विकासन्युज

प्रशान्त महासागरमा चीनको क्षेप्यास्त्र परीक्षण, जापानसहितका देशले जनाए असन्तुष्टि

काठमाडौं । चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ ।  परीक्षणअघि नै क्षेत्रका केही राष्ट्रलाई जानकारी गराइएको भए पनि यस कदमले जापानसहितका देशहरूको चिन्ता बढाएको छ र दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य उपस्थितिमाथि नयाँ बहस सुरु भएको छ । चिनियाँ नौसेनाका प्रवक्ता वाङ सुएमेङका अनुसार स्थानीय समयअनुसार दिउँसो १२ः०१ बजे पिपुल्स लिबरेसन आर्मी नेभीको रणनीतिक आणविक पनडुब्बीबाट प्रशिक्षण प्रयोजनका लागि सिमुलेटेड वारहेड बोकेको रणनीतिक क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो ।  क्षेप्यास्त्र तोकिएको समुद्री क्षेत्रमा सफलतापूर्वक खसेको उनले बताए । यो चीनको वार्षिक सैन्य प्रशिक्षण कार्यक्रमअन्तर्गतको नियमित अभ्यास भएको र सम्बन्धित राष्ट्रहरूलाई पूर्वसूचना दिइएको पनि उनको भनाइ छ । प्रक्षेपण भएको दिन नै चीन र रुसले पूर्वी चीनको प्रमुख नौसैनिक बन्दरगाह छिङदाओबाट संयुक्त वार्षिक नौसैनिक अभ्यास पनि सुरु गरेका छन् ।  यद्यपि उक्त क्षेप्यास्त्र परीक्षण संयुक्त अभ्यासकै हिस्सा थियो वा थिएन भन्नेबारे बेइजिङले स्पष्ट पारेको छैन । जापानले भने परीक्षणको निन्दा गर्दै चीनलाई यस्तो कदम पुनर्विचार गर्न आग्रह गरेको जनाएको छ । पपुवा न्यू गिनीका विदेशमन्त्री जस्टिन टाकाचेन्कोले आफूलाई चिनियाँ राजदूतमार्फत परीक्षणबारे अग्रिम जानकारी दिइएको पुष्टि गरेका छन्  न्युजिल्यान्ड सरकारको एक स्रोतले पनि चीनले सम्भावित अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणबारे जानकारी गराएको बताएको छ, यद्यपि क्षेप्यास्त्र खस्ने स्थान खुलाइएको थिएन । बेइजिङले पछिल्ला वर्षहरूमा आणविक हतियार र सैन्य क्षमता तीव्र रूपमा विस्तार गर्दै आएको छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार सन् २०२३ सम्म चीनसँग ५०० भन्दा बढी आणविक हतियार थिए भने सन् २०३० सम्म त्यो सङ्ख्या एक हजारभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ । यसअघि सेप्टेम्बर २०२४ मा चीनको रकेट फोर्सले फ्रेन्च पोलिनेसिया नजिक अन्तर्राष्ट्रिय जलक्षेत्रमा डमी वारहेडसहित लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।  यो चार दशकभन्दा बढी अवधिपछि गरिएको पहिलो यस्ता प्रकारको परीक्षण थियो । विश्लेषकहरूले त्यसबेला थर्मोन्युक्लियर वारहेड बोक्न सक्ने डोङ फेङ–३१ क्षेप्यास्त्र प्रयोग गरिएको अनुमान गरेका थिए ।    गत महिना सार्वजनिक भएको न्युजिल्यान्डको रक्षा बलको आन्तरिक दस्तावेजले पनि प्रशान्त क्षेत्रमा चीनको नौसैनिक गतिविधि र ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण अब नियमित बन्दै जाने चेतावनी दिएको थियो । दोस्रो विश्वयुद्धपछि यही क्षेत्रमा भएका आणविक परीक्षणले प्रशान्त टापु राष्ट्रहरूमा गहिरो असर छोडेकाले चीनको बढ्दो सैन्य गतिविधिलाई उनीहरूले विशेष चासोका साथ हेरिरहेका छन् । यद्यपि चीनले अस्पताल, सडक र खेलकुद पूर्वाधारजस्ता विकास परियोजनामार्फत पनि प्रशान्त टापु राष्ट्रहरूसँग आफ्नो प्रभाव विस्तार गर्ने प्रयासलाई निरन्तरता दिइरहेको छ ।

इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले चिकित्सा शिक्षण संस्थाहरूमा अध्ययनरत इन्टर्न चिकित्सकहरूले भोग्दै आएको न्यून पारिश्रमिक र श्रम शोषणको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ओलीले एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न माग गरेकी हुन् ।  सांसद ओलीले सरकारी मेडिकल कलेजहरूको तुलनामा निजी मेडिकल कलेजहरूमा इन्टर्न चिकित्सकहरूले निकै कम भत्तामा अत्यधिक समय काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरिन् । नीतिगत कमजोरी र विद्यमान व्यवस्थाका कारण उदाउँदा चिकित्सकहरूको श्रमको निरन्तर शोषण भइरहेको भन्दै यसले दक्ष जनशक्ति विदेश पलायन हुने जोखिम बढाएको बताइन् । विभिन्न कार्यदलहरूले इन्टर्न चिकित्सकहरूलाई आठौँ तहको शुरु तलब स्केलको ५० प्रतिशत निर्वाह भत्ता उपलब्ध गराउन सिफारिससहितको प्रतिवेदन तयार पारे पनि हालसम्म कार्यान्वयनमा नआएको उनले सदनलाई जानकारी गराइन् । ओलीकाअनुसार प्रतिवेदन चिकित्सा शिक्षा आयोगमा पुगेको ९० दिन बितिसक्दा समेत आयोगको बैठक बसी ठोस निर्णय र कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छैन ।  उनले भनिन्, ‘नेपालका विभिन्न चिकित्सा शिक्षण संस्थाहरूमा अध्ययनरत एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूलाई न्यूनतम मापदण्डभन्दा निकै कम इन्टर्नसिप भत्ता प्रदान गरिएको भन्ने गुनासोहरू निरन्तर प्राप्त भइरहेका छन् । साथै, उनीहरूलाई अत्यधिक लामो समयसम्म काम गर्न बाध्य पारिएको विषय पनि बारम्बार उठिरहेको छ । विशेष गरी सरकारी मेडिकल कलेजहरूको तुलनामा निजी मेडिकल कलेजहरूमा यस्ता समस्याहरू बढी रहेको पाइएको छ ।’ उनले नेपालको श्रम ऐन, २०७४ अनुसार श्रमिकका लागि तोकिएको कार्यघण्टा र न्यूनतम पारिश्रमिकको व्यवस्था इन्टर्न चिकित्सकहरूको हकमा कार्यान्वयन नभएको भन्दै समान कामका लागि समान पारिश्रमिक र मर्यादित कार्यघण्टा सुनिश्चित गर्न माग गरिन् । सरकारले पटक–पटक आश्वासन दिएपनि ठोस पहलकदमी नलिएको भन्दै इन्टर्न चिकित्सकहरूले आउँदो शनिबारदेखि संगठनात्मक रूपमा शान्तिपूर्ण प्रदर्शनको घोषणा गरेको समेत उनले जानकारी दिइन् ।   

नेप्सेका सीईओ चुडामणि चापागाईंले दिए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले राजीनामा दिएका छन् । चापागाईंले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा पत्र बुझाएको जानकारी विकासन्युजलाई दिएका हुन् । चापागाईंले भने आफ्नो राजीनामा कुनै दबाब वा विवादका कारण नभएको स्पष्ट पारेका छन् । साथै, १५-२० दिनभित्र खुसीको खबर सार्वजनिक हुने संकेत पनि उनले दिएका छन् । तर, उक्त विषयबारे उनले थप खुलाउन चाहेनन् । ‘१५-२० दिनपछि खुसीको कुरा सुन्न पाउनुहुन्छ । अहिले राजीनामा पत्र बुझाएर आएँ,’ चापागाईंले भने । चापागाईं २०८१ चैत १९ गते नेप्सेको सीईओमा नियुक्त भएका थिए । झापा निवासी उनी बैंकिङ तथा बीमा क्षेत्रमा लामो अनुभव बटुलेका अनुभवी व्यवस्थापक हुन् । उनले सानिमा बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा उच्च पदमा रहेर काम गरिसकेका छन् ।

