विकासन्युज

हुण्डाई नेपालको ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ योजना सार्वजनिक, यस्ता छन् अफरहरू

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ नामक अफर सार्वजनिक गरेको छ ।  नयाँ वर्षको सुरुवातसँगै नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले आकर्षक नगद छुट र विभिन्न बोनस सुविधाहरू सहितको यो योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकहरूले निश्चित हुण्डाई मोडलका गाडीहरूको खरिदमा १ लाख ७५ हजार रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै ९६ हजार रुपैयाँसम्मको नयाँ वर्ष बोनस, एक वर्षका लागि निःशुल्क बीमा र सवारी कर (रोड ट्याक्स) को सुविधा समेत उपलब्ध गराइएको छ ।  ग्राहकको सहजताका लागि कम्पनीले स्पट एक्सचेन्ज र मूल्यांकनको सुविधा पनि प्रदान गर्नेछ, जसले पुरानो गाडी साटेर नयाँ लिन चाहनेहरूलाई थप मद्दत पुग्ने कम्पनीले जनाएको छ । बिक्रीपछिको सेवालाई प्राथमिकता दिँदै हुण्डाईले आफ्ना ग्राहकका लागि ६ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टीको सुनिश्चितता गरेको छ ।  गुणस्तर र दीर्घकालीन सन्तुष्टिलाई ध्यानमा राखेर ल्याइएको यो प्याकेजले नेपाली अटोमोबाइल बजारमा हुण्डाईको बलियो पकडलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । कम्पनीले विगत दुई वर्षदेखि नेपालमै ‘क्रेटा’ र ‘भेन्यू’ जस्ता लोकप्रिय मोडलहरू एसेम्बल गर्दै आएको छ ।  ५ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा सञ्चालित यस उद्योगमा पूर्ण रूपमा नेपाली इन्जिनियर र दक्ष जनशक्ति परिचालन गरिएको छ, जसले स्थानीय सीप प्रवद्र्धन र औद्योगिक विकासमा ठूलो टेवा पुर्याइरहेको छ ।  नयाँ वर्षको उपलक्ष्यमा ल्याइएको यो विशेष अभियानमार्फत ग्राहकले नजिकैको शोरुममा गई थप जानकारी लिन र २०८३ को सुरुवातलाई विशेष बनाउन सक्ने कम्पनीले जनाएको छ ।

सातै प्रदेशमा बाल अस्पताल बनाउने लक्ष्यमा गोल्छा ग्रुपको ५ करोडको टेवा

काठमाडौं । नेपालको औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई ५ करोड आर्थिक सहयोग गरेको छ । बुधबार एक कार्यक्रमका बीच बालबालिकाहरूका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरेको हो।  कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच आर्थिक सहयोगको सम्झौता भएको हो । आर्थिक सहयोग हस्तान्तरण गर्दै गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने यो अभियानमा जोडिन पाउँदा गर्व महसुस गरेको बताए।  किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले गोल्छा ग्रुपको साथ र सहयोगका निम्ति आभार व्यक्त गरे ।  सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने गुरुयोजना अन्तर्गत अहिले कोशी प्रदेशको दमक र बागमती प्रदेशको काठमाडौंमा अस्पताल सञ्चालन भएको छ । देशभरका बालबालिकाहरूलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले किओचको स्थापना भएको हो । गोल्छा ग्रुप नेपालको सबैभन्दा पुरानो र अग्रणी व्यावसायिक समूहमध्ये एक हो ।  बीस हजारभन्दा बढी नागरिकलाई रोजगारी प्रदान गरिरहेको गोल्छा ग्रुप सामाजिक उत्तरदायित्वका विभिन्न कार्यहरूमा पनि उत्तिकै अग्रसर रहेको छ ।  टिच फर नेपाल, डिसेबल्ड न्युलाइफ सेन्टर, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, श्री सरस्वती माध्यमिक विद्यालय रामग्राम(१२ नवलपरासी र नेपाल एम्बुलेन्स सर्भिस लगायतका संस्थाहरूसँग दशकौंदेखि सहकार्य गर्दै आएको छ ।

ओली हिरासतमा परेपछि एमालेको ‘स्टेरिङ’ सम्हाल्दै बादल

काठमाडौं । नेकपा एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दिएको छ। अध्यक्ष केपी शर्मा ओली ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेकाले थापालाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । एमाले नेता ऐन महरले अध्यक्ष केपी शर्मा ओली हिरासतमा रहेकाले उनी हिरासतबाट नआउँदासम्मका लागि कार्यवाहकको जिम्मेवारी थापालाई दिइएको जानकारी दिए । आज नै एमालेको संसदीय दलको नेतामा थापा चयन भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले थापालाई निर्विरोध चयन गरेको हो । संसदीय दलमा अर्का सांसद सुहाङ नेम्वाङले चाहना राखे पनि अन्तिममा थापा नै निर्विरोध भएको संसदीय दलका निर्वाचन प्रमुख निरज आचार्यले जानकारी दिए । गत मंसिरमा सम्पन्न एमालेको महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित थापा पार्टीमा दोस्रो वरीयतामा छन् ।

