रविधि, विश्वसनीयता र उत्कृष्ट बिक्रीपछिको सेवामार्फत नेपाली दुईपांग्रे सवारी बजारमा अग्रणी स्थान कायम राख्दै आएको जनाएको छ ।
एमालेका पूर्वसांसद कोइरी गौशालाबाट पक्राउ
काठमाडौं । थमन विक हत्या प्रकरणमा दोषी ठहर भई पाँच वर्ष कैद सजाय सुनाइएका नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्तरीको गौशाला क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। यसअघि जिल्ला अदालत महोत्तरीले कोइरीलाई उक्त मुद्दामा सफाइ दिएको थियो । तर उच्च अदालत जनकपुरको इजलासले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई थमन विक हत्या प्रकरणमा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो । उच्च अदालतको फैसला आएको केही समयमै प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउपछि उनलाई कानुनी प्रक्रियाअनुसार सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिने प्रहरीले जनाएको छ ।
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ पारित भएको छ । अध्यादेशलाई विस्थापन गर्न ल्याइएको उक्त विधेयकमाथिको दफाबार छलफल र सम्बन्धित मन्त्रीको जवाफपछि निर्णयार्थ प्रस्तुत हुँदा विधेयक बहुमतले पारित भएको हो । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । त्यसअघि मन्त्री मेहताले छलफलमा सदनमा उठेका प्रश्नमाथि जवाफ दिँदै सरकारले अघि सारेको १०० बुँदे सुधारको कार्यसूचीबमोजिम स्वास्थ्य क्षेत्रमा सुधार हुँदै आएको बताइन् । उनले विपन्न वर्ग पैसा नभएकै कारण उपचारबाट वञ्चित हुन नपरोस् भनेर १० प्रतिशत शय्या व्यवस्था गरिएको स्पष्ट गरिन् । विधेयकमाथि संशोधनकर्ता सांसदहरू आरेन राई, निशा डाँगी, खड्ग शाही, सीता थपलिया, प्रमिलाकुमारी गच्छदार, कमल सुवेदी, रमेश मल्ल, साजिदा खातुन सिद्धकी, कृपाराम रानालगायतले छलफलमा भाग लिएका थिए । छलफलमा सांसदहरूले उक्त विधेयकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेका समस्यालाई सम्बोधन नगरेको तथा पदाधिकारीलाई प्राथमिकता दिएकाले विद्यमान समस्या समाधान हुने गरी संशोधन गर्न आग्रह गरोका थिए । छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले विगतमा बहाल रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई ‘भाइरस’ को सङ्ज्ञा दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रमेश मल्ल र नेपाल कम्युनिष्ट पार्टी (एमाले( का ऐनबहादुर महरले नियमापत्ति जनाएका थिए । सो नियमापत्तिपछि सभामुख डोलप्रसाद अर्यालले त्यसबारे आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यस विषयमा छानबिन गर्न सचिवालयलाई आदेश दिए । प्रतिनिधिसभाको अर्को बैठक यही असार २२ गते सोमबार बिहान ११ः०० बजे बस्नेछ ।
'मेहनत गरे नेपालमै कमाइ सम्भव छ'- मन्त्री रामजी यादव
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार व्यवस्थित बनाउँदै स्वदेशमै रोजगार सिर्जना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशा रहेको बताएका छन् । मन्त्रालयमा सबहीबार (आज) आयोजित कार्यक्रममा मन्त्री यादवले युवा उद्यमी र व्यवसायीको सहयोगीका रुपमा मन्त्रालयले भूमिका खेल्ने बताए । उनले वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गर्दै आएका उद्यमीलाई पुरस्कृत र सम्मानसमेत गरे । मोरङस्थित प्रशंसा ‘हनि’ फर्मका सञ्चालक लोकबहादुर राईलाई यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ भने अन्य ६ जनालाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । कतारमा रोजगार गरी स्वदेश फर्केर मौरीपालन गर्दै उद्यमीका रुपमा स्थापित भएका राईले उद्यम यात्राको अनुभव सुनाए । उनले मेहनत भए आफ्नै देशमा आम्दानी गर्न सकिने विश्वास व्यक्त गरे । यसैगरी, झापाका मनिका राई, सप्तरीका देवलाल यादव, सिन्धुलीका यमकुमार गोले, पर्वतका शिवकुमार क्षेत्री, अर्घाखाँचीका दिनेश खत्री र बाजुराका कर्मराज मल्लले उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरे । कार्यक्रममा मन्त्रालयले बालश्रममुक्त घोषणा भएका १३ स्थानीय तहलाई सम्मान गरिएको थियो । काठमाडौंको चन्द्रागिरि नगरपालिका, म्याग्दीको रघुगङ्गा गाउँपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका, कपिलवस्तुको बुद्धभूमि नगरपालिका र बाणगङ्गा नगरपालिका, इलामको सूर्योदय नगरपालिका, तनहुँको म्याग्दे गाउँपालिका, भोजपुरको पौवादुङमा गाउँपालिका, बागलुङ्गको बरेङ गाउँपालिका, स्याङ्जाको बिरुवा गाउँपालिका र फेदीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाका प्रमुखले सम्मान र प्रशंसापत्र ग्रहण गरे । मन्त्रालयले रोजगार श्रमिकको मापदण्ड पूरा गरेका ६ व्यवसायी प्रतिष्ठानलाई सम्मान गरेको छ । सम्मानित हुनेमा नवजीवन अस्पताल प्राली, होङ्सी शिवम् सिमेन्ट, पूर्वी नवलपरासी, अम्बे स्टिल लिमिटेड, एशियन पेन्ट्स नेपाल, मारुती सिमेन्ट लिमिटेड, मैनावती स्टिल इन्डष्ट्रिज लिमिटेड रहेका छन् । कार्यक्रममा मन्त्रालयका सचिव डा. दीपक काफ्लेले श्रमिकको हकहित संरक्षण, रोजगार वातावरण सिर्जना र बालश्रममुक्त समाज निर्माण गर्न मन्त्रालयले सधैं प्रभावकारी भूमिका निर्वाह गर्न तत्पर रहँदै आएको बताए । उनले यी तीन पक्ष एकअर्काकामा अन्तर सम्बन्धित भएकाले सुधारका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।