हालान्ड : दि नर्वेजियन हिरो

काठमाडौं । आफ्नो शान्त स्वभाव, अद्भूत गोल गर्ने क्षमता र अनुहारको मुस्कानसहित नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्डले फेरि एकपटक फुटबल इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरमा लेखाएका छन् । ‘यो नर्वेको इतिहासकै सबैभन्दा अविश्वसनीय दिनमध्ये एक हो,’ फिफा विश्वकपको क्वार्टरफाइनलमा नर्वेलाई पुर्याएपछि उनले भने । २५ वर्षीय हालान्डको खेलको अन्त्यतिर गरेको दुई गोलले पाँचपटकको विश्व च्याम्पियन ब्राजिललाई प्रतियोगिताबाट बाहिर पठायो र नर्वेलाई इतिहासमै पहिलो पटक अन्तिम आठ (क्वार्टरफाइनल) मा प्रवेश गरायो। हालान्डको अग्लो कद, बलियो शारीरिक बनावट र जन्मजात गोल गर्ने क्षमता कठिन क्षणमा नर्वेलाई अघि बढाउने सबैभन्दा ठूलो हतियार मानिन्छ । पूरै खेलभरि खासै प्रभाव जमाउन नसकेका हालान्डले दोस्रो हाफको ‘हाइड्रेसन ब्रेक’ का क्रममा प्रशिक्षक स्टाले सोलबाकेनसँग छोटो कुराकानी गरेका थिए । त्यसबेला प्रशिक्षकले उनलाई बाँकी सबै ऊर्जा मैदानमा खन्याउन र निर्णायक आक्रमण गर्न आग्रह गरेका थिए । प्रशिक्षकको त्यो सन्देश हालान्डले अक्षरशः पूरा गरे । उनले ७९औं मिनेटमा हेडमार्फत पहिलो गोल गरे भने निर्धारित समय सकिनुअघि अर्को गोल थप्दै नर्वेको ऐतिहासिक जित सुनिश्चित गरे। हालान्ड अहिले नर्वेका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले ५४ खेलमा ६२ गोल गरेका छन्, जुन प्रति खेल १.१५ गोल हो । लामो कपाल, उत्कृष्ट फिनिसिङ र शान्त स्वभावका कारण उनलाई प्रायः ‘द स्माइलिङ असासिन’ भनेर पनि चिनिन्छ । ब्राजिलविरुद्धको दुई गोलसँगै नर्वेका लागि उनको पछिल्ला १४ खेलमा गोल संख्या २७ पुगेको छ । खेलको उत्कृष्ट खेलाडी घोषित भए पनि हालान्डले जितको सबैभन्दा ठूलो श्रेय गोलरक्षक ओर्जान नाइलान्डलाई दिए। ‘मेरो लागि खेलको उत्कृष्ट खेलाडी उनी नै हुन्, मैले दुई गोल गरेँ पनि । उनले यति धेरै उत्कृष्ट बचाउ गरे कि त्यसबिना हामी सायद घर फर्किन्थ्यौं,’ हालान्डले भने, ‘हाम्रो इतिहासमै पहिलो पटक क्वार्टरफाइनल खेल्ने अवसर दिलाउने मुख्य व्यक्ति उनी हुन् । उहाँप्रति मेरो ठूलो सम्मान छ ।’ मेसी, एमबाप्पे र रोनाल्डोको छायाँबाट आफ्नै पहिचान विश्वकपअघि सबैको ध्यान लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो र केलियन एमबाप्पेतर्फ केन्द्रित थियो । तर हालान्डले आफ्नै प्रदर्शनबाट उनीहरूसँग बराबरी गर्दै विश्व फुटबलमा छुट्टै कथा लेखिरहेका छन् । म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्ड अहिले गोल्डेन बुटको दौडमा मेस्सी र एमबाप्पेसँग संयुक्त रूपमा शीर्ष स्थानमा छन् । तीनैजनाले प्रतियोगितामा समान सात गोल गरेका छन् । विश्वकपअघि उनको सबैभन्दा ठूलो