एनसीएचएललाई ‘नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड २०२५’ अन्तर्गत मेरिट अवार्ड
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई ‘नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड २०२५’ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि (आईटी) विधामा ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईसीएएन) ले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा कम्पनीले सार्वजनिक गरेका वित्तीय खुलासाका आधारमा एनसीएचएललाई उक्त सम्मान प्रदान गरेको हो । आईसीएएनले हरेक वर्ष संस्थाहरूको वित्तीय प्रतिवेदनको गुणस्तर, संस्थागत सुशासन र पारदर्शिताको मूल्याङ्कन गर्दै ‘बेस्ट प्रिजेन्टेड अवार्ड’ प्रदान गर्दै आएको छ । एनसीएचएलका अनुसार यो सम्मानले कम्पनीको पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ । यसअघि पनि एनसीएचएलले आईसीएएन तथा दक्षिण एसियाली लेखा महासंघ (साफा) बाट ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ प्राप्त गर्दै आएको कम्पनीले जनाएको छ । हाल एनसीएचएलले आफ्ना ५२ सदस्य बैंक तथा वित्तीय संस्थामार्फत एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, रिटेल पेमेन्ट स्विच (आरपीएस), नेसनल पेमेन्ट स्विच, कनेक्टआरटीजीएस, नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई), कनेक्टआईपीएस, कर्पोरेटपे, नेपालपे क्यूआर, ईएफटी कार्ड स्विच तथा सेवा र नेपालपे कार्डलगायतका भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ । कम्पनीका अनुसार बैंक तथा वित्तीय संस्थाबाहेक बीमा, रेमिट्यान्स, भुक्तानी सेवा प्रदायक (पीएसपी), भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), सरकारी तथा अर्धसरकारी निकायसहित १२५ भन्दा बढी संस्थाहरू अप्रत्यक्ष वा प्राविधिक सदस्यका रूपमा आबद्ध छन् ।
असई विक मृत्यु प्रकरण : पूर्वसांसद महतोसहित ६ जनालाई पाँच वर्ष कैद
जनकपुरधाम । प्रहरी सहायक निरीक्षक (असई) थमन विकको मृत्यु प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेशसभाका निलम्बित सदस्य अभिराम शर्मासहित छ जनालाई पाँच वर्ष कैदको सजाय तोकेको छ । उच्च अदालत जनकपुरका कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले असई विकको मृत्यु प्रकरणमा पूर्वसांसद महतो, निलम्बित प्रदेशसभा सदस्य शर्मासहित धर्मेन्द्र राय, रामशङ्कर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्ष कैद सजायको फैसला गरेको हो । यस्तै सोही प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिवादीहरु प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १ नम्बरको कसुरमा सोही महलको १३ (३) नम्बरबमोजिम जन्मकैद गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी गणेश पाण्डेलले जानकारी दिए । महोत्तरी जिल्ला अदालतले ती तीनै जनालाई २०८० मङ्सिर २८ गते जन्मकैद र पूर्वसांसद महतो तथा पवन कापरलाई सफाइ दिएको थियो । महोत्तरी जिल्ला अदालतको जन्मकैदसम्बन्धी फैसला मिलेको ठहर गर्दै तीनै जनाको हकमा फैसला सदर गरेको सूचना अधिकारी पाण्डेले बताए । उच्च आदलतको फैसलामा मृतक थमन विकको मृत्यु कर्तव्यबाट भएको, तीनै जना प्रतिवादी प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरविरुद्ध किटानी जाहेरी परेको, अनुसन्धानको क्रममा तीनै जनाले आरोप स्वीकार गरेको तथा उपचारका लागि लैजाँदै गर्दा एम्बुलेन्स चालक सुशील मिश्र र सँगै रहेका पप्पुकुमार साह, सियाराम पासवान र राजकुमार झाले अनुसन्धान अधिकृतसमक्ष उनीहरुको संलग्नता पुष्टि गर्ने काज गरेको उल्लेख छ । घटनास्थलको तस्बिरबाट पनि प्रतिवादी सञ्जयकुमार साहले थमन विकमाथि प्रहार गरेको देखिएको अदालतको आदेशमा उल्लेख छ । यस्तै पूर्वसांसद महतो, निलम्बित प्रदेशसभा सदस्य शर्मा, धर्मेन्द्र राय, रामशङ्कर मिश्र, सुरेश पाण्डे र पवन कापरको हकमा भने कथन विकमाथि प्रत्यक्ष प्रहार गरेको वस्तुनिष्ट प्रमाण नभेटिएको तर जन्मकैद सजाय पाएका प्रतिवादीहरुको पोलयुक्त बयानका आधारमा उनीहरु ज्यान मार्ने कार्यमा संलग्न रहेको देखिएकाले मुलुकी ऐनको ज्यानसम्बन्धीको १७(२ं) नम्बरको कसुर गरेको ठहर गरिएको उल्लेख छ । मधेस आन्दोलनका क्रममा गत २०७२ भदौ २५ गते कार्यस्थलको लागि महोत्तरी आएका असई विकको आन्दोलनकारीको कुटपिट मृत्यु भएको जनाइएको छ ।
