काठमाडौं । नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभाका पूर्वसदस्य लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। महोत्तरीको गौशाला-२ निवासी कोइरीलाई सशस्त्र प्रहरीका असइ थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरधामले पाँच वर्ष कैद सजाय सुनाएलगत्तै प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार कोइरीलाई गौशाला-५ स्थित एमाले पार्टी कार्यालय परिसरबाट पक्राउ गरिएको हो । अदालतको फैसलाअनुसार उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसअघि यही मुद्दामा महोत्तरी जिल्ला अदालतले २०८० मङ्सिर २८ गते कोइरीलाई सफाइ दिएको थियो । तर उच्च अदालत जनकपुरधामले उक्त फैसला उल्टाउँदै उनलाई पाँच वर्ष कैद सजाय सुनाएको हो ।
मुद्दा विचाराधीन रहेकै बेला कोइरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी-१ बाट नेकपा (एमाले)का उम्मेदवार बनेर निर्वाचित भएका थिए । त्यसपछि गत फागुनमा भएको उपनिर्वाचनमा पनि उनी उम्मेदवार बनेका थिए, तर पराजित भएका थिए ।
एमालेको मधेस प्रदेश कमिटी सदस्यसमेत रहेका कोइरीलाई पक्राउपछि बिहीबार नै जिल्ला सदरमुकाम जलेश्वर ल्याइएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका असइ थमन विकको २०७२ भदौमा मधेस आन्दोलनका क्रममा जलेश्वरमा कुटपिटपछि हत्या भएको थियो । आन्दोलनका क्रममा घाइते भएका विकलाई जलेश्वरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर लगिँदै थियो । सोही क्रममा बाटोमा ढुकेर बसेका केही व्यक्तिले उनलाई एम्बुलेन्सबाट झारेर निर्घात कुटपिट गरेका थिए । गम्भीर घाइते विकको त्यसक्रममा मृत्यु भएको थियो ।