उपलब्धि करिब तीन दशकपछि नर्वेलाई पुनः विश्वकपमा फर्काउनु थियो । त्यसपछि उनले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताभर आफ्नै छाप छोडेका छन्। १९५ सेन्टिमिटर (६ फिट ५ इन्च) अग्ला हालान्डको सफलताको आधार नम्रता, आत्मविश्वास र लक्ष्यप्रतिको अटल समर्पण मानिन्छ। ‘यस प्रतियोगितामा मैले धेरै पटक आफ्नो उत्कृष्ट स्तर भेट्टाएँ, तर हरेक पटक त्यसपछि अर्को नयाँ स्तर आएको छ,’ उनले भने । ‘यदि मैले एक वा दुई अवसर पाएँ भने प्रायः त्यो गोलमा परिणत हुन्छ । म के गर्छु भन्ने मलाई पनि खासै थाहा हुँदैन, म स्वभावैले यस्तै छु । मुख्य कुरा एकाग्र रहनु हो । अवसर आउँदा के गर्ने भन्ने मलाई स्पष्ट थाहा हुन्छ,’ उनले थपे । हालान्डले यो रात पुस्तौंसम्म सम्झिइने पनि उल्लेख गरे । ब्राजिललाई हराएर सुपरस्टार नेयमारको अन्तर्राष्ट्रिय करिअर अन्त्य गराउने ऐतिहासिक क्षणको महत्त्व हालान्डले राम्रोसँग बुझेका थिए। ‘ब्राजिलविरुद्ध दुई गोल गर्नु मेरो जीवनकै अविस्मरणीय उपलब्धि हो । तर ती गोल केवल मेरामात्र होइनन्,’ उनले भने । ‘ती हाम्रा प्रत्येक त्यागी खेलाडीका हुन्, हामीमाथि विश्वास गर्ने प्रशिक्षकहरूका हुन्, कठिन समयमा पनि साथ नछोड्ने समर्थकहरूका हुन् र आजपछि ‘सबै सम्भव छ’ भन्ने विश्वास गर्ने नर्वेका हरेक बालबालिकाका हुन्,’ उनले थपे । उनका अनुसार आजको रात नर्वेका हरेक घरमा सधैं सम्झिइनेछ । नर्वेले केवल ब्राजिललाई हराएका होइन, आफ्नो देशलाई पुस्तौंसम्म बाँचिरहने एउटा अमूल्य सम्झनासमेत दिएको हो । जितपछि आफ्ना आँखा रसाएको स्वीकार गर्दै हालान्डले भने, ‘अब जे भए पनि कसैले हामीबाट यो अनुभूति, यी आँसु र इतिहासको यो गौरव खोस्न सक्दैन ।’ सामाजिक सञ्जालका लोकप्रिय स्टार मेसी, रोनाल्डो र एमबाप्पे विश्वव्यापी सुपरस्टारका रूपमा विश्वकपमा प्रवेश गर्दा हालान्ड सामाजिक सञ्जालमा आफ्नो रमाइलो स्वभावका कारण झन् लोकप्रिय बनेका थिए । विशेषगरी स्न्यापच्याट र इन्स्टाग्राममा उनका हास्यपूर्ण पोस्टहरूले उनलाई समर्थकहरूमाझ अझ नजिक र सहज व्यक्तित्वका रूपमा स्थापित गरेका छन्। ब्राजिलमाथिको ऐतिहासिक जितपछि पनि उनले आफ्नै शैलीमा ड्रेसिङ रुमबाट जर्सी घाँटीमा बेरेको तस्बिर पोस्ट गरे, जसले केही घण्टामै लाखौं लाइक बटुल्यो । एन्सेलोटी भन्छन्– हालान्डलाई रोक्न सबैभन्दा गाह्रो कुरा उनको समय छनोट गर्ने क्षमता हो ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले हालान्डको वास्तविक शक्ति उनको शारीरिक बल वा गति नभई सही समय रोज्ने क्षमतामा रहेको बताए । ‘उनले हरेक बलका लागि दौडेर ऊर्जा खर्च गर्दैनन् । उनी डिफेन्डरलाई अध्ययन गर्छन्, धैर्यपूर्वक पर्खन्छन् र डिफेन्डरको ध्यान कहिले भंग हुन्छ भन्ने बुझ्छन्,’ एन्सेलोटीले भने, ‘त्यसपछि एकै सेकेन्डमा उनी तपाईंको नियन्त्रणभन्दा बाहिर पुगिसकेका हुन्छन् ।  तपाईं ८९ मिनेटसम्म उत्कृष्ट डिफेन्स गर्न सक्नुहुन्छ, तर फुटबलको निर्णय केही क्षणले गर्छ र ती क्षण चिन्नमा हालान्ड सम्भवतः विश्वकै उत्कृष्ट खेलाडी हुन् ।’ ‘त्यसैले त डिफेन्डरहरू उनलाई सामना गर्न रुचाउँदैनन् । तपाईंले पूरै खेल नियन्त्रण गरेको महसुस गर्नुहुन्छ, तर अचानक उनी फेरि अर्को गोलको उत्सव मनाइरहेका हुन्छन्,’ उनले थपे । अब इंग्ल्यान्डसँगको चुनौती अब नर्वेले क्वार्टरफाइनलमा ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्डसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डले सह–आयोजक मेक्सिकोलाई ३–२ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो । इंग्ल्यान्डविरुद्ध हालान्डसँग आफ्नो देशका लागि फेरि इतिहास रच्ने अर्को अवसर हुनेछ । क्वार्टरफाइनलमा प्रवेश गरेपछि नर्वेका खेलाडीहरू अर्लिङ हालान्डसँगै जितको खुसी मनाउँदै । [डिलन मार्टिनेज/रायटर्स] तर अहिलेका लागि उनी आफ्ना देशवासीलाई केवल यो ऐतिहासिक क्षणको आनन्द लिन आग्रह गर्छन् । विजयपछि मैदानमै चर्चित ‘भाइकिङ रो–बोट’ उत्सवको नेतृत्व गरेका हालान्डले भने, ‘सबैले यो क्षणको आनन्द लिनुपर्छ ।’ ‘मैले भने झैं, यो नर्वेको इतिहासकै सबैभन्दा अविश्वसनीय दिनमध्ये एक हो। यसलाई मनाउनुहोस्, आत्मसात् गर्नुहोस् र यो क्षणलाई पूर्ण रूपमा जिउनुहोस्,’ उनले थपे । अन्य सान्दर्भिक सामग्रीहरू :  चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती  यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]  विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान  मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः  लेखे

११औँबाट छैटौँ स्थानमा उक्लियो त्रिशक्ति सेक्युरिटिज, आम्दानीमा २४१ प्रतिशत छलाङ

काठमाडौं । त्रिशक्ति सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ४८) ले गत आर्थिक वर्ष २०८१/८२ मा २३ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा २४१.१७ प्रतिशत अर्थात् १६ करोड ४० लाख रुपैयाँ बढी हो । अघिल्लो वर्ष कम्पनीले ६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। कम्पनीका अनुसार पछिल्लो समय बजारमा उपस्थिति विस्तार हुनु, सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिगत सहयोगबाट पुँजी बजारको वातावरण अनुकूल बन्दै जानु, साथै सूचीकृत कम्पनी र कारोबारयोग्य धितोपत्रको दायरा विस्तार हुनुले आम्दानीमा उल्लेख्य सुधार आएको हो । यो सुधार चालु आर्थिक वर्ष २०८२/८३ मा पनि निरन्तर रहेको कम्पनीले जनाएको छ। चालु आवको ९ महिनामा कम्पनीले १९ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।  कम्पनीका अनुसार सेयर बजारले ऐतिहासिक उचाइ छोएको वर्ष त्रिशक्ति सेक्युरिटिजको कुल सञ्चालन आम्दानी १९ करोड ४० लाख रुपैयाँ पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब ६ सय प्रतिशत बढी थियो । त्यसपछि बजारमा आएको करेक्सनका कारण आम्दानी ५ देखि ७ करोड रुपैयाँको हाराहारीमा सीमित भएको थियो ।  वि.सं. २०६४ पुसमा स्थापना भएको त्रिशक्ति सेक्युरिटिजले लगानीकर्तालाई पुँजी बजारसम्बन्धी सेवा सहज, सुरक्षित र प्रभावकारी रूपमा उपलब्ध गराउँदै आएको छ । धितोपत्र बोर्ड नेपालबाट इजाजतप्राप्त धितोपत्र दलाल तथा निक्षेप सदस्यका रूपमा रहेको कम्पनीले सेयर खरिद-बिक्री तथा अभौतिक सेयरसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । कम्पनी नेपाल स्टक एक्सचेन्जको कारोबार सदस्य तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निक्षेप सदस्य पनि हो । यसमार्फत कम्पनीले सेयर खरिद-बिक्री सेवा, हितग्राही खाता, सेयर राफसाफ तथा निक्षेपसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीले हाल देशभर ६ वटा शाखामार्फत सेवा दिँदै आएको छ । कम्पनीको अध्यक्ष टंकप्रसाद गौतम छन् भने सञ्चालकमा मनोज खड्का, गोविन्द दाहाल, रुपा अधिकारी र बासुदेव बजगाईं रहेका छन् । चालु आवको पछिल्लो तथ्याङ्क अनुसार त्रशक्ति सेक्युरिटिजसँग ६७ हजार ९६७ सक्रिय ग्राहक आबद्ध रहेका छन् । समग्र बजार कारोबारमा संकुचन आएको अवस्थासमेत कम्पनीले आफ्नो बजार हिस्सा २ प्रतिशतबाट बढाएर २.९० प्रतिशत पु¥याएको जनाएको छ । गत वर्ष ९२ धितोपत्र दलाल कम्पनीमध्ये ११औँ स्थानमा रहेको कम्पनी चालु आवको ९ महिनामा छैटौँ स्थानमा उक्लिएको दाबी गरिएको छ । कम्पनीका अनुसार कुल आम्दानीमध्ये करिब ९८ प्रतिशत हिस्सा धितोपत्र खरिद-बिक्रीबाट प्राप्त हुने दलाली शुल्कबाट आउने गरेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ६० करोड ८० लाख रुपैयाँ पुगेको छ । धितोपत्र बोर्ड नेपालले २०८२ फागुनमा मार्जिन कारोबार सुविधा निर्देशिका, २०८२ जारी गरेसँगै इजाजतप्राप्त धितोपत्र दलाल कम्पनीहरूले लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने बाटो खुलेको छ । यसैअनुसार त्रिशक्ति सेक्युरिटिजले आगामी आर्थिक वर्ष २०८३/८४ देखि मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको  छ। मार्जिन कारोबार सेवा सञ्चालनका लागि कोष व्यवस्थापन गर्न कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५० करोड रुपैयाँ ऋण लिएको छ । नेपाल राष्ट्र बैंकले मार्जिन कर्जासम्बन्धी केही नियामकीय प्रावधान खुकुलो बनाउँदै एकल ऋणी सीमा बढाउनुका साथै जोखिम भारलाई १०० प्रतिशतमा सीमित गरेपछि यस क्षेत्रमा बैंकहरूको कर्जा प्रवाह बढाउन सहज वातावरण बनेको उल्लेख गरिएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको अवस्थामा राष्ट्र बैंकको यस्तो नीतिगत सहजीकरणले मार्जिन कर्जा प्रवाहलाई थप प्रोत्साहन गरेको कम्पनीको भनाइ छ ।

अटो उद्योगलाई प्रतिस्पर्धी बनाउन नीतिगत स्थिरतामा जोड

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले नेपालको अटोमोबाइल उद्योगको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे उच्चस्तरीय ‘सीईओ फोरम’ आयोजना गरेको छ । ‘सीईओ फोरम : इन्जिनभन्दा परे, नेपालको अटोमोबाइल उद्योगको कथा’ शीर्षकमा आयोजित कार्यक्रममा युवा व्यवसायी, उद्योगी तथा नीतिविज्ञहरूले अटोमोबाइल क्षेत्रको विकास, नीतिगत सुधार र लगानी वातावरणका विषयमा छलफल गरेका हुन् । फोरममा सीजी होल्डिङ्सका प्रबन्ध निर्देशक करण चौधरी (मारुती), भोइथकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य (टोयोटा) र सिमेक्स इंक प्रालिका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ (बीवाईडी) प्यानलिस्टका रूपमा सहभागी थिए । कार्यक्रमको सहजीकरण त्रिवेणी ग्रुपका निर्देशक साकेत संघाईले गरेका थिए । कार्यक्रमको सुरुवातमा सीएनआईवाइईएफकी नेटवर्क एन्ड कम्युनिकेशन सभापति साइनी खेतानले कार्यक्रमको उद्देश्य र रूपरेखाबारे जानकारी दिएकी थिइन् । छलफलका क्रममा नेपालको अटोमोबाइल उद्योगले भोगिरहेका नीतिगत तथा कानुनी चुनौती, औद्योगिक विकासका अवरोध, प्रविधिको प्रयोग, बजारको बदलिँदो प्रवृत्ति र लगानीको वातावरणका विषयमा प्यानलिस्टहरूले धारणा राखेका थिए । खुला प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि तथा सेवा क्षेत्रका प्रतिनिधिहरूले नीतिगत स्थिरता, बजारका समसामयिक चुनौती र लगानीमैत्री वातावरणका विषयमा प्यानलिस्टसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए । कार्यक्रमको समापनमा सहजकर्ता साकेत संघाईले प्यानलिस्टहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए । सीएनआईवाइईएफले यस्ता संवादमार्फत उद्योग–व्यवसायसँग सम्बन्धित नीतिगत बहसलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।

धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

काभ्रेपलाञ्चोक । वर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा रातका समयमा यातायात सेवा बन्द नगरिने भएको छ । सो सडकखण्ड हाल स्तरोन्नती भइरहेको छ ।   निर्माणलाई तीव्रता दिन आजदेखि १५ दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने निर्णय गरिएको थियो ।  उक्त सडकखण्डमा पहिलो चरणको कालोपत्रे गर्नका लागि रातको समयमा बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको थियो । केही दिनको वर्षाले ‘सिटिबी’ तथा ‘डिबीएम’ गर्न सडक सम्याएर हालिएको सब–बेश केही स्थानमा बगाएको र कतै क्षति पुर्‍याएकाले आवागमन रोकेर गर्ने भनिएको काम सम्भव नदेखिएकाले सडक बन्द नहुने सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका इञ्जिनियर सीताराम बुढाथोकीका अनुसार निर्माण कम्पनीले आजदेखिको निर्धारित कार्यतालिका फेरबदल गर्नुपरेकाले केही समय सार्ने जानकारी गराएको हो ।  यसअघि जिल्ला सुरक्षा समिति काभ्रेले उक्त सडकखण्डमा आजदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारी आवागमन बन्द गरिने निर्णय गरेको थियो । उक्त सडकखण्ड कालोपत्रे गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्णतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुबाहक तथा अन्य मालबाहक सवारी साधनलाई बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको थियो । विस्तारित उक्त सडकखण्डको दूरी चार किमी रहेको छ ।  डिभिजन सडक कार्यालय भक्तपुरले असार दोस्रो सातादेखिनै राती यातायात रोकेर निर्माणकार्यलाई तीव्रता दिने जनाएपनि आर्थिक वर्षको अन्त्यको समय भएकोले निर्माण सामग्री ढुवानीमा प्रभावित नहोस् भन्ने हेतुले समितिले सडक निर्माण प्रक्रियालाई केही ढिलाई गर्न लगाएको थियो । गत चैतमा पनि करिब एक महिनाभर रातको समयमा पूर्णतः आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर अढाई किमी कालोपत्रे (डिबिएम–पीच)को काम गरिएको थियो । रासस