समानुपातिकमा विपन्न खस आर्यलाई प्राथमिकता दिन दायर रिटमा सर्वोच्चले गर्‍यो कारण देखाऊ आदेश जारी

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीमा विपन्न खस आर्यलाई प्राथमिकता दिन माग गर्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेको छ ।   न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार (आज) समानुपातिक निर्वाचन प्रणालीमा विपन्न खस आर्यलाई प्राथमिकता नदिनुको कारणसहित लिखित जवाफ माग गरेको हो  । सामाजिक न्यायका अभियन्ता खजान्ती महतो नुनियाँले दर्ता गरेको रिट निवेदनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका अर्जुननरसिंह केसी र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित पद्मा अर्यालसमेतलाई विपक्षी बनाइएको छ ।   रिटमा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको व्यावहारिक कार्यान्वयन गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउने मुख्य उद्देश्य संविधानको भएकाले आर्थिक रुपले विपन्न खस आर्यलाई प्राथमिकता दिन माग गरिएको छ ।

२२ अर्बको संस्थापक सेयरमा सीडीएससीको ‘तगारो’, इप्पान भन्छ– १४ महिनादेखि गैरकानुनी रोक

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले २०८० माघदेखि आईपीओ निष्काशन गरेका कम्पनीको २२ अर्ब रुपैयाँ बढीको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन माग गरेको छ । धितोपत्र निष्काशन सम्बन्धी निर्देशिका अनुसार आईपीओ जारी भइसकेपछि कम्पनीको संस्थापक र साधारण सेयर एकैपटक नेप्सेमा सूचीकृत गर्नुपर्ने भएपनि सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले साधारण सेयर मात्रै अभौतिकीकरण गरेर संस्थापक सेयरलाई गैरकानुनी रुपमा १४ महिनादेखि रोकिएकोले त्यसलाई यथाशिघ्र अभौतिकीकरण गरिदिन इप्पानले माग गरेको हो । इप्पानले बुधबार (आज) सीडीएससीलाई पत्राचार गर्दै सबै ऊर्जा कम्पनीको संस्थापक सेयर अभौतिकीकरण गरी नेप्सेमा सूचीकृत गरिदिन आग्रह गरेको हो । सीडीएससीले संस्थापक सेयर र साधारण सेयरका लागि छुट्टाछुट्टै अन्तर्राष्ट्रिय सेक्युरिटीज आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन) अनिवार्य हुनुपर्ने गैरकानुनी अडान लिएपछि ३ वटा सोलार ऊर्जा कम्पनीसहित २२ ऊर्जा कम्पनीहरूको २२ अर्ब १२ करोड ४१ लाख रुपैयाँभन्दा बढीको संस्थापक सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हुन सकेको छैन ।  सीडीएससीको गैरकानुनी हठले झण्डै दुई दर्जन ऊर्जा उत्पादक कम्पनीका लगानीकर्ता मर्कामा परेको इप्पानले जनाएको छ । ती कम्पनीका लगानीकर्ताको सरकारप्रतिको विश्वास गुमेको ऊर्जा उद्यमीहरूले बताएका छन् । लगानीकर्ताहरूलाई थप परियोजनामा लगानी गर्नबाट पछि हट्नुपर्ने परिस्थिति सिर्जना गरेको पनि उनीहरूको गुनासो छ ।   ऊर्जा उत्पादक कम्पनीहरूले मौजुदा कानुनअनुसार ३ वर्षसम्म संस्थापक सेयर बिक्री गर्न नपाउने गरी लकइन गरिएको हुन्छ । ३ वर्षपछि कम्पनीले बैंकको ऋण चुक्ता गरेको अवस्थामा मात्रै संस्थापक सेयर विक्री गर्न पाउँछन् । त्यति हुँदा पनि सीडीएससीले गैरकानुनी रूपमा दोहोरो आइजीनको कुरा निकालेर सेयर सूचीकृत नगर्नु लगानीकर्तामाथिको अन्याय भएको उद्यमीहरूको भनाइ छ । दोहोरो आइजीन कायम गरेर मात्रै संस्थापक सेयर सूचीकृत गर्ने सीडीएससीको अडानपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यस्तो व्यवस्था कार्यान्वयन नगर्न आग्रह गरेको थियो । जबर्जस्ती यस्तो व्यवस्था कार्यान्वयन गरेमा गैरआवासीय नेपालीबाट नेपालमा थप लगानी नआउने पनि संघले चेतावनी दिएको थियो ।  दोहोरो आइजीनले लगानीकर्ताको सम्पत्ति बन्धक हुने भन्दै यसले भोलिका दिनमा नेपालको लगानी वातावरण नै बिगार्न सक्नेतर्फ एनआरएनएले सीडिएससीको ध्यानाकर्षण गराएको थियो । इप्पानका अनुसार आर्थिक वर्ष (आव) २०८१/८२ मा ८ वटा ऊर्जा कम्पनीको ३ अर्ब ५२ करोड २६ लाख ५५ हजार २०० रुपैयाँ बराबरको ३ करोड ५२ लाख २६ हजार ५५२ कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत हुन बाँकी छ ।  त्यसैगरी, आव २०८२/८३ मा १४ कम्पनीको  १८ अर्ब ६० करोड १४ लाख ७२ हजार ६०० रुपैयाँ बराबरको १८ करोड ६० लाख १४ हजार ७२६ कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत हुन बाँकी रहेको छ । २२ कम्पनीको कुल २२ अर्ब १२ करोड ४१ लाख २७ हजार ८०० रुपैयाँ बराबरको २२ करोड १२ लाख ७१ हजार २७८ कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत हुन बाँकी छ ।