ईश्वरी भुजेल हत्या प्रकरण : नेपाली ब्राे र उनकी प्रेमिका पुर्पक्षका लागि थुनामा
काठमाडाैं । जिल्ला अदालत काठमाडौंले नेपाली सेनाकी जमदार ईश्वरी भुजेल हत्या प्रकरणका मुख्य अभियुक्त उनका पति कुमार थापा मगर (नेपाली ब्रो) र उनकी प्रेमिका भनिएकी प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बिहीबार थुनछेक आदेश गर्दै कुमारका भाइ विक्रम थापा मगर र उनका साथी सुजन थापालाई भने जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए । प्रहरी अनुसन्धानअनुसार सम्बन्धविच्छेदको विवाद र प्रतीक्षा आचार्यसँगको प्रेम सम्बन्धका कारण कुमारले २०८३ जेठ २२ गते ईश्वरीको चक्कु प्रहार गरी हत्या गरेका थिए । घटनाअघि ईश्वरीले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् भने मेलमिलापको प्रयास असफल भएको थियो । अभियोगपत्रमा कुमारविरुद्ध कर्तव्य ज्यान कसुरमा जन्मकैदको माग गरिएको छ । विक्रम, प्रतीक्षा र सुजनविरुद्ध भने दुरुत्साहन गरेको आरोपमा कानुनबमोजिम सजाय माग गरिएको छ ।
पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज
काठमाडाैं । सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज गरेको छ । पौडेलकी पत्नी दोमाया पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले दिएको अनुमति कानुनविपरीत रहेको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बिहीबार सुनुवाइ गर्दै रिट खारेज गर्ने आदेश दिएको हो । यसैबीच, विशेष अदालतले पनि बिहीबार सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धानका लागि विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ
काठमाडौं । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले नयाँबसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-२६ स्थित नयाँबसपार्क क्षेत्रमा यात्रु तान्ने, झोला खोस्ने र अनावश्यक हैरानी दिने गरेको जनगुनासोका आधारमा ट्राफिक प्रहरीले पक्राउ गरेको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । पक्राउ पर्नेमा रुपन्देहीका डोलराज सेन, गोरखाका प्रदीप भुजेल, जुम्लाका लोकदर्शन पाण्डे, बाँकेका सन्देश शाही, बाँकेका मिलन भण्डारी, दाङका रमेश खत्री र विकास घर्ती, रोल्पाका किरण पुन, रुपन्देहीका रोहित विक, कास्कीका सन्तोष शाही, डडेलधुराका शिवराज भट्टराई, मुगुका कविराज रोकाय, दाङका प्रकाश खत्री रहेका छन् । रुपन्देहीका रवीन विश्वकर्मा, उदयपुरका जितबहादुर मगर, कैलालीका कृष्णप्रसाद कठरिया, दाङका विजय नेपाली, कैलालीका पदम ओली, दाङका रिजन घर्तीमगर, स्याङ्जाका कमल ज्ञवाली, कैलालीका दिपक न्यौपाने, मनोज साउद र प्रेम विष्ट रहेका छन् । पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रवक्ता सुवेदीले बताए । नयाँबसपार्क क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन तथा यात्रुको सहज आवागमन सुनिश्चित गर्न ट्राफिक प्रहरीले पछिल्लो समय यस्ता अभियान सञ्चालन गर्दै आएको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारी आचारसंहिता–२०८३ लागू
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीको आचारसंहिता, २०८३’ लागू गरेको छ । मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीको आचरण, अनुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी तथा मर्यादित बनाउन आचारसंहिता लागू गरेको हो । मन्त्रीस्तरीय निर्णयबाट २०८३ असार १० गते स्वीकृत गरिएको उक्त आचारसंहिता मन्त्रालयले मन्त्रालय तथा अन्तर्गतका निकायमा कार्यरत कर्मचारीका लागि लागू गरेको हो । आचारसंहिताको प्रस्तावनामा मन्त्रालय र मातहतका निकायका कर्मचारीको व्यवहारलाई निष्पक्ष, पारदर्शी, सेवामुखी, अनुशासित, मर्यादित र व्यवस्थित बनाउँदै कार्यसम्पादन तथा सेवा प्रवाहलाई प्रभावकारी तुल्याउने उद्देश्यले आचारसंहिता जारी गरिएको उल्लेख छ । यो आचारसंहिता सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २३ को उपदफा ९३० र निजामती सेवा कर्मचारीको आचारसंहिता सम्बन्धी कानुनी व्यवस्थाअनुसार तयार गरिएको जनाइएको छ ।