प्रतिनिधि सभा आज बस्दै, सहकारी संशोधन विधेयक पारित गर्ने तयारी
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ । आजको बैठकमा सरकारले तीन महत्वपूर्ण संशोधन विधेयक पारित गराउने तयारी गरेको छ । बैठकको प्रारम्भमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउने कार्यसूची रहेको छ । त्यसपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रधानमन्त्रीको तर्फबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सम्पन्न भएको प्रस्ताव प्रस्तुत गर्नेछिन् । उक्त विधेयकमाथि दर्ता भएका संशोधनहरू निर्णयार्थ पेश गरी अन्ततः विधेयक पारित गर्ने प्रस्ताव पनि आजको कार्यसूचीमा समावेश गरिएको छ । यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सम्पन्न भएको प्रस्ताव पेश गर्नेछन् । त्यसपछि संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्दै विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइनेछ । त्यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सम्पन्न भएको प्रस्ताव पेश गर्नेछिन् । संशोधनहरू टुंग्याएपछि उक्त विधेयक पनि आजै प्रतिनिधि सभाबाट पारित गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा सरकारले सार्वजनिक खरिद प्रणाली, सम्पत्ति शुद्धिकरण नियन्त्रण तथा सहकारी क्षेत्रसँग सम्बन्धित कानुनी व्यवस्थामा महत्वपूर्ण संशोधनलाई अन्तिम रूप दिने तयारी गरेको छ ।
फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश
काठमाडौं । बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले समान एक एक गोल गरे । खेलको ४५औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ६४ औँ मिनेटमा फोलारिन बालोगुनले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि अमेरिका १० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि पनि अमेरिकाले खेलको ८२औँ मिनेटमा अर्को गोल थप्यो । उसका लागि टिलम्यानले गोल गरे । गए राति भएको अर्को खेलमा बेल्जियमले सेनेगललाई ३–२ गोलले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा पुगेका थियो । अब विश्वकपको अन्तिम १६ को खेलमा अमेरिकाले बेल्जियमसँग खेल्नेछ ।
आँप किलोको ११० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४०, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ९०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ४० कायम भएको छ । समितिका अनुसार मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु १३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु ३०, परवर (तराई) प्रतिकिलो रु ३०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकन्दर प्रतिकेजी रु ८०, सजीवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु १६०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ४५०, आँप (मालदह) प्रतिकिलो रु ११०, आँप (दशहरी) प्रतिकिलो रु १२०, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २००, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ७० नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ । अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु २५०, भेडेखुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १७०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ ।
३० दिनभित्र दर्ता गर्न सरकारको राइड सेयरिङलाई निर्देशन
काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवा दर्ता गर्न निर्देशन दिएको छ । गण्डकी सरकारले प्रदेशभित्र सञ्चालनमा रहेका राइड सेयरिङ सेवा प्रदायक कम्पनी, संस्था, व्यक्ति तथा प्लेटफर्मलाई ३० दिनभित्र दर्ता इजाजतपत्र लिन निर्देशन दिएको हो । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) (दोस्रो संशोधन) नियमावली, २०८२ अनुसार प्रदेशभित्र राइड सेयरिङ सेवा सञ्चालन गर्न इच्छुक सेवा प्रदायकले अनिवार्य रूपमा दर्ता इजाजतपत्र प्राप्त गर्नुपर्ने जनाएको हो । मन्त्रालयका अनुसार हालसम्म दर्ता इजाजतपत्र नलिई सेवा सञ्चालन गरिरहेका कम्पनी, संस्था, व्यक्ति तथा प्लेटफर्मले ३० दिनभित्र सम्बन्धित कार्यालयमा आवश्यक कागजातसहित दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ । तोकिएको समयभित्र दर्ता नगरी सेवा सञ्चालन गरेको पाइएमा नियमावलीको नियम (३) तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही र जरिवाना गरिने मन्त्रालयले जनाएको छ ।
नेप्सेमा कालंगा र सानिगाड हाइड्रो सूचीकृत, आजदेखि कारोबार खुल्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालंगा हाइड्रो र सानिगाड हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ । नेप्सेका अनुसार कालंगा हाइड्रोको १ करोड ४० लाख कित्ता र सानिगाड हाइड्रोको २ करोड ८५ लाख कित्ता शेयर सूचीकृत गरिएको हो । कालंगा हाइड्रोले सर्वसाधारणमा जारी गरेको ४९ लाख कित्ता र संस्थापक सेयरधनीको ९१ लाख कित्ता गरी कुल १ करोड ४० लाख कित्ता सेयर सूचीकृत गराएको हो । त्यस्तै, सानिगाड हाइड्रोले सर्वसाधारणमा जारी गरेको ८५ लाख ५० हजार कित्ता र संस्थापक सेरधनीको १ करोड ९९ लाख ५० हजार कित्ता गरी कुल २ करोड ८५ लाख कित्ता सेयर सूचीकृत गराएको हो । अब यी दुवै कम्पनीको सेयर आज बिहीबार स्पेसल प्रि-ओपन सेसनमा पहिलो कारोबार भएपछि नियमित बजारमा कारोबारमा आउनेछन् । पहिलो कारोबारका लागि नेप्सेले कालंगा हाइड्रोलाई ९८ रुपैयाँ ५६ पैसादेखि २९५ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ । यस्तै, सानिगाड हाइड्रोपावरका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।
दुई गोलले पछि परेको बेल्जियमको उत्कृष्ट पुनरागमन, सेनेगललाई हराउँदै अन्तिम १६ मा
काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणमा बेल्जियमले दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै सेनेगललाई अतिरिक्त समयमा ३-२ ले पराजित गरेको छ । रोमाञ्चक जितसँगै बेल्जियमले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । सिएटलमा सम्पन्न खेलमा सेनेगलले सुरुआतदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै २४औँ मिनेटमा हाबिब डियार्राको गोलबाट अग्रता लिएको थियो। दोस्रो हाफको ५१औँ मिनेटमा इस्माइला सारले अर्को गोल थपेपछि सेनेगल २-० ले अघि बढेको थियो र सहज जिततर्फ उन्मुख देखिएको थियो । तर खेलको अन्तिम पाँच मिनेटमा बेल्जियमले अविश्वसनीय पुनरागमन गर्यो । ८६औँ मिनेटमा वैकल्पिक खेलाडी रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई खेलमा फर्काएन । त्यसको तीन मिनेटपछि युरी टिलेमान्सले हेडमार्फत बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याए । अतिरिक्त समय पनि बराबरीतर्फ अघि बढिरहेको अवस्थामा इन्जुरी समयको अन्तिम क्षणमा भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षा पछि बेल्जियमले पेनाल्टी पायो । कप्तान टिलेमान्सले १२५औँ मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै बेल्जियमलाई ३-२ को ऐतिहासिक जित दिलाएन । यो विश्वकप इतिहासकै सबैभन्दा ढिलो समयमा भएको विजयी गोलमध्ये एक मानिएको छ । खेलमा बेल्जियमले ५३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै २१ प्रहार गरेको थियो भने सेनेगलले १९ प्रहार गरेको थियो । दुवै टोलीका पाँच-पाँच प्रहार लक्ष्यमा थिए, जसले खेल कति प्रतिस्पर्धात्मक थियो भन्ने देखाउँछ । यो जितसँगै बेल्जियमले २०१८ विश्वकपमा जापानविरुद्ध गरेको ऐतिहासिक पुनरागमनको सम्झना ताजा गराएको छ । अब बेल्जियमले अन्तिम १६ मा अमेरिका र बोस्निया-हर्जेगोभिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।