नबिल बैंकको ८ प्रतिशत लाभांश दरको अग्राधिकार सेयरको दोस्रो बजारमा कारोबार सुरु

काठमाडौं । नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ ।  प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य ५ अर्ब रुपैयाँ भएको पाँच करोड कित्ता सेयरको यही २०८२ चैत्र १६ गते सोमबारदेखि कारोबार सुरु भएको हो। धितोपत्रको दोस्रो बजारमा कारोबार हुने यस प्रकारको अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच मात्रै खरिद बिक्री हुनेछ । साथै सर्वसाधारण लगानीकर्ता, नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी (धितोपत्र दलाल व्यापारी, मर्चेन्ट बैंकर लगायत) र सामूहिक लगानी कोषले यो अग्राधिकार सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था छ । नेपाल राष्ट्र बंैक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार शेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात यस किसिमको अग्राधिकार सेयर जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पहिलोपटक नबिल बैंकले प्राप्त गरेको थियो ।  उक्त उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैकले विश्वास लिएको छ । नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।  चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्ने, ग्राहकलाई निःशुल्क फोरजी सिम लिन आग्रह

काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवालाई थप आधुनिक र गुणस्तरीय बनाउने उद्देश्यका साथ निकट भविष्यमा थ्रीजी सेवालाई क्रमिक रूपमा बन्द गर्ने प्रक्रिया अगाडि बढाएको छ ।  पुरानो प्रविधिलाई हटाएर नयाँ र द्रुत गतिको फोरजी सेवामा पूर्ण रूपमा रूपान्तरण गर्ने लक्ष्य राखेको कम्पनीले हाल थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकहरूलाई आफ्नो सिम कार्ड परिवर्तन गर्न एसएमएस र भ्वाइस कलमार्फत औपचारिक जानकारी गराइरहेको छ । ग्राहकहरूले आफ्नो पुरानो थ्रीजी सिमलाई कुनै पनि शुल्क नतिरी अर्थात् निःशुल्क रूपमा फोरजी सिममा साट्न सक्ने टेलिकमले जनाएको छ ।  नयाँ सिम लिनका लागि ग्राहकहरूले आफ्नो पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।  सिम परिवर्तन गर्दा ग्राहकले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजातहरू जस्तै, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्र मध्ये कुनै एकको प्रतिलिपि साथमा लैजानुपर्ने प्रावधान राखिएको छ । सिम फोरजी प्रविधिको हो वा होइन भन्ने थाहा पाउनका लागि *444# डायल गर्न सकिन्छ । यसबाट फोरजी सेवा सक्रिय गर्नुका साथै उच्च गुणस्तरको भोल्टी सेवासमेत सहजै सक्रिय गर्न सकिने टेलिकमले जनाएको छ । कम्पनीले थ्रीजी प्रयोगकर्तालाई फोरजीमा लैजाने कार्यलाई अहिले निकै तीव्र बनाएको छ । थ्रीजीको तुलनामा फोरजी प्रविधिमा मोबाइल इन्टरनेटको गति उच्च हुनुका साथै सेवाको गुणस्तरमा समेत उल्लेख्य सुधार आउने भएकाले यसबाट ग्राहकहरूले थप उत्कृष्ट डिजिटल अनुभव र फाइदा प्राप्त गर्ने विश्वास नेपाल टेलिकमले लिएको छ। 

एमालेको संसदीय दलको नेतामा बादल

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’  चयन भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले थापालाई निर्विरोध चयन गरेको हो । संसदीय दलमा अर्का सांसद सुहाङ नेम्वाङले चाहना राखे पनि अन्तिममा थापा नै निर्विरोध भएको संसदीय दलका निर्वाचन प्रमुख निरज आचार्यले जानकारी दिए ।