नागढुङ्गा–मुग्लिङ सडक विस्तार, ६० प्रतिशत काम सम्पन्न

काठमाडौं । नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिसे–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ । कुल ४३ किलोमिटर लम्बाइ रहेको यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान (रिजिड पेभमेन्ट) गरी कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो । नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का योजना प्रमुख केशव ओझाका अनुसार यस खण्डको समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ । आयोजनाले चालु आर्थिक वर्षमा ७५ प्रतिशत भौतिक प्रगति पुर्‍याउने लक्ष्य राखेको भए पनि अन्तर्राष्ट्रिय बजारमा देखिएको बिटुमिन अभावका कारण लक्ष्य प्राप्तिमा केही अवरोध सिर्जना भएको थियो । मध्यपूर्वको तनावका कारण बिटुमिन आपूर्तिमा समस्या भए पनि हाल पूर्वाधार विकास मन्त्रालयको सहजीकरणपछि आपूर्ति सहज भएको र कामले पुनः गति लिएको उनले बताए । उनका अनुसार पहिलो खण्ड अन्तर्गत पर्ने नागढुङ्गा–नौबिसे खण्डको भौतिक प्रगति ८८ प्रतिशत पुगिसकेको छ । दोस्रो खण्ड (नौबिसे–मलेखु) मा हालसम्म सम्पन्न २५ किलोमिटर कालोपत्रेमध्ये २.५ किलोमिटर दुई लेनको रहेको छ भने बाँकी २२.५ किलोमिटर सडकको पूर्ण चौडाइमा कालोपत्रे गरिएको छ । उनले भने, ‘हामीले ४३ मध्ये २५ किलोमिटर कालोपत्रे गरिसकेका छौँ । २ किलोमिटर ढलान भइसकेको छ । मौसमको अनुकूलता हेरेर यो काम वर्षाअघि पूरा गर्ने लक्ष्य राखेका छौँ । पहिलो प्याकेजको नागढुङ्गादेखि नौबिसेसम्मको प्रगति करिब ८८ प्रतिशत छ भने यो खण्डको ६० प्रतिशत छ ।’ निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ज्ञानेन्द्र घिमिरेले मौसमले साथ दिएमा आगामी केही दिनभित्रै थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार बिटुमिन आपूर्ति सहज भएयता नौबिसे–मलेखु खण्डमा मात्र ३ हजार ३ सय मिटर थप कालोपत्रे भइसकेको छ । उनले भने, ‘हामीले २७ किलोमिटर काम सकिसकेका छौँ । ४३ किलोमिटरमा २ किलोमिटर ढलान भएको छ । २५ किलोमिटर कालोपत्रे भइसकेको छ । मौसमले साथ दिएसम्म ब्रेक नगर्ने भन्ने हाम्रो लक्ष्य छ । बिटुमिनको सहजता र मौसम अनुकूल भयो भने काम गर्न सहज हुन्छ । मौसमका कारण बिहानदेखि बेलुकासम्म काम गर्न पाएको छैन ।’ हाल निर्माण कम्पनीले दैनिक ४ सयदेखि ५ सय मिटरसम्म कालोपत्रे गर्ने क्षमताका साथ काम गरिरहेको छ । प्रतिकूल मौसम र प्राविधिक कठिनाइका बाबजुद आयोजनाले यसै आर्थिक वर्षको अन्त्यसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल गर्ने संशोधित लक्ष्य लिएको छ । वर्षात् सुरु हुनुअघि नै उत्खनन गरिएका पुराना पिच खण्डहरूलाई पुनः कालोपत्रे गरी सवारी आवागमन सहज बनाउन आयोजनाले उच्च प्राथमिकता दिएको